– पुछार घरे
कहिले पानी हिउँ बन्यो
र, साहसी हिमालीहरूको स्वास पुरिनु पर्यो
कहिले पानी भेरी बन्यो
र, कलिला पहाडिया जवानहरू हेलिनुपर्यो
कहिले पानी बाढी बन्यो
र, लास गाड्ने जमिन नपाएर नाबालक तराई बगाउनु पर्यो
कहिले पानी तिर्खा बन्यो
र, छोई बग्यो सिंहदरबारको सत्तासीन ओठ
अहिले त लोकतन्त्र बनेकोछ
सिउँदो पखालेर सिंहदरबार पसेको छ संस्कारी पानी
रङ्गहीनबाट रातारात रङ्गीन बनेको छ
यस्तो रङ्गीन पानी पिउँनाले त-
राजा जनता र जनता महाराजा बन्दा रहेछन्।
एकदिन पानी आगो नबनोस्
जलेर खरानी भए त ठीक छ
पग्लेर वल्लो पल्लोतिर टाँसिँदै विलिन भयो भने
बुद्धलाई प्यास लाग्दा मैले के दिने?
***
प्रतिक्रिया
-
४