इल्या भट्टराई वि।स २०१२ सालमा काठमाडौँमा जन्मिएकी हुन् । उनको प्रकाशित कृतिहरूको सूचिमा ‘मन मनै त हो’ (कथा, २०६०), ‘लफबराको वरिपरि’ (नियात्रा, २०६१), ‘अनि’ (कथा २०६२), ‘निःशब्द प्रश्नहरू’ (कथा, २०६३), ‘युरोपको नौलो परिवेश’ (नियात्रा, २०६५), ‘कसले के बुझ्यो’ (बालकथा, २०६६), जीवनका रङ्गहरू (कथा, २०६८), ‘म साँच्चिकै हराइछु’ (नियात्रा, २०७४) र ‘त्यो एउटा बिहान’ (कथा, २०७४) ‘मिसर’ (नियात्रा, २०७९) पर्दछन् । अध्यापन सेवामा पनि आफूलाई समर्पित तुल्याइसकेकी यिनी नियात्रा र कथा लेखनमा सक्रिय देखिन्छिन् । आजको आँगनमा सहकमीं जनक कार्कीले उनको नविनतम कृति ‘मिसर’ र जीवन दर्शन र साहित्यका विविध विषयसँग सम्बन्धित भएर गरेको कुराकानीको वार्ताको सम्पादित अंश प्रस्तुत छः

‘मिसर’ यहाँको पाँचौ नियात्रा सङ्ग्रह भर्खरै लोकार्पित भएको छ । यस कृतिको शीर्षकदेखि यसमा अटाएका नियात्राका क्षेत्रबारे बताइदिनु न ?

इजिप्ट देशलाई पहिलादेखि नै त्यहाँका निवासीहरूले मिश्र नामाकरण गरेका थिए । पछि ग्रिकहरूले इजिप्टको पराक्रमी फेरो (राजा) इजिप्टोसको देश भन्न थाले जुन कालान्तरमा छोट्टिएर इजिप्टमात्र हुन गयो । त्यहाँका स्थानीयहरूले पनि मिश्रलाई ‘मिसर’ भन्दा रहेछन् । त्यही भएर कृतिको नाम ‘मिसर’ हुन गयो ।

नामैले बताएबमोजिम यो कृतिले मिश्र वा इजिप्ट देशको बारेमा पाठकहरूलाई जानकारी दिएको छ । हुन त यो कृति इतिहासको कृति त होइन । तर, पनि विश्वको प्राचिनतम् सभ्यता मध्ये एउटा सभ्यताको उदगमको थलो भएकोले र त्यो देशले हालको दिनसम्म पनि आफ्नो त्यो पुरानो सभ्यताका चिनोहरूलाई सजगताका साथ जोगाएर राखेको हुनाले मिश्रको भ्रमणमा त्यहाँको इतिहास स्वत आइहाल्दो रहेछ ।

आखिर त्यहाँ जाने अधिकांश पर्यटकहरू त्यहाँको साढे चार हजार वर्षअघि निर्माण गरिएको विश्वको सातवटा आश्चर्यभध्येको एक आश्चर्य पिरामिड हेर्न जाने हुन् । त्यसपछि त्यहाँ रहेका ती हजारौँ वर्षअघिका मन्दिरहरू हुन् वा चिहानस्थल हुन त्यही हेर्न जाने हुन् ।

सोही प्राचिन स्थलहरूको भ्रमण तथा त्यहाँको इतिहासको अवलोकनपछि मनमा उब्जिएका भावहरू सहित बुनिएको कृति हो यो ‘मिसर’। सो देशमा मेरो लगभग १२ दिनको यात्राको क्रममा म त्यो देशको राजधानी कायरो लगायत त्यहाँको प्राचिन र आधुनिक निर्माणहरुको महत्त्वपूर्ण सहर आसवान तथा हजारौँ वर्षअघिका फेरोहरूको चिहान रहेको स्थल भ्यालि अफ किंग भएको सहर लक्जर पुगेकी थिएँ ।

कुनै बेला ७० हजार जनसङ्ख्या रहेको लक्जर देश विश्वकै सबैभन्दा ठूलो, बढी जनसङ्ख्या भएको र धनी देश थियो रे । अहिले आएर यो एउटा सहरमा मात्र सिमित भएको छ । यहाँ भएका मन्दिरहरू अहिले पनि निकै प्रख्यात मानिन्छ । मिश्रका यी प्राचिन निर्माणहरू विश्व सम्पदामा सूचिकृत छन् ।

ती बाहेक अहिलेका पर्यटकहरू अधिकांशले रुचाउने अति सुन्दर आधुनिक सहर हुर्गाघामा पनि हामी पुगेका थियौँ। पानीमुनि गरिने रोचक कृयाकलापहरूको लागि यो सहरले विश्वमै नाम कमाएको रहेछ ।

नेपालमा पछिल्लोपटक नियात्रा विधा फस्टाउँदै गएको देखिन्छ। नियात्रा विधाको साहित्यिक मूल्य, शक्ति र आवश्यकता किन छ जस्तो लाग्छ ?

मनुष्यको रगत मै भ्रमण छ । त्यही भएर पृथ्वीमा जबदेखि मानिसहरू पूर्ण रूपमा मनुष्य भए उनीहरूले यात्रा गर्न थाले । अण्डमान, निकोबार टापुहरूमा रहेका जङ्गली मनुष्यहरू अफ्रिकाबाट चार हजार वर्ष पहिले यात्रा गरेर त्यहाँ पुगेका हुन भनिन्छ । त्यसैगरी आर्यहरू पनि युरोपबाट यात्रा गरेरै एसिया आइपुगेका हुन् ।

यो यात्राको भोकले नै मनुष्यलाई आफू नगएको ठाउँमा जान, ती ठाउँहरूका बारेमा जान्न उत्सुक गराउँछ । मानिस आफू जान नसकेको ठाउँहरूका बारेमा पढेर पनि सन्तुष्टि लिन्छ । यही कारण यात्रा विधाले पाठकहरूको मन जित्दै आएको थियो । अझ त्यो विवरणमा आफ्नो निजात्मक अनुभूति पनि गाँसिदा यो विधा पाठकहरूको मनपर्ने विधाको रूपमा लोकप्रिय हुनपुग्यो । त्यही भएर यो विधाको साहित्यिक मूल्य बेसी छ । यसरी पाठकहरूलाई आफू सँगसँगै कुनै नौलो स्थानमा लैजान सक्षम हुनु नै यो विधाको शक्ति हो ।

‘मिसर’ मा पाठकले के पाउने छन् ?

मिसर पुस्तकमा पाठकहरूले मिश्र देशको इतिहासका बारेमा जानकारी पाउने छन् । यहाँका विभिन्न प्राचिन सभ्यताका बारेमा ज्ञान पाउनेछन् । यहाँका अक्षय कला तथा समृद्ध संस्कृतिको बारेमा, यहाँका हजारौँ वर्ष पुराना तर उन्नत वास्तुकलाका बारेमा थाहा पाउने छन् । प्राचिन मिश्र कति उन्नत थियो तथा मिश्रेलीहरू कति सीपले भरिपूर्ण थिए भन्नेबारे सूचना पाउने छन् ।

यहाँ वरिष्ठ लेखक मदनमणि दिक्षितको छोरी हुनुहुन्छ । माडसाब नेपाली साहित्यको अनमोल रत्न नै हुनुहुन्छ । उहाँको छोरी भएर लेख्न कत्तिको चुनौती थियो ?

निश्चय नै मदन मणि दीक्षित नेपाली साहित्यको अनमोल रत्न हुनुहुन्छ । उहाँको छोरीको रूपमा नेपाली साहित्यमा प्रवेश गर्नु साँच्चिकै चुनौतिपूर्ण थियो मेरो लागि ।

म नेपाली साहित्यमा प्रवेश गर्नुभन्दा पहिला पिताजी नेप्रप्रको उपकुलपति हुनुभएको बेलामा उहाँको अमेरिका भ्रमणको बारेमा कुनै एउटा साप्ताहिक पत्रिकामा उहाँमाथि शाब्दिक आक्रमण गर्दै उहाका बारे अनर्गल कुराहरू लेखिएको थियो । त्यो पढेपछि मलाई उकुसमुकुस भएर मैले सोही पत्रिकामा त्यसको जवाफ लेखेकी थिएँ । त्यो मेरो जवाफपछि उहाँमाथि त्यसखालका शाब्दिक आक्रमण हुन छोडेको थियो रे । सो जवाफ पढेपछि धेरैलाई यो इल्या भटटराई भन्ने को व्यक्ति हो भन्ने खुल्दुली भएको रहेछ । पछि म उहाँकी छोरी भन्ने यही उत्तरबाट धेरैलाई थाहा भएको रहेछ ।

पछि पिताजीको भूभिसूक्त उपन्यासको विश्लेषणको रूपमा अभिव्यक्ति मासिकले एउटा अंक निकालेको थियो । त्यसमा भूमिसूक्तका बारेमा मैले पनि एउटा लेख लेखेकी थिएँ । कतिजनाले त्यो लेख मदन मणि आफैँले लेखेर छोरीको नाममा छपाएको भनेर भनेका रहेछन् । यसरी मेरो यी दुई लेखले पाठकहरुले मलाई याद गरिरहनु भएको रहेछ ।

जब मेरो पहिलो कथा सङ्ग्रह ‘मन मनै त हो’ प्रकाशित भयो पाठकहरूले मदनमणि दीक्षितको छोरी भएता पनि म मा पिताजीको त्यो प्रकाण्ड विद्वताको आशा त गर्नु भएको थिएन होला । तरै पनि मेरो लेखनलाई सबैले मन पराइदिनु भयो । र मलाई साहित्यमा अघि बढन प्रेरणा दिनुभयो । त्यो बेलादेखि आजको दिनसम्म पनि सबैले मेरो लेखन मन पराइदिनु भएको छ ।

आदरणीय कमलमणि दीक्षितज्यू, मनुज बाबु मिश्रज्यू, रमेश विकलज्यू तथा अरु धेरै जनाले मेरो कथा, नियात्रा पढेर मलाई प्रेरणा दिनुभएको थियो । मैले साहित्यमा सबैबाट स्नेह पाएकी छु । राष्ट्रकविज्यूले पनि मेरो पहिलो नियात्रा कृति लफबराको वरिपरि खुब मन पराउनु भएको थियो । उहाँले मेरो कथा त्यो एउटा बिहान दुई पटक पढिसकेको छु , अब फेरि तेस्रो पटक पढनेछु भन्नु भएको थियो । उहाँले सो कुरा भनुन्जेल मैले उहाँको त्यो भनाई आफ्नो मोबाइलमा सुटुक्क टेप गरिरहेकी थिएँ । यो अहिले पनि मसँग सुरक्षित छ ।

यहाँले बुवालाई र श्रीमानलाई दुईतीन महिनाको अन्तरालमा गुमाउनु भयो । यी दुई पुरुष यहाँको जीवनको निकै महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ । यहाँको श्रीमानको हौसला र सहयोगले साहित्य कर्ममा लागिरहन उर्जा मिलेको कुरा यहाँले विभिन्न ठाउँमा भन्नू र लेख्नु भएको छ । जीवन र मृत्यु के रहेछ जस्तो लाग्छ ?

हो, मेरो जीवनमा अत्यन्त महत्त्व राख्नुहुने दुईजनालाई मैले साढे दुई महिनाको बीचमा गुमाएकी थिएँ । ९८ वर्षको उमेरमा भएको पिताजीको अवसानलाई त उमेरअनुसार स्वभाविक नै मान्नुपर्ने र चित्त बुझाउनु पर्ने हुन्छ । तर कहिल्यै बिरामी नपरेको अत्यन्त जोश र जाँगरले भरिपूर्ण कर्मयोगी श्रीमानलाई अकस्मात त्यस्तो रोग लाग्नु नै मेरोलागि जीवनको क्षणभगुंरताको बोध थियो । अन्तिमको एक महिनाभन्दा पहिलेका दिनहरूमा पनि उहाँ अत्यन्त सक्रिय हुनुहुन्थ्यो । पछि उहाँ रहनु भएन । आखिर मृत्यु त शास्वत सत्य रहेछ । जीवन त मात्र क्षणभरको समय त रहेछ । यही एउटा सत्यलाई बोध गर्न सकेभने मात्र पनि मनुष्यको जीवनको सोच र पद्धति नै अर्कै हुने थियो होला ।

हामीले बाँचेको युगमा धेरै उतारचढाव आएका छन् । त्यस मध्य एउटा त्रासदीले भरिएको समय थियो ( कोरोना र लकडाउनको । यो महामारीले यहाँलाई के सिकायो ?

वास्तवमा कोरोनाले हामीलाई धेरै कुरा सिकायो । हामी मनुष्यलाई आफ्नो वास्तविक धरातल बतायो । हाम्रो अहम्लाई धराशायी गराएर हाम्रो लघुताभाषको बोध गरायो । जीवनको अनिश्चयता र क्षणभगुंरतालाई दर्शायो । आखिर हामीलाई के चाहिँदो रहेछ र ? ती समयमा हाम्रा एकसेएक लुगा,गहना,मान इज्जत, हैसियत सबैलाई कोरोनाले केही न केही तुल्याइदियो । के चाहिँदो रहेछ र हामीलाई सामान्य गाँस,बास र कपासमात्र रहेछ नि हाम्रो जीवनको महत्त्वपूर्ण तथ्य । आफ्नोपन र स्पर्श रहेछ सबैभन्दा ठूलो कुरो । लकडाउनको अवधिभरि हामीले मोबाइल वा कम्प्युटरको पर्दामा आफ्नाहरुलाई हरेक क्षण भेटिरहेका थियौँ। त्यहाँ भेट थियो । तर पनि त्यो भेट पूर्ण थिएन । अलिनो भेट । त्यहाँ आफ्नाहरूसँगको स्पर्श थिएन । त्यही भएर त्यो खल्लो थियो । जब प्रत्यक्ष भेटियो तब बल्ल आफ्नो मान्छे भेटेको तृष्णा मेटियो । कोरोनाले नाता र आफ्नो नजिकको सम्बन्धको महत्त्वलाई पनि उजागर गरिदियो ।

यहाँले नेपाल लिट्रेचर फेस्टिबलको एउटा सेसनमा बुवा मदनमणि दिक्षितको सातवटा प्रेमपत्रले नै उहाँलाई लेख्ने हौसला मिलेको बताउनु भएको थियो । ती पत्रहरू यहाँले पढ्नुभयो र यदि पढेको भए ती पत्रहरूमा यहाँले के विशेष कुरा भेटाउनु भयो ?

हो लिटरेचर फेस्टिवलमा मैले पिताजीद्वारा लेखिएका सात प्रेमपत्रका बारेमा उल्लेख गरेकी थिएँ । ती प्रेमपत्रहरु वास्तवमा पिताजीले कलेज जाने क्रममा बाटोमा देखिने गरेकी एक अपरिचित किशोरीलाई लेख्नुभएको थियो । उहाँ ती केटीसँग प्रेममै पर्नुभएको थिएन । तर पनि उनैलाई पात्र बनाएर ती प्रेमपत्रहरू लेखिएका थिए । ती पत्रहरु वास्तवमा उहाँलाई लेखक बनाउने माध्यमका रूपमा आएका थिए । ती पत्रहरु लेखिँदा पिताजी आफैं पनि युवावस्थाको शुरुआती दिनहरूमा हुनुहुन्थ्यो । त्यो बेला लेखिएका ती काल्पनिक प्रेमका पत्रहरु लेखेको भनेर त्यतिखेरै उहाँले आफ्ना मातापिताबाट गाली खानु परेको थियो । ती पत्रहरु त्यहिबेला नै कता पुगे कता । त्यही भएर ती पत्रहरू मैले पढन पाउने कुरै थिएन ।

यहाँले बुवा मदनमणिलाई दाजु भनेर सम्बोधन गर्नुहुँन्थ्यो रे ! यसको केही भित्री कथा सोध्न मिल्ला ?

ममात्र होइन हामी पाँचै जना उहाँका सन्तानले, मेरा काकाहरूका छोराछोरीहरूले पनि उहाँलाई दाजु भनेरै सम्बोधन गर्थ्यौँ कारणचाहिँ मेरो जेठो दाजु आदरणीय श्री विनोद मणि दीक्षित र हाम्रा कान्छा काकाको बीचमा १०,११ वर्षमात्र उमेरको भिन्नता थियो । कान्छा काकाले दाजु भन्ने गरेकोले मेरो ठूल्दाजुले पनि पिताजीलाई दाजु भन्न थाल्नुभयो । उहाँलाई नै पछ्याउँदै हामीले पनि दाजु भन्ने गर्यौं ।

यहाँले कथा र नियात्रा गरेर एक लगभग एक दर्जन कृति प्रकाशित गरिसक्नु भएको छ । अब कुन कुन साहित्यको विधामा लेख्न मन छ ?

मलाई आफ्ना अनुभूतिहरू कि त कथाको रूपमा कि त नियात्राको रूपमा अभिव्यक्त गर्न सजिलो लाग्छ । म यी दुई बिधामा मै आफूलाई सजिलो ठान्छु । कविता र गीत मलाई निकै मनपर्छ । तर यी दुई विधामा मैले आफूलाई सफलतापूर्वक अभिव्यक्त गर्न सक्दिनँजस्तो लागेरै मैले यिनमा हात हालेकी छैन । म अझैँ एउटा नियाात्रा कृति र एउटा संस्मरण लेख्नेतिर लागेकी छु ।

मलाई पढ्न पनि धेरै मनलाग्छ । म प्रत्येक दिन केही न केही पढिरहेकै हुन्छु । बाहिर कतै जाँदा पनि मेरो ब्यागमा एउट किताब पक्कै पनि हुन्छ । कतै यत्तिकै समय बिताउनु पर्यो भने म त्यही किताब पढछु ।

अहिले हाम्रो भाषामा विदेशी शब्दहरूको अतिक्रमण धेरै नै भएको छ । हामीले आफूसँग नभएका शब्दहरु विदेशी भाषबाट अपनाउनु पक्कै पनि पर्छ । तर आफ्ना शब्दहरुलाई पाखा लगाएर विदेशी शब्दलाई काखमा राख्ने प्रवृत्ति निकै नै बढेर गएको छ । हामी सबै नेपालीले साँचो भन्ने शब्द बिर्सेर चाबी भन्न थालेका छौँ। खाजाको साटो नास्ता, तरकारीको साटो सब्जी, पुतलीको साटो गुडिया ।

यो देख्दा मलाई सार्है चित्त दुख्छ । विदेशी शब्द पनि आवश्यक भएको ठाउँमा अपनाऔँ तर, आफ्नो मौलिक शब्दलाई गलहत्याएर विदेशी शब्दलाई नच्यापौँ भन्ने मेरो आग्रह हो ।

प्रतिक्रिया

सम्बन्धित खवर