कविता लेखन र पत्रकारितामा वर्षौँ देखि जोडिएका नवीन अभिलाषी विशेषत बिम्ब कवि हुन् । उत्पीडनमा परेका तथा राज्यको मूल धारभन्दा बाहिर परेकाहरूको काव्यिक आवाज पनि हुन् । विधागत रूपमा कविता लेखन उनको प्रमुखधार भए पनि कथालेखनमा समेत उत्तिकै सक्रिय छन्। दाङको घोराही स्थायी घर भएका अभिलाषी विशेष त वैचारिक कविको रूपमा परिचित छन् । ‘इश्वरको अस्थिपञ्जर’ र ‘एकात्म’ ‘मौलामा बाँधिएको राँगो’ उनका प्रकाशित कविता सङ्ग्रहहरू हुन् । हालै उनको दहाड कथासङ्ग्रह बजारमा आएको छ। यसै कथासङ्ग्रहको सेरोफेरोमा रहेर सम्पादक जीवन खत्रीले कवि तथा कथाकार अभिलाषीसँग गरेका पाँच प्रश्न र उनको जवाफ;
१) दहाड कथा सङग्रहको बारेमा केही बताइदिनुस् न ।
दहाड, मूलतः हामीले बाँचेर आएको समयको बेचैनी, आक्रोश, मौनता र भित्रभित्रै उम्लिरहेको मानवीय संवेदनाको कथा हो । यो सङग्रहमा रहेका कथाहरूले समाजका सीमान्त आवाज, अन्योल र सम्बन्धहरूको थकान व्यक्त गर्छन्, राजनीतिक–सामाजिक विडम्बना, शहर र गाउँबीचको दूरी, तथा मानिसभित्र दबाएर राखिएको डर र विद्रोहलाई समेट्ने प्रयास गरेका छन् ।
‘दहाड’ पञ्चायतकालिन समयभित्र दबाइएका अनुभूतिहरूको विस्फोट हो । हामी यस्तो समयमा बाँचिरहेका छौँ जहाँ समाज बाहिरबाट सामान्य देखिन्छ, तर यसको अन्तर्यमा पीडा, असुरक्षा र असन्तोष बोकेर हिँडिरहेको छ । यही मनोविज्ञान कथाहरूको आधारभूमि बनेको छ । यस सङग्रहका पात्रहरू साधारण छन्, नायक हुन र होइनन् पनि । कथाहरूले पाठकलाई मनोरञ्जन होइन, इतिहासको मन्थनतर्फ लैजान्छ ।
नेपाली कथासाहित्यको परम्परामा हेर्दा पनि हाम्रो समाजका संक्रमणकालीन अवस्थालाई कथाले सधैँ समातेको पाइन्छ । पञ्चायतकालको सामाजिक द्वन्द्वलाई चित्रण गरेर ‘दहाड’ले वर्तमान समयका मानसिक, सामाजिक र सांस्कृतिक तनावहरूलाई समेत समात्ने प्रयास गरेको छ ।
२) दहाड शब्दले बोक्ने भार अलि भव्यनै हुन्छ । तपाईँले यो नाम छनोट गर्नुको कुनै कारण के थियो ? के विषयमा तपाईँको गर्जन हो ?
हो, ‘दहाड’ शब्द आफैँमा निकै तीव्र, ऊर्जाशील र बेचैन शब्द हो । मैले यो शीर्षक रोज्नुको मुख्य कारण के हो भने अहिलेको समय मौनता, शून्यता र स्थिरताको समय जस्तो देखिए पनि वास्तवमा भित्रभित्रै ठूलो आवाज सङ्कलित भइरहेको समय हो । मानिसहरू बोल्न चाहन्छन्, तर बोल्न सकिरहेका छैनन् । धेरै अन्यायहरू सामान्यजस्तै स्वीकार भइरहेका छन्, वास्तवमा समाज त्यस्तो छैन ।
मेरो ‘दहाड’ कुनै एक व्यक्ति वा संस्थाविरुद्धको आवाज होइन । यो असंवेदनशीलताविरुद्धको आवाज हो । यो मान्छेको मान्छेपन हराउँदै गएको अवस्थाविरुद्धको प्रतिरोध हो । यो त्यो समाजविरुद्धको प्रश्न हो जहाँ मानिसको मूल्यभन्दा प्रदर्शनको मूल्य ठूलो हुँदै गएको छ । हामी र हाम्रो पुर्खाले बाँचेर आएको जीवन, समाज र समयप्रति मानवीय स्पर्श कम छ । कथाहरूमा मैले यही विडम्बनालाई विभिन्न पात्र र घटनामार्फत अभिव्यक्त गर्ने प्रयास गरेको छु ।
‘दहाड’लाई क्रोधभन्दा बढि आत्मसम्मानको आवाज पनि भन्छु । कतिपय पात्रहरू चिच्याउँदैनन्, तर उनीहरूको सहनशिलता नै एउटा ठूलो दहाड बनेर उपस्थित हुन्छ ।
३) सुन्दर कविताहरू लेखिरहने एउटा कविलाई के कुरा कवितामा भन्न सकिनजस्तो लाग्यो र कथासङग्रह आयो ?
कविता मेरो पहिलो प्रेम हो । कविता अत्यन्त संक्षिप्त तर गहिरो अभिव्यक्तिको माध्यम हो । तर समयसँगै मलाई के महसुस हुन थाल्यो भने कतिपय अनुभव, पात्र र सामाजिक जटिलताहरूलाई कविताको सङ्केतात्मक भाषाले मात्र पर्याप्त न्याय गर्न सक्दैन रहेछ ।
कविताले भावनाको ताप दिन्छ, तर कथाले त्यसको परिवेश, संघर्ष, समय, चरित्र र अन्तर्विरोधलाई विस्तारमा देखाउन सक्छ । उदाहरणका लागि, एउटा श्रमिकको थकान कवितामा एउटा प्रतीक बन्न सक्छ, तर कथामा ऊ किन थाकेको छ, उसको घर कस्तो छ, उसको सपना कसरी टुट्यो भन्ने कुरा विस्तारमा देखाउन सकिन्छ । मलाई लाग्छ, कविता हृदयको संगीत हो भने कथा समाजको विस्तृत ऐना हो । कविताले क्षण समात्छ, कथाले समय समात्छ । त्यसैले कतिपय अनुभवहरू आफैँ कथाको आकारमा आउन थालेका हुन् ।
अर्को कुरा, कथाले पात्रहरूलाई बोल्न दिन्छ । कवितामा प्रायः कवि आफैँ बोलिरहेको हुन्छ, तर कथामा पात्रहरू आफ्नै चेतना लिएर बाँच्न थाल्छन् । लेखक कहिलेकाहीँ माध्यम मात्र बन्न पुग्छ । ‘दहाड’का धेरै कथाहरू यसरी नै जन्मिएका हुन् ।
४) तपाईँ पत्रकार पनि हो । तपाईँले समाचार बनाउने विषय पनि कथा बन्छन् । पत्रकार र कथाकारको आँखाबाट हेर्दा एउटै विषय पनि कसरी फरक पर्दो रहेछ ?
यो निकै रोचक र गम्भीर प्रश्न हो । पत्रकारिता र साहित्य दुवै समाजसँग जोडिएका क्षेत्र हुन्, तर उनीहरूको दृष्टि र उद्देश्य फरक हुन्छ । पत्रकारिताले तथ्य खोज्छ, कथाले सत्यको अनुभूति खोज्छ । पत्रकारितामा म घटनाको बाहिरी संरचना लेख्छु, के भयो, कहाँ भयो, कसरी भयो, कसले गर्यो । तर कथाले त्यस घटनाको भित्री कम्पन समात्छ, त्यो घटनाले मानिसको मनमा के असर गर्यो, ऊ राति कसरी सुत्यो, उसको मौनता कस्तो थियो, उसको डर र सपना के थिए यस्तै यस्तै ।
पत्रकारिताले तुरुन्त प्रतिक्रिया दिन्छ, साहित्यले दीर्घकालीन स्मृतिहरुको निर्माण गर्छ । समाचार भोलिपल्ट पुरानो हुन सक्छ, तर कथा धेरै वर्षसम्म मानिसको मनमा बाँच्न सक्छ । कतिपय सन्दर्भहरु अन्यथा हुँदैनन् भने मलाई भन्न गाह्रो लाग्दैन कि पत्रकारिताले म वर्तमानमा बाँच्न चाहन्छु, तर साहित्यमार्फत भविष्यमा जीवित रहन चाहन्छु ।
सायद यही कारणले गर्दा पत्रकारिता र साहित्य मेरालागि निकै महत्वपूर्ण छन् ।
५) दहाड पाठकले किन पढ्नुपर्छ ?
म पाठकलाई ‘पढ्नैपर्छ’ भनेर आग्रह गर्नुभन्दा पनि ‘यो पुस्तकले तपाईंलाई तपाईंको समयसँग भेट गराउँछ’ भन्ने बताउन चाहन्छु ।
‘दहाड’ पढ्दा पाठकले आफ्नै समाज, आफ्नै घर, आफ्नै समय र कतिपय अवस्थामा आफ्नै अनुहार भेट्न सक्नुहुन्छ भन्ने विश्वास छ । यी कथाहरू कुनै काल्पनिक दुनियाँमा मात्र छैनन्; यी हाम्रै वरिपरि भइसकेका र भइरहेका जीवनका कथा हुन् ।
आजको नेपाली समाज तीव्र परिवर्तनको दौडमा छ । मानिसहरू आर्थिक रूपमा अघि बढ्न खोजिरहेका छन्, तर भावनात्मक रूपमा झन् एक्लिँदै गएका छन् । वर्गभेदले तय गरेको सामाजिक सम्बन्धहरू बदलिँदै छन्, दशक दशक राजनीति बदलिँदै छ, नैतिकताको मापदण्ड बदलिँदै छन् । यस्तो समयमा साहित्यले मनोरञ्जनभन्दा बढि चेतना दिनुपर्छ भन्ने लाग्छ । यदि पाठकले यो पुस्तक पढेर कुनै पात्रसँग सहानुभूति महसुस गर्नुभयो, कुनै प्रश्नभित्र आफूलाई भेट्नुभयो, वा पढिसकेपछि केही बेर झङ्कृत हुनुभयो भने मलाई लाग्छ पुस्तक सफल भएको छ ।
अन्ततः, ‘दहाड’ एउटा आवाज हो, समयको, समाजको, र मान्छेको भित्री संसारको । त्यो आवाज पाठकको मनसम्म पुग्यो भने मेरो लेखनको उद्देश्य पूरा भएको महसुस हुनेछ ।
***
प्रतिक्रिया
-
४
