– बद्री अधिकारी
चराचुरुङ्गीको चिरविर चिरविर आबाजले शान्त बाताबरणलाई बिथोली रहेको थियो । मेरो आँखामा उसको मुहार नाँची रहकोले गर्दा बाहिरी बाताबरणको मनमोहक दृश्यले मलाई आकर्षित गर्न सकिरहेको थिएन । प्रिय बस्तु टाढा भएपछि मानिसको मनलाई बिथोल्न काफी हुदोरहेछ । साँच्चै मेरो मन पनि उसको पर्खाइमा बेचैन हुँदै थियो । मेरो बेचैनीलाई कस्ले बुझ्ने ! आफ्नै मान्छेले नबुझे पछि ! म यो कुरा कसैसँग साझा गर्नपनी सक्दिनँ र सक्ने कुरा पनि भएन। मेरी आमा मेरो सबैकुराको साझेदार हुदाहुदै पनि मेरो र उस्को माया प्रेमका कुरा सुनाउन सकिरहेकी थिईनँ । मेरी आमाले उस्लाई पनि निकै मायागर्नु हुन्थ्यो, गाउँको असल केटा ठानेर । हामी एउटै क्याम्पस पढ्दै थियौं । बि.ए.को दोस्रो बर्षमा । आज उस्ले मलाई बेतना सिमसार बोलाएको थियो ।सिमसारको गेटले मलाई पनि अरूलाई जस्तै उभिएर स्वागत गरिरहेको थियो ।म टिकट काटेर भित्र प्रवेशगरेँ । गोरेटो बाटोको दायाँबायाँ विभिन्न जातका फूलहरू फुलेका देखिदै थिए । नजिकै रहेको सभाहलमा आउने जाने मानिसहरू दोहोरो क्रम चलिरहेको थियो ।अगाडि बढदै मैले हातमा रहेको मोबाइलमा आँखाडुलाएँ । म आइपुगेको तीस मिनट बितिसकेछ । प्रतिक्षाले मान्छेमा बेचैनी बढ्दो रहेछ । छट्पटीले धेर्यता गुम्दो रहेछ । मेरो बेचैनी मन ऊ संग क्रोधित हुँदै थियो । अबस्य आउनेछ भन्ने भरोसाले ऊ प्रति क्रोधित भएको मेरो मनलाई सान्त्वना दिईरहेको थियो । म अलिकता मास्तिर लागेँ । छेकेर बनाइएको पोखरीमा मछाहरू खेलिरहेका देखिदै थिए । पोखरीको डिलमा बसेर मछाहरूको नृत्य हेर्न म ब्यस्त भएकी थिएँ । उस्को प्रतिक्षामा छट्पटीएको मेरो मनलाई पोखरीमा आहाराको खोजिमा सलबलाई रहेका माछाको मनमोहक दृश्यले शान्ति प्रदान गरिरहेको थियो । पोखरीको पल्लो किनार तिर पानीहाँसको बथान पानीमा डुबुल्की मारेर रमाउदै खेलिरहेका थिए । पोखरीको मध्य भागमा बनाइएका सारस चराहरूलाई म बसेको स्थानबाट कृत्रिमहुन् भनेर छुट्याउनु सहज थिएन । पोखरीको पश्चिम तिर बनाईएको कालो कमिला झन मनमोहक र आकर्षक देखिन्थ्यो । पारी जानको लागि पानी माथी बनाईएको छानोवाला काठेपुल अति मन लोभ्याउने खालको थियो । मन खुसि पोखरीको डिलतिर निस्किएर केही कछुवाहरू झार खाँदै घाम तापिरहेका देखिदै थिए । बयस्क र अभिभावक साथ केटाकेटीहरू पैडल वाला प्लास्टिक नाउ पोखरीमा चलाउन ब्यस्त थिए । कतै कतै युवायुवतीलाई जोडी जोडी बसेर गपशप गरेको देखिदै थियो । यो बेतना सिमसारमा दैनिक मानिसहरूको आवत जावत ठूलो संख्यामा भइरहेकै हुन्छ । अलिक मास्तिर मानिसको भिड देखिदै थियो । स्टेण्ड वाला क्यामरा अगाडि नृत्य हुँदै थियो । त्यहा फिल्म सुटिङ हुँदैछ भन्ने जोकोहीले पनि सहजै अनुमान गर्न सकिन्थ्यो । बेतना सिमसारको प्रवेश द्वार नजिक रहेको सभाहल बाट साउण्ड बक्सको आबाज आइरहेको थियो । कुनै कविता लयात्मक तरिकाले बाचन भैरहेको सुनिदै थियो । त्यो सभाहलमा हप्ताको एकदुई पटक साहित्यिक गोष्टि , सेमिनार ,चित्रकला प्रदर्शनी हुनेगर्दथ्यो । आजचै साहित्यिक कार्यक्रम चलिरहेको रहेछ । एकदुई पटक रूपेश संग म पनि साहित्यिक कार्यक्रममा भागलिन आएकी थिएँ । बनभोज खाने हरूको उस्तै भीड्भाड देखिन्थ्यो । मानिसहरू आवतजावत गरिरहेका थिए । यस्तो रमणिय स्थानको अबलोकनले केहि समय मनको पीडाबाट मुक्ती मिल्दोरहेछ । साच्चै मान्छेको मन पनि बिछट्टको हुदोरहेछ । म मनमनै बुद्बुदाएँ -“जता आकर्षित भयो उतै रमाउने ।” माछाको चारो भुजा घरबाट ल्याएकी थिएँ । मैले हालेको चारो खान माछाहरू तँ छाड म छाड गरिरहेका थिए । त्यो दृश्यले सहजै मानव मनलाई आकर्षित पार्दथ्यो । आखिर म पनि त कोमल मन भएकी मान्छेनै हुँ , त्यसबाट वच्न सक्ने कुरै भएन । आखिर म भित्र पनि मासुको कोमल मन थियो । त्यो मनमोहक दृश्यावलोकनले समय ब्यतित भएको मलाई हेक्कानै भएन । अचानक आफ्ना आँखा कसैका हातले पछाडी उभिएर छोपिदिएकोले म झस्किएँ । छोप्नेका हातहरूलाई छामे । हातहरू चिनेझै लाग्यो । असाध्यै मलाई मायागर्ने उही मेरो मायलु रूपेशपो रहेछ । मैले बिस्तारै आफ्ना आँखा बाट उस्का दुबै हात हटाउदै झर्किदै हातमा रहेको मोबाईलमा टायम हेर्दै भने ।–“कस्तो लाज नभएको निर्दयी मान्छे…..दुई दुई घण्टा अर्कालाई कुर्न लगाउने ।”
“ननिरासाउ न प्यारी…आमाले घरायसी सामाग्री खरिदका लागी बजार पठाउनु भयो र पो ढिलो भयो। तिमिसंग भेट्नु छ भन्न मिलेन !”उस्ले मेरो छेउमा बस्दै मायालु स्वर ओकल्यो ।
“कति समयसम्म हाम्रो प्रेमको कुरा लुकाउने ! एकदिन त भन्नै पर्छ ।” म ठुस्स परेर रिसाएझैं गरेँ। म मा पनि परिवारलाई उस्को र मेरो मया प्रीतिको कुरा सुनाउने आँट चै थिएन । यो सत्यहो, सत्यलाई पाठाक समक्ष लुकाउन चाहन्न र लुकाउदिन पनि ।
मेरो हातमा खुल्ला रहेको भुजाको पोको बाट भुजा निकाल्दै पोखरीका माछालाई ऊ चारो हाल्न थालेथ्यो एकाग्र भएर । हाम्रो प्रेम यति झाङिई सकेको थियो कि हरेक दिन एकपटक एक अर्का संग बोल्न पायौंन भने मणि हराएको सर्प जस्तो हुने गर्दथ्यौँ । यस्लाई के भन्ने ! आसक्ति या उपाशनिय प्रेम ।
माया,प्रेम भन्ने शब्दको बखानगर्न म कसरी सकौंली ! हजारौं जिब्रोले परिपूण भएको शेष नागलाई पनि हम्मेहम्मे होला ! मान्छेले प्रेमको परिभाषामा घन्टौंसम्म बहसमा समय बिताउन सक्लान् र म पनि केही समयसम्म तर्क गरौँली । कुरा कता पो बरालिएछ ।
म र रूपेश बीच त्यो दिन धेरै समयसम्म प्रेमको कुरा भए । प्रेमी प्रेमिकाले समय ब्यतित भएको होसनै पाउँदा रहेनछन् । हामिलाई पनि त्यस्तै भएकोथियो । अर्को शनिबार फेरि घुम्न आउने वाचाका साथ मन नलागी नलागी घर तिर लागेका थियौँ ।
हाम्रो प्रेमको बारेमा क्याम्पसमा धेरैजसो बिद्यार्थीलाई थाहा थियोे । कतिपय शिक्षकले पनि लख काटेको हुनसक्छन् । रूपेशले पनि त्यो महसुस गरेको हुनुपर्छ ! किनकी सबैको सामु ऊ म संग धेरै कम बोल्न थालेको थियो । घरीघरी लाइब्रेरीमा म एक्लै भएको मौकामा ऊ नजिक आउथ्यो पुस्तक पढने बहानामा । यदाकदा कोहि नभएको मौका छोपेर म उसको गालामा म्वाई खाइदिन्थेँ ।
“धत्…के गरेको अरूले देख्छ्न….। त्यसैत कुरा कटनेको संख्या बढिरहेको छ ।” मेरो नाक निमोठ्दै ऊ मुस्कुराउथ्यो ।
म पनि मस्किदै भनिदिन्थेँं–” डर छेरूवा…।”
“नकच्चरी…”यति भन्दै ऊ मलाई अँगालो मारेर अफ्ना ओठ मेरा ओठमा जोडि दिन्थ्यो । म अत्तालिदै उसलाई घचेटेर आनन्दको अनुभूत गर्दै त्यहाँ बाट भागेर बाहिरिने गर्दथेँ । मैले उसंग पौँठाजोरी नखेलेको भए उसमा यति ठूलो साहस उत्पन्न हुदैनथ्यो । म आफूले आफैलाई दोषी मान्दै मन मनै मुस्कुराउथेँ । प्रेम पनि बिचित्रको हुदोरहेछ ! मायालुको गल्ती चैँ नदेख्ने । त्यसैले ” प्रेम अन्धो हुन्छ ” भनिएको रहेछ क्यारे …..! कथन जन्मदातालाई मनमनै धन्यवाद दिएकी थिएँ । यसैगरी आनन्द साथ दिनहरू बितिरहेका थिए ।
मेरो यो खुसी सुखी जीवनमा अचानक ग्रहण लागेकोले आँखामा निन्द्रा, पेटमा भोक थिएन । आमा र मेरा साथिहरूले बारम्बार सोधिरहेका थिए–“के भयो आजकल तिमिलाई ?”
“……..” मसंग उनीहरुको प्रश्नको जवाफमा बोल्ने शब्दनै थिएनन् । म केवल असमञ्जस भावले उनिहरूलाई टुलुटुलु हेरि रहन्थेँ । भनौँ कसरी ! त्योकुरो सर्वव्यापक भयो भने ! मनमा त्यो विचार उव्जना साथ हातखुट्टा लुलिन्थे, डरले शरीर थरथरी काम्दथ्यो । म भित्रको चन्चलता तुसारोले कठ्याङ्ग्रीन्थ्यो । सायद रूपेशलाई पनि मेरै जस्तो भइरहेकै होला । डरले मानिसलाई भित्र भित्रै गलाउदो रहेछ । डर मनको भ्रम भन्नेगर्दछन कोहि कोहीले । म यस्लाई मान्ने र स्विकार्ने पक्षमा उभिन सकिनँ । ओछ्यानमा पल्टिएको निकैबेर हुदाहुदै पनि आँखामा निन्द्रा आउन सकिरहेको थिएन । रूपेश संग त्यतिबेला जिस्कनु, इत्रिनु , छिल्लिनु जे गरियो त्यो अहिले मेरालागि अभिशाप बनिरहेको थियो । अभिशप्त जीवन के जीवन हो र ? आफ्नै शरीर आफूलाई बोझ लाग्ने । बोझ लागे पनि जिन्दगी जिउनु नै पर्दोरहेछ । जीवन खेर फ्याक्ने बस्तु होइन । तर पनि मानिसले यदाकदा आत्महत्या जस्तो निन्दनीय कार्य द्वारा जीवनलाई खेर फालेको घटना सुन्दा शरीर सिरीङ्ग भएर आउथ्यो । जस्तोसुकै कठिन परिस्थितिमा मा पनि आफूले त त्यस्तो काम गरौंलि भन्ने कल्पना सम्म गर्दिनथेँ । मेरो दिमागमले आज आत्महत्या भन्ने शब्दलाई बारम्बार सम्झिरहेको थियो । “धत् यस्तो नचाहिदो कुरा दिमागमा नखेलाउ ।” मेरो मनले मलाई धिक्कार्दै थियो । मैले आफ्नो टाउको झडकारेँ त्यो बिचार हटाउनको लागी । हप्ता दिनदेखि भोकभोकै बसेकोले हिड्डुल गर्न गाह्रो हुदैथियो । भोकलागेर मात्रै खान सकिदैन रहेछ । खानको लागि भित्रै बाट रूचि जागेर आउनु पर्दोरहेछ । आत्त्तिएको मनमा रूचिको बास हुँदैन भन्छन् । साचै हो रहेछ । म भर्खर यो सत्यलाई अनुभव गर्दैछु । पढेर आर्जन गरेको ज्ञान भन्दा अनुभव द्वारा आर्जित ज्ञान दुई गुणा असल हुदोरहेछ ।
फोनको घण्टीले मेरो तन्द्रा भंग भयो । सिरानी मुनिको मोबाइल ढल्केको अवस्थामै उठाएँ । रूपेशको फोन रहेछ ।
“हेल्लो ! तिमी निदाएकी छैनौँ ?” उताबाट आएको रूपेशको बोझिलो स्वर कानमा ठोकियो ।
“उहुँ ….।” मेरो असजिलो स्वर कोठामा छरियो ।
“विक्रान्तलाइ भोलि एउटा मोबाइल किनिदिनु पर्ला ! त्यो जस्तो जोरीखोजा संग सहज रूपले पिण्ड छुटाउन सकिँदैन । म संग भएकोले पुग्दैन होला । तीनहजार तिमिसंग छ ?”
“त्यतित पुग्छ होला ।”
भयभीत मान्छे मुक्तिको लागि झटपट तयार हुदोरहेछ । हामीलाई मुक्ति चाहिएकी थियोे अनि त्यस्को बदलामा विक्रान्तलाइ मोबाइल । विक्रान्त फटाहा स्वभावको र उसका साथीहरू पनि त्यस्तै थिए । हामी गाईप्राणी कसरी उनिहरू संग भिडन्त गर्न सक्दथ्यौँ । डरले मान्छे काँतर हुदोरहेछ । बलवानले मौका मिलाएर कमजोर संग फाइदा उठाउदो रहेछ । विक्रान्तले पनि हामीसँग फाइदा लिइरहेको थियो । मनले नमान्दा नमान्दै पनि हामी लाचार थियौँ विक्रान्तको फर्माइस पुरा गर्न ।
खुसुक्क विक्रान्तले लाइब्रेरीमा पसेर रूपेश र म जीस्कनु,इत्रिनु गरिरहेको अबस्थाको फोटो र पाँच सेकेण्ड्को भि.डि.ओ बनाउन भ्याएछ । जस्मा रूपेशले मेरा ओठमा म्वाइ खाइरहेका लाजमर्दो दृश्य प्रस्टै देखिन्थ्यो । त्यही भि.डि.ओ र फोटो देखाएर ऊ हामिलाई धम्क्याउदै थियो । सिधै भनौं ऊ हामीलाई ब्ल्याकमेल गरिरहेको थियो । रूपेश र मैले बिक्रान्त संग असङ्ख्य पटक विन्तिभाउ गर्यौँ , ऊ संगको हाम्रो फोटो र भि.डि.ओ डीलेट गरिदिनु भनेर । कसाईको अगाडी बाख्राको आँसुको के अर्थ ! समाजिक संजाल , बाबुआमाको म्यासेन्जरमा लगाउने भन्दै ऊ झन्झन हामीलाई धम्क्याउने गर्दथ्यो । पटकपटकको बिन्तिभाउ पछि उसले एउटा राम्रो मोबाईल दिएमा डिलेट गरिदिने वचन दिएको थियोे ।
बाजको पन्जामा परेको परेवाले जस्तो अनुभव गर्छ, त्यस्तै अनुभूति भैरहेको थियो हामी द्वयलाई । मोबाईल दिदा दुष्ठको पन्जा बाट छुटकारा पाउने झिनो आशले मेरो मनको एउटा कुना रमाएको थियो । सायद रूपेशले पनि शान्तिको स्वास फेर्न थालेको थियोे होला ! यो मेरो अनुमान मात्र हो । जीवनमा आफूले गरेका धेरै अनुमान मध्ये कतिपय अनुमान यथार्थमा परिणत भएका थिए । झिनो यहि आशाको त्यान्द्रोको सहाराले हिमालयको उचाई छिचोल्दै सुख स्थापित गर्ने इच्छा बोकि अर्कोतिर फर्केकी थिएँ निदाउने उपक्रम गर्दै..।
कोहि कोहि मान्छे बिछट्ट धूर्त हुदा रहेछन्”मुखमा राम राम बगलिमा छुरा ।”बिक्रान्त पनि हाम्रालागि त्यस्तै साबित भयो । हामि बाट मोबाइल हात पारेपछि फोटो र भि.डि.ओ.डिलेट गर्न आलटाल गर्यो । वचन पुरागर् भनी हामिले करगर्दा उल्टै धम्कि दिन्थ्यो ।
“अरे बबा… दुईचार दिन भित्र गरिदिन्छु । रडाको मच्चाउने हो भने सबैतिर साझा गरिदिन्छु ।” इमानदारिताको पहिचान सिष्टता सँग जोडिएको हुन्छ भन्ने ज्ञान त्यो दिन मलाई पलाएको थियो । अभद्र मान्छे कसरी इमान्दार हुन्छ !
“अर्काको भर भोकभोकै मर ।” यो उखान मेरो जीवनमा पहिलोपटक चरितार्थ भएथ्यो। विक्रान्तलाई हाम्रो फोटो र भि.डि.ओ.दुहुनो गाई भएको थियो । ऊ संग वैरभाव बढाउने पक्षमा पनि थिएनौं । उसको कुरा स्विकार्नु नै हाम्रालागि हितकर थियो । हामीलाई दोहन गर्न पाउन ज्याल उसले हाम्रो कमजोरी सार्बजनिक गर्दैन भन्नेमा हामी आशावादी थियौँ । उसको धुर्त्याइँ प्रतिदिन बढिरहेकोले हामी आजित भैसकेका थियौं । लाजमर्दो कुरामा साथी र आफन्तलाई सुनाएर सर सहयोग लिन सक्ने स्थिती पनि थिएन । रूपेश लोग्नेमान्छे म जति डराएको थिएन होला ! तर मेरो चै नौनारी गलेको थियो, मस्तिष्कमा यहि कुराले डेरा जमाएकोले गर्दा ।
आज शरीरभरि आलस्य छाएकोले म क्यम्पस जाने मुडमा थिइनँ । आमाले मेरो लामाकेश सुमसुम्याउदै औधी मायालु स्वरमा सोधिरहनु भयो”-आजकाल तिमिलाई के भएको छ भनेर ?”
आमाको स्नेहले म भित्र भित्रै क्रमिक रूपले पग्लदै थिएँ ।अधमरो भएको मेरो शरीरभरि केही ताजापन महसुस हुँदै थियो । आमा घरी मेरो केश त घरी पिठ्युँ सुमसुम्याई रहनु भएको थियो । आमाको ममता साच्चिकै शक्तिसाली हुदोरहेछ । शक्ति प्रदानकर्ता आमाको सामुन्ने म निष्ठुरी हुन नसक्ने अबस्थामा पुगिसकेकि थिएँ । आखिर अतीतमा मेरा सबै कुराको साझेदार र प्रिय परामर्शदाता हुनुभएकै थियो । झन अपठ्यारो परिस्थितिमा असल सल्लाहकार हुन नसक्ने कुरै भएन । म आमालाई झ्याम्मै अँगालो मारेर क्वाँ क्वाँ रून थाले। वहाँले पनि मलाई छातीमा टाँसेर स्नेहपूर्ण ढंगले मेरो पिठ्युँ सुमसुम्याइ रहनुभयो । केहि क्षणको रूवाई पछी मैले आमालाई रूपेश सँगको प्रेम र विक्रान्तले हामि माथि गरेको सबै अत्याचारको आद्याेपान्त वर्णनगरेँ ।
“रूपेश तिम्रो लागि योग्य नै छ । आखिर तिमिहरू एक अर्कासंँग प्रेम गर्दछौ । मायगर्ने विच त्यतिको छेडछाडलाई स्वभाबिक मानिन्छ । जहाँसम्म विक्रान्तको कुरा छ,तिमिहरू डराउनज्यल उसले तिमिहरूलाई धम्याई रहन्छ । डरले मान्छेलाई कायर बनाउछ । कायरता मुक्त्तिको उपाय होइन । तिमी क्याम्पस जान तयार हौ । म कानूनबिद संँग सल्लाहगरेर विक्रान्तको पन्जा बाट तिमिहरूलाई छुटकारा दिलाउनेछु । म माथी भरोसा राख ।” आमा मलाई शात्वना दिदै भान्सा तिर लाग्नुभयो । आमाको आश्वासनपछि म भित्रको डर केही मत्थर भएकोले क्याम्पस जाने तयारीमा जुटेँ ।
आफूलाई आइलागेको आपत बाबु आमालाई सुनाउदा समाधानका उपाय स्वयम् आफूभित्र स्वस्फूर्त उत्पन्न हुदारहेछन् । क्याम्पस जादा आजचै मेरो मन हल्का र फूर्तिलो भएको अनुभूति हुँदै थोयो । रूपेश र म हतारमा कक्षाकोठा तिर लाग्दै थियौं।अचानक विक्रान्तले बाटो छेक्दै जिस्क्यायो ।” –के छ त प्रेमिहरू ! आजत टिफनमा नास्ता खुवाउने हैन ?”
“अर्काको के आश गर्छौं …आफू किनेर खान सक्दैनौं ! हुतीहारा…..।”मैले झर्कदै जवाफ दिएँ ।
“जो चोर उसको ठूलो स्वर ! नत्र फेरि…”ऊ हातमा भएको मोबाईल हामिलाई देखाउदै थियो ।
उसको ठूलो स्वरलाई उछिन्दै म झन कड्किए-“के गर्छौ ? हाम्रो भि.डि.ओ.र फोटो तिमी संग छ भनेर धम्क्याएको ! अब तिम्रो धम्कीले हामी डर्नेवाला छैनौं “। यतिभन्दै चितुवाको वेगले झम्टेर विक्रान्तको हातको मोबाइल खोसेर पिच सडकमा वेगले पछारेँ । हेर्दाहेर्दै मोबाइल चकनाचुर भएर छरपस्ट भयो । उसले कल्पना सम्म नगरेको घटना म द्वारा घटिसकेको थियो । ऊ विस्मित साथ घरी मलाई घरी मोबाइलका यत्रतत्र छरिएका टुक्राटुक्रीलाई हेरिरहेको थियो । उसलाई म चोरीऔंला ठड्याउदै सिंहले झैँ गर्जिएँ ।
“विक्रान्त ! तैंले अझै हामीलाई र हम्रा साथीहरूलाई यस्तो दुःख दिइस भने साइबर क्राइम अन्तरगतको मुद्दामा तँलाई जेलनेल ठोक्ने छौं । हाम्रो परिवारलाई रूपेश र मेरो प्रेमको बारेमा जानकारी छ । निकट भबिष्यमा हाम्रो बिबाह हुँदैछ । निम्तो गरौंली आउन मनलागे आउनु ।”क्रोघले म तिमी बाट तँ मा उत्री सकेकी थिएँ । मेरो शरीर थरथर कामिरहेको थियो । स्वासको गति तिब्र भएकोले स्वा…स्वा..हुँदै थिएँ ।
विक्रान्त कालोनिलो हुँदै शिर निहुराएर अस्सहाय तरिकाले उभिएको थियोे । सायद मेरो परिबर्तित रूपबाट ऊ चकित भएको थियो क्यारे । उसको च्याँखे मैले अचानक मारेकोमा ऊ हताश देखिदै थियो। दुईचार जना विद्यार्थीहरूले हामीलाई गोलाकार रूपले छेकेर घटनालाई उभिएर उत्सुकतासाथ हेरिरहेका थिए । घटना उत्सुकता जन्माउने खालको नै भइरहेको थियो । उभिएर हेर्नेहरूको आँखामा मेरो लागि स्याबासी झल्किरहेको देखिन्थ्यो । हेर्नेहरूले विक्रान्तलाई खुच्चिङ भनेर केवल मुख फोर्न सकेका थिएनन् झै भान हुन्थ्यो । मेरो पिठ्यूँमा धाप मार्दै रूपेशले हर्षित स्वरमा भन्यो ।– “क्याबात..! मेरीसिंहनी…हिम्मतवाली …! क्लास लागिसक्यो होला ! अब ढिला नगरौं ।” विक्रान्त शिर निहुराएर उभिएको उभिएकै थियो । ऊ बिरोधमा बोल्ने र हाम्रो बाटो छेक्ने कुनैकाम गर्न सकिरहेको थिएन । ऊ कमजोर भएको छ भन्ने त्यहा उपस्थित सबैले मापन गरिसकेका थिए ।
मैले सरसर्ती रूपेशलाइ हेरेँ । उसको ओठमा मुस्कान नाचिरहेको थियो। साहसले बौरिएको खुसी संँगाल्दै म पनि रूपेशको हात समाएर कक्षाकोठा तिर लागेँ मनमनै रमाउदै………..
***
प्रतिक्रिया
-
४
