दार्जिलिङका कवि मनप्रसाद सुब्बा नेपाली कवितामा परिचित नाम हो । थुप्रै साहित्यिक पुरस्कार र सम्मानले विभुषित सुब्बा वि.सं. २०३६ सालमै बिब्ल्याँटो यूगभित्र कार्टुन मान्छेहरू कविता संग्रह प्रकाशित गरि साहित्यमा पाईला राखेका हुन् । उनका बुख्याँचाहरूको देशमा, उष्मा, आदिम बस्ती, ऋतु क्यानभासमा रेखाहरू, अक्षर अर्केष्ट्रा लगायतका कविता कृतिहरू प्रकाशित छन् ।

यसबाहेक गद्य तथा आख्यानका पुस्तक त्यो मोडसम्म पुगेको मान्छे (लघु उपन्यास), काव्यास्था (समालोचना)
मिसाम (कथा सङ्ग्रह) लगायत हुन् । मिसाम भर्खरै प्रकाशित भएको कृति हो । यसै कृतिको सेरोफेरोमा रहेर सम्पादक जीवन खत्रीेले सुब्बासँग गरेका पाँच प्रश्न र कथाकार सुब्बाका उत्तरहरू ।

१, यहाँको नौलो कृति मिसाम नाम अलि भिन्न रहेछ । यसले साहित्यिक वृतमा के अर्थ राख्छ ? यसका पछाडि के राज होला?

– मिसाम शब्द लिम्बु भाषाबाट लिइएको हो | यसको सोझो अर्थ हुन्छ – अग्निदेव | ठुल्ठुला अग्निकाण्ड घरिघरि भइरहँदा लिम्बु सांस्कृतिक परम्परानुसार आगोको हंस अर्थात् अग्निदेवलाई मनाउन वा शान्त पार्न एक विशेष सामुहिक अनुष्ठान आयोजन गरिन्छ | येबा-येमा ( बिजुवा-बिजुवानी ) यस अनुष्ठानका पुजारी हुन्छन् | कथामा यस अनुष्ठानको दृश्याङ्कन गरी वर्त्तमान वैश्विक पर्या-सङ्कटलाई मूल कथावस्तुको रूपमा प्रस्तुत गरिएको छ | यसरी यो एक पर्याकथा बन्न पुगेको छ |

२, मिसाम कथा सङ्ग्रहको बारेमा छोटकरीमा परिचय गराईदिनुहोसन्, जुन पढेर पाठकलाई यस पुस्तक छनोटका लागि आफ्नो धारणा बनाउन सकुन ।

-मिसाम कथा सङ्ग्रहमा पन्ध्रवटा पन्ध्रै प्रकारका कथाहरू छन्। प्रकारान्तर विषयवस्तुगत मात्र नभएर तीलाई प्रस्तुत्याउने अवधारणागत वैविध्य छन् । मनोविश्लेषणात्मक, सामाजिक, राजनैतिक, विसङ्गतिवोधक, दर्शनदृष्टि, सांस्कृतिक, आर्टिफिसियल इन्टेलिजेन्स आदि कुराहरू टडकारो गरी यी कथामा कथा नै भएर आएका छन्।

३,  दशकौँ अघिदेखि कविता लेखिरहने कवि पछिल्लो समय कथाक‍ो किताब मिसाम आइपुग्यो । एउटा कविलाई के कुरा कवितामा भन्न सकिनजस्तो लाग्यो र कथा विधाको साहारा लिनुपर्यो?

– कथा मैले अघि कहिले लेखिनँ भन्ने होइन | यस कथा सङ्ग्रहको प्रारम्भमा ‘पूर्वकथा’ शीर्षक दिइएको सानो लेखकीय पृष्ठमा मैले मेरो कथा-लेखनको कथा भनेको छु | पाठकले त्यो पृष्ठ पढ्नु हुने नै छ | मिसाम-मा मैले जुन कुराहरूलाई कथा-रूप दिएँ ती कथाकै निमित्त उपयुक्त हुन् | लेखकको मन-मस्तिष्कमा विविध पात्र-पात्राहरूले अहोरदोहोर गर्दै विशेष आग्रह गरिरहेको अवस्थामा कथा बुनिन्छ, लेखिन्छ | कविताको अन्तर्आग्रह कथाको भन्दा बेग्लो हुन्छ |

४, वि.सं. ३६ सालदेखिनै कृति प्रकाशन गरि निरन्तर साहित्यमा सनधनारत हुनुहुन्छ । आजसम्म पनि यो जोश उस्तै देखिन्छ । खासमा साहित्य भन्ने चिज के रहेछ? अझ नेपाली साहित्य । जसले यतिसमय मोह लगाईरह्यो, बाँधीरह्यो ।

– सूक्ष्म संवेदनमा तरङ्गित हुने शाब्दिक कलारूप हो साहित्य | जबसम्म यो तरङ्ग्याइको आभास नयाँनयाँ रूपमा भइरहन्छ तबसम्म साहित्य रचना पनि ताजा रूपमा भइरहन सक्तछ | पुनरावृत्ति मात्र हुनबाट तर्किन नसके साहित्य लेखिरहने आवश्यकता छैन | आफूलाई हरेकपटक नयाँ रूपमा प्रस्तुत गर्ने उत्साहले नै मलाई साहित्य लेखनमा सक्रीय भइरहने बल मिल्छ |

५, एउटा नयाँ पाठक । उसले यति सजिलो भाषामा बुझोस् कि तपाईँको मिसाम किन पढ्ने ? तपाईँका रचनाहरू किन पढ्ने ?

– साहित्यका पाठक बन्न चाहने प्रत्येकले नै पहिले आफूलाई मानसिक तौरमा तयार गरेको हुनुपर्छ | पाठकको यात्रा सहजदेखि गम्भीर अनि गम्भीरतर हुँदै केही उकालो पनि हिँड्ने अभ्यास भए कृतिको आस्वादन बढी फलदायी हुनसक्छ |

मिसाम किन पढ्ने भन्ने प्रश्नलाई मेरो भन्नु यो छ कि यस सङ्ग्रहका कथाहरू मेरो आफ्नो मनभित्र उप्जेर हुर्किएका हुन् | यिनीहरूका आ-आफ्ना विशिष्ट स्वर-स्वरूप छन्, आ-आफ्ना दृष्टि छन्, आ-आफ्ना ढाँचा छन् | यो वैशिष्ट्य हेर्न-देख्न चाहने पाठकले यी कथा पढ्नेछन् |

***

प्रतिक्रिया

सम्बन्धित खवर