– गंगा खड्का
“ बुहारी , तिमीलाई हामीले छोरा बितेपछि बुहारीको रूपमा नभई छोरीको रूपमा हेरेका छौँ । तर आफ्नो स्वार्थको लागि तिम्रो भविष्य बिगारिदिन सक्दैनौँ ।”
रमाको कुरा सुनेर आस्थाले भनी , “आमा मैले हजुरको आशय बुझ्न सकिनँ ,के भन्न खोज्नुभएको ?”
“ अब तिमीले अर्को घरजम गर्नुपर्छ बुहारी । तिमीलाई नि बुढेसकालको सहारा चाहियो नि ।” आस्थाको जिज्ञासालाई मेटाइदिँदै तिलकले भने ।
आस्था एकछिन मौन रही । उसको अनुहार गुराँस जस्तै रातो भयो । बल्लतल्ल आफूलाई सम्हाल्दै उसले भनी, “बुबा, भएको एक्लो छोरो गुमाएपछि हजुरहरुको बुढेसकालको सहारा मबाहेक अरु को छ र यस्तो निर्णय गर्नुहुन्छ ? ”
रमा र तिलक एकछिन घोरिए । उनीहरूले एकअर्कालाई प्रश्नात्मक आँखाले हेरे अनि रमाले भनिन् , “ बुहारी ! अब हामीलाई तर्कले जित्न नखोज । यो हामीले एकदमै सोचेर तिम्रो भलाइको लागि भनेका हौँ । लाउँलाइँ खाउँखाउँको उमेर छ । बिहे गरेको चार महिनामै तिम्रो सिउँदो पखालियो । काख पनि रित्तो छ ।”
रमाको कुरा सुनेपछि आस्थाले लुकाइराखेको आँसुलाई थाम्न सकिन । तिलक र रमा पनि आँसुको सहरामा मनका व्यथा पखाल्न थाले । निकै बेरपछि आस्थाले मन बलियो बनाउँदै भनी , “ जसरी हजुरहरुलाई मेरो बुढेसकालको चिन्ता छ, त्यसैगरी मलाई पनि हजुरहरुको चिन्ता छ । फेरि अर्को बिहे गर्दैमा मैले सुख पाउँछु भन्ने छ र ? बरु साँप पनि मर्ने, लठ्ठी पनि नभाँंचिने खालको मसँग एउटा उपाय छ ,मान्नुहुन्छ ? ”
आस्थाको आशालाग्दो कुरा सुनेर तिलकले हत्तपत्त सोधे , “कस्तो उपाय बुहारी ?”
आस्थाले भनी “ बरु म टेस्टट्युब बेबी जन्माउँछु नि । जसबाट हजुरहरुले नि आफ्नो बुढेसकालमा एक्लो हुनुपर्दैन । मेरो पनि बुढेसकालको सहारा हुन्छ ।”
“लौ ! कस्तो कुरा गरेकी बुहारी ? दुनियाँले कुरा काट्दैनन् ?” रमाले आपत्ति जनाइन् ।
“ त्यसो त अर्को बिहे गर्दा नि दुनियाँले कुरा काट्छन् नि । त्यसमाथि टेस्टट्युबको बारेमा गलत बुझाइ हुनेले मात्रै कुरा काट्ने हुन् । ”
“ बुहारीले ठिक कुरा गरिन् रमा । दुनियाँ बदल्नु छ भने समयको मागअनुसार राम्रो कामको सुरुवात आफैँबाट गर्नुपर्छ । ” तिलकले आफ्नो अनुहारलाई जूनजस्तै उज्यालो पार्दै भने ।
***
प्रतिक्रिया
-
४