– बाबु त्रिपाठी

डण्डीबियो र कपर्दी खेल्न
र, देश पढ्न
बच्चाहरूले अझै छाडिसकेका छैनन्

मान्छेको मन
असन र इन्द्रचोकजस्तो
अझै साँघुरो भइसकेको छैन

देउताहरूले
अब मलाई फूल नचढाउनू
अझै भनिसकेका छैनन्

गल्लीबाट आइरहेछ
चुरा बजेको आवाज
सन्नाटा हटेको छ

भेन्टिलेटरको बिरामीले
अन्तिम सास फेरिसकेको छैन
जिन्दगीले
अझै एकछिन मुस्कुराउने समय पाएको छ

आर्यघाट
मुर्दाहरूको डम्पिङसाइड
अझै भइसकेको छैन

सन्तानहरूले
डाको छाडेर अझै रुन परेको छैन
रुनका लागि अझै काफी छन्
यहाँ आमाहरूका आँखा

यहाँ
वर्ष दिन बिराएर अझै आइरहेछ—जेठ
र, पोतेर गइरहेछ अनुहारमा—लू

यहाँ
वर्ष दिन बिराएर अझै आइरहेछ—असार
र, बजाएर गइरहेछ—दुःखको रिङटोन

इजरायलबाट
यहाँ आइरहेको छ
यहुदी बस्तीको खबर र सन्चो-बिसन्चो

साउदीका शेखले दिएका
यातनाका तस्बिरहरू पनि
आइरहेछन् ट्विटरमा अझै

मिस्त्री बन्न गएका युवाहरू
आक्कल-झुक्कल फेसबुकमा पोस्ट्याइरहेकै छन्
ऊँट चराइरहेको फोटो

स्वतन्त्रताको पुरानो नारा बोकेर
यहाँ अझै पनि
वर्ष दिन बिराएर आइरहेछ—तीज

मनकुमारीले बालेको तावामा
भोक बल्न छाडिसकेको छैन
अझै पनि बिक्री भइरहेकै छ—मकै

आफू लुटिएको प्रमाण
आफैँ जुटाउँदैछे बहिनी
कानुन र बर्दीप्रति उनको विश्वास अझै हटिसकेको छैन

एक्सक्लुसिभ समाचारमा अझै आइरहेछ
पर्सि भ्यालेन्टाइन डे—
कागजकै सही
टनका टन फूलहरू बोकेर
केही ट्रकहरू सीमावारि आइसकेका छन्

इन्स्टामा भाइरल भइरहेकै छ
भर्खर सपथ खाँदै गरेका
यो देशका नयाँ प्रधानमन्त्रीको फोटो

चुपचाप–चुपचाप म लेख्दैछु

मेरो मुलुक
“फेल्ड नेसन” घोषणा भइसकेको छैन
अझै।

***

प्रतिक्रिया

सम्बन्धित खवर