
– त्रिपुरा पोखरेल
“दावा मैडम ! मलाई बजूले पठाउनुभएको । ” एउटी अपरिचित नारी मेरो अघिल्तिर ठिङ्ग उभिएकी थिई। उसको दुर्बल शरीर, तेजहीन आँखा , रङ्ग उडेर फुङ्ग भएको, घामले डढेको कालो अनुहार , नकोरेको जिङ्ग्रिङ्ग जगल्टा देख्दा म तर्सिएँ। मैले शिरदेखि पाउसम्म नियालेर हेरें, उसले दुबै हातका औँलाहरु एकअर्कासँग खेलिरहेका थिए। उसको फुटेको अनुहार र चिरा परेका हात-खुट्टामा टाटु खोपिएको थियो।ऊ खुल्ला किताब सरह मेरो अघिल्तिर उभिएकी भएपनि उसलाई मैले राम्रोसँग पढ्न बाँकी नै थियो। उसले मेरो ध्यानलाई भङ्ग गर्दै भनी ,” मलाई बजूले यहाँ पठाउनु भएको, बजू पर गुरुआमाकोमा जानुभएको छ अहिले एकछिनपछि आउने रे।”
मैले फेरि उसलाई हेर्न भ्याएँ , तीनचार ठाउँमा फाटेको लुगा लगाएकी ऊ कहिले नमोलेको पहेंलो दाँत देखाएर मतिर हेर्दै ङिच्च हाँसिरहेकी थिई। उसलाई ल्याउने बजू मेरा आफन्तहरूका घरमा पालैपालो बसेकी थिइन् । अहिले बुढ्यौलीले छोएपछि भने उनले काम गर्न छोडेर कामदारको आवश्यकता पर्ने घरहरूमा मान्छे ल्याइदिने गरेकी छिन् । मान्छे ल्याए बापत उनले ज्याला पाउँछिन्।
” तिम्रो नाम के हो ?” मैले उसको लागि कुरा गर्ने वातावरणको सृजना गरिदिएँ।
“मेरो नाम चन्दा हो ।” उसले सानासाना छात्रछात्राहरुले आफ्ना शिक्षकशिक्षिकाले सोधेका प्रश्नहरुको उत्तर दिए जस्तै गरी मेरो प्रश्नको उत्तर दिई।
” तिम्रो घर कहाँ हो? तिम्रो परिचयपत्र छ कि छैन? तिम्रा बालबच्चाहरु कति छन् ? तिम्रो पतिको नाम के हो? , उनी के काम गर्छन् आदि प्रश्नहरु चन्दालाई सोधेर मैले उसको सम्पूर्ण विवरण जान्ने कोशिस गरें ।
” मेरो पूर्खाको असली घर इण्डियाको झारखण्ड हो नि। मेरा बाबुआमा झारखण्डबाट नेपाल पसेका पनि धेरै भयो रे । अहिले त हामीहरु नेपालका आदिवासी हौँ। मेरो बुढा गाउँको ज्वाईं भएकोले सबैले एज्वाईं भन्छन् ा बूढोको कामदाम केही छैन् ,दिउसभरि मातेर बस्छ। ” यतिभन्दै उसले आफ्नो परिचयपत्र मलाई देखाइ। घर, थर सबै भएकी ऊ खाँटी नेपाली रहिछ ,म ढुक्क भएँ। बजूले मेरा लागि राम्रै मान्छे ल्याइदिएकी हुनुपर्छ । मैले मनमनै उनलाई धन्यवाद दिएँ।
“मेरा एउटा छोरा र एउटी छोरी छन् । दुबैलाई स्कुलमा पढाउने गुरुमाकोमा राखिदिएकी छु।छोरी शर्मिला पढ्नमा अब्बल छ। ऊ मःम पनि मीठो पकाउँछे। यति भनेर चन्दा चुप लागी। छोरीको कुरा गर्दा मःमको स्वाद संझिदै घुटुक्क थुक निल्दै पनि थिई। मेरो लागि अपरिचित ती गुरुआमाले चन्दाकी छोरीलाई बाटैमा झम्टेर राख्नुको तात्पर्य उसलाई पढाउन होइन भान्सामा खाना पकाउनका लागि रहेछ भन्ने कुराको लख काटें।
तिमीले शर्मिलालाई मेरोमा ल्याउनु पर्दैनथ्यो? मलाई पनि मःमले लोभ्यायो। दार्जिलिङको मुटुकाम्ने जाडोमा ठूलो बटुकाभरि सुप खाएको कल्पना गरें। एकछिनको कल्पनाले मेरो शरीरबाट जाडो छुमन्तर भएछ।
” मैडम ! गुरुआमा, बाटोमा बसेकी रहिछन् बजूले गाडी रोकेर मेरा छोराछोरी तिनलाई जिम्मा लगाइ हालिन्। मलाई पनि तपाईंले तीनतीन जनालाई राख्नुहुन्न भन्ने लाग्यो । ” उसको अनुहारमा विस्मादका रेखाहरु देखा परे। चन्दालाई पनि आफ्ना छोराछोरी आफैसँग राख्ने इच्छा थियो होला तर गरीबीको वाध्यता अगाडि उसको इच्छा सजिलैसँग सेलाएछ । सायद हातमुख जोड्न नसक्ने गरीबहरुको इच्छाले तात्ने मौका कहिले नपाउने रहेछ।
” म तिमीसित जिस्किएकी मात्र हुँ।” मैले उसकी छोरी विषयको कुरालाई बिटमार्दै भनें। ऊ पनि ढुक्क भई।
” बजूले तपाईंलाई मैडम भन्नु भनेर मलाई सिकाउनु भएको छ। जिब्रो लर्बरिएर भन्न पनि आउँदैन ।” ऊ खित्का छोडेर हाँसी।
” मलाई म्याडम नभन्नु, दिदी भन्नु ।” मैले उसलाई सजिलो पार्न खोजें तर उसले आफ्नी नाइकेको आज्ञा उल्लङ्घन गर्न मानिन।
” मैडम , पानी खान्छु नि।” नेपालदेखि मोटरमा आएकी थाकी पनि होली। मैले भान्सामा गएर एक गिलास सर्वत ल्याएर दिएँ।उसले एकै सासमा सर्वत घट्घट् पारी। उसको हातबाट रित्तो गिलास लिंदा उसको सासमा मिसिएको रक्सीको गन्ध मेरो नाकमा ठोक्कियो । घरि गन्ध चाल पाउने घरि गन्ध चाल नपाउने मेरो सुङ्ने शक्तिले चन्दाको दाँत नमोलेको मुखबाट निस्केको दुर्गन्ध थाहा पाइहाल्यो।यसपछि भने मेरो भुँडीमा हुँडलो मच्चिन थाल्यो ।
” चन्दा तिमी रक्सी खान्छौ?” मेरो प्रश्नले ऊ एकछिन त अकमक्क परी। उसको मुखबाट एक शब्द निस्किएन। चन्दालाई मेरो घरमा ल्याइदिने बजू , गुरुआमाकोबाट आएर अलिपर सोफामा बसेर मैले चन्दालाई लिएकी अन्तर्वार्ता सुनेर बसेकिरहिछन् । तिनले चन्दालाई धारेहात देखाउँदै भनिन् , ” पटक्क राँड ,मुर्दा रक्सी घिचिस् कि क्या हो।”
” हिजो घरमा कुल देउताको पूजाको प्रसाद अलिकता खाएकी थिएँ त्यसैको गन्ध बसेको होला।” उसले झूट बोली।
देश खाएर शेष पल्टेकी बजूले आफ्नो चोर अौंला चन्दाको नाकसम्म पुर्याउँदै भनिन् , ” अब उप्रान्त रक्सी हसुरिस् भने मर्छेस्।म्याडमको घरमा राम्ररी काम गर्नु , तेरा छोराछोरीलाई बेलाबेलामा भेट्न पाउउँछेस्, तेरो जड्याहा लोग्नेको चिन्ता नलिनु बुझिस्।”
उसले हात जोड्दै हुन्छ भन्ने स्वीकृति दिई। तिनले मतिर हेर्दै भनिन् ,” ल है मैले बल्लबल्ल खोज्दा यसलाई भेटें। अरुलाई भए मेरो लागिरहेछ …..तपाईंले मलाई गुन लगाएकोले मात्र आफ्नो रुपियाँ खर्च गरेर भएपनि खोजेर ल्याईदिएकी हुँ। शर्मिलालाई राख्ने गुरुमाले बोलाएकी छिन् राति त्यतैतिर बस्छु , भोलि बिहानै नेपालतिर हानिन्छु ।”
तिनले मसँग रुपियाँ माग्दैछिन् भन्ने कुरा तिनले` गुन’ शब्दको तक्मा लगाइदिएबाट नै बुझिसकेकी थिएँ। उनले मान्छे ल्याइदिएका घरकी गृहणीहरुलाई यसरी नै फुरुक्क पारेर फुर्क्याउने गर्छिन् ।
मैले बजूको हातमा पाँचवटा हजारको नोट थमाइदिएँ। बोजुले मेरो कानमा आफ्नो थुतुनो जोडेर बिस्तारै भनिन्, ” यसको तलब यसलाई नदिनु ।मुर्दाको हातमा रुपियाँ पर्यो कि भट्टीतिर लागिहाल्छे , अर्को वर्ष मलाई दिनु म यसको नामको खाता भएको ब्याङ्कमा हालिदिन्छु। ” तिनको मुखबाट रक्सीको गन्ध ह्वास्स आयो।
” हरे शिव ! यसको तलबबाट पनि बजूको कमिसन ।” मेरो मन भक्कानियो।
तिनी गइसकेपछि चन्दाको बोली फुट्यो , “मैडम यो बजू अति नै चलाख छे। रुपियाँ पैसा भनेपछि गुहुमा खसेको मुखले टिप्न पनि घिन मान्नु हुँदैन।मेरो पहिले काम गरेको रुपियाँ पनि यसले दिएकी छैन । उसले कामगर्ने मान्छे ल्याए बापत रुपियाँ लिन्छेे फेरि हाम्रो पैसा पनि खान्छे।” चन्दालाई तिनीसित सारै रीस उठेछ ।
चन्दाको कुरामा कतिसम्म सत्य छ त्यसबारे मलाई केही मतलब छैन। दार्जिलिङ जस्तो जाडो ठाउँमा मलाई मान्छे खोजेर ल्याइदिनु नै तिनले ममाथि ठूलो गुन लगाएकी छन्। बजू यस घडी मेरा लागि भगवान् नै शिद्ध भएकी छिन्।
मेरोमा बस्न थालेपछि चन्दा फेरिएकी छे। उसको काम गराइमा पनि कुनै खोट लाउने ठाउँ छैन। ऊ छिमेकीका छोराछोरीहरुसँग कपडाको भकुण्डो बनाएर गोली खेल्छे ,लुगा पिट्ने मुङ्ग्रोलाई क्रिकेट ब्याट बनाएर खेल्छे। अरू केटाकेटीसँग रमाएर खेल्ने चन्दालाई मैले उसका छोराछोरी संझेर रोएकी कहिले पनि देखेकी छैन।उसको हृदयमा के छ त्यो म भन्न सक्दिनँ । मेरो घरबाट ती केटाकेटीहरु बस्ने ठाउँ पैदलको बाटो पाँच मिनेटको दूरीमा हुँदा पनि उसले आफ्ना छोराछोरीसँग भेट्ने चाहना मसित गरेकी छैन। उसलाई आफ्ना छोराछोरीशीत त्यति लगाव छैन भन्नेबारे चाहिँ म ठोकुवा नै दिनसक्छु।
एकहप्तापछि आज बल्ल घामको मुख देख्न पाइयो ।म आँगनमा घाम ताप्न निस्किएँ। पर डाँडामा हिउँ परेर सेताम्मे भएको थियो।धुपीका बोटहरु पनि केश फुलेका परिपक्व बृद्ध झैँ देखिएका थिए। हिँउँमा उदीप्तमान भाष्करको किरण पर्दा दार्जिलिङको प्राकृतिक सौन्दर्यमा सुगन्ध थपिएको थियोे ।
म एक नाङ्लो सुन्तला र आफूला घाममा सुकाउँदै थिएँ । चन्दा मेरो पछिल्तिर आएर ठिङ्ग उभिइ।
” अलि उता जा घाम छेलियो।” मेरो उसँग ज्यादै आत्मीयता बढेकोले होला हिजोआज म उसलाई तिमीबाट तँ सम्बोधन गर्न थालेकी छु।ऊ सेता दाँत किच्च देखाएर स्यु.. स्यु गर्दै अलिपर कुर्सीमा गएर बसी। म घामबाट आफ्नो अनुहार जोगाउन घामतिर ढाड फर्काएर बसें।
मैडम , बुढाको सारै याद आयो म घर जान्छु नि ,कित बजूलाई भनेर मेरो बुढालाई यतै बोलाउनु न। यहाँ यत्रो बारी बाँझो पल्टिएको छ।उसले बारीमा सागसब्जी लगायो भने किन्नु त पर्दैन ।” चन्दाले मुखमा राखेको सुपारीको डल्लो चपाउँदै थिई।मेरो घरमा आएदेखि उसको मुखमा सुपारीको दाना टुटेको छैन ।जाँडरक्सी र सुर्तीजन्य पदार्थको तलतल मेटाउन उसले केही न केही चपाइ नै रहन्छे।
” दुई छोराछोरीकी आमाले लोग्नेको रहर किन गर्नुपर्यो ? लोग्ने भेटेपछि फेरि भुँडी बोक्छेस्।” मैले उसलाई जिस्काएँ।
“छ्या मैडम पनि।” उसले लजालु पाराले मलाई हेरी। किन हो कुन्नि मलाई आज चन्दा असाध्यै राम्री लाग्यो।
“हेर त मेरा पति पनि सरुवा भएर कलकत्ता जानु भएको छ ,तँ आइकन उहाँ मलाई भेट्न आउनु भएको छैन त।” मैले उसलाई मेरो उदाहरण दिएर फकाउने चेष्टा गरें ।लोग्ने बिना एक्लो जीवनमा उत्पन्न भएका मेरो अभाव र नैराश्य उसलाई देखाउनु व्यर्थ थियोे ।
“पिलिज मैडम उसलाई बोलाइदिनु नि।” उसले आफ्ना झोलिएका स्तनलाई दुई कुइनाले छोप्दै भनी ।मैले उसलाई अझ गौरले हेरें।उसले खुट्टाको बुढी अौंलाले भूइँ खोस्रेर हेमन्तको रुखो धुलो उडाउँदै रहिछ। उसको मनोभावना बुझेपछि मैले बजूलाई फोन गरेर चन्दाको लोग्नेलाई बोलाइदिएँ।
म बैठक कोठामा बसेर पत्रिका पढ्दै थिएँ, बजू आएर बैठकमा ओछ्याएको गलैँचामा थचक्क बसिन्।यस्तो उग्र जाडोमा पनि तिनले पसिना पुछेको अभिनय गर्दैथिइन्।
मेरी बास्सै ,घरमा गाई, बाख्रा अलपत्र छन् । तपाईंले भनेर मात्र म आएकी नत्र त्यसै किन आउथें र ! तिनले एकै सासमा आफ्नो भन्नुपर्ने कुरा सिध्याइन ।
” चन्दाको लोग्ने खै त।” मलाई तिनको गनथन सुन्नुे कुनै चाख थिएन, मलाई मेरो बारीमा सागसब्जी रोपिदिने चन्दाको एज्वाईं चाहिएको थियो।
” एज्वाईं , भित्र आइज न किन बाहिर उभिएको । ” बजूको बादल गर्जेको जस्तो आवाजले बाहिर उभिएको मान्छेलाई बोलाइन्।
” हजुर म आएँ।” आवाजसँगै एउटा अग्लो मान्छे मेरो बैठक कोठाभित्र पस्यो । कोइला जस्तै कालो रङ्ग , कमल पित्तले सताएको जस्तो पहेँलो आँखा, रगत बिनाको सेता नङहरु, कुपोषणले गर्दा कमजोर शरीर भएको एज्वाईंलाई देख्दा म तर्सिएर झण्डै चिच्याएँ।
” तिमी मेरो बारीमा काम गर्न सक्छौ के? मलाई उसले बारीमा काम गर्छ भन्ने कुरामा शंका उत्पन्न भयो।
” किन नसक्नु । ” उसले मेरो प्रश्नको उत्तर एकैसासमा दियो । उसले बोल्दा मुखबाट रक्सीको दुर्गन्ध कोठाभरि रुमलियो। मैले पुलुक्क बजूतिर हेरें, उनी भित्तामा टाँगेका फोटाहरु हेरेको जस्तो अभिनय गर्दैथिन्। मान्छे ल्याइदिए बापत पारिश्रमिक र गाडी भाडा लिएर बजू गुरुमाहरुका घरतिर लागिन्।
” एज्वाईं पो आएछ!” बजारबाट ल्याएको सब्जीको झोला संघारमा राखेर चन्दाभित्र पसी। दुबैजना एकअर्कालाई देखेर रमाए।
” चन्दा तेरो बुढालाई नुहाएर लुगा फेर्न लगा ।”
” हवस मैडम।” भन्दै ऊ एज्वाईंलाई लिएर गई, म भान्सातिर लागें।
चन्दाले लोग्नेलाई ‘ एज्वाईं ‘ भनेर सम्बोधन गरेकी हुनाले उसलाई छरछिमेक र टोलका सबैले एज्वाईं भन्न थाले। बुढा आएदेखि चन्दाले घरको कामधन्दाभन्दा ज्यादा बारीमा ध्यानदिन थाली। मेरो छेउ आएको बेला उसको शरीरबाट नराम्रो गन्ध आउँथ्यो । अचेल मलाई भान्साको कामले गर्दा उसको सफाइमा ध्यानदिने फुर्सद थिएन।
एकदिन मेरो दराजबाट एक बोतल स्कच ह्विस्की हरायो । चारैतिर खोजें तर कतैपनि भेटिएन।मैले चन्दा र एज्वाईंलाई पनि सोधेँ उनीहरुले भगवान् ,आमाबाबु र छोराछोरीको किरिया खान बाँकी राखेनन्।
रक्सी हराएको पाँचौं दिनमा दुबै बुढाबूढी गजगज हिलोमा उत्तानो परेका थिए। तिनीहरुकै छेउमा मेरो दराजबाट हराएको रक्सीको खाली बोतल लडेको थियो ।
” अरे ! मेरो रक्सीको बोतल यहाँ कसरी आइपुग्यो ! ” मैले ती बुढाबूढीतिर हेर्दै कराएँ।
अक्कासतिर दुईटै खुट्टा उचालेर भुइँमा सुतेकी चन्दा मातेको स्वरमा कराइ,” हामी आदिबासीलाई चो….र भन्न पाइन्छ ….म पुलिसलाई उजुरी दिन्छु…. हामी चोर हैन तिमारु चोर …। सोझी चन्दालाई रक्सीले बाघ बनाइदिएको थियो। ऊ लाज सरम पचाएर आफ्ना दुबै खुट्टालाई अझ माथि उचाल्दै थिई ।
” ऐ ! हामीलाई चोर भन्नेलाई म यसरी छप्काउँछु।” चन्दाको लोग्ने कचियालाई ढुङ्गामा बजार्दैथ्यो । छिमेकीका झ्याल ढोकाहरु खुल्न थाले। मलाई अफ्ट्यारो लाग्यो , विस्तारै घरतिर लागें। मान्छेको वास्तविक चरित्र मातेको बेलामा उदाङ्ग हुँदोरहेछ ।
बिहान उठ्दा एज्वाईं भनाउदो आफ्नो ब्याग लिएर चम्पट कसिसकेछ।बारीमा गोदाम बनाएर पुराना काठहरु राखेकी थिएँ, उसले छिमेकीलाई बेचेर सकेछ। चन्दाले हिजोको अभद्र व्यबहारको लागि दुई हात जोडेर मसँग माफी मागी।चन्दा उपर मेरो विश्वास हराए पनि एकपल्टका लागि माफी दिएँ। ऊ फेरि पहिलेकै अवस्थामा आएर कामकाज गर्न थाली।
घटस्थापनाको दिन थियोे , चन्दाले कुलको पूजाको लागि घर जान्छु भनेर जिद्दी गरी। अहिले घर नजानु भनेर मैले कत्ति सम्झाएँ तर ऊ मानिन। मैले उसलाई तलब दिएर बिदा दिएँ। घरबाट हिंड्ने बेलामा मैले उसलाई भने- “चन्दा , तेरो तलब ब्याङ्कमा राख्नु ल।”
“मैडम , ब्याङ्कमा राख्न कहाँ पुग्छ र! यो रुपियाँले कुल पूजामा भैँसी किनेर गाउँका सबैलाई मासु भात, रक्सी ख्वाउनु पर्छ,लत्ताकपडा किन्नुपर्छ,अनि धामीलाई दक्षिणा दिनुपर्छ ।”
छोराछोरीको भविष्यको वास्ता छैन! आफ्नै छाना ,माना र नानाको व्यवस्था छैन ,।आफ्नो पेटपूजाको लागि अर्काको भाँडा माझ्नेले आफूले कमाएको संचिता नगरेर भगवानको पूजाको बहानामा भोज र मोजका लागि दिल खोलेर रुपियाँ खर्च गर्ने चन्दाको कुरा सुन्दा म छक्क परें।
दार्जिलिङमा मेरो सरकारी नोकरी थियो। नोकरी र घरबार छोडेर म कलकत्ता जान सक्दिन थिएँ ।सरकारी काम छोडेर मेरा पति पनि दार्जिलिङ आउन सक्नुहुन्नथ्यो। छोराछोरी बोर्डिङमा छन्।म अब एक्लोपन महशुस गर्न थालेछु। चन्दालेझैं म आफ्नो एक्लो जीवनको दुखेसो अरुलाई पोख्न पनि सक्दिन थिएँ।
मैले आफूलाई एक्लोपनको भयबाट बचाउन चन्दालाई संझे। चन्दा हुँदा मलाई ढुक्क थियो।ऊ मसँग गफ गर्थी, घरको काम सघाउँथी,तरकारी किनेर ल्याइदिन्थी। अहिले संझिदै ल्याउँदा रक्सीको कमजोरी बाहेक उसको अर्को कुनै खोट मैले देखिन । हो उसमा केही कुराको तृष्णा अवस्य पनि थियोे । त्यस्ता तृष्णा कसैले व्यक्त गर्छन् कसैले अव्यक्त रुपमा हृदयभित्र गुम्स्याएर राख्छन् । चन्दाले लोग्नेलाई भेट्ने चाहना गरी ,यसमा उसले के बिगारी त ? मैले फेरि चन्दालाई फकाएर ल्याउने निर्णय गरें।
बजु र म चन्दाको घरमा पुग्दा दिउँसोको एक बजेको थियो। एज्वाई मातेर धुत भएको थियो। यतिखेर उसलाई केही सोध्नु गुहुलाई चलाउनु बराबर थियो ।हामी चन्दालाई खोज्दै सुगुरको खोर भएको ठाउँमा पुग्यौ। अचम्म ! चन्दा अर्धनग्न अवस्थामा सुगुरको खोरमा सुगुरसितै सुतेकी थिई।
” ऐ मत्तुनी,फोहोरी मुर्दा ! तँलाई लिन तेरो दावा म्याडम आउनुभएको छ हेर् त।” बजूले बाँसको भाटाले उसलाई कोट्याउँदै उठाइन्।
” एज्वाईंले मारेपनि काटेपनि यसैसँग बस्छु कतै जान्न । ऊ जिब्रो लटपटाएर बोलिरहेकी थिई।
” चन्दा म तँलाई लिन आएकी हिंड् , तेरा छोराछोरी पनि उतै छन् ।” मैले छोराछोरीको नाम लिदाँ उनीहरुको मायाले त्यो मसँगै दार्जिलिङ जान्छे भन्ने लागेको थियो।
“बूढाभए त्यस्ता छोराछोरी कति पाइन्छ कति ! मैले मेरो तृष्णा मेटाइदिने यो बाहेक अरु कहाँ पाउँछु र?”
” थुक्क , चन्दा तँ आमाको नाममा कलङ्क रहिछस्। संसारका आमाहरुले आफ्ना संतानका सुखको लागि आफ्नो सुख त्याग्छन्, तर तैंले आफ्नो यौन तृष्णा मेटाउन सन्तान त्यागिस्। तँ मेरो लागि कुमाता नै होस् ।” मलाई त्यस्तो अप्रिय वातावरणमा बस्न मनपरेन । टाउकोमा विस्मादको बोझ बोकेर दार्जिलिङतिर लागें। त्यो दिनको घटनापछि मैले चन्दालाई संझिने कोशिस गरिन।
साझमा म सयपत्री र मखमली फूलहरुको बोटमा पानी हाल्दैथिएँ बजू टुप्लुक्क आइपुगिन्। मैले तिनलाई पुलुक्क हेरें।मैले काम सघाउने मान्छे नराख्ने निर्णय लिइसकेकी थिएँ।
” चन्दा मरी थाहापाउनु भयो।” उनको अनुहारमा पीडा थियो।
” ऐले तपाईं कै मुखबाट सुन्दैछु।” चन्दा मरेको खबरसुन्दा म छक्क परें।
” के भएर मरिछ?” मैले मृत्युको कारण जान्न चाहें।
उसको बुढोले मातेकै अवस्थामा पिटेर मारेछ । बुढा चाहिँलाई पुलिसले समातेर खोरमा हालेको छ ।”
कमजोर स्वास्नीलाई कुटपिट गरेर मार्ने कस्तो ज्यानमारा रहेछ? तृष्णा मेटाउन पोइ खोज्दै जाँदा कालको मुखमा परी बिचरी चन्दा। जुनै अवस्थामा पनि नारीले नै हार्नुपर्ने ? कस्तो विडम्बना लिएर जन्मिएकी रहिछ ऊ ! उसको मृत्युको खबरले मेरो हृदय छियाछिया भयो। फूलमा पानी पटाउन विर्सेर म एकोहोरिएर घाम अस्ताइसकेको क्षितिजलाई हेर्न थालेछु।
छोरी पनि नौ पढ्दापढ्दै गुरुआमाको घरबाट निस्की रे। कर्मैमा नभएपछि कसको के लाग्छ ।उनी के के फलाक्दै थिइन् म भने घाम अस्ताएपछिको अँध्यारोलाई पर्खिरहेकी थिएँ।
***
प्रतिक्रिया
-
४