कवि दिपकराज बञ्जाडे, कथा, मुक्तक, गजल लगायतका वसधामा कलम चलाउँछन् । अर्घाखाँचीका उनी हाल दक्षिण कोरियामा रहेर श्रम गर्दै साहित्य सृजजा गरिरहेका छन् । नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरमा रहेर कार्यकारी भूमिका निर्वाह गरिरहेका उनको पछिल्लो समय बिभिन्न बिधामा रचना गरिएका रचनाहरूको सँगालो बटुलो प्रकाशित भएको छ । यसै कृतिसँग रहेर सम्पादक जीवन खत्रीले सोधेका पाँच प्रश्न र जवाफ:

१, बटुलो सङ्ग्रहको बारेमा छोटकरीमा परिचय गराईदिनुहोस न ।

बटुलोका बारेमा भन्नुपर्दा बिभिन्न समयमा कोरिएका कुनै प्रेमिल, कुनै वियोगान्त, कुनै उत्प्रेरणात्मक यस्तै यस्तै प्रकृतिका कुनै सुनेका, कुनै मनले गुनेका, कुनै देखेकाका घटनाहरूको साक्षी हुँदा कोरिएका फरक–फरक विधाका रचनाहरूको बटुलबाटुलको प्रकृया हो बटुलो । मैले खासमा बुबाको सम्झनामा केही गर्न मन थियो पहिल्यै देखी समय मिलिरहेको छैन अथवा मैले मिलाउन सकिरहेको छैन । नढाँटी भन्नुपर्दा मेरो कुनै दिन कुनै पुस्तक प्रकाशन होला ? म आफैले सोचेकै थिइन । भयो के भने धेरै लेखक ज्यू हरूका कृतिहरू कम्प्युटर लेआउट गर्ने सिलसिलामा बुबाको सम्झनामा पुस्तक निकालौँ कि सोँचे । उहाँको सम्झनामा लेखिएका कुराहरू अलि कम भए र पुस्तक बन्न सकेन । ठिकै छ सम्झना त छँदै छ उहाँलाई समपर्ण गरी पुस्तक निकालौँ ठानेर नयाँ पुराना रचनाहरूलाई जम्मा पारँे अनि आर एन सरलाई पत्र मार्फत पाण्डुलिपी पठाएँ सम्पादनका लागि अति धेरै भाषिक त्रुटिलाई उहाँले देखे जति भेटे जति सच्याइ दिनुभयो र रचनासङ्ग्रहका रूपमा बटुलो बन्यो ।

२, पहिलो कृतिको सुवास, उत्साह, उमगं, उर्जा कस्तो हुँदोरहेछरु कस्तो महशुस भैरहेको छ ?

पुस्तक निकाल्ने समयसम्म त खासै केहीझैं लागेन । किनकी सम्पूर्ण डिजाइन आफै गरेको र अरूहरूका पुस्तक पनि डिजाइन गरीरहने भएर होला । जव छापाखानामा पठाएँ अनि अलि हतार गरेँ कि, ठिक गरिन कि लागेको थियो तर जव आमालाई जन्मदिनको अवसरमा पहिलो कृति उपमहार सुम्पन पाएँ त्यो बेला चैँ साच्चै हर्षको समा रहेन । एकदमै आनन्द आयो । जव आमालाई उपहार दिएँ तव मात्र मैले आफुले आफैलाई एकपटक स्याबासी दिएँ । त्यस पछिका दिनमा आफन्त शुभचिन्तकहरूको प्रतित्रियाले चैँ उत्साहित भएको छु । खुसि छु ।

३, साहित्यका धेरै बिधाहरू अटाएर बटुलोलाई खिचडीको स्वादमा पस्किनु भएको छ । पाठकले पृथक स्वाद त पाउलान तर त्यो स्वाद जिब्रोमा बस्ला?

हा हा । यसलाई खिचडी भनौँ ? अथवा चटपटे भनौँ ? जसलाई जे मन पर्दछ त्यही भनौँ है त । हो मिश्रण छ धेरै कुराको । यस्तो पुस्तकहरू सायदै कमै निस्कन्छन । यसलाई एउटा व्यक्तिको दैनन्दिनी पुस्तकको अंश सम्झिदिए फरक नपर्ला । हुन त हतार नगरी कुनै एउटा विधामात्र छनोट गरेर पुस्तक निकालेको भए पनि हुने हो । यसरी खिचडी अथवा चटपटे बनाए पनि एक किसिमले ठिकै हुने रहेछ भन्ने मलाई लागेको छ । विविध विधालाई एकैठाउँ राख्दा मैले देखेको फाइदा के भने रुची अनुसारको रचना पढ्न पाइयो । कसैलाई मुक्तक मन पर्ला, कसैलाई कथा मन पर्ला । मैले कति साथीहरू भेटेको छु मुक्तकहरू सुनाउँदा राम्रो त मान्नु हुन्छ तर त्यसको संरचना थाहा नभएकाले जति बुझ्नु पर्ने त्यती बुझ्नु हुँदैन । तर उहाँहरू कथा मज्जाले बुझ्नु हुन्छ । कतिपय साथीहरू कस्तो भेटेको छु भने फेसबुकमै पनि अलि लामो खालको विचार देख्यो कि वेवास्ता गर्नुहुन्छ । भन्नुको तापर्य समाचार, कथाहरू नपढ्ने अथवा त्यस प्रति रुची नभएको हुनुहुन्छ । उहाँहरूले छोटो रचनाहरू त पढ्नु होला नि भन्ने एउटा अनुमान । हुन त कसै प्रति लक्षित नगरी आफुसँग भएका रचनाहरूलाई जम्मा पारी खण्ड–खण्डमा विभाजन गरेर पुस्तक बनाइएको हो । कम अपेक्षा गरेर स्वाद लिएमा निराश हुनु नपर्ला सायद ।

४, कोरिया पैसा टिप्ने ठाउँ भनेर धेरैले भन्छन, हो पनि पहिलो शर्त पैसा टिप्नुनै हो । पैसा टिप्दाको थकानलाई थन्काएर अक्षर र शब्द टिप्ने जाँगर कसरी आउँछ र? शब्दतिरको मोह कसरी सम्भव भयो?

हो कोरिया प्रथम त पैसा टिप्ने थलो नै हो । कसैले कम टिप्लान कसैले बढी आ–आफ्नो कर्म । साना रचनाहरू त मेसिनको घ्वाईं घ्वाईं आवाजको बिचमै कति आउने जाने गर्दछन् । त्यो व्यस्त समयमा कति आए, कति गए काम नसकिउन्जेल टिप्न पनि नभ्याइने । काम सकिने बेलासम्म मनमा रही रहेमा मात्र ति शब्दहरूले स्थान पाउने हुन्छ । कामको अवस्थामा कहिलेकाहीँ फरक फरक मनस्तिथी हुन्छ, कहिले लहभरी हुन्छ, कहिले तनाव हुन्छ, त्यो अवस्थामा त काममै बाहेक अन्यत्र ध्यान जादैन । खासमा काम सकिसके पछि वा सुरु नहुँदै अथवा कफी समयमा झलाकझुलुक मस्तिष्कमा ठिक्किएका र टिप्न भ्याइएका जति टिपियो ।
शब्द सँगको मोह भनौँ भने म आफू लेख्न कम र पढ्न रुचाउने मान्छे हो । र पनि असल पाठक त भइसकेको छैन अझै पनि । शब्दसँग खेल्ने कला मसँग छैन । कलेज पढ्दाका दिनहरूमा साथीहरूले वाचन गरेको सुनेर गजल÷मुक्तक जस्ता रचना रच्न सिकेँ । रेडियो वाचनमा आत्मकथाहरू सुनेर हो यसरी पनि त लेख्न सकिने रहेछ लाग्न थाल्यो र मनमा आएका कुराहरू लेख्न थालेँ । पछि पछि कल्पना गरेर पनि लेख्न सकिन्छ भन्ने अलिअलि जान्दै गएँ र अहिले पनि सिक्दै छु, सिकिरहने छु..

५, पहिलो किताब आमाको जन्मदिनको दिनमा आमालाई उपहार थमाउँदाको अनुभव कस्तो रह्यो? किताबलाई सन्तान पनि भनिन्छ, यहाँ पनि आमा हुनुभयो । आमा हुनुको अनुभव कसरी लिनुभयो?

असाध्यै खुसी लाग्यो नि । जब बटुलो आमाको जन्मदिनको अवसरमा आमाको हातमा राख्न पाएँ हर्षको सिमा रहेन । केही राम्रो काम गरेजस्तो लाग्यो र गर्नुपर्ने काम गरेजस्तो लाग्यो । मेरो आमा साक्षर हुनुहुन्छ छोराले लेखेको कुरा पढेपनि सबैकुरा बुझ्नुहोला अथवा नबुझ्नुहोला । कुनै दिन आमा सँगै बसेर आमा मैले यहाँ लेखेको कुरा यो हो, यस्तो अवस्थामा लेखेको, यसकारण अनि यसरी लेखेको र यसको अर्थ यो हो भन्ने छु त्यो दिन अझ धेरै खुसी हुने छु ।
भन्न त धेरै ले पूस्तकलाई सन्तानकौ रूपमा हेर्दछन् । म पनि जान अन्जानमा अरूको लहलहैको पंतिमै हुँला । तर खासमा सृजना र स्न्तान फरक कुरा हो । अब त यो पनि मेरो कहाँ रह्यो र ? पाठकको भयो नि । यसमा अझै धेरै परिमार्जनहरू गर्न सकिन्छ । सम्पादन गर्न सकिन्छ । यसमा मेरो मात्रै समय मिहेनत कहाँ परेको छ र ? फेरी सन्तान नै भन्ने हो भने आमा नभनेर बा भने पनि त भयो । हलका रमाइलो । सन्तान भन्यो भने त यो सामुहिक सन्तान पो हुने भयो त ! लेखकद्वारा रचनाहरू रचना भए, सम्पादकद्वारा त्रुटीहरू सच्याइयो, छापाखानाले आकारमा ल्यायो, पसलेले पसलमा राखेको छ । पाठकले लैजान्छ मुल्य तिरेर । के यी सबैजनाको भूमिका बराबर छैन र ? यसैले सन्तान नभनि हालौँ कि । अँ यो कृति हो बटुलो जसम रचना मेरा होलान् पुस्तक त सबैको हो । विशेषगरी पाठकको ।

***

प्रतिक्रिया

सम्बन्धित खवर