
– पुण्य बख्रेल
खै के भएर हो कुन्नि गुडिरहेको ट्याक्सीमा अकस्मात् ह्वारह्वारी आगो बल्न थाल्यो ।
काठमाडौंको ब्यस्त सडकमा एकैछिनमा मान्छेको भिड लागिहाल्यो । त्यत्रो भिडमा एउटा कपडाको टुक्राले आगो निभाउन प्रयास गर्दै थिए एक्लो ड्राइभर ।
भिडका सबै जना खल्तीबाट मोबाइल झिकेर फोटो खिच्ने र भिडियो बनाउनेमा आतुर थिए । कोहि आफ्नो साथीलाई फेसबुक लाइभ गर भन्दै थिए। कोहि कारको सिसा खोलेर खिच्दै थिए भने कोहि बाइकको सिटमा उभिएर । कोहि आगोको अगाडी चुच्चे मुख पार्दै सेल्फी लिनमै तँछाडमछाड देखिन्थे त कोहि बालुवाको थुप्रो माथि चढेर । कतै आगो निभिहाल्यो भने ठुलै अवसरलाई गुमाइन्छ भन्ने लाग्थ्यो भिडलाई । मानौ भिडले अहिले ठुलै अवसर प्राप्त गरेको छ। ड्राइभर एक्लै प्रयासरत थियो ।
एकजना आमै डोकोमा साग बोकेर दौडदै आइन् र डोको फ्यात्त फ्याँकेर आगोमा बालुवा फ्याँक्दै दमकललाई फोन गरन हो भनेर कराइन् । भिडका सबैजसो फोटो खिच्न छोडेर फोन गर्ने प्रयासमा कोहि दमकलको नम्बर थिच्न लागे भने कोहि नम्बर कति हो भनेर खोजीमा लागे । उनले फेरि चर्को स्वरमा कराइन् आओ न हो के हेरेर बस्या यस्तो आपद बिपदमा । सबै भिड फोन गर्न छोडेर बालुवा फ्याँक्दै आगो निभाउन थाल्यो । आँमैले डोकोबाट लामो लामो पात भएको रायोको सागको मुठो निकालेर झ्याप झ्याप पारिन् आगो निभ्यो ।
भिड तुरुन्तै खाली भयो । आमै साग साग साग भन्दै कराउँदै हिडिन् । ड्राइभर एक्लै ट्याक्सी सुम्सुयाउदै फुस्फुसाउदै थिए आमा !आमा !!
***
प्रतिक्रिया
-
४