– हरिश कल्पित
“अमिनाको त कुरो छिनिने भयो नि, थाहा पाउनुभो तपाईंले ?” – असिमा खुसीले प्रफुल्ल हुँदै भन्छे ।
“ए हो र ! कहिले ?” आश्चर्यको भाव व्यक्त गर्दै रञ्जन भन्छन् – “कसले भनेको ? तिमीले कसरी थाहा पायौ त ?” श्रीमतीको मुखमा पुलुक्क हेर्छ ।
“आज दिउँसो भाइ आ’थ्यो, उसले भनेको ।”
“ए कोसँग रहेछ ?” हातको फाइल टेबुलमा फ्यात्त मिल्काई श्रीमतीको मुखमा प्रश्नसूचक दृष्टिले हेर्छ। अनि सुइय गरेर लामो सुस्केरा हाल्दै सोफामा थ्याच्च बस्छ ।
तिनी हत्तारिँदै भान्सा कोठातिर लाग्छिन् । एकछिनमै एक कप तात्तातो चिया ल्याउँदै भन्छे- “केटो अमेरिकाबाट आएको रे ! त्यहाँको कम्प्युटर इन्जिनियर रे ! अब बिहे गरेपछि यहीँ जागिर खाएर बस्छ रे… यी लिनुहोस् चिया ।”
रञ्जन श्रीमतीको मुखमा पुलुक्क हेर्छ। अनि मुस्कुराउँदै भन्छ- “तिम्री बहिनी त साहै भाग्यमानी रहिछन्, कसो ?” तिनको प्रतिक्रिया अनुहारमा खोज्न थाल्छ ।
“भाग्यमानी हैन त ? भाग्यमानी नभएको भए त्यत्रो धनी इन्जिनियरजस्तो केटा कहाँबाट माग्न आउँथ्यो ?” बनावटी रिस पोख्छे ।
“के तिमीले चैं आफूलाई अभागिनी भन्न खोजेकी ?” रञ्जन हाँस्दै भन्छ ।
“के भाग्यमानी त, यसो एउटा…” वाक्य बीचमै रोकिन्छ, अनि पुनः सम्झदै भन्छे- “के भन्ने ! भनेर लाग्ने भए पो रहरै रहरमा जिन्दगी बित्ने भो…” लामो सुस्केरा छाड्छे ।
“भनन भन । किन रोकिएकी ?” रञ्जन जिस्क्याउने सुरले भन्छ ।
“भयो, भयो ।” हातको इशाराले लोग्नेतिर झर्किदै भन्छिन। “तपाईंलाई भनेर पार लाग्ने भए पो । जान्छु बरु भात पकाउन ।” भान्साकोठातिर लाग्छिन् । रञ्जन हाँस्दै असिमा गएतिर हेरिरहन्छ ।
असिमाको बिहे भएको भर्खर दुई वर्ष मात्र भयो । कलेजबाट दुवैको मनमा प्रेमको मुना पलाएको थियो । जब कलेज जीवन सकियो तब दुवैले आमाबाबुको स्वीकृति लिएर प्रणयसूत्रमा बाँधिएर गृहस्थी जीवनमा प्रदापन गरे ।
रञ्जन एक शिक्षित, साधारण परिवारको युवक, जागिरे, जसोतसो जिन्दगीको गाडी चलाउन सक्षम एक आदर्श लोग्ने ।
लोग्नेको मुखमा हेर्छ । रञ्जन मस्तसँग निदाइरहेको हुन्छ । बत्ती बाल्छे, कोठा उज्यालोले नुहाउन पुग्छ । चारैतिर आँखा दौडाउँछे । भित्तामा टाँगिएको बिहेको फोटोमा आँखा ठोक्किन पुग्छ । रञ्जन र उसको बिहेको फोटो, त्यो पनि उसकी चुलबुली प्यारी बैनी अमिनाले खिचिदिएकी थिइन् ।
“ल ल, भिनाजु ! दिदीलाई अँगालो मार्नु पर्यो नि !” वरिपरि सबै हा…हा गरेर हाँसे । तिनी लाजले राती भइन् । मनमनै भनिन्- “कस्ती लाज नभएकी मोरी ।”
झन् त्यसमाथि दुलाहा रञ्जन सालीसँग जिस्कँदै – “लौ यसरी ?” भन्दै झन् नजिक आएर अँगालो पो हाले। तिनी लाजले गर्दा भुइँ हेरेर निहुरिरहिन् ।
“अहँ, दिदी यो त भएन । दिदीको मुखै आउँदैन ।” अमिनाले झन् जिस्कँदै भनिन् ।
“एकचोटि त हेर।” रञ्जनले खुसुक्क कानमा भने। उनले के क्यामरातिर पुलुक्क हेरेकी थिइन् त्यही बेला ‘क्लिक’ गरेर खिचिदिइन् ।
“किन नसुतेकी तिमी, के भयो ?” आधा आँखा उघारेर नजिकै ट्वाल्ल परेर बसिरहेकी श्रीमतीलाई सोध्छ । लोग्नेको आवाजले असिमा झस्किन्छिन् । अतीत छताछुल्ल भई पोखिन्छ ।
“खै, निद्रा लागेन ।” बिस्तारै जवाफ दिन्छिन् । फेरि निदाउने प्रयास गर्छिन् ।
असिमा र अमिना दुई दिदी बहिनी। उमेरमा दुई वर्षको मात्र फरक । कलेजको अन्तिम वर्षकी छात्रा अमिना यौवनले भरिएको सौन्दर्यकी प्रतिमूर्ति थिइन् । ठूल्ठूला चञ्चले आँखा, लाम्चो सुलुत्त परेको नाक, पातलो ओठ, अनारदाना दाँत, बाटुलो अनुहार, गोरो वर्ण, लामालामा केशराशी, अग्ली, छिनेको कम्मर । सायद भगवान्ले खुबै मेहनत गरी बनाएको अमिनाको सौन्दर्यदेखि कहिलेकाहीँ असिमासमेत ईर्ष्या गर्न पुग्थिन् ।
घरमा आउने जोसुकै पनि अमिनाको सौन्दर्यदेखि प्रभावित नभईरहन सक्दैनथे । छोरीको प्रशंसामा बाबुआमा दङ्ग पर्थे ।
“हेर अमुकी आमा, हाम्रो अशुलाई त ठूलै घरबाट माग्न नआईकन त दिँदै दिन्नँ, त्यो पनि डाक्टर, इन्जिनियर नभईकन त कुरै गर्नु पर्दैन ।” असिमाकी आमाको अगाडि घमण्डले फुल्दै बाबु भन्ने गर्थे ।
“अँ, डाक्टर, इन्जिनियर आएन भने, के छोरीलाई बूढीकन्या बनाएर राख्ने विचार छ कि कसो ?” हात हल्लाउँदै झर्किदै भन्थिन् ।
“हेरिराख् न तँ ।” आफ्नी धर्मपत्नीलाई आश्वासन दिँदै भविष्यप्रति आशावान् हुन्थे बाबु ।
“कहिले, छोरी बूढी भएपछि ?” त्यत्रो ठाउँबाट माग्न आइसके तर तपाईं भने…।” वाक्य बीचमै रोकिन्छ ।
“हैन, केटो असल खान्दानी छ भने भइहाल्यो नि, खै हाम्री असुलाई त आनन्दै छ । भन्याजस्तो लोग्ने छ । हजुर भने खाली… खै, कतिसम्म छोरीलाई घरमा राख्ने हो कुन्नि, केही थाहै छैन।” दिक्क मान्दै भन्छिन् असुकी आमा । “हतार नगर्न तँ, के बित्या छ ? हेर् न, छोरीको बिहे म धुमधामसँग गर्छु ।” बाबु प्रायः भन्ने गर्थे ।
आज घरमा निकै रमझम छ । पूरै घरलाई झिलिमिली बत्तीले दुलही झै सिँगारिएको छ । मानिसहरू राम्रा राम्रा लुगा लगाई ओहारदोहोर गरिरहेका छन् । अत्तरको सुगन्धले वातावरणमा मिठास भरिदिएको छ । असिमालाई सास फेर्नसमेत फुर्सत छैन । घर नजिकै जग्गे लगाइएको छ ।
“दिदी आमालाई बोलाइदिनुस् न ।” तलबाट भाइले आवाज दिन्छ ।
असिमा हत्पत्तिदै माथि पुग्छे । बैठकमा पुगेपछि केटीहरू हाँसेको आवाज आउँछ । आवाज भएतिर तानिंदै जान्छे। भित्री कोठाको ढोकामा पुग्छे । सुस्तरी ढोकाको कापबाट चियाउँछे। साथीहरू माझमा आज, उसकी प्यारी बहिनी अमिना ताराहरू बीचमा चन्द्रमाझै खुलेकी देखिन्छे । बहिनीको रूप लावण्य देखेर ऊ मोहित हुन्छे ।
“भित्र आउनुस् न दिदी।” अनिमा मायालु स्वरमा बोलाउँछे । ” हँ ..!” उनी झस्किन्छिन्। बिस्तारै भित्र आउँछिन्। सबै उनैलाई हेरिहेका हुन्छन् । उनी नजिकै पुग्छिन् । आँखाभरि अथाह माया उम्लिएर आउँछ । बहिनीको चिउँडो समाती बिस्तारै उठाउँदै भन्छिन् – “तँ साहै भाग्यमानी छेस् अमु ।”
टाढा बैन्ड बाजा बजेको सुनिन्छ । आवाज क्रमशः नजिक हुँदै आउँछ । उनी हत्तारिदै बार्दलीमा आउँछिन्। कारबाट दुलाह उत्रन्छ । कालो रङको सुट, सेतो कमिज । रातो टाईमा सुसज्जित दूबोको माला। निधारमा रातो टीका । खबटे अनुहार । कालो वर्ण। उनी दुलाहको अङ्ग अङ्ग नियाल्न पुग्छिन् ।
“त्यति राम्रो त छैन रैछ, फोटोमा त कति राम्रो देख्याथ्यो ।” मनमनै भन्छिन् । “उहुँ अमुलाई त पटक्कै सुहाउँदैन । तर… करोडपति बाबुको छोरो, अमेरिकाबाट इन्जिनियर भएर आएको, राम्रो किन चाहियो र लोग्नेमान्छे ? गुण धन भए त पुगिहाल्यो नि ।” कार बङ्गला, फ्रिज, टी.भी. र डेक उनको आँखाअगाडि नाच्न थाल्छन् ।
“रञ्जन त धेरै राम्रो, अग्लो लायकको, हँसिलो अनुहार । हेरिरहुँ जस्तो । असल बानी बेहोरा ।” असन्तुष्ट मनलाई सान्त्वना दिन्छिन्-
“तर यसको बानी-बेहोरा कस्तो होला ? अमेरिकामा बसेको मान्छे, कहीँ बढी स्वच्छन्द त छैन ?” मनमनै सशङ्कित हुन्छिन्। “आ पैसा प्रसस्त भएपछि त सुख पाइहाल्छे नि । अब मेरी बहिनी पनि करोडपति हुने भई। आफू भने जाबो एउटा …।” बहिनीप्रति मनमनै ईर्ष्याको मुना पलाउँछ ।
“हैन, तँ यहाँ के गर्न लाग्या हँ ?” उनी आमाको आवाजले कल्पनाबाट बिउँझिन्छिन् ।
“के भो आमा ?” असिमा आमातार्फ प्रश्नसूचक दृष्टि फ्याँक्छिन्।
“बहिनीलाई तल लिएर आइज, स्वयम्बरको बेला भो रे।” भन्दै जवाफको प्रतीक्षा वेगर हतारिदै आमा तल ओर्लिहाल्छिन् ।
“हस् आमा ।” टाउको हल्लाउँदै उनी बैठक कोठाभित्र पस्छिन् । भोलिपल्ट दुलही अन्माएर पठाउने बेलामा रुवाबासी चल्छ । अमिनाको त रुँदारुँदा आँखै सुन्निसक्यो । आमाको त्यस्तै हाल छ । असिमा पनि मनलाई सम्हाल्न सक्दिनन् बहिनीलाई अँगालेर रुन्छिन ।
आँखाभरि आँसु राखी छोरीलाई अन्माई गाडीमा राख्छन् । आँखाबाट आँसुको भेल बग्छ । आँसु पुछ्दै बाबु आमा छोरीतिर हेरिरहन्छन् । गाडी बिस्तारै बाजाको पछिपछि लाग्छ । आँखाभरि आँसु राखी सबै जना गाडी ओझेल नभएसम्म गाडी गएतिर हेरिरहन्छन् ।
दिन, हप्ता, महिना गर्दै वर्ष दिन पनि बित्छ । समयलाई रोक्न नै कसले सक्छ र ? असिमा हुरिंदै कोठा भित्र पस्छे। फ्यात्त ब्याग टेबलमा मिल्काई खाटमा डड्रङ्ग पल्टिन्छे। लामो निःस्वास छोड्छे । आँखाहरू चारैतिर दौडाउँछे । आँखामा आँसु टम्म भरिएर आउँछ । उसको नजर उही बिहेको तस्बिरमा गएर स्थिर हुन्छ । आँसुले गर्दा नजर धमिलिन्छ । जुरुक्क उठ्छे, तस्बिरलाई नियाल्छे । साडीको सप्कोले सफासँग पुस्छे। बिहेको फोटो, जुन अमुले खिचिदिएकी थिइन् । एकाएक तस्बिरमा अमुलाई देख्छे ।
सुकोमल अनुहार, ठूलाठूला चञ्चले आँखा, पातला ओठ, अचानक परिवर्तन हुन थाल्छन् । उडेको अनुहार, डरले कामेको ओठ, त्रसित आँखा… ।
“अमु तँलाई केही हुन्न।” एक्कासि चिच्याउँछे । दुई थोपा आँसु तुरुक्क चुहिन्छ । बिस्तारै आँसु पुस्छे । तस्बिरलाई पहिलेकै ठाउँमा राख्छे । टेबलबाट गिलास उठाई घट्घट् पानी पिउँछे। आज उसलाई केही पनि गर्न मन लाग्दैन । घडी हेर्छ, भर्खरै चार बजेको छ । रञ्जन फर्किन पनि अझै दुई घण्टा बाँकी छ ।
कहाली लागेर आउँछ । फेरि बिछ्यौनामा पल्टिन्छे । आँखा दलिनको त्यो भागमा स्थिर हुन्छ, जहाँ माउसुलीले बिस्तारै एउटा पुतलीलाई ताकेर बसेको हुन्छ । सास नफेरी हेरिरहन्छे । माउसुलीले बिस्तारै घिस्रेर च्याप्प समात्छ, पुतली उम्कनको लागि फडफडाउँछ, तर उनको अगाडि बिहानको दृश्यहरू एकपछि अर्को गर्दै चलचित्रका भाती नाच्न थाल्दछन् ।
“के गर्नु नानी, हाम्रो पनि त कर्मै फुटेको रहेछ ।” आँखाभरि आँसु पार्दै आमा भन्दै हुनुहुन्थ्यो ।
“हैन आमा, के भन्नुभएको ?” अलि शङ्कापूर्वक सोध्छे । आमा केही भन्न नसकी आँखाबाट बरबर आँसु खसालेर रुन थाल्छिन्। अनि आश्चर्यचकित भावले उनी बाबुको अनुहार केलाउन थाल्छिन् । बाबुको मलिन अनुहार, आँखा शून्यमा हेरिरहन्छन् ।
आफ्नो प्रश्नको उत्तर नपाएपछि उनी जुरुक्क उठेर आमाको नजिकै बस्न जान्छिन् । आमाको आँसु पुछ्दै पुनः बाबुतिर फर्किदै भन्छिन-
“हैन, आखिर के भयो ? तपाईंहरू मलाई केही भन्न चाहनुहुन्न ?” अलि आवेशमा आउँछे ।
“भिनाजूलाई एड्स लाग्या रैछ ।” नजिकै बसिरहेको सानो भाइ कुरा ओकल्छ । उनी विस्फारित नजर भाइतिर फ्याँक्छिन् । भाइ पुनः भन्छ- “अस्ति भिनाजुलाई टाईफाइडको शङ्का गरेर उहाँको ब्लड टेस्ट गराउँदा डाक्टरले अमुदीलाई भनेको रे ।”
“तर डाक्टरको गल्ती पनि हुन सक्छ ?” असिमा बाबुतिर फर्कदै प्रश्न गर्छिन् ।
“हामीले दुई-तीन ठाउँमा चेक गराइसक्यौं। सबैतिर उही रिपोर्ट छ । त्यति मात्र हैन, हामीले अमुको पनि चेक गराइसक्यौँ। अमुलाई पनि एड्स सरिसकेको छ । …… अब छोरी दिँदा केटाको परिवार, सम्पत्ति वा उच्च शिक्षाको प्रमाणपत्र होइन, रक्त परीक्षणको रिपोर्ट हेर्नुपर्ने जमाना आएछ…।” बाबुको बर्बराएको झिनो स्वर आउँछ ।
असिमालाई यो सब सपनाझै लाग्छ । आँखाअगाडि अमिनाको अनुहार नाच्न थाल्छ । आँखाबाट बरबर्ती आँसु झर्छ । आमालाई अँगाल्दै सुकसुकाउँदै सोध्छिन् – ” अमु कहाँ छे अहिले ?”
“भित्र कोठामा ।” भाइले जवाफ दिन्छ ।
उनि दौडिदै जान्छिन्। ढोकामा पुगेर टक्क अडिन्छिन। बिस्तारै ढोका ठेल्छिन् । छेस्किनी नलगाएको हुनाले ढोका बिस्तारै उघ्रन्छ । फुङ्ग उडेर पहेंलिएको अनुहामा चारैतिर फैलिएका केश, त्रसित आँखा, पत्थरको मूर्ति झैं खाटमा अचल भई बसेकी अमिनाबाट पहिलेको चञ्चलता, निश्छल सौन्दर्य धेरै पर भागिसकेको हुन्छ । दिदीको उपस्थितिबाट अनभिज्ञ अमिना अझै पनि एकनासले टोल्हाएर बसेकी हुन्छे । उनी बिस्तारै पाइला बढाउँछिन्। नजिकै गई दुवै हातले बहिनीको गाला सुमसुम्याउँदै कारुणिक स्वरमा भन्छिन्- “अमु तँलाई के भयो ?”
अमिना बिस्तारै चल्मलाउँछे । दिदीको हातलाई दुवै हातले समाउँदै झिनो स्वरमा भन्छे- “दिदी, यो के भयो ?” आँखाबाट बलिन्द्र आँसुको भेल बग्छ । यो देखेर उनको मुटुमा भक्कानो फुट्छ ।
“तँलाई केही हुन्न अमु, केही हुन्न।” रुन्चे स्वरमा झूटो आश्वासन दिँदै बहिनीलाई अँगाल्दै रुन्छिन् ।
“लौ अब तिम्रो इच्छा पनि पूरा हुने भो ।” बाहिरैदेखि कराउँदै रञ्जन भित्र पस्छ । असिमा अतीतबाट वर्तमानमा आइपुग्छे । हतपत ओछ्यानबाट उठ्छे । आँखाको आँसु पुस्छे। श्रीमतीको त्यो रुन्चेअनुहार देखी रञ्जन जिल्ल पर्छ । मनमा अनेकौं शङ्का मडारिन थाल्छन्। कहीँ पहिलेको जस्तो भयो कि ? डाक्टरले केही भन्यो कि ? हैन हैन, त्यो हुनै सक्दैन। मनमनै विश्वस्त हुन्छ ।
“यो कहाँ राखूँ हजुर।”
भरियाको आवाजले रञ्जन पछिल्तिर फर्की हातले औंल्याउँदै राख्ने ठाउँ देखाइदिन्छन् । भरिया ज्याला लिई बाहिर निस्कन्छ । असिमा अझै पनि कुनै उत्सुकता नदेखाई पहिलेकै ठाउँमा बसिरहन्छे । रञ्जन असिमाको नजिकै जान्छ र उनको चिउँडो उठाई स्नेहका साथ सोध्छ- “असु, के भयो तिमीलाई ? किन उदाश छ्यौ ? आँखाहरू रोएको जस्तो देखिन्छन् । के भयो ? कहीँ डाक्टरले पहिले झैं …?” वाक्य बीचमै अड्कन्छ । एकछिनपछि पुनः भन्छ- “भयो मलाई बच्चा-सच्चा चाहिँदैन । तर तिम्रो उदास अनुहार हेर्न सक्दिनँ म ।”
लोग्नेको मायाले तिनी पग्लिएर पानी-पानी हुन्छिन् । निहुरिएर मसिनो स्वरमा भन्छिन्- “यसपालि केही खतरा छैन रे।”
“अब तिम्रो टि.भी. हेर्ने इच्छा पूरा हुने भयो । अब त मलाई करकर गर्न पाउँदिनौ ।” रञ्जन हर्षविभोर हुँदै भन्छ र श्रीमतीको प्रतिक्रिया बुझ्न खोज्छ ।
असिमा बिस्तारै मुन्टो उठाउँदै, लोग्नेको अनुहार हेर्छिन् । आँखाभरि आँसु टम्म भरिएर आउँछ । लोग्नेको छातीमा मुन्टो अड्याई सुकसुकाउँदै भन्छिन्- “मलाई टिभी सिभी चाहिँदैन । मेरो विश्वासको बलि नचढाउनुहोस्, त्यति भए पुग्छ ।”
रञ्जन अचम्म पर्दै भर्खर भरियाले राखेर गएको नयाँ टि.भी.मा टोलाएर हेरिरहन्छ ।
***
प्रतिक्रिया
-
४
