– माधव सयपत्री
आकाशमा कालो न कालो बादल मडारिएर घनघोर पानी पर्न लागेको निकैबेर भएको थियो । म कुनै छायाछत्रबिना एउटा रुखको आड लागेर वर्षाबाट राहत पाउने कोसिस गरिरहेको थिएँ । रुखका पातहरूले थोरै भए पनि पानी छलिएको थियो ।
म मान्छेदेखि वितृष्णित भएर भागेको थिएँ । आफैँदेखि डर लागेर भागेको भन्न अलि सुहाएन । मान्छेले मलाई घृणा गरे । कुटे । पिटे । लछारे । पछारे । धेरै यातना सहेँ । मेरो लघुबुद्धिले मान्छेको सङ्गत नगर् भन्यो । त्यसैले म भागेर यही रूखमुनि आश्रित भइरहेको थिएा । मान्छे मलाई लखेट्दै छन् कि शङ्का लागिरहेको थियो । विपत्तिजनक परिस्थितिबाट त्राण पाउनु मेरो एकमात्र अभीष्ट हुन गएको थियो ।
म पनि एउटा मान्छे थिएँ । मान्छे भएकोमा मलाई अविश्वास थिएन । विश्वासका साथ भन्न सक्थेँ, म मान्छे नै थिएँ । तथापि मलाई मान्छेहरूले नै लेखेटिरहेका थिए । मलाई मेरै घरपरिवार, नातागोता र इष्टमित्र सबैले बहिष्कार गरे । म तिनमा समायोजित हुन सकिनँ । टन्न पैसा कमाउन सकिनँ । त्यसैले म एक्लिएँ । त्यही असामथ्र्यको कारण यो अविरल झरीमा आफ्नो राम झुपडी छाडी जङ्गलको बास उत्तम मान्नु परिरहेको छ ।
कोही मेरो पिछा गरिरहेका थिए कि ! म भयातुर थिएँ । म त्यो रूखको फेदबाट भाग्न सक्दिनथेँ । क्षणिक सहारा यही रूख मात्र थियो । त्यो बेला यही रुख मेरो सबै चिज बन्यो । घरपरिवारका हरेक मुद्दामा मेरो स्वीकार–सैह्यता रहँदा पनि मेरी स्वास्नी मेरै लागि विपक्षी भई । छोराछोरी प्रतिपक्षी भए । आमाबाले समेत मलाई माया गरेनन् । परिवारमा मेरो सत्ता कायम भएन ।
म सत्ताच्युत भएर भागेको थिएँ । सत्ताच्युत हुनेबित्तिकै घरबाट बाहिरिनु प¥यो । छुट्टै मानवीय सत्ता प्राप्तिको लागि म मान्छेबाट अलग्गिएर हिँडेको मान्छे थिएँ । तर कहाँ थियय त्यो मानवीय र मानवोचित सत्ता ! सधैँ सत्तामा लिप्सिरहन खोज्ने मान्छे विकृति हो । विकार हो । बेहोसी हो । निर्दयी हो । नरभक्षी हो । पृथ्वी नासक भयावह तत्व हो । मान्छेदेखि क्रुद्ध भएर म त्यो रुखमुनि नयाँ र निस्वार्थी मान्छे खोजिरहेको थिएँ ।
मान्छेले पृथ्वी खान्छ । त्यो मेरो भविष्यवाणी थियो । मान्छेको गन्धले पनि मलाई लखेटिरहेको थियो । मेरो हत्या हुन पनि बेर थिएन । म मर्न चाहन्नथेँ र विज्ञानको यो कृतिम बचाइमा बाँच्न पनि चाहन्नथेँ ।
विद्रुप समाजको कुरूप ढाँचामा बाँच्नुपर्ने रे ! म आप्mनोपनले बाँचिरहँदा मान्छेलाई किन रिस ! मान्छे र मान्छेको समाज कुहिसकेको थियो । गनाइसकेको थियो । त्यो दुर्गन्धित समाज मेरो अनुकूल थिएन । मान्छेको अनुकूल थिएन । त्यसैले म भागेको थिएँ ।
म त्यसै बर्बराएछु, ‘रिसानी माफ है मान्छेहरू ! मैले के के बर्बराएछु । शत्रुञ्जय मान्छेलाई यसरी गालीगलौज गर्न नहुने । जे गरेका छौ, सबै उत्तम छ । राम्रो छ । म तिम्रो क्रियाकलापदेखि कृतज्ञ छु । कृतकृत्य छु । खुसी छु । मान्छेले सबैथोक गर्न पाउनु पर्छ, त्यसैले त ‘मान्छे’ । पृथ्वी तिम्रै हो । भत्काउने, बनाउने अधिकार तिम्रै हो । यो कष्ठकर पृथ्वीको आयु लम्ब्याउनु पनि त हुँदैन । हिरोसिमा र नागासाकी अझै पड्काउनुपर्छ । टुइनटावर अभैm ढाल्नुपर्छ । ध्वंसात्मक हतियारको विकास अझ दु्रत गतिमा गर । पर्दैन हतियार कटौती गर्न । अब मानवअधिकार र पृथ्वी बचाऊ जस्ता सन्धिमा हस्ताक्षर नगर । पृथ्वी पूरानो भइसक्यो । डेट एक्स्पाएर भइसक्यो । यसलाई नवीकरण गर्नुपर्छ । अझ नवनिर्मित पार । यो कष्ठकर पृथ्वीलाई वायुमण्डलमा छर । अर्को पृथ्वीको रचना गर । नयाँ पृथ्वी, नयाँ मान्छे र नयाँ बस्ती । आहा ! कति राम्रो परिकल्पना मान्छेको !
थुप्रै स्वतन्त्रता सङ्ग्राममा विजय पाएर अभ्युदय भएको मान्छे ! आफ्नो अस्तित्वको तिलाञ्जली दिएर भए पनि मान्छेले हार्नुहुँदैन । स्वजीवी मान्छे ! पृथ्वी नभए पनि बाँचिन्छ । पृथ्वीमा भर परी किन परजीवी बन्छौ ! नास यो पृथ्वीलाई । हुत्याऊ टुक्राटुक्रामा । लगाऊ पृथ्वीको खरानी विगुत ।’
पानी बेजोडसित पर्दै थियो । कताकता डर लागिरहेको थियो । सूर्य रश्मि हराउनै लागेको थियो । अब बासको व्यवस्थापन कता गर्ने होला ! यतिबेरसम्म सडकछेउको रूख आश्रय भयो । रुखको फेदबाट हिँडेपछि कता सहारा खोज्ने होला !
सडक चुबिचल्ल भएर पानी ओकल्न थाल्यो । सडकभरिको पानीलाई छ्यालब्याल पार्दै तीन चार ओटा अत्याधुनिक जगुवर कार देखिए सडकमा । अरू मर्सिडिज, रोल्सरोयस, ल्याण्ड क्रुजर, टोयटा, मारुती इत्यादि । हरेक सवारी साधनमा स्वचालित हतियारधारीहरू तयारी अवस्थामा थिए । त्यहाँ मान्छेको गति, प्रगति र उन्नतिको चरम अवस्था झल्किरहेको थियो ।
परिवारलाई खान दिन नसकेर व्यक्ति सत्ताबाट सत्ताच्युत भएर हिँडेको थिएँ म । परिवेशले मलाई आहत पा¥यो । मेरो परिवार पारिवारिक सत्तापलटमा लागेकाले मैले सत्ताबाट गलहत्तिएर ओडारको बास बस्नु परेको थियो । यहाँ मान्छेको र हतियारको यो चकचकी थियो । अब कता जाने होला ! गरिबी र आधुनिकतामा सामञ्जस्य खोजेँ मैले । खोज्नु मुर्खता रहेछ । कतै केही मिलेन ।
सबै साधनहरू त्यहीँ रोकिए । मभित्र भयङ्कर ज्वारभाटा उठ्यो । यी सबै विरोधी मास्न हिँडेका थिए । मलाई देखे भने सिध्याउँछन् । म थरथरी कामेँ । मेरो आकाश सन्त्रासले ढाक्यो । बादल फाटेर हिमाली काँठतिर हुर्रियो । मैले रुखपछाडिबाट मुन्टो मात्रै छिराएर सडकभरि आँखा बिछ्याएँ । गाडीबाट हतियारधारीहरू तल झरे । कमान्डरको सङ्केतमा द्रोणको चक्रव्यूहजस्तै जवानहरू एउटा चत्ररूप बनाई उभिए । यी सबै पक्कै मलाई नै हान्न आएका थिएै । देखेरै आधी जीवन म¥यो मेरो ।
अर्कोतिरबाट पनि बख्तरबन्द साधनमा स्वचालित हतियारधारीहरू आए । मैले सोचेँ, यी दुई विरोधी राज्यसत्ताका शक्तिशाली व्यक्तिहरू भेटिए । अब भिडन्त हुने भयो । साँढेको जुधाइ बाछाको मिचाइ हुने भयो । म मर्ने भएँ ।
सबै गाडी रोकिए । सवारी साधनबाट उत्रिए । त्यहाँ मार्कोस देखेँ । रेगन देखेँ । गोर्भाचोभ देखेँ । बोक्कासो निस्कियो । इदि अमिन निस्कियो । फेटा बाँधेको विनलादेन दाह्री मुसार्दै थियो । हिटलरको जँुंघा देख्दै मेरो सातोपुत्लो उड्यो । सँगै सद्दाम निस्कियो ।
अर्कोतिरबाट वाल्डहायम देखा परे । लिंकन अघि बढे । गान्धी नाकको डाँडीमा चश्मा टेकाएर भोटो र कछाडमा देखिए । अर्को गाडीबाट वैज्ञानिक हुल उत्रियो । पास्चर, डार्विन, एडिसन, न्यूटन, आइन्सटाइन आदि धेरै देखिए ।
अर्को साधनबाट साहित्यकारहरूको हुल उत्रियो । एलेन पो, सेक्सपियर, बर्नाड सा, गोर्की, वर्डस्वर्थ अनि अरू कतिकति । निराला, टेगोर र देवकोटा पछाडि देखिए । सोक्रेटस, एरिस्टोटल, रुस्सो इत्यादि दार्शनिकहरूको हुलले धर्ती टेक्यो ।
अर्कोबाट चित्रकार र ंसङ्गीतकार ओर्लिए । पिकासो, लियोनार्दो, विथोविन देखिए । लियोनार्दोको हातमा मोनालिसाको चित्र थियो । अतुलनीय मुस्कानमा मोनालिसा कागजमा टाँस्सिएकी थिइन् ।
सडकमा सबै असरल्ल छरिए । सबैले सबैसँग हात मिलाए । एउटा अनुपम, बेजोड र अलौकिक जमघट देखियो । नदेखिने देखियो । यी सबै फरक विचारका, पृथक सिद्धान्तका मानिसहरू थिए । यी ठुला मानिसहरू किन यसरी एकाकार भए ? म अचम्मित भएँ । ममा रोमहर्षण भयो । यस्तो कहाँ देख्न पाउनु !
मलाई लाग्यो, यी सबै एउटा सम्मेलनमा जम्मा भएका हुन सक्छन् । अब केही हुन्छ । मैले मर्नुपर्दैन किनभने त्यहाँ इदिअमिन मात्र थिएन, अहिंसाका पुजारी महात्मा गान्धी पनि थिए । पक्कै पनि अब हत्या, हिंसा विरोधी सन्धिमा हस्ताक्षर हुन्छ । ‘पृथ्वी बचाऊ’ सन्धिमा दस्तखत हुन्छ ।
कहिल्यै भेट नभेटिने मान्छेहरूको त्यहाँ एउटा कोणसभा भयो । चारैतिर बर्दीधारी सुरक्षाफौज तैनाथ थिए । सभा सञ्चालन भयो । हरेक पक्षबाट एक एक कार्यपत्र प्रस्तुत गरियो । मैले मजाले सुनेँ । कार्यपत्रको सार थियो– सबैका हतियार, अणु बम, परमाणु बम एकैचोटि छोड्ने र यो कष्टदायक पृथ्वीलाई खरानी बनाउने ।
गान्धीको मानवतावादी विचार अप्रत्यासित बदलिएको देखेर मैले लुकेरै खेद प्रकट गरेँ । प्रकृतिमा सुन्दरता देख्ने, साहित्य लेख्ने साहित्यकारहरूको मति किन यतिविधि भ्रष्ट भएको होला !
सबैको उद्देश्य एउटै थियो । देशदेशावरमा द्वन्द्व बढ्दै गएपछि तालुकेहरू मिल्ने अनि प्रक्षेपित रकेटमार्पmत् वायुमण्डलमा पुगेर कम्प्युटर रिमोटद्वारा परमाणु बम विस्फोट गराई पृथ्वी नाश गर्ने । भन्छन् नि, सौताको रिसले पोइको काख…….. !
सबैको कार्यपत्रको सार मिल्यो । सहभोजको प्रबन्ध भयो । पर पर हतियारधारीहरू खानु न पिउनु अलर्ट पोजिसनमा बसेका थिए । इदिअमिनले मरेको मान्छे ल्याएको रहेछ । गाडीबाट खँदा¥यो । चक्कुले पिँडुला चिर्न थाल्यो । सडकमा नै गलँैचा बिछ्याइयो । सबै गोलाकार र एकाकार भएर बसे ।
स्कच, ह्विस्की, ब्रान्डीका बोतलका बिर्को दाँतले थुतिए । लन्डन र मार्लबोरो चुरोटको धुँवा बुङ्बुङ्ती भयो । धुँवाले एकचोटि त बादलै लागे जस्तो भयो । म लुकेरै हेरिबसेँ । त्यस्तो अनुपम दृश्य देख्न पाएकोमा मलाई मज्जा पनि लाग्यो ।
सबै जना व्यञ्जन परिस्कृतिले टिल्ल भए । आदि भोजन– मासुका चोक्टा, आदि पेय– रक्सी । रक्सीका ग्लासहरू सबैले एक अर्कामा ‘चेस’ गरे । सुरु भयो–प्रकारान्तरले पृथ्वी नाशक सहभोज । सपेटासँग ह्विस्कीको स्वाद लिएर प्रमाद विषयमा निर्लिप्त भए । भोलि कहाँ पाउनु यो अवसर ! भोलि वायुमण्डलमा हुर्रिनु थियो । छरिनु थियो ।
सहभोजको मदनरञ्जन पूर्णाहुति भयो । खाली ग्लासहरू लडे । अनौठो तालमा सबै नाच्न थाले । हिटलरको पोसाक र अभिनय अलौकिक देखियो । छाडावादले सडक आप्तव्याप्त भयो । सबै नाङ्गिए ।
र, अन्त्यमा एउटा संयुक्त बुलेटिन तयार भयो । सबैले त्यसमा हस्तलिपिको मसी पोखे । एकै स्वरमा सबैको आवाज सुनियो, ‘अर्थ विल वि डिफिटेड सुन् । एन्ड वि विल विन द ब्याटल अगेन्स्ट द अर्थ । हुर्रे ! ! !’
म झल्याँस्स भएँ । मेरो मन अवचेतनमा पुगेको रहेछ । साँच्चै, मेरो अवचेतन मनले सोचेको कुरा पुग्यो भने पृथ्वीको कुन भागमा को बाँकी रहला र खै !

***

प्रतिक्रिया

सम्बन्धित खवर