✍️ जनक कार्की

लेखक तथा पत्रकार बसन्त बस्नेत नेपाली साहित्यमा स्थापित नाम हो । उनको दुईओटा पुस्तक प्रकाशित छन् । पूर्वी नेपालको इलाम जिल्लामा जन्मेका बस्नेतले पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमए गरेका छन्। हाल शिलापत्र अनलाइनमा प्रधान सम्पादक रहेका बस्नेत यसअघि नेपाल म्यागेजिनका सम्पादक थिए । कान्तिपुर, अन्नपूर्ण पोष्ट, नागरिकलगायतका राष्ट्रिय दैनिकमा अनुभव सङ्गालिसकेका उनको ‘महाभरा’ उपन्यास र ‘७२ को विस्मय’ पुस्तक प्रकाशित छन् । पछिल्लो समय लोकिप्रयता पाउन सफल ‘महाभारा’ उपन्यासमा आधारित रहेर गरिएको पुस्तक वार्ताको सारांश यस्तो छ :

नेपाली उपन्यासको इतिहासमा भव्य र धुमधाम आक्रमक प्रचार शैली अपनाएको कृति सम्भवत ‘महाभारा’ हुनपर्छ । यो अवस्था भनेको प्रकाशकले पुस्तक छाप्न पनि डराइरहेको अवस्था हो, यस्तो अवस्थामा तपाईंको पहिलो उपन्यासलाई प्रकाशकले यति धेरै महत्व दिनुलाई तपाईं के मान्नुहुन्छ, भाग्यमानी लेखक, राम्रो पब्लिक रिलेसन वा कृतिको गुण ?

महाभाराका लागि अहिले आइरहेको प्रतिक्रिया पाठकबाट स्वतःस्फुर्त आएको हो । प्रकाशक फाइनप्रिन्टले सामाजिक सन्जालमा आएका टिप्पणीलाई आफ्नो पेजमा ठाउँ दिनेबाहेक फरक प्रचार रणनीति अपनाएको छैन । बरू देख्नुभएको छ भने भन्नुहोस् । मेरो पहिलो किताब ७२ को विस्मय छापिएका बेला अखबारमा बिज्ञापनलगायत रणनीति अपनाको थियो फाइन प्रिन्टले। योपल्ट केही गरिएको छैन । यसमा मेरो केही गुनासो पनि छैन । प्रकाशकले दिनुपर्नेजति महत्व त अवश्य दिएकै देखिन्छ । त्यसैले महाभारा पुस्तक विमोचन नभर्इ महाभारा मेलामा परिणत हुन सक्यो । नत्र महाभारा टुर पनि काठमाडौ बाहिर स्वतस्फुर्त नै हुन सकेको हो । त्यसमा स्थानीय आयोजकहरूको योगदान छ । रह्यो पीआर र कृतिको गुणको कुरो । यसमा मैले के भन्ने ? बरु तपाईंहरुले नै भन्नुहोला । खासमा राम्रो लेखनसँग पीआरको सम्बन्ध के छ ? मलाई कसैले बुझाइदिए हुने ।

लकडाउनको समयलाई सदुपयोग गरेर यहाँले उपन्यास लेख्नुभयो, यदि लकडाउन नभएर समय अनुकुल गतिमै हिँडिरहेको भए ‘महाभारा’ पुस्तक आउन अझै कति समय लाग्थ्यो होला ?

तीव्र गतिको पत्रकारिता पेशामा भएकाले पक्कै उपन्यासका लागि समय लाग्थ्यो होला । लकडाउनले जीवनशैली धिमा गराइदियो । नेपाल म्यागजिनको सम्पादकीय नेतृत्वबाट बाहिरिएपछि मसँग उपन्यासबाहेक अरु सोच्नुपर्ने विषय तत्काललाई केही थिएन । कान्तिपुर दैनिकमा पाक्षिक स्तम्भ लेख्नेबाहेक मेरो केही ठोस रुटिन थिएन । त्यसैले उपन्यासको हितका खातिर जे भो, जेनकेन ठिकै भो ।

प्रायः विमोचन गर्दा गन्नेमान्ने व्यक्तित्वको हातबाट गराइन्छ, ‘महाभारा’को लोकार्पण यहाँले आफ्नी छोरीद्वारा गराउनुभयो, यसले छोरीलाई गरेको प्रेम र सम्मान झुल्किन्छ । यो शैली वास्तवमा उदारणीय पनि बन्यो, पुरुषप्रधान समाजको जालो अल्झिएको हाम्रो समाजमा यो एउटा छोरीको सम्मानको प्रतिनिधि घटना पनि हो । भोलि जब छोरीले उपन्यास बुझ्ने भएपछि अध्यन गर्नेछिन् त्यतिबेला छोरीले ‘महाभारा’को आलोचना गरोस् लाग्छ कि प्रशंसा ?

आलोचना भनेको आँखा ठूलो गरी उघारेर हेर्नु हो । ‘लोचन’लाई ठूलो पार्नु आलोचना हो । हाम्रोमा आलोचना भनेपछि निन्दा या भर्त्र्सनाजस्तो गरी बुझिन्छ । त्यो हलुका कुरा हो । छोरीको पुस्ता निश्चय नै आलोचनात्मक बन्नेछ । त्यो पुस्ताले राम्रो नराम्रोको सम्यक विवेचना गर्न समर्थ बन्नेछ भन्ने मेरो विश्वास छ । मेरो किताब अपवाद हुनेछैन, पक्कै ।

धर्म र राजनीतिले धेरै कुरालाई प्रभाव पार्ने गर्छ । यो उपन्यासमा डुक्पा र सुक्मतीको प्रेमलाई कता हो कता पुर्‍याइदिन्छ, राजनीति र धर्मले प्रभाव पारेका धेरै विदेशी प्रेमकथा हामीले पढेका छौँ, यो उपन्यासमा चाहिँ माटोको सुगन्ध भरिएको छ । डुक्पा र सुक्मतीको प्रेम किन लेख्ने सोच्नु भयो र उपन्यासको रचना गर्भ सुनाउन मिल्ला ?

तपाईं हामी हुर्किएको समय भनेको नेपाली इतिहासको विशिष्ट चरण हो । यो समयमा देशले जस्तो उतारचढाव भोग्यो, त्यो पछिसम्मै विभिन्न विधाहरूमा लेखिइरहनेछ । मैले खासमा डुक्पाजस्ता पात्र खासै देखेको होइन, तर धेरै पात्रहरुमा उसको विम्ब पाउँछु अहिले सम्झँदा । सुक्मती त झन् पूरै काल्पनिक पात्र हो । तर धार्मिक कथा भन्नलाई सुक्मती तान्छोहाङजस्ता पात्र चाहिने नै भएको थियो ।

तपाईंका आलेख, फिचर, च्या खानुभयो युट्युब टल्क शो आदि निकै चर्चित छन्, लेखनशैली लोभलाग्दो छ । अहिले उपन्यास लिएर आउनुभएको छ यो पनि सुपर हिट बनिरहेको छ, जे छोयो त्यसलाई सुन बनाउनुहुन्छ, के तपाईं मिडास त होइन ?

होइन, म साधारण सर्जक नै हुँ । म जतिसुकै तनावमा पनि मुडलाई कँज्याएर एकाग्र बनाउन सकिन्छ भन्ने जबर्जस्तीमा अलिअलि विश्वास राख्छु । सिर्जनाका लागि उचित मुड कुरेर बस्ने मेरो बानी कहिले पनि होइन । रिपोर्टिङ, लेख, च्या खानु भो यसैका परिणति हुन् । थाहा छैन, यसो गर्नु अनुचित पो हो कि ? शारीरिक मानसिक स्वास्थ्यका दृष्टिले । बरु तपाईं नै भन्नुहोस् न के गर्नु उचित हो ?

तपाईंका समकालीन लेखक देखि चर्चित र वरिष्ठ लेखक जो प्राय अरुका किताबका बारेमा खासै टिप्पणी गर्दैनन्, उनीरूले पनि ‘महाभारा’को खुलेरै चर्चा गरेका छन् । यसरी धेरै पुलपुल्याउँदा मात्तिने डर पनि हुन्छ नि, के भन्नुहुन्छ ?

म पुलपुलिने सम्भावना छैन । अझै कति धेरै गर्नु बाँकी छ । ‘महाभारा’ छापिएको दुई महिना नपुग्दै यो खास पाठक सर्कलबाट आम पाठकको तहमा गइसक्यो । तर मलाई बेस्टसेलर लेखक हुनुको भ्रम छैन । सायद कहिल्यै नहोला पनि । जीवनमा यति धेरै काम गर्नुपर्नेछ, जसलाई कसैले हजारौंमा गन्छ, कसैले दुई–चारमा । सबै सिर्जना त्यति भाग्यमानी हुँदैनन्, जसले बहस सिर्जना गर्न सकुन् । कति त पढ्यो, बिर्सियो हुन्छ । तर आज ‘महाभारा’लाई बृहत् बहसको सौभाग्य प्राप्त हुन सकेको छ । खासमा यो पनि आंशिक कुरा हो । अबको चार–पाँच वर्षपछि पनि कुनै न कुनै रूपमा ‘महाभारा’को चर्चा भइराख्यो भने बल्ल यसलाई सफल मान्नुपर्ने हुन्छ । सफल हुनलाई साहित्य लेखिने पनि होइन खासमा । बेस्ट सेलर लेख्छु भनेर कुनै किताब बेस्टसेलर बनाउन सकिन्न ।

यहाँले नेतृत्व गर्नुभएको शिलापत्र अनलाइन पोर्टल पनि निकै अग्रगतिमा चलिरहेको छ, अनलाइन पोर्टलहरूले लेखकलाई पारिश्रमिक दिने कुरामा पनि शिलापत्र लगभग नम्वर वान मै छ भन्छन्, तपाईंको मिजासिलो स्वभावले सर्जकको साथ पनि मज्जैले पाउनु भएको छ, बसन्त बस्नेत काम लाग्ने मान्छे हो भनेर कतै तपाईंको उपन्यासको चाहिने भन्दा बढी चर्चा गरिराखेका छन कि यसमा कत्तिको सचेत हुनुहुन्छ ?

यो प्रश्न आधा राम्रो छ । आधापछि चैं तपाईंले पुनर्विचार गर्नुहोला । के साहित्यले निर्माण गर्ने मूल्यको छलफल यति सतही र क्षणवादी हुन्छ र ? यति हुन्छ भने त्यो दुर्भाग्य हो । तपाईं म शिलापत्रमा जोडिएका कारण अग्रज र समकालीन लेखकको चर्चा भएको भनिएको पक्षलाई अब ध्यान नदिनुहोस् । नेपालका सहर–गाउँ दुरदराज बस्तीदेखि प्रवाससम्मका आम पाठक, जसलाई मैले कहिल्यै देखे–भेटेको छैन– उनीहरू के भन्दैछन् भन्नेबारे ध्यान दिनुहोस् । कुनै पनि फिल्म आफन्त र इस्टमित्रले मात्रै हेरिदिएर सफल हुँदैन । कुनै पनि किताब पत्रिकाका लेखक र साहित्य गोष्ठीका आगन्तुकले मात्रै पढिदिएर सफल हुँदेन ।

एउटा खट्केको कुरा ०५८ पछि कुन काल/समयसम्मको कथा अथवा सीमा समय मैले पत्तो लाउनै सकिन । अनि त्यसमा सुक्मतीले शिक्षक आयोग पास गरेको प्रसङ्ग पनि छ । नेपालमा २०५२ पछि रोकिएको शिक्षक सेवा आयोग २०७० मा मात्र खुलेको छ । यस्ता टेक्निकल पाटोमाथि पनि प्रश्न गर्ने ठाउँ भेटेँ । हो, २०५२ मा भएको शिक्षक आयोगको नतिजा सार्वजनिक २०६१ मा भएको हो । तर कथामा सुक्मती भन्ने पात्र २०५२ मा आयोग लडेको कुरा छैन । टाइमफ्रेम हेर्दा त २०५२ तिर सुक्मतीले एसएलसी सकेको देखिदैन । यदि २०५२ सालमा एसएलसी दिएको हो भने उनको उमेर ३५ नाघेको देखिन्छ । यो मेरो जिज्ञासालाई शान्त बनाइदिनुस् न ?

उपन्यासलाई ०७८–०७९ सालतिर पढ्दा आउने प्रश्न यस्ता पनि हुने रहेछन् । अबको २० वर्षपछि यही किताब पढ्दा यस्ता प्रश्न कम सान्दर्भिक भएर जालान् । किताबको आयु हाम्रो आयुभन्दा लामो हुन्छ । सक्दो तथ्यगत हुन सकेको पक्कै पनि राम्रो हो । तर आख्यानले आफूले सिर्जेको यथार्थका लागि आफैं काल्पनिक जग्गा पनि बनाउँछ । त्यसैले त साहित्य सिद्दान्तमा सस्पेन्सन अफ डिस्बिलिफ भन्ने मान्यता नै छ, जसले प्रामाणिकताका लागि उठ्ने प्रश्नलाइ निस्तेज पार्दै वास्तविकताको नजिक लैजाने यथार्थबोधको वकालत गर्छ । तथ्यको कसीमा राख्दा त्यो सही होइन, तर सत्यको खोजका खातिर तिमीले त्यसलाइ पत्याउ भनिदिन्छ । अर्थात् सुकमतीले शिक्षिका बन्ने निधो गरेको पक्षलार्इ बढ्ता वास्ता गर्छ । एक किसिमले भन्ने हो भने अहिले तपाईं जेलाई आफ्नो जिज्ञासा भन्दै हुनुहुन्छ, अबको १५ वर्षपछि पढ्दा त्यस बेला अरु नै जिज्ञासा समेत आउन जालान् । प्राविधिक पक्षलाई साहित्यिक पक्षले अग्रसरतासहित जित्दै जाला । जस्तो कि मधेस आन्दोलन भएपछि नयनराज पाण्डेको ‘उलार’ खोजी खोजी पढियो, पहिले खोजिएन । ध्रुवचन्द्र गौतमको ‘अलिखित’लाई मधेसलाई हेर्ने पहाडी नजरको कोणबाट धेरैपछि मात्र व्याख्या गरियो । छापिएको बखत गरिएन । जनजाति आन्दोलन हुर्केपछि बीपीको सुम्निमा जलाइयो । कोभिड सङ्कट सुरु भएपछि सय वर्षअघि नै यस्तो आसन्न सङ्कटबारे काल्पनिक भविष्यबाणी गरिएका किताब खोजेर पढ्न थालियो ।

‘महाभारा’ पढेर प्रायले वाह ! नै भन्नुभएको छ, त्यसको अलावा पनि केही समीक्षाले प्रश्न पनि उठाएका छन्, धनु विश्वकर्माले नेपाल लाइभ अनलाइन पोर्टलमा ‘महाभाराको यात्रा’ वल्लो घाट न पल्लो तिर भनेर समीक्षा गरेका छन्, मनोज खतिवडाले नेपाल खबर अनलाइन पोर्टलको समीक्षामा महाभारा जनयुद्धको साचो कथा होइन, प्रेम कथा झनै होइन भनेर भनेका छन् भने कान्तिपुर कोसेलीमा कवि मनोज बोगटीले समीक्षामा भनेका छन्, महाहराहरूको कथा हो महाभारा । यस्ता आलोचनात्मक टिप्पणीहरूलाई यहाँले कसरी सम्वोधन गर्नुहुन्छ ?

म सबै आलोचकहरुलाई फेरि धन्यवाद दिन चाहन्छु । मलाई समीक्षकले चुनौती दिएको मन पर्छ । उनीहरू जति बलिया हुँदै गए, हामी लेखक पनि त्यति नै बलिया हुँदै जान्छौं । आएका कतिपय तर्कहरू उपेक्षा गर्न नमिल्ने खालका छन् । कतिपय टिप्पणीमा मेरा आफ्ना प्रतितर्कहरू पनि होलान् । किताब लेख्ने मान्छेले यस्ता अनेकौं प्रश्न, अनि सम्भावित प्रश्नसमेतको अनुमान गरिसकेको हुन्छ । यी सबै सीमाहरूको रेखाङ्कनसहित एउटा कृति जन्मिन्छ । उपन्यास एउटा कला हो, त्यसलाइ राजनीतिक प्रतिवेदन जसरी पढ्न खोज्दा हामी चिप्लने डर हुन्छ । पहिले कलाको सत्तालार्इ स्वीकार गर्नुपर्छ । राजनीतिक पक्षधरताको कुरा त्यसपछि आउँछ ।

अनलाइन खबरमा गणेश कार्कीले गरेको समीक्षमा भनेका छन, एक वर्ष अगाडिको समाचारमा र पुस्तकमा लेखक बस्नेतले आफ्ना भनाइहरूमा पनि उपन्यासको पटक पटक मस्यौदा गरिएको जानकारी दिएका छन्। ओहो ! यो पुस्तकमा यत्रो मिहिनेत, यति धेरै मानिसहरूको यत्रो सहभागिता भन्ने आश्चर्य लाग्छ। पुस्तकप्रतिको अपेक्षा बढ्छ। यो स्वाभाविक हो। तर, कुनै पनि पुस्तक यति धेरै मस्यौदामा जाँदै गर्दा, त्यति धेरै मान्छेहरूको सम्पादन वा सुझाव पछि थपिएका तीस हजार शब्दहरूका बीचमा कतै लेखक हरायो कि हराएन ? सँगै प्रश्न उठ्छ। पाठकले लेखकलाई मात्रै पढ्न अब पाइन्छ कि पाइँदैन ? प्रकाशकको ६ पटकसम्म सम्पादनमा परेको पुस्तकमा लेखकको लेखकीय पढिन्छ कि प्रकाशकको बजार मनोविज्ञानको प्रभाव थोपरिन्छ ? शंका उब्जिन्छन्। पुस्तक पढिसकेर लेखकको भनाइ पढेको निकै समयसम्म मेरो मनमा यी प्रश्नहरू छन्। मलाई महाभारा उपन्यासको पहिलो मस्यौदा पढ्ने मन छ । यसबारे केही भन्दिनोस् न ?

गणेशजीले लेखेको कुराले धेरैलाई छोएको रहेछ । मलाई अरु पनि केहीले भन्नुभयो यो कुरा । म विनम्र निवेदन गर्छु, सम्पादक अजित बराललगायत सुझावकर्ताहरुको सुझावले किताब भाँचभुँच पारिएको छैन, बरु समृद्ध पो भएको छ । मेरा मूल तर्कहरू र केन्द्रीय भावलाई ती सम्पादनहरूका क्रममा कतै पनि तोडमोड गरिएको छैन । त्यसलाई अझै प्रष्ट पार्नका लागि उहाँहरुले आफ्नो ध्यान लगाउनुभएको हो । यस अर्थमा अजितजीलाई पनि म धन्यवाद दिन चाहन्छु । मैले शिवानी सिंह थारु र दीपक नेपालको सुझावलाई गहिरो गरी लिएको छु । उहाँहरूलाई पनि धन्यवाद । यी सबै प्रक्रियाहरूमा अन्तिम निर्णय लेखककै थियो, जसलाई उहाँहरूले पूरै सम्मान गर्नुभएको छ । मैले उहाँहरूसँग गुनासो गर्नुपर्ने ठाउँ कतै छाड्नुभएको छैन ।

अब यसमा गणेशजीले ‘महाभारा’को पहिलो मस्यौदा पढ्ने मन गर्नुभएको छ । रहर सराहनीय छ । तर जुन मस्यौदा अब म स्वयं लेखकलाई पढ्न मन छैन, अब त्यो लेठो किन पो गर्ने ? पहिलो मस्यौदा अतितको पहिलो प्रेमजस्तै हो । अब हामीले वर्तमानमा बाँच्नुपर्छ ।

एउटा रमाइलो प्रश्न, पुस्तकमा गुडेको ट्रकको हेडलाइट किन एउटा मात्र दुईवटा हुनपर्ने होइन र, ट्राफिकले समात्दैन ?

चिन्ता नगर्नुस् । ट्राफिकसँग म कुरा गरौंला ।

अन्त्यमा एउटा स्वतन्त्र प्रश्न जसमा यहाँले मन लागेको उत्तर दिन सक्नुहुन्छ ।

खासमा आजको अन्तर्वार्तामा यो मात्रै स्वतन्त्र प्रश्न थियो, जसलाई मैले अब स्वतन्त्र भइराख्नुपर्ने बाध्यताबाट उन्मुक्ति दिएँ ।

प्रतिक्रिया

सम्बन्धित खवर