– नानु दाहाल सुवेदी

१,
तरवारले छेकेका छन् बाटा तैपनि जोगिएर आउँछु
फ्याँकेर समस्याका पोका समाधान लिएर आउँछु
समाज बदल्न सक्ने दर्शनको प्यास लाग्यो मलाई
पर्ख है एक आम्खोरा मात्र भएपनि पिएर आउँछु

२,
जहाँ रोपे पनि त फूलले सौन्दर्य छर्ने धर्तीमै हो
जीवनहरू पनि फक्रने, फुल्ने र मर्ने  धर्तीमै हो
सक्छौ आकाश छेड तर धर्ती नछोड महाशय
नभमा गर्जिने मेघ पनि अन्ततः झर्ने धर्तीमै हो

३,
चाहिनेभन्दा बढी दाजु तल्ला घर झर्छन्
अध्यारोमा काकासँग के सम्झौता गर्छन्
फर्किएर दिउँसो जितको उद्घोष गर्छन् उनी
घर रुँग्ने जङ्गे पिलर रातभरि ठाउँ सर्छन्


सुख पाल्ने भए घरमा दश नङ्ग्रा खियाऊ
कर्तब्यका बीउ छर प्रेमका गीतहरू गाऊ
मुटु दुखाउने खालका कथाहरू सुन्ने भए
तिम्री आफ्नै आमा भेट्न बृद्घाश्रममा जाऊ

५,
बेमेल छ बुझाइमा हाम्रो के भेट्नु ब्यर्थै बाटोमा
तिमी हार देख्छौ म जित देख्छु रगतको टाटोमा
मिल्ने छन्द देखिन्न ठूलो अन्तर छ दृष्टिकोणमा
तिमी भाग्य माग्छौ ढुङ्गासँग म कर्म रोप्छु माटोमा

***

प्रतिक्रिया

सम्बन्धित खवर