– नवराज राउत
“मैले यो सिन्दुर र पोतो मेरो लोग्ने जिउदै छ भन्नको लागि मात्रै लगाएको हो । प्रेम र श्रद्धाले हैन । ऊ यो संसारमा छ तर मेरो लागि हैन । खै कताबाट हो एउटा बतास आयो त्यसैले मेरो लोग्नेलाई अर्को दुनियामा लग्यो र अहिले ऊ त्यही दुनियामा बाँचिरहेको छ ।”
आमाले भन्नु भयो । त्यस रात म उज्वलको घरमा थिए । मुलपानीमा । उज्वल मेरो मिल्ने साथी हो हामीले सँगै क्याम्पस पढेका हौ । बेलुका खाना खादै गर्दा कुनै कुराको प्रसङ्गमा उज्वलको आमाले माथिको बाक्य बोल्न भयो ।
त्यो बाक्यले मन चसक्क छोयो । मान्छेको जिन्दगी कति पीडादायी छ । हरेक जीवनमा समस्या र कथाहरु छन् । आधा काटिएर बाँचिरहेको छ मान्छे । मैले उहाँको कुरा सुन्न वित्तिकै मनमनै भनेँ ।
मलाई उज्वलले पहिल्यै भनेको थियो, उसको बाउले अर्को श्रीमती लिएर चाहवियलमा बस्न थालेको करिव विस बर्ष भयो । पुरानो घरमा ऊ र उसको आमा मात्रै छन् । तर मलाई यो कुरा संसारमा चलेको एउटा सामान्य घटना लागिरहेको थियो । तर त्यस साँझ उज्वलको आमाको बोल्नु भएको त्यो शब्दले म तिरमिराएँ । कुनै पनि विषय, प्रसङ्ग, घटना वा कुराहरुलाई भित्र देखि महसुस नगरेसम्म संबेदनशील कुराहरु पनि समान्य नै लाग्छन् ।
मैले सोधिहालेँ “कस्तो लाग्छ आमा अहिले ? कतिको सम्झना आउछ ?”
“खै कस्तो लाग्छ भन्ने बाबु । अहिले त बेलाबेलामा मात्रै सम्झना आउछ । त्यही पनि यहि सिन्दुर, पोते र रातो धोतिले सम्झाइदिन्छ । छोरो छ नी उज्वल । यसैको मुख हे¥यो, सबै चिन्त्ता हराउछ । अब त जागिर पनि खाइहाल्यो, विवहा गर्न पाए मन आनन्द हुन्थ्यो । यहि छ चिन्त्ता ।” खै कहाँबाट हो हलुका मुस्कान ल्याएर हास्दै आमाले भन्नु भयो ।
आमको कुरा सुनेर उज्वल मुसुक्क हास्यो तर केही पनि बोलेन ।
आमाले नै बोल्नु भयो, “यहि उज्वलाई देखेर मात्रै भोलि के होला भन्ने चिन्त्ता लाग्छ । नत्र मैले त जिन्दगी बाचिसकेँ । अब आफैलाई सम्झने भनेको त विगत मात्रै हो ।”
ठीक भन्नु भयो आमाले मन मनै भने– सायद उहाँले बाँचेको विगत छोटो तर केही सम्झन लायक थियो होला । नयाँ दुलही भएर घर भित्रदा अकाशको सूर्य नयाँ लाग्थ्यो होला । नयाँ सृष्टि गर्छु भन्ने आशा थियो होला । आशा र सपनै सपनाको पोको बोकेर यो घरमा भित्रनु भयो होला । श्रीमानलाई आदर गर्दै घर सम्हालेर बस्छु भनेर भाकल गर्नु भयो होला । कति सपना सकार भएहोला र कति सपना गर्वमा नै तुहियो होला । तर त्यति हुदाँ हदाँ पनि त्यहाँ जीवनको थियो । लोग्ने र स्वास्नी बीचमा घनिष्ठता थियो तर बच्चा भैसकेपछि लोग्नेले अर्को श्रीमति लिएर छुटै बसेपछि उहाँ कति विरक्तिनु भयो होला । जिन्दगीको सपना कसरी भाँचिए होला ? त्यो दुघटनालाई म अहिले कुनै भावुक फिल्मको दृश्य झै गरेर अनुमान लगाउन सक्छु । हो म अनुमान मात्रै लगाउन सक्छु, किनभने मैले त्यो जीवन बाँचेको छैन । तर उहाँको भावनालाई केही हदसम्म बुभ्ने हृदय पाएको छु । त्यही भएर यो कथा लेख्दै छु ।
“किन उज्वलको बुबाले अर्को श्रीमती ल्याएको आमा केही थाहा छ ?” मैले प्वाक्क बोलि हालेँ । उज्वल पनि मलाई घुरेर हेरेको जस्तो लाग्यो । आमा एकछिन चुपचाप लाग्नु भयो ।
मैले आफ्नो गल्ति स्विकार गर्दै टाउको निहुराउदै भुइमा हेरेँ ।
उज्वलको आमाले बोल्नु भयो, “बाबु म मन नपरेर होला नी । वा अर्कीको मोहीनी लगाउने रुप र धन थियो होला । यस्तै केही भएर उहाँ वरालिनु भयो होला । अरु त के होला र ? तर म बरालिन सकिन । मेरो पोल्टामा छोरा थियो । यहि छोरालाई मैले भविष्य र बाँकी जीवनको जिम्वेवरी सोचेँ, सम्झे र संसार यहि भनेर यसलाई हुर्काए, पढाएँ ।”
फेरि उज्वलको आमा बोल्नु भयो “एक्लै बस्नुको पीडा भने कि मलाई थाहा छ कि भगवानलाई । एक्लो आइमाईलाई बाँच्न संसार निकै भारी छ । कति ले फकाउन आएँ, कतिले फेरि विवहा गरौ भने । कतिले खुट्टै ढोग्न आए तर म एक रत्ति विचलित भैइन । दिन छिपिदै गएपछि सूर्यको प्रकार मलिनो हुन्छ तर म भइन । यहि छोराको लागि । अहिले छोराको काध हेरेर म मख्ख पर्छु र आफ्नो संकल्प प्रति म गौरव गर्छु । जिन्दगीलाई मैले खेर नफालि बाँचेँ बाबु ।”
आमको कुराले, उहाँको तपस्याले एकछिन म भित्रको अथाहा सागरको छालहरु रोकियो । उहाँले बोल्नु भएको शब्द र भावनाले ल्याएको हाँवा हुरी बीचमा पनि नआतिकन हँसिलो अनुहार लगाउदै बोलिरहनु भएको छ उज्वलको आमा । लाग्छ पीडालाई ममताको आवरणले छेक्नु भएको छ ।
हामीले खाना खायौं । आमाले घरधन्दा गर्नु भयो । म र उज्वल सुत्न कोठमा तिर लाग्यौ ।
उज्वलले सुत्ने बेलामा भन्यो, “यार आमाले यस्तो गहन कुरा कलिहे पनि गर्नु भएको थिएन । मलाई अचम्म लाग्यो ।”
“हो यार । म पनि तेरो घरमा कति पटक आएको थिए तर यस्तो कुरा आमाले गर्नु भएको थिएन ।” मैले अगाडि भनेँ “सायद आज तेरो बुबासँग भेटघाट भयो कि वा सम्झना धेरै आयो कि ।”
“खै यार । अब सुतौ ।” केहि बेर पछि उज्वलले अपूर्ण बाक्य बोल्यो “आमाको त्याग, मेरो भविष्यको लागि …”
भोलिपल्ट म अफिस गएँ । घरमा गएँ । दिनभरी जसो नै उज्वलको आमाको बारेमा सोचिरहेको थिए । बेलुका खाना खाएर सुत्ने बेलामा झन उहाँको धेरै सम्झना आयो ।
म अक्सर कथाहरु कुनै घटना र परिवेशले छोएपछि, ती पात्रहरुले धेरै घच्घचाएपछी मात्रै लेख्न बस्छु । केही बेर पात्रै भएर बाच्ने कल्पना गर्छु । एकछिन पीडामा रन्थनिन्छु अनि एउटा परिवेश दिन्छु र लेख्छु ।
मलाई जहिले पनि नारी पात्र भएर लेख्न कठीन लाग्छ । केटा भएर होला, डर लाग्छ उनीहरुको भावलाई सही मुल्याकन न हुने पो हो की भनेर ।
तर उज्वलको आमा कथामात्रै हैन, एउटा जीवन पनि हो । गतिशिल भएर बगिरहेको जीवन । यहि गतिशिल जीवनलाई लेख्न मलाई धेरै गारो भयो ।
त्यही दिन बेलुका उहाँको बारेमा लेख्न सुरु गरे त्यसपछि करिव तीन महिना पछि फेरि यो अधुरो जीवन कथालाई पुरा गर्ने निश्चय गरेँ । तर दुइ हरप लेखेर कलम अगाडि बढेन । १५ दिन यतिकै गएँ ।
फेरि आज त्यही याद ताजा भएर आयो र जीवन कथा पल्टाउदैछु ।
लेख्नु अगाडि पहिला उज्वलको बुबालाई भेट्नु मन लागेको छ र सोध्नु मन लागेको छ “किन तपाईंले विवहा गरेर, छोरा जन्मेपछि आफ्नो श्रीमती र छोरासँग छुटिएर बस्नु भयो ? के करुणा र संवेदनशिलता भन्ने कुरा तपाईमा छैनन ? ”
सायद उहाँको उत्तर हुन्थ्यो होला, ‘म फसेँ । मेरो बाध्यता थियो । वा त्यस्ता कुलङ्गघारी सँग पनि जीवन विताउन सकिन्छ । मलाई त्यो मन पर्दैन । वा म प्रेम मा परेँ ।’ यस्ता हजारौं वहाना हुन्थ्यो होला उहाँसँग मलाइ र समाजलाई बताउन । जुन उज्वलको आमा भएर सोच्दा सत प्रतिशत ब्यवाहारीकता भन्दा वाहिरको र वाहियात कुरा हुन्थ्यो ।
अब उहाँको अर्को संसारमा जग गाडिसक्यो । मैले फेरि केही भने वा केही गरे भने पनि उहाँले फर्केर जानुहुन्न । त्यसैकारणले यो पक्ष बारेमा थप सोचिन ।
अब केही दिन वा केही महिनामै उज्वलको विहे होला । उज्वलको श्रीमती उज्वलको आमाको बुहारी बनेर घरमा भित्रिलिन् । उहाँले घरको सिंगार भनेर बुहारीलाई भित्राउनु होला । उज्वलले जीवन साथी पाए भनेर मनमा श्रीमतीको तस्विर राख्ला । उज्वल र उसको श्रमतीबाट फूल जस्तो सुकुमार बच्चा जन्मेला । उनीहरुको जीवन अगाडि जाला । तर आमाको के हुन्छ ?
यस्तो सोचाइ र भावनाको आभाष मात्रले मरो हाथ कामीरहेको छ ।
हुनत सबै मान्छेसँग एक्लो पन हुन्छ । यो शास्वत सत्य हो । तर शास्वत सत्यलाई भुलाउने सम्बन्ध छन संसारमा, जसले हरसमय मानिसलाई केही गने उत्प्रेरणा जगाइरहन्छ ।
मलाई लाग्छ, अहिलेसम्म उज्वलको आमाको उत्पेरणा भनेको उज्वल थियो । उज्वलकै पढाई, लेखाई, स्वास्थ, भविष्यको बारेमा चिन्त्ता लिदै र आवश्यकताहरु पुरा गर्दै सायद, आमाले उज्वलको आधा जिन्दगी बाँच्नु भयो होला । तर विवहा पछि ….भगवान सायद त्यति निष्ठुरी छैनन होला । म पुरकार गर्छु उहाँले कुरा बुझ्ने र माया गर्ने नै बुहारी पाउनु होला ।
अर्के एउटा खरो यथार्थ अब झन उज्वल आमको अगाडि बुढेसकालाको ठाडो उकालो बाँकी छ । भनिन्छ बुढेसकालको सहारा भनेको नै बुढालाई बुढी र बुढीलाई बुढा हो रे । तर उहाँसँग श्रीमान हुनुुहुन्न । बुढेसकालमा उहाँको श्रीमानको मन फर्कन्छ की ? के भन्न सकिन्छ र समयको खेल तर फेरि उता पट्टि पनि उहाँको श्रीमती छिन् । उनी पनि बुढी हुदै छिन् ।
यो निश्चय छ, बुढेसकाल उज्वल आमको एक्लै काट्न पर्ने छ । त्यही माथि दीर्घ रोगी हुनु प¥यो भने । कस्तो नकारात्मक सोच आयो । एकछिन रोकिएँ । तर यो यथार्थ हो, धेरै जसो नेपालीहरु ५५, ६० कटेपछि कुनै रोगले समातेर जिन्दगी भर औषधि खानु पर्ने आकाडा छ ।
****
भनिन्छ, जे कुरा पनि शुरु गरेपछि अन्त्य हुन्छ, पाइला उचाले पछि टेकिन्छ तर यो जीवन कथाको अन्त्य हुने वाला छैन । मसँग अन्त्य गर्ने कुनै उपायहरु पनि छैन । त्यही भएर शब्दको जालोले लम्बाएर कथाको बीट मार्ने कोशिश गर्दै छु ।
जीवन भनेको पूर्ण वर्तमान नै हो । अझै म भन्छु जीवनको अन्त्य, छैन र सुरुवात पनि छैन । मेरो जीवन कुनै न कुनै रुपमा मेरो शरीर जन्मनु भन्दा अगाडि देखि नै थियो र शरीर मरेपछि पनि कुनै न कुनै रुपमा अवस्य हुन्छु । जीवन गतिशिलता हो । पानी झरनाबाट झरे पनि पानी नै हो, खोलामा पुगे पनि पानी नै हो, समुन्द्रामा बगे पनि पानी नै हो, आकाश बाट बर्षिय पनि पानी नै हो । स्थान अनुसार पानीको स्वाद र वह फरक होला तर पानी पानी नै हो । त्यस्तै जुन रुप धारण गरेपनि जहाँ भए पनि जीवन गतिशिल जीवन नै हो ।
अझै म उज्वलको आमा भएर एकछिन बाँच्न सक्नु, थप दुइचार वटा अक्षर लेख्न सक्छु तर उहाँको सिंगो गाथा र ब्यथालाई म त्यही पीडामा बगेर, त्यही आँसु खसालेर, त्यही ममतामा पग्लेर लेख्न सक्दिनँ । यो लेखकिय बाध्यता हो । त्यसैले मनको वहलाई यहि रोक्दै, उज्वल उज्वलको परिवार र उज्वलको आमाको उज्वल भविष्यको कामना गर्दै जीन्दगीका बाकी पानाहरु समयको हातमा अर्पण गरेर यो लेखलाई यहि रोक्न चाहान्छु ।
धन्यवाद ।
***
प्रतिक्रिया
-
४
