कैलालीमा जन्मिएका महेन्द्र उपाध्याय पेशाले इन्जिनियर हुन् । गजल लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका उनको ‘एक’ गजल सङ्ग्रह प्रकाशित छ । फुटकर रूपमा उनका कथाहरू प्रकाशित हुँदै आएका छन् । गजलबाट कथा हुँदै उपन्याससम्म उनको साहित्यिक यात्रा लम्किएको छ । उनको पहिलो उपन्यास ‘मिन्झारी’ लोकार्पण भइसकेको छ । आजको पुस्तक वार्तामा लेखकसँग ‘मिन्झारी’ उपन्याससँग सम्बन्धित भएर सेतोमाटोका सहकर्मी जनक कार्कीले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छः

‘मिन्झारी’ उपन्यास केही हप्ताअघि मात्रै विमोचन भएको छ। सबैभन्दा पहिला त ‘मिन्झारी’ भनेको के हो र मिन्झारी शब्दले उपन्यासको कथालाई कसरी बोकेको छ ?

देउता बस्ने कोठालाई मिन्झारी भन्छन्। मिन्झारी शब्दले उपन्यासको कथालाई कसरी बोकेको छ भन्ने कुरा पढे पछि सबै पाठकले थाहा पाउनु हुनेनै छ। खासमा मैले मिन्झारी नाम राख्नुको उद्देश्य ‘मिन्झारी’ शब्द माथि सबैको नजर जाओस् भन्ने हो ।

नेपाली शब्दकोशमा मन्दिर भनेको भगवानको घर हो। भगवानको कोठा होइन । र, मान्छे बस्ने घरमा पुजा कोठा छ तर भगवानको कोठा छैन। थारू भाषाको यो शब्दले पुजा कोठालाई मिन्झारीले नयाँ र पुर्ण परिचय दिनसक्छ भन्ने हो । भाषामा छोटो पारी दिन सक्छ। नेपाली शब्दकोशमा राखियोस भन्ने पनि हो ।

‘मिन्झारी’ उपन्यास कम्लरी र थारू समुदायको परिवेश बोकेको कुरा सुनिएको/पढिएको छ । उपन्यासले यी समुदायका कुरालाई उठाएर कस्तो दिशातर्फ लान खोजेको छ ?

मिन्झारी उपन्यासमा म पात्र जे जस्तो भएपनि ऊ क्रूर सत्य बोल्न नहिच्किचाउने मान्छे हो । उसको जो सँग जे सम्बन्ध छ त्यो बोल्छ । त्यसैले मिन्झारीले अहिले देशका राजनीति खेलिरहेका नेता, कार्यकर्ता, कर्मचारी, धर्म प्रचारक र अन्यले समग्रमा भन्नुपर्दा सत्तामा बसेकाले जनता यो समुदायका कुरालाई लिन खोजीरहेका छन् र त्यस्तै लिन खोजेको छ मिन्झारीले पनि ।

‘मिन्झारी’ मालिकको आँखाबाट, मालिककै सोचबाट र रबैयाबाट कमैयाहरूमाथि गरिने अत्याचारको दुरुस्त चित्रण गरिएको उपन्यास भएको प्रकाशन गृह काबु क्रियसनका प्रबन्ध निर्देशक रसिक राजले बताएका थिए । यसमा कमैया मुक्तिको लागि उनीहरूको क्रान्तिकारी सोचलाई कसरी उजागर गर्नुभएको छ ?

मिन्झारीमा कमैया मुक्तिका लागि लागि पर्नेहरूको कथा कतै छैन । मात्र एक लाइन छ । एउटा रोचक कुरा के छ भने त्यो बेलाको नेताको घरमा काम गर्ने कमैयाको कुरा पनि मिन्झारीले उठाएको छ। त्यसो भैकन पनि त्यो घरको कमैयालाई अलिकति पनि राजनीतिले छोएको छैन । तर, टिकापुर घटनासम्म आइपुग्दा समाजको भिन्न रूप देखाउँछ। कमैया चुनावमा उम्मेदवारसम्म बन्न पुगेको छ ।

खासमा म लेख्दा व्यक्ति भन्दा पनि सामाजिक स्वाभाव लेख्न रुचाउने मान्छे हुँ । त्यसैले यस उपन्यासमा समाजले कसरी उजागर गर्छ भन्ने देखाइएको छ। जस्तो कि कमैया, कमैयामुक्ति चाहियो भनेर एक शव्द पनि बोल्दैनन् । तर जब सौकि मुक्त हुन्छन् । तब मात्रै बोल्छन् । तर कमैया मुक्तिबारे मालिक पहिले देखिनै बोलिरहेको छ । कमैया मुक्तिको डर मालिकलाई छ कमैयाले कमैया मुक्तिको आजसम्म गरेको देखिँदैन उपन्यासमा। अर्को शैलीमा भन्दा मालिकको आँखा अगाडि कमैयाले आफ्नो क्रान्तिकारी सोच नै देखाउदैन यो उपन्यासमा ।

यहाँले भन्नुभएको छ ‘पहाडियाहरू मधेस झर्नुभन्दा पहिला थारूहरूका घरमा ताला लगाउँने प्रचलन थिएन।’ के थारू समुदायमाथि दखल पुर्याउने दोष पहाडियालाई मात्र दिन मिल्छ ?

म एक पहाडी मुलको मान्छे हुँ । खासमा, म मेरो जस्तै रङ र स्वभाव भएका मान्छेको प्रतिनिधित्व गरी समाजमा बसेको छु जस्तो लाग्छ । र अर्को बानी म अगाडि लाग्दा पछाडि उभिएकालाई कतै अप्ठ्यारो पर्यो कि भनि एक फेर त सोच्छु। त्यसैले मैले पहाडिको अवस्थाबारे बोलेँ । थारू खाने थारू भनेर त चुनाव मै थारू साथीहरू नारा लगाइरहेका छन् नि ! हैन र ?

यो उपन्यास टिकापुर घटनालाई पनि पृष्ठभुमि बनाएर लेखिएको छ । यो उपन्यासले टिकापुर घटनाको सत्यतथ्य उजागर गर्न कत्तिको सम्भव छ ?

टिकापुर घटना यस उपन्यासको एक अंश मात्रै हो । त्यो पनि सामाजिक पक्षबाट । यस उपन्यासले टिकापुर घटना कसरी घट्यो बारे अलिकति पनि बोल्दैन । तर टिकापुर घटनामा थारूका अनुहार मात्रै किन देखिए भन्ने बारे बोलेको छ । त्यसैले उपन्यासको सत्यतथ्य बारे पाठक आफै बोल्नु हुनेछ ।

टिकापुर घटनाको दोषीको रूपमा रेशम चौधरी कारावासमा छन् । तपाईं उहाँकै पार्टीको सदस्य बनेर स्थानीय चुनावमा पनि संलग्न हुनु भयो । यो उपन्यासले पनि टिकापुरकै घटनालाई समातेको छ । केही मान्छेहरूलाई लागेको हुनसक्छ कि तपाईं कतै रेशम चौधरीबाट स्वचालित वा प्रायोजित त होइन भनेर । यस्ता आरोपहरूलाई कसरी संवोधन गर्नुहुन्छ ?

किताब नपढी आरोप लगाउनेलाई त मेरो भन्नु केही छैन । किताब पढ्ने मान्छेले यो आरोप लगाउने छैनन् । किनभने यो उपन्यासमा रेशम चौधरी पात्र सम्म पनि छैनन् । यो उपन्यास कुनै पनि राजनीतिक बिचारको नजिक छैन । त्यसैले यस्तो आरोप आउँदैन भन्नेमा छु ।

नेपाली साहित्यमा ‘मिन्झारी’ उपन्यास खाचो किन परेको होला ?

साहित्यले समाजको कुरा नै बोल्ने हो । साहित्यले युद्धको कथा पनि बोल्छ, असर पनि बोल्छ र कारण पनि बोल्छ । अनि टिकापुर घटना माथि हुनुपर्ने अब कुनै बहस बाँकी छ जस्तो मलाई लाग्दैन। तर टिकापुर घटनाले, टिकापुर लगायत त्यस वरपरका ठाउँमा पारेको असर बारे हामीले कहिल्यै चर्चा गर्‍यौ कि गरेनौँ ? के छ अहिलेको अवस्था , हेर्‍यौ कि हेरेनौँ ? सामाजिक, राजनीतिक, व्यापारिक असर कस्तो पर्यो त्यो बुझ्न पर्छ कि पर्थेन ? आज सम्म यस्तो असरको कुनै तथ्याङ्क सार्वजनिक भयो कि भएन ? यो खाचोको बिषय हो कि होईन ? टिकापुर घटनाले समाजमा पारेको असरको चर्चा कुनै साहित्यले गर्यो कि गरेन ? मलाई त यो खाचोको बिषय हो जस्तै लाग्छ । अनि साहित्यमा यतातिर कसैले कलम चलाएको देखिनँ । अनि लाग्यो आफैँले चलाउनु पर्छ । यसरी मिन्झारी जन्मियो ।

यो विषयमा उपन्यास लेख्ने सोच कसरी आयो ?

खासमा म टिकापुरलाई असाध्यै माया गर्छु । मेरा जुँगाका रेखि टिकापुरमै बसेका हुन् । म हलक्क टिकापुरमा नै बढेको हु । मैले पहिलो अक्षर टिकापुरमा चिनेको हुँ । मलाई टिकापुर सजिव लाग्छ । मैले लेखेको पनि छु ।

‘टिकापुर कसैलाई भनिस् कि भनिनस् ?
खाँदै गर्दा खसेको थियो बदम मेरो पनि ।’

टिकापुर छोडेर जब म फेरि टिकापुर फर्कन्थे २०७२ अघि र २०७२ पछि टिकापुरले मलाई भिन्न भिन्न व्यवहार गर्यो । ७२ अघि जो दिनभर मसँग हुने नहुने कुरा गरेर बस्न चाहान्थ्यो । उसले चिन्नै छोडिदियो । यो असर मेरो गाउँसम्म पनि पुग्यो । अनि लाग्यो टिकापुर माथि केहि त लेख्नै पर्छ । लेख्दै जाँदा मिन्झारी बन्यो ।

उपन्यास लेख्ने मनस्थिति बनाइसकेपछि थारू समुदाय,संस्कृति,परिवेश र टिकापुर घटनालाई भित्रैसम्म पुगेर अध्यन गर्नको लागि कति समय र के कस्तो प्रक्रियाबाट हिँडनु भयो ?

यो प्रश्नको जवाफ त धेरै लामो पो हुने देखियो । समुदाय,संस्कृति,परिवेशमै म जन्मेको हुँ । त्यसैले यो अध्ययन गर्नु परेन । भोगेर आएँ । मेरो घरले कुन पुजामा गुरुवालाई ध्वजा छुटाएन होला र ? मेरो घरको आँगनमा बसेर गुरुवाले मसान नखेदेको भए ? लर्चाको अचार र डिकृको स्वाद पहिलो पल्ट मैले केहिले खाँए म भन्न सक्दैन । त्यसैले टिकापुर घटना अगाडिको कुरा लेख्नमा कुनै अध्यन गरिन । टिकापुर घटनापछि म जागिरै छोडेर टिकापुर पसेको हु । जेजे भेटाए टिपेँ । त्यो बेला यति कुरा भेटाएकी सबै लेख्दै जाने हो भने मिन्झारी अहिलेको भन्दा तिन गुणा मोटो हुन्थ्यो ।

र अर्को कुरा मैले कुनै किताबको सहारा लिएन । मलाई तथ्याङ्क होइनन पात्र चाहिएका थिए । त्यसैले पात्रको खोजीमा अलि बढी समय लाग्यो । कुनै कुनै पात्रलाई त उसकै अगाडि बसेर लेखेको हुँ। एक हिसाबले भन्ने हो भने २०७२ देखि २०७५ सम्म मिन्झारीलाई नै भयो ।

नसुतेका रात पनि छन् । यसैलाई लेख्छु भनेर जागिर छोडेको हुँ । फेरि यसैलाई अधि बढाउनका लागि जागिर खान पर्ने देखियो र जागिर पनि खाएँ । यसैको कारण गरिरहेको पेशामा हेल चेक्राई पनि भयो होला । मलाई त लाग्छ, एउटा किताब लेख्दा भोगिने सबै पल मैले भोगेको छु ।

अन्त्यमा, केही भन्न चाहानुहुन्छ ?
यी प्रश्न र यो समयका लागी तपाईंलाई धन्यवाद । अनि यो कुराकानी र मिन्झारीका सबै पाठकलाई धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर