उमेश अवस्थी आदर्श सुनकुँडा बझाङमा जन्मिएका हुन् । पूर्वीय साहित्य र दर्शनमा रूचि राख्ने उनको ‘देशको माटो’ (२०७८) र ‘श्रीमद्भागवतगीता आदर्श गीता’ (२०७९) प्रकाशित कृति हुन् । उनले भागवतगीतालाई नेपाली भावानुवाद गरि छन्दमा तयार पारेको कृतिसँग सम्बन्धित भएर आजको आँगनमा अवस्थीसँग सेतोमाटोका सहकर्मी जनक कार्कीले गरेको पुस्तक वार्ताको सम्पादित अंश प्रस्तुत छः

गीता अंग्रेजी भाषामा अनुवाद गरिएको पहिलो हिन्दू धर्मग्रन्थ हो । ईस्वी सन् १७८५ मा चाल्र्स विल्किन्सले गीताको पहिलो अंग्रेजी अनुवाद प्रस्तुत गरे । उनले भारतको वाराणसीमा बसेर त्यो पुस्तक लेखेका थिए । सन् १७८७ मा रसियन र फ्रेन्च भाषामा गीताको पहिलो अनुवाद निस्क्यो भने सन् १८०२ मा जर्मन भाषामा गीता प्रकाशित भयो । त्यसपछि बेलायत, जर्मनी, फ्रान्स र अमेरिकामा गीताको लोकप्रियता दिनानुदिन चुलिंदै गयो । यहाँले पनि गीतालाई नेपाली भाषाको छन्दमा भावानुवाद गर्नुभएको छ । यसको आवश्यकता र उद्धेश्य किन देख्नुभयो ?

श्रीमद्‍भगवद्‍गीताका सर्वपक्ष तथा दृष्टान्तमा आधारित परिवेश उहीँ, पात्र उहीँ, तर भाषाशैली तथा प्रस्तुति नौलो भएकाले श्रीमद्‍भगवद्‍गीता आदर्श गीतालाई भावानुवाद वा छाँयानुवाद जे भने तापनि यसलाई मौलिक ढङ्गले रचना गरिएको छ । आज नेपाली साहित्य तथा नेपाली काव्यका जति पनि पाठक तथा शुभेच्छुक छन् उनीहरू सबैलाई संस्कृत भाषाको ज्ञान छ भनेर विश्‍वास राख्न सकिएको छैन । उसो पनि वर्तमान समयमा संस्कृत भाषा लोपोन्मुखावस्थामा देखिन्छ ।

यस समय श्रीमद्‍भगवद्‍गीता जस्तो पवित्र ज्ञानलाई नेपाली भाषामा मात्र नभई नेपाली साहित्यमै भित्र्याउन सकिए भने यसले नेपाली साहित्यलाई पनि केही न केही उपलब्धी हुने र यसबाट गीताका सर्वपक्षहरूलाई बुझ्न सजिलो हुन्छ भने अनुमान गरेर मैले यो रचना गरे । अर्कातिर विश्‍वका धेरै भाषामा धेरैजना विद्वान्‍बाट श्रीमद्‍भगवद्‍गीता अनुवाद भइसक्दा नेपाली साहित्यमा काव्यात्मक तरिकाले अनुवाद भएको भने भेटिँदैन । यसकारण यसलाई समय र परिस्थितले नै आवश्यक ठानेको मैले आकलन गरेको हुँ ।

यहाँले छन्दमा गीतालाई भावानुवाद गरेर कृति प्रकाशन गर्नको लागि कति समय लगाउनुभयो ? र कस्तो प्रक्रियाबाट गुज्रिनुभयो ?

काव्यात्मक रचना गर्नका लागि विभिन्न किसिमका कठिनाईहरू भोग्नु परेको थियो । तथापि प्रकाशन गर्नका लागि भने त्यति धेरै समस्याहरू केही पनि आइलागेनन् । प्रकाशनको चरणमा सुरुमा भने कहाँबाट कसरी प्रकाशन गर्ने भन्ने अन्यौल सृजना भएको थियो । पछि विद्यार्थी पुस्तक प्रकाशनबाट प्रकाशन गर्ने भनि निश्‍चित भएपछि त्यस्तो समस्या केही आएन । समयलाई कसरी मुल्याङ्कन गरौँ वा भनौँ ? गीतालाई नेपाली भाषामा काव्यात्मक रुपले रचना गर्न सुरु गरेको समय देखि समापन नभएको समयसम्म दिनमा कम्तिमा पनि १४ घण्टा भन्दा बढी समय म गीताकै लागि बिताउने गर्थे । त्यो समय करिब अढाई वर्षसम्म निरन्तर चलिरह्‍यो ।

गीतालाई धेरैले अध्ययन गरे होलान तर सबैको बुझाई फरक-फरक नै हुन्छ । भनिन्छ गीतालाई सहि अर्थमा बुझ्न कृष्ण जत्तिकै चेतना हुनुपर्छ । यहाँले बुझेको गीता के हो, संक्षिप्तमा बताइदिनु न ?

गीता शब्दको अर्थ हुन्छ ‘ज्ञानमय उपदेश’ । समाजमा एउटा भ्रम छरेको छ । यहाँ गीता भन्ने बित्तिकै श्रीकृष्ण र अर्जुन बीचको संवादलाई बुझ्ने गरेको पाइन्छ । हेर्नूस् पहिलो कुरा गीता शब्दको बुझाइमै भिन्नता छ, दोस्रोकुरा गीताको इतिहास र ज्ञानबारे यहाँ भ्रम छरेको छ । जब गीता शब्दकै बुझाइमा भ्रम छ तब के सत्य गीता र ज्ञानलाई बुझ्न सकिन्छ र ? कुनैपनि चीजलाई वास्तविक रुपमा बुझ्नका लागि समय, परिस्थिति र पात्रता त्यही किसिमको चाहिन्छ । जसरी गणितलाई बुझ्न गणितका सामान्य सूत्रहरूलाई बुझ्नुपर्दछ र प्रयोग गर्नु पर्दछ । ठिक त्यसैगरी गीतालाई सहि ढङ्गबाट बुझ्न गीताको सूत्रात्मक जीवनलयलाई बुझ्नु पर्छ । गीतालाई सहि अर्थमा बुझ्न कृष्ण जत्तिकै चेतना हुनुपर्छ ।

यो एउटा मिथक हो । तर यसलाई सतप्रतिशत सत्य मान्न सकिँदैन । यसलाई सहि रुपमा प्रष्ट्याउँदा कविता बुझ्नका लागि काव्यिक चेतना चाहिन्छ । तर कविता बुझ्नका लागि कवि नै हुनुपर्छ भन्ने त छैन नि हैन र ? यसकारण गीतालाई जसले गहन तरिकाले अध्ययन गर्दछ उसैले बुझ्दछ । जसले गीतालाई वास्तविक रुपमा बुझ्न सक्छ । उसैको जीवन अमृतमय बन्दछ । श्रीमद्‍भगवद्‍गीताका अलवा श्रीशिव गीता, गुरु गीता, रामगीता, हंसगीता, श्रीगणेश गीता, कामगीता, अवधूत गीता, अष्टावक्र गीता लगायतका ३२ भन्दा बढि प्रकारका गीताहरू छन् । सबै गीताहरूमा पात्र, परिवेश, घटना, रहस्य फरक-फरक छन् । जब हामी यी सबै गीताको गहन रुपले अध्ययन गर्न पुग्दछौ तब पक्कैपनि हामी सजिलै गीतालाई एकरुपले बुझ्न सक्नेछौ ।

केही विश्लेषकहरूले गीतालाई चिनिया सैन्य रणनीतिकार, दार्शनिक एवम् लेखक ‘सुन सु’ को प्रसिद्ध कृति “आर्ट अफ वार“ जस्तै युद्धकला सम्बन्धी ग्रन्थ हो भनेका छन् भने अध्याय दुई श्लोक १४ मा अनिर्णयको बन्दी बनेका अर्जुनलाई कृष्णले कार्ल माक्र्सको शैली मा ’युद्धमा मृत्यु भएमा सदगति प्राप्त गर्ने छौं, जितेमा धर्तीको राज्य भोग्ने छौ’ भनी उत्प्रेरित गरेका छन् भनेर मार्क्सवादी दर्शनसँग जोडेको पाइन्छ । यसमा तपाईंको धारणा के छ ?

तपाईंको प्रश्‍नको आशय यस श्‍लोकसँग जोडिन्छ

हे कुन्तिपुत्रे, भन स्वर्गलोक
यो युद्ध गर्दा, गर्‍यौ कर्म एक
मर्छौ भने नै, छ त स्वर्गलोक
युद्धै जितेमा सुख शान्ति भोग ।।
अब म श्‍लोक बाहिर गएर तपाईंको प्रश्‍नको जवाफ दिन्छु । गीता फगत पूजा कोठामा सजाउने धार्मिक ग्रन्थ, युद्धकला सम्बन्धी ग्रन्थ वा कर्म गर्न प्रेरणा दिने पुस्तक होइन । यो त जीवनलाई नवीन तरिकाले जिउन सिकाउने शास्त्रीय कलाको महान् आविष्कार हो । गीता व्यावहारिक, भौतिक, आध्यात्मिक, वैज्ञानिक चिन्तनले भरिपूर्ण र जीवनका सर्वाङ्गीर्ण पक्षलाई सभ्य र सुसंस्कृत तवरले जीवन्त बनाउनका लागि मार्ग देखाउन सक्ने ज्योति हो । चिनिया दार्शनिक सुन सुको प्रसिद्ध कृति आर्ट अफ वार र कार्लमार्क्सको मार्क्सवादी दर्शन पनि गीताबाट प्रभावित छन् ।

गीता ती पुस्तकबाट प्रभावित भएको ग्रन्थ होइन । तपाईंले कार्लमार्क्सको कुरा उठाइहाल्नु भयो । तपाईंलाई थाहै होला । कार्लमार्क्सले कम्युनिष्ट मेनिफेस्टोमा एउटा पक्ष अर्थात् एउटा सिद्धान्तका रुपमा द्वन्द्वात्मक भौतिकवादलाई लिएका छन् । यो द्वन्द्वात्मक भौतिकवाद चाणक्यले रचना गरेको कौटिल्यको अर्थशास्त्र भित्रको द्वन्द्वात्मक भौतिकतासँग जोडिन्छ । अर्थात् कार्लमार्क्सको द्वन्द्वात्मक भौतिकवाद चाणक्यको द्वन्द्वात्मक भौतिकताबाट प्रभावित छ ।

अर्कातिर श्रीमद्‍भगवद्‍गीताले कर्मभूमिमा होमिएका सेना अर्जुनलाई निरङ्कुश रुपमा शासन सञ्चालन गरिरहेका राजापक्षहरूका विपक्षमा लड्न प्रेरित गरेका छन् । यही युद्ध नै प्राचीन समयको वर्ग सङ्घर्षको अन्तिम र निर्णायक सङ्घर्ष लडाइका रुपमा देखा परेको छ । यस सङ्घर्ष पछि पाण्डवराज्य (साम्यवाद) को स्थापना भयो ।

अहिलेको साम्यवाद र पाण्डवहरूले राज गर्दाका बखतका राज्य नीतिबीच धेरै हदसम्म समानता छन् । यसकारण आजका दिनमा समाजवाद, साम्यवाद तथा जनवादका रुपमा जति नवीन आयामहरू प्रस्तुत गरे पनि यी आयामहरूको उतिबेला नै प्रयोग भइसकेको छ । गीता साम्यवाद, समाजवाद, जनवादको जननि हो । त्यस समयमा जनताले युधिष्ठिरलाई राजा बनाउन चाहेको कुरा त महाभारतमा प्रष्टसँग वर्णन गरिएको छ भने जनताको शासन ल्याउनका लागि त त्यो युद्ध गरिएको हो भनेर स्पष्ट पार्न सकिन्छ ।

बीपीले मोदिआइन उपन्यासकी प्रमुख नारी पात्रद्वारा भन्दछन्, “कृष्ण त भगवान् हुन्, उनी हामी मान्छेको प्रेम, भावना र संवेदनालाई किन महत्त्व दिन्थे ! उनी त युद्ध गराएर यो सुन्दर मानव संसारलाई क्षतविक्षत पार्न चाहन्छन् ।” मोदिआइन उपन्यासमा कृष्णले हजारौं सैनिकका परिवारलाई विधवा र टुहुरो बनाएर पारिवारिक सुख खोसेको कुरा उल्लेख छ । कृष्णले चाहेको भए युद्ध रोकिन्थ्यो । गीतामा युद्धलाई प्रोत्साहन गर्नुको कारण के देख्नुहुन्छ ?

श्रीकृष्ण युद्ध चाहदैँन थिए । उनी त शान्ति चाहन्थे बदलामा धर्मराज युधिष्ठिरलाई राजा भएको हेर्न चाहन्थे । उनी धर्मद्वारा विवेक र नीतिका साथ शासन सञ्चालन होस् भन्ने चाहन्थे । त्यसका लागि युधिष्ठिर वा पाण्डवहरूलाई राजा बनाउनु पर्ने थियो । हस्तिनापुरका प्रजाहरूको इच्छा पनि युधिष्ठिर नै राजा बनून् भन्ने थियो । यसर्थ श्रीकृष्ण लोकतन्त्र चाहन्थे । जसका लागि श्रीकृष्ण राजा धृतराष्ट्रलाई भेटेर पाण्डवहरूलाई उत्तराधिकारी बनाउन सल्लाह सुझाव दिन्थे ।

सत्ताको मोहले उन्मत्त हात्तीजस्तो दुर्योधन पाण्डवहरूलाई राजा बनाउने कुरामा सहमत हुनु त परैको कुरा हो एउटा गाउँको मुखियासम्म बनाउने इच्छामा थिएनन् । यही शोषक र शोषित बीचको खाडलबाट वर्ग सङ्घर्ष वा युद्ध भएको हो । गीतामा युद्धलाई होइन कर्मलाई प्राथमिकता दिएको छ । युद्ध भूमिमा होमिए पछि युद्ध गर्न प्रोत्साहन गरिनु स्वभाविक हो । किनकी युद्ध भूमिमा सैनिकहरूको कर्म भनेकै युद्ध गर्नु हो । श्रीकृष्णले चाहेको भए युद्ध रोकिन्थ्यो-यो दोस्रो कुरा हो । श्रीकृष्णले जनताको प्रेम, भावना र संवदेना बुझेर नै पाण्डवहरूलाई राज्यको उत्तराधिकारी बनाउन धृतराष्ट्रलाई सुझाव दिएका हुन् ।

एक पल्ट गान्धीजीको गीता प्रवचन सुनेपछि एक जना पश्चिमा श्रोताले ‘म इसाई हुँ, मैले गीता किन पढ्ने ?’ भनी प्रश्न गर्दा उहाँले भन्नुभयो, “गीता पढे तपाईं अरू राम्रो इसाई बन्नुहुनेछ ।” गीतालाई धार्मिक ग्रन्थ भनेर प्रचारप्रसार गरिनुको पछाडिको राजनीति र नियत के हुनसक्छ र यसलाई धर्मबाट अलग राख्न कत्तिको आवश्यक छ ?

राम्रो कुरा आफ्नो बनाउनका लागि सबै लागि पर्दछन् । प्राचीन समयदेखि नै हिन्दूहरूले गीतालाई शास्त्रहरूको सारभूत रसका रुपमा लिँदै आएका छन् र हिन्दूहरूले गीतालाई आफ्नो धार्मिक ग्रन्थ मान्दै आएका छन् । गीता हिन्दूहरूका लागि मात्र हैन विश्‍व मानव कल्याणका लागि नै आवश्यक ग्रन्थ हो । यसबाट नै धर्मको परिभाषा स्पष्ट जान्न, बुझ्न सकिने भएकाले गीतालाई धर्म भन्दा अलग्गै त होइन धर्मको जननिका रुपमा संरक्षित तरिकाले राख्न सकिन्छ र यस्तो गर्नु आवश्‍यक पनि छ । गीतालाई धार्मिक ग्रन्थका रूपमा प्रचार गरिनुको पछाडिको राजनीति भनेको धार्मिक गुरु र पण्डितहरूको बढ्याँई हो ।

विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले गीता पढेपछि ‘गीता पढ्न धेरै ढिलो भयो’ भनी अफशोच व्यक्त गरेका थिए । यस्तै गरी आणविक बमको प्रथम परीक्षणको बेला सो बमका पिता मानिने वैज्ञानिक रबर्ट ओपनहाइमर गीताको एघारौं अध्यायका बाह्रौं र बत्तीसौं श्लोक गुन्गुनाइरहेका थिए भनिन्छ । अमेरिकाका दार्शनिक चिन्तक इमर्सन ( र इसाई धर्मगुरु थोमस कार्लाइल (Thomas Carlyle) बीच पहिलो पल्ट भेट हुँदा कार्लाइलले इमर्सनलाई विल्किन्सले अनुवाद गरेको गीताको पुस्तक हातमा दिंदै भनेका थिए, “यो पुस्तक अत्यन्त प्रेरणादायी छ । यो पढेर मैले जीवनमा राहत पाएको छु । तपाईं पनि यो पुस्तक पढ्नुहोला, मैले जस्तै अनुभूति गर्नुहुनेछ ।” इमर्सनको प्रभाव पछि थोरो माथि पर्‍यो र थोरोले ‘वाल्डेन’ मा एकान्तवास गर्दा गीताको गहन अध्ययन गरे । सुप्रसिद्ध अमेरिकी कवि वाल्ट ह्विटम्यान इमर्सन र थोरोको प्रभावमा परे र उनी पनि गीतामा मग्न भए । उनको निधनपछि उनको सुत्ने कोठा सफा गर्दा सिरानमुनि भगवद्गीताको पुस्तक भेटिएको कुरा पढिएको छ । यसरी हेर्दा गीताको प्रभाव संसारका विद्वान, कवि, वैज्ञानिक, दार्शनिक आदिमा परेको देखिन्छ । यहाँको विचारमा यसरी गीताबाट प्रभावित हुनुको पछाडि गीतामा त्यस्तो के छ जस्तो लाग्छ ?

गीतामा जीवन छ । जीवन जिउनेकला छ । गीतामा जीवनका व्यावहारिक, भौतिक, आध्यात्मिक, वैज्ञानिक, राजनीतिक लगायतका सबै पक्षको चर्चा गरिएको छ ।

यहाँले अनुवाद गरेको केही मनपर्ने श्लोकहरू राख्दिनु न ?

यो अलिक गम्भीर कुरा राख्नु भयो । पूर्णबाट पूर्ण झिक्नु हुन्छ भने बाँकी पनि पूर्ण नै रहन्छ । तर पूर्णबाट अपूर्ण झिक्ने हो भने पूर्ण पनि अपूर्ण हुन्छ । यसको तात्पर्य गीताका सबैश्‍लोक एकताबद्ध र सूत्रबद्ध छन् । यदि त्यहाँबाट कुनै श्‍लोकलाई बाहिर झिकेर पढ्ने हो भने त्यसको अर्थ अर्कै लाग्न जान्छ । यसकारण गीताका सबै अनुवादित श्‍लोकहरू उत्तिकै गहन छन् र मलाई सबै श्‍लोकहरू बराबरी नै मन पर्दछन् ।

गीता गहिरो प्रश्नले जन्मिएको ग्रन्थ हो । अर्जुनको जिज्ञासु प्रश्न नभएको भए कृष्णको उत्तर जन्मिने थिएन होला । मानव सभ्यतामा प्रश्नको ठूलो महत्व छ । तपाईं आफूले आफूलाई कहिले प्रश्न गर्नुहुन्छ ? यदि हुन्छ भने कस्ता प्रश्नहरू हुन्छन् ?

म आफू, आफूलाई अधिक प्रश्‍नहरू गर्ने गर्दछु । म त्यतिबेला आफू, आफूलाई प्रश्‍न गर्दछु । जब म आफूसँग दिग्दार हुन्छु वा प्रसन्न हुन्छु । यसकारण म एकतमासले चलिरहेको छु । मेरो प्रसन्नतामा र दिग्दारीमा खासै अन्तर छैन । प्रश्‍नहरू समय, परिवेश अनुसार फरक-फरक नै हुन्छन् । तथापि बढी प्रश्‍नहरू प्रकृतिको रचनासँग गर्ने गर्दछु ।

अन्त्यमा यहाँले मन लागेका कुरा व्यक्त गर्न सक्नुहुन्छ ।

तपाईंले गरेका प्रश्‍नहरू निकै गहकिला लागे । तपाईंको आगामी समय शुभरहोस् शुभकामना । तपाईंलाई यी र यस्तै प्रश्‍नहरू थप उत्तर दिनका लागि म कुनैदिन भेटिनेछु ।

प्रतिक्रिया

सम्बन्धित खवर