
-जीवन खत्री
खेतको असार खेतमै छ कि ?
पुगीसक्यो कुनै खेतविहीन सहरमा ?
यतिबेला
असार पर्खिरहेकी एउटी खेत रणभुल्लमा छे ।
सोच्दी हो सायद,
मेरै छेउमा फुटेर बगिरहेछ छताछुल्ल
बैँशले उन्मत्त पानीको मूल
प्यासी मै पनि थिएँ,
कसले सोझ्याईदिन्छ र कुलो ?
आलीजस्तो मेरा हातगोडा, पुष्ठ नितम्ब
समाहजस्तो कँसीला स्तनबीचको खोल्चा, शून्य शून्य छन्,
कहाँ पुग्यो ? शृङ्गारको कोदाली बोकी हिँड्ने बाउसे
जसले सुम्सुम्याउँदो हो प्रेमपूर्वक मलाई ?
शृङ्गारले चिल्याउँदो हो मेरो अनुहार ?
कहाँ गयो होला नि मेरो जिन्दगीको हली?
जसले भिजाउँदो हो
चुम्बनको वर्षाले निथ्रुक्कै मेरा अंग अंग
धावा बोल्दो हो मेरो कौमार्य माटोमा
जोत्दो हो पल्टाएर चपरा चपरा डल्ला
दाँदे लगाएर सम्याउँदो हो मेरो जवानी ।
यता समयको पात्रोमा
दिनदिनै घट्दैछ गर्भिणी ऋतुको आयू
खै कहाँ गयो मेरो प्रिय असार ?
जोतिदैँ नजोतिए असारमा
कसरी उत्साहको दबदबे हिलो हुनु ?
कसरी रोप्नु पाठेघरको न्यानोमा छुपु छुपु जीवन ?
कसरी भर्नु हृदयमा आमा हुनुको गर्व ?
कसरी रसाउनु स्तनमा मातृत्वको वात्सल्यता
कसरी खेलाउनु मंसीरको आँगनमा रहरलाग्दा सन्तानहरू ?
मलाई शंका छ
यो वर्षपनि मेरो रहरको बैँस
अघिल्ला पटकहरूमाझैँ खेर जान सक्छ ।
बाँझै हुने डरले कसो कसो मैले पनि
उमार्नु पर्नेछ नचाहेरै छातीभरि गन्धेझार, वनमारा
तर तिमीलाई थाहा हो हैन ?
सुखकै भर्याङमा उक्लेर लहरिए पनि केहीक्षण
हाँसोको घोडा चढेर
बुर्कुसी मारेपनि केहीपल
वा घामकै बग्गी चढेरदिनभरि गरे पनि
सिङ्गै आकतश धरतीको भ्रमण
साँझमा पुग्नुपर्ने ठेगाना त माटोकै मझेरी न हो ।
ओ प्रिय असार,
तिम्रा लागि यही कामना गर्दछु, कि
तिमी साँझको अन्तिम ठेगानामा पुग्दा
तिम्रो अनुहारको रङ
अनुहारकै क्यानभासमा उदाइरहोस् है ।
***
प्रतिक्रिया
-
४