विसं २०३६ साल माघमा बैतडीको पाटनमा जन्मेका तीर्थराज पाण्डेय सन् २००६ देखि अमेरिकालाई कर्म भूमि बनाएर बसेका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका उनका आमाको सपना(२००१) र सविता(२००७) दुई खण्डकाव्य तथा चिरायु(२०१०) उपन्यास प्रकाशित छन् । हालै श्रीमती उपन्यास प्रकाशित गरेका पाण्डेयसँग उपन्यासमा केन्द्रित रही साहित्यकार गोविन्द गिरी प्रेरणाले गरेको लघुवार्ता;
१. तीर्थजी ! सन् २०१० मा “चिरायु” उपन्यासको प्रकाशन पछि २०२६ मा दोश्रो उपन्यास “श्रीमती” लिएर आउनु भएको छ, १६ बर्षको अन्तराल किन लाग्यो ?
यसको कारण हो, समय र व्यस्त जीवन अमेरिकाको!। विविध जिम्मेवारीले गर्दा दोश्रो उपन्यास आउन १६ बर्ष लाग्यो। राम्रो प्रकाशक पाउन पनि गाह्रो भएर त्यसले पनि समय लाग्यो ।
२. “श्रीमती” उपन्यास को शिर्षकले नै यो महिला प्रधान उपन्यास देखिन्छ ! यो अनुमान सही हो?
श्रीमती मात्र नभएर समग्र मातृशक्तिहरुलाई समेट्ने प्रयास गरेको छु। यसमा छोरी, आमा, बुहारी र श्रीमतीको कथा छ ।
३. यो उपन्यास लेख्न के ले प्रेरित ग-यो, कुनैक घटना, कुनै पात्र या के ले ?
यसको मूल घटना पात्र अमेरिकामा निहित बढ़्दो पारपाचुकेका घटना हो । नारी जातीमाथि अमेरिकामा पनि थिचो मिचो हुँदोरहेछ । मैले मेरै श्रीमतीसँग महशूस गरेका घटनाले मलाई यो उपन्यास लेख्न प्रेरित ग-यो ।
४, यो उपन्यास लेख्दा कुनै लेखकको यस्तो उपन्यास जस्तो बनाउँछु भन्ने लागेको थियो कि ?
त्यो छैन । यो मैले मन मुटुबाट लेखेको उपन्यास हो। यसमा नितान्त मौलिक कथा रहेको छ।
५. यो उपन्यास पाठकहरूले किन पढ्ने भन्यो भने तपाईंको भनाई के हुन्छ ?.
यसमा श्रीमान श्रीमतीमा हुनुपर्ने सम्बन्धको सुत्र छ । पूर्ण परिवारको परिकल्पना छ।
६. यो उपन्यास लेख्न कति समय लाग्यो ?
झण्डै अढाई वर्ष लाग्यो । प्रकाशन गर्न र त्यसलाई पाठकको हातसम ल्याउन अरू २ वर्ष लाग्यो।
७. उपन्यास लेख्दा लेख्न झर्को लागेर थन्काउँ जस्तो अवस्था पनि भोग्नु भयो कि ?
यो चाहीं आफ्नो श्रीमतीसँग सम्वन्धित भएको हुनाले र श्रीमतीले कुरा नबुझ्दा कहिलेकाहीं लेख्ने वातावरण विग्रिन्थ्यो ।
८. यो उपन्यास कत्तीको पुनर्लेखन गर्नु भयो?
यो उपन्यासमा मैले निकै मेहनत गरेको छु। यसलाई मैले ४ पल्ट पुनर्लेखन गरें । तर मनमा त यो हजारौं पल्ट पुनर्लेखन भयो होला ।
९. उपन्यास लेखिसक्दा र प्रकाशन भइसक्दा कत्तीको सन्तुष्ट हुनु भयो ? केही कमी कमजोरी देख्नु भयो कि?
अलिकति मुद्रमामा कमी कमजोरी भएको छ यो दोश्रो चोटी सच्याइनेछ । उपन्यास स्वयममा चाहीं मैले कमीकमजोरी पाएको छैन ।
१०, यो उपन्यास पढ्नेहरूबाट पाएका रोचक कुराहरु, सन्दर्भहरू केही छन् कि ?.
म यौटा साथीको जन्मदिनको जमघटमा गएको थिएँ। त्यहाँ एक अपरिचित बहिनीले सोध्नुभयो- “श्रीमती” उपन्यासको लेखक तपाईं नै हो ? मैले हो भनेपछि उनले भनिन्- मैले अहिलेसम्म यो उपन्यास १११ पेजसम्म पढेको छु । तर मैले यति उपन्यास पढि सक्दा श्रीमानलाई धेरै मायाँ गर्न थालें। यो सुनेर छेउछाउका सबै हाँसे । मैले भनें- “तपाईले पढिसके पछि श्रीमानलाई पनि पढ्न दिनुहोस, उहाँले पनि झन् धेरै मायाँ गर्नु हुनेछ।”
***
६ अगस्त २०२६ मेरिल्याण्ड।
प्रतिक्रिया
-
४
