
– शैलेन्द्र अधिकारी
कुनै लेखकले अहिलेसम्म लेखेर लेख्न नसकेको, कुनै कलाकारले चाहेर पनि अभिनय गर्न नपाएको, अलिकति नाटकजस्तो, अलिकति आख्यानजस्तो, अलिकति तपाईंको जीवनजस्तो, अलिकति मेरो जीवनजस्तो एउटा जीवन सुन्नूस् ।
हुन त तपाईं यसलाई एक आख्यानका रूपमा कल्पना पनि गर्न सक्नुहुन्छ । तर म तपाईंलाई यहीँ सचेत गराउन चाहन्छु, यो कसैको वास्तविक जीवनको विशुद्ध कथा हो । कसैलाई काल्पनिक लाग्छ भने त्यो भ्रम हो ।
अबको लगभग आधा घन्टा तपाईंले यस कथाका लागि छुट्याउनुभएको छ । यस कथामा खासै लामो मध्यान्तर छैन । यस बिचमा हाई गर्न, उठेर ट्वाइलेट जान, चुरोट सल्काउन, फोन गर्न वा उठाउन, सामाजिक सञ्जालतिर आफ्नो ध्यानाकृष्ट गर्न पूर्णतः निषेध गरिएको छ । जुन कुरालाई आफ्नो साढे दुई धार्नीको मुन्टो हल्लाएर तपाईंले पनि स्वीकृति प्रदान गर्नुभएको छ ।
यात्रा सुरु भयो है त ।
अथः कथावाचनम् ।
कथाको राजमार्गमा तपाईंलाई स्वागत छ ।
आकृति बिहान सखारै उठ्छे र आफूलाई मर्निङ वाकका लागि तयार पार्छे । बिहान हिँड्दा दिनभरि शरीर चङ्गा हुन्छ । ऊ मर्निङ वाकमा जाँदा सूर्य ब्यूँझने तर्खर गरिरहेको हुन्छ । चराहरू गायत्री मन्त्र जप्दै हुन्छन् । चन्द्रमा नाइटी पहिरेर अलि अगाडिमात्रै सुत्न गएकी हुन्छे । बिहान कलेज जाने युवायुवतीहरू सडकको छातीमा पैतालाले हस्ताक्षर गर्दै गरेका हुन्छन् ।
फेरि लेट नाइट पार्टीमा गएर, वा अन्य भट्टीतिर पसेर, टन्न रक्सीले मातेर सुत्ने लोग्नेले घुरेको आवाज, उसको शरीरबाट आएको पसिनाको अमिलो गन्ध र मुखबाट आएको रक्सीको नमिठो गन्ध आकृतिलाई साह्रै दिगमिग लाग्छ । तर के गर्नु, नाक बन्द गरेर पनि सुत्न सक्दिन । म एक्लै सुत्छु भनेर लोग्नेसँग भन्न पनि सक्दिन । एउटा छुट्टै उकुसमुकुसमा हरेक रात बिताइरहिछ उसले ।
यसबाट छुटकारा पाउने उपाय पनि मर्निङ वाक नै हो । बाहिर एक्लै हिँड्दा आफू मात्रै हुन पाइन्छ । स्वतन्त्रता र स्वच्छन्दताको यो केही पललाई ऊ कसैगरी गुमाउन चाहन्न । घर नामको बन्धनमा छिरेपछि स्वास्नीमान्छे कहाँ आफू रहन्छन् र ? कसैकी स्वास्नी, कसैकी आमा, कसैकी बुहारी, कसैकी काकी, कसैकी माइजू, कसैकी नन्द, कसैकी आमाजू …. ! यी विविध सम्बन्धका पहेलीहरू बुझ्दै र बुझाउँदैमा जीवनको एउटा लामो कालखण्ड सकिन्छ ।
यी सम्बन्धहरू पनि बन्धन नै रहेछन् । गजबको मन्द विषजस्तो । थाहा छैन, कहाँ कहाँ आफू हुनुको भावलाई यसले बिस्तारै निमोठिरहेको छ । एउटा अर्को बाँच्नुको भूलभूलैया ।
— अन्यथा सोच्नुहुन्न भने एउटा कुरा भनूँ ?
— के कुरा ?
— अरू कसैलाई नभन्नूस् है त ।
— किन भन्नुप¥यो मैले ?
खासमा आकृति लोग्नेलाई बेहिसाब घृणा गर्छे । आफ्नै निजी लोग्नेलाई । मनमनै ।
(हेलो ! हेलो !! तपाईं यहाँ त्यति धेरै खुसी पनि नहुनूस् ! आकृति आफ्नो लोग्नेलाई घृणा गर्छे भन्नुको मतलब के होइन भने यहाँ तपाईंले एउटा सुन्दर÷आकर्षक भ्याकेन्सी फेला पार्नुभयो र यसमा आवेदन हाल्नका लागि तपाईंसँग आवश्यक सबै योग्यता पुगेको छ । यस्ता कुराप्रति तपाईं बिल्कुलै ध्यान नदिनूस् ।)
आकृतिको मनभित्रै एउटा विशाल शून्यता छ । खतरनाक ब्ल्याक होल । सघन अन्धकार । जसले हरेक पल उसका इच्छा, आकाङ्क्षा र उमेरलाई पनि आफैँभित्र समाहित गरिरहेको छ । आफैँले थाहा नपाइनपाई बिस्तारै आफैँलाई खाइरहेको छ ।
अक्सर आकृतिको जीवनमा एउटै घटनाको पुनरावृत्ति भइरहन्छ । जस्तो– जहिल्यै ऊ कुनातिर फर्किएर सुत्छे अलि अबेला अबेला । लोग्नेलाई नछोइयोस् भनेर सजग हुन्छे । तर कसोकसो छोइन्छ । उसको निद्रा नब्यूँझियोस् भनेर होइन, छुन मन नलागेर ।
बिहानपख कतिखेर लोग्ने ब्यूँझिन्छ र एक लट गिजोल्छ । प्रतिकार गर्न पनि सक्दिन, सहभागी भएर खुसी हुन पनि सक्दिन । त्यस बखत यस्तो लाग्छ उसलाई, म सास फेरेको मुढोभन्दा बाँकी रहिनँ । उसलाई गिजोल्दा गिजोल्दै लोग्ने स्खलित भइसक्छ । यस्तो बेला उसको मनमा जहिल्यै एउटै शब्द आउँछ, ‘नामर्द !’ तर भन्दिन । कसलाई भन्नु ? के भन्नु ? यस्तो कुरा कसलाई सेयर गर्नू ? उसका बारेमा लोग्ने केही सोच्दैन । पाषाण हृदयी । ऊ आफ्नैबारेमा त खासै केही सोच्दैन, अरूका बारेमा के सोचोस् ! दिउँसो व्यापार, साँझ रक्सी । उसको जिन्दगी यसैगरी तुरिँदै गएको छ ।
लोग्नेलाई त यत्तिले पुगेको छ । आकृतिलाई नि ?
आकृतिका बारेमा कसले पो सोचेको छ र ?
सोच्नुपर्ने लोग्नेले हो । ऊ सोच्दैन । अब तपाईं र मैले सोचेर केही हुँदैन ।
अब त आकृतिलाई यस्तो रातको बानी परिसक्यो । उसका मनका असन्तुष्टि र गुनासाहरू बुढो भएर ओइलाइसके । कति असन्तुष्टि र गुनासाका भारी बोकेर बाँच्नु ? यो शरीर हो, मन हो । कुनै डम्पिङ साइट होइन, जहाँ काम नलाग्ने कुराहरू ल्याएर मिल्काइयोस् । यहाँसम्म जीवन जसरी चल्यो, बाँकी पनि त्यसरी नै चल्दै जाला नि ! जीवनलाई सकेसम्म सुन्दर बनाउने हो, बाँकी त भगवान् भरोषा !
छोरी पनि अब तरुनी भई । यसपालि नै सोह्र लागी । अब आफ्नोभन्दा छोरीको चिन्ता गर्ने समय आइसक्यो । छोराछोरीको विषय, चिन्ता गर्दिनँ भनेर मात्रै पनि नहुने रहेछ ।
अचेल घरीघरी ऐना हेर्दै टोलाउँछे आकृति । भूत, वर्तमान र भविष्य उनका आँखामा नाच्छन् । सम्झी ल्याउँदा त्यो कस्तो जीवन थियो र यो कस्तो जीवन हो ? सिङ्गमरमर सरीको त्यो शरीर आज बच्चाको पुरानो खेलौनाजस्तो कसरी भयो ? कसले निकालेर लग्यो, उसको कौमार्य ? जीवनको खुत्रुकेबाट कसले फुटाएर लग्यो सारा चञ्चलता ? हरदम नाचिरहने अनुहारको मुस्कान कहाँ गए ? गालाको लालिमामा कसको आँखा लाग्यो ? पतेराले चुसेको धानजस्तो शरीर कसरी भयो ? घरीघरी सोच्छे, महिलाको जवानी त जम्मा दस, पन्ध्र वर्षमात्रै रहेछ । पन्ध्रदेखि पच्चिस, तिससम्म । विवाह नहुँदासम्म कस्तो थियो यो शरीर ? टन्न भरिएको धानको बोराजस्तो । टनटनी कसिएको घाँसको भारीजस्तो थियो शरीर । पहाडका थुम्काजस्तै उठेका स्तन र नितम्ब । स्तनको भारले थोरै झुकेको काँध । यस्तो लाग्थ्यो, यिनले कहिले पो आफ्नो स्थान छाड्लान् र ? तर होइन रहेछ । पुरुषको स्पर्शले त्यसरी कस्सिएर बसेको शरीरलाई बिस्तारै बिस्तारै खुकुलो बनाउँदो रहेछ । चङ्गा उड्दै जाँदा खुल्दै गएको लट्टाईजस्तो । सुस्तरी आफ्नै नितम्ब छाम्छे, केही जस्तो लाग्दैन । स्तन छाम्छे, बुढी गाईको कल्चौँडोजस्तो लाग्छ । खै कहाँ गयो यिनीहरूको स्वाभाविक रूप ? स्वाभाविक सौन्दर्य ?
रक्सीले मातेर मुढो पल्टिएझैँ पल्टिएको लोग्नेलाई हेर्दै सोच्छे, यही लोग्नेले खायो मेरो जीवनको लोभलाग्दो समय । अलिकति रस चुसेर र धेरैजसो त्यत्तिकै पगारिदिएर खेर फालिदियो यसले । बाँदरको हातमा नरिवल बनाइदियो जवानीलाई पनि ।
फुत्केको समय र सकिएको जवानी सम्झिएर पनि केही नहुने रहेछ । उसलाई यो थाहा नभएको हैन । तर ऊ त्यही कुरामा घोरिन्छे । अरूभन्दा ज्यादा सोची बस्छे । सबैभन्दा धेरै लोभ र माया छुटेर गएको समयको लाग्ने रहेछ । तर …. ।
अझ छोरी जन्मिएपछि कति खुकुलो भएको छ, कति गिजोलिएको छ यो शरीर ! टोलाउँछे । आफैँलाई सोध्छे; के म फुटपाथमा बेच्न राखिएकी पुतली हुँ ? पुरुषको शरीर त चालिस, पचास वर्षसम्म उस्तै हुन्छ । तर महिलाको ? तिस पार गरेपछि के हुन्छ महिलाको शरीरलाई ? अझ एउटा बच्चा जन्मिएपछि त भो कुरै नगरौँ । के प्रकृतिले पनि महिलालाई विभेद नै गरेको हो त ? किन यस्तो भइरहेछ ? अनि, उसलाई बिगार्न लोग्नेमात्र काफी थिएन र ?
आकृति हुर्किंदै गरेकी छोरीलाई हेर्छे । आफैँलाई पन्ध्र वर्षमा पुगेको अनुभूति गर्छे । गौर गरेर नियाल्छे छोरीलाई । गर्धन, छाती, नितम्ब …. । उसलाई पन्ध्र, बिस वर्षअघिको आफैँजस्तो लाग्छ । आफ्नै अतितको सुन्दर प्रतिबिम्ब । कति पुष्ट छन्, अङ्गहरू ? कति भरिला ! हेर्दैमा रसिला लाग्ने । लोभ लाग्यो उसलाई । गएर एक पटक सुमसुम्याऊँ जस्तो लाग्यो ।
लगत्तै उसले आफ्नो शरीरलाई नियाली । छि ! यो पनि महिलाको शरीर हो र ? उसलाई घृणा लाग्यो आफ्नै शरीरदेखि । ईष्र्या लाग्यो आफ्नै छोरीको शरीरदेखि । पहिलो पटक उसलाई कसैको शरीरदेखि ईष्र्या लाग्यो । उफ् !! यो जीवनको कस्तो कालखण्ड रहेछ ?
एक दिन उसले छोरीले धोएर सुकाएको ब्रा लगाई सुटुक्क । अहँ ढाडमा दुईतिरको खिपले एक अर्काको स्पर्श नै पाएन । न उसका स्तन छोरीको ब्राभित्र चुपचाप अटाए । कति ठूलो ! कति गिलो ! उसलाई अचानक छोरीको ब्रासँग रिस उठ्यो । आफ्नो स्तनसँग रिस उठ्यो । च्यातचुत पारिदिई ब्रालाई । अहँ राम्रोसँग च्यातिएन । काटेर टुक्राटुक्रा बनाएर फालिदिई । आफ्नो स्तन हेरी । ठूलो, गिलो, झोल्लिएको । हेरिरही अवाक्, उदास । चिच्याएर रुन मन लाग्यो, तर त्यो पनि सकिन ।
एकछिनपछि थकित आँखा र भारी मनले छरिएका ब्राका टुक्राहरूलाई एकोहोरो हेरिरही । फेरि आफँैसँग रिस उठ्यो । के भइरहेछ यो मनलाई ? सोची, कसले चलाइरहेछ हँ मेरो मनको स्टेरिङ ? कसले बदलिरहेछ चाहनाका गियरहरूलाई ?
उफ् !
सम्झिई पुराना दिनहरू ….
कुनै बेला आकृतिलाई यस्तो लाग्थ्यो– प्रकृतिका सारा सुवास उसैका लागि बनेका हुन् । फूलहरू उसैको चुल्ठोमा सजिन फुलेका हुन् । हावा उसैको सुगन्ध फैलाउन बहेका हुन् । पानी उसैको शरीरलाई कोमल र कञ्चन बनाउन बगेका हुन् । घाम उसकै मुस्कुराइरहेको अनुहार हेर्न उदाएको हो । जून उसैसँग प्रतिस्पर्धा गर्न मुस्कुराएको हो । उसको शरीरलाई देखेर ईष्र्या नगर्ने आइमाई को थिए ? लोभ नगर्ने पुरुष कति थिए ? लाग्थ्यो, कति पुरुष त आँखैले उसको शरीरलाई सम्भोग गर्थे । कति मुख मिठ्याउँथे । कसले दिएको थियो शरीरमा त्यो उमङ्ग र चञ्चलता ? कहाँ गयो सिमलको भुवाजसरी उडी हिँड्ने मन ? वायुपङ्खी घोडामा चढेर आउने सानो छँदाका ती राजकुमारहरू एक्कासि कहाँ र किन अलप भए ? यो सिङ्गो शरीरमा कसले दिएको थियो सुकुमारीत्व ? नमागीकनै कसले दिएको थियो ती सारा कुरा र नसोधीकनै किन खोसेर लग्यो ?
यो सरासर अन्याय हो । बेइमानी हो ।
उसको मनमा सयौँ असन्तुष्टि छन् । तर ऊ कसैलाई आफ्नो जीवनको यो असन्तुष्टि सुनाउन सक्दिन । चाहँदिन पनि ।
यो जीवनको कस्तो डरलाग्दो, अचम्मलाग्दो, अत्यासलाग्दो अवस्था हो, जहाँ ऊ लोग्नेलाई, आफूलाई र आफ्नी छोरीलाई पनि बेहिसाब घृणा गर्छे ।
खासमा ऊ बितेर गएको सिङ्गो समयलाई घृणा गर्छे ।
आवाज
तपाईंलाई कत्तिको हेक्का छ ? भर्खर साइकल, मोटरसाइकल चलाउन सिक्दा चलाइरहूँ जस्तो लाग्छ । जति चलायो, उति आनन्द लाग्छ । हुन त जे कुरा पनि सुरुसुरुमा चलाउँदा बडो आनन्द लाग्छ । पछि बिस्तारै बेवास्ताको चरणमा पुग्छ ।
आकृति पनि भर्खर स्कुटी सिक्दै थिई । छोरी एक हप्तामै पर्फेक्ट भई । तर उसलाई सिक्न अलि लामो समय लाग्यो । भर्खरका केटाकेटीले चाँडो सिक्छन् । उमेर छिप्पिँदै गएपछि जे कुरा पनि गाह्रै हुन्छ । उसले स्कुटी चलाएको कुरालाई लक्षित गरेर एक छिमेकी विशेषज्ञ पल्टियो । व्यर्थ आफ्नो राय प्रकट ग¥यो । उसलाई थाहा छ, यी छिमेकीहरू यस्तै हुन् । यिनीहरूले छिमेकी हुनुको धर्म यसैगरी निर्वाह गरिरहन्छन् ।
तर उसलाई भित्रभित्रै लाग्यो, यी उमेरले यहाँ पनि धोका दियो ।
(यस्तो बेला भित्रैबाट निस्कने निश्वासबाहेक ऊसँग अरू के नै छ र ? सम्झनूस् त तपाईं भए के गर्नुहुन्थ्यो ?)
बिस्तारै बिस्तारै उसले स्कुटी चलाउन सिकी । ठूला बाटाहरूमा जाँदा अलिअलि डर लागे पनि भित्री बाटोहरूमा निष्फिक्री चलाउँथी । तरकारी किन्न जाँदा, ब्युटिपार्लर जाँदासम्म पनि अब ऊ स्कुटीमै जान थाली । एक किसिमले यो स्कुटी उसको साथीजस्तै भयो ।
आकृतिलाई सबैभन्दा झन्झट स्कुटीमा तेल हाल्ने बेला लाग्छ । मोटरसाइकलजस्तो सजिलो स्कुटीमा कहाँ छ र ? मोटरसाइकलमा त बसीबसी ढक्कन खोल्यो हाल्यो, हिँड्यो । स्कुटीमा त रोकेर, ओर्लिएर, सिट खोलेर …. । त्यहाँमाथि थोरै मात्रै हाल्न मिल्छ । झन्झटै झन्झट ।
कि मोटरसाइकल पुरुष र स्कुटी महिला हो ? हो भने त महिलालाई प्रकृतिले मात्रै दुःख दिएको छैन कि इन्जिनियरहरूले पनि उस्तै दुःख दिइरहेका रहेछन् । विभेद गरिरहेका छन् ।
फेरि त्यो तेल हाल्ने केटोले स्कुटीमा तेल हाल्दै गर्दा ऊतिर हेरेर किन हाँस्छ ?
उसलाई मनमनै घृणा लाग्छ, त्यो केटासँग । खैरो, फुङ्ग उडेको कपाल, कम्मरबाट झर्न लागेको प्यान्ट, कान्छी औँलामा पालेको लामो तर मैलो नङ, सुकेको शरीर छि !
फेरि कस्तो बेसरम ! आइमाई मान्छे देखेको छैन त्यसले ? के सोचेर हाँस्दो हो ? उसले मनमनै आफैँलाई प्रश्न गरी ।
यो केटो मेरो स्कुटीमा तेल हाल्दा मात्रै हाँस्छ होला कि अरूकहाँ पनि ?
एक पटक तेल हाल्न जाँदा आकृतिले विचार गरी, ऊभन्दा अगाडि तेल हाल्न लागेकी केटीको स्कुटीमा त्यो केटाले प्रतिक्रियाविहीन भएरै तेल हालिदियो । जब उसले सिट थोरै उचालेर, ट्याङ्कीको बिर्को खोल्न थाली फेरि त्यो केटो मुस्कुरायो ।
अरे ! अरे !!
उसलाई सोध्न मन लागेको पनि थियो कि ऊ किन हाँसिरहेछ ? तर सोधिन । जिन्दगीमा कहाँ सबै प्रश्नको उत्तर खोजिन्छ र ? कतिपय प्रश्न मनमा आउँछन् र प्रश्नकै रूपमा हराउँछन् । बिर्सिइन्छन् । याद गर्नूस् त, तपाईंको जीवनमा त्यस्ता कति प्रश्नहरू छन्, जसको उत्तर तपाईंले कसैलाई सोध्नुभएकै छैन । कतिपय प्रश्न त सोध्नै मिल्दैन । यी यस्तै कुराहरूको समग्रता नै जीवन हो ।
समय बित्दै गयो । अब त्यो केटोको मुस्कान पनि उसका लागि एउटा अनौठो लत हुँदै गयो । तेल हाल्न जाँदा उसका आँखाले नजाँनिदो त्यही केटोलाई खोज्न थाल्यो । कुनै दिन त्यो केटो आएन भने मनमा एक किसिमको जिज्ञासा उत्पन्न हुन थाल्यो । कहाँ गयो होला ? कि जागिर छोड्यो ?
एकपटक पन्ध्र, बिस दिनजति त्यो केटो आएन । उसको मनमा लाग्यो, कहाँ गयो होला ? कसरी हाँसेर स्वागत गथ्र्यो ? मन्द मुस्कानले । कति निश्चल मुस्कान थियो त्यो । पहिले म त्यसको हाँसोलाई किन मन पराउन्न थिएँ होला ? सम्झिएर उसलाई आफैँसँग हल्का रिस उठ्यो । उसले के नै गरेको थियो र ? हाँसेको त थियो नि । के हाँस्नु अपराध हो र ?
अपराध त होइन, तर मान्छे व्यर्थैमा हाँस्दैनन् । त्यो किन हाँस्यो होला ? अरूलाई हेरेर नहाँस्ने मान्छे मलाई हेरेर हाँस्नुको रहस्य चाहिँ के होला ? ममा उसले के देख्यो होला ? आमाको छाया ? होइन । आमालाई सम्झेर, देखेर कोही किन हाँस्छ र ? प्रेमिका ? प्रेमिकालाई देखेर, सम्झेर मान्छे हाँस्छ ? खै थाहा छैन । त्यसो भए मान्छे कसलाई देखेर मुस्कुराउँछ ? खै त्यो पनि थाहा छैन ।
र, त्यो केटा मलाई देख्दा सधैँ किन हाँस्छ ?
खै त्यो त त्यही केटालाई थाहा छ । तर के भनेर सोध्नु र ? होस् । सबै प्रश्नको उत्तर खोज्नु हुँदैन । म पुनः उही निष्कर्ष निकाल्छु ।
त्यो केटोको हाँसोको उसलाई लत लाग्दै थियो बिस्तारै । तर यही बिचमा त्यो केटो हरायो । उसको मनमा एउटा अनौठो अनुभूति भयो । भर्खरै प्लेन छुटेको यात्रीजस्तो । जहाँ बाँकी रहन्छ केवल एउटा सुस्केरा, उफ् !
मनको अन्तरकुन्तरमा एउटा नजानिँदो रित्तोपन । मस्तिष्कमा एक किसिमको थकानको अनुभूति ! अनुहारमा गहन उदासीको हस्तक्षेप ।
पेट्रोल पम्पमा जाँदा जहिले पनि आकृति एक किसिमको रित्तोपन बोकेर जान्थी । ट्याङ्कीको बिर्को खोल्नु अगाडि उसका आँखाले त्यही केटोलाई खोज्थ्यो । साँच्चै कहाँ गयो होला त्यो केटो ?
बेपर्वाह समय कसैको पर्वाह बिना हिँडिरह्यो । हिँडिरह्यो ।
र, यस्तैमा एक दिन त्यो केटो फेरि देखियो पेट्रोल पम्पमा ।
मनमा नजाँनिदो उत्साह, खै कहाँबाट आयो उसैलाई थाहा छैन । एउटा अत्यासलाग्दो रोमाञ्च ! त्यो केटो फेरि उसैगरी हाँस्यो । र, भन्यो– ‘‘बहिनीको विवाहका लागि केही समयका लागि घर गएको थिएँ । पहाड घर !’’
अरे उसले केही सोधेकै छैन, तर केटो मुस्कुराएर स्पष्टीकरण दिइरहेछ । किन ?
आकृति पनि मुस्कुराई पहिलो पटक केटोसँग ।
किन ?
अब उसले एक पटकमा एकदुई लिटर मात्रै तेल हाल्न थाली । उसलाई हरेक दिन पेट्रोल पम्म जाने बानी बस्न थाल्यो । जाँदा ऊ प्रायः बाह्र, एक बजेतिर जान्थी । यो बेला त्यति भिड पनि हुँदैनथ्यो ।
एक पटक केटो तेल हाल्दै ऊतिर हेरेर मुस्कुराउँदै थियो । ट्याङ्कीबाट पेट्रोल बाहिर पोखियो । ‘सरी !’ केटाले मुस्कुराएरै नाक खुम्च्यायो ।
‘इटस् ओके !’ ऊ पनि मुस्कुराई ।
के भइरहेछ उसलाई हिजोआज ? किन ऊ हरेक दिन पेट्रोल पम्प जान चाहन्छे ?
के उसलाई त्यो केटाको मुस्कानले त्यति धेरै आकर्षित ग¥यो ?
के उसलाई लत लाग्दै गयो त्यो केटाको ? त्यो फुच्चे केटोको, जसको उमेर उसकै छोरीको आसपास छ ।
उही अचम्मित छे । दुबिधामा छे ।
आफैँलाई प्रश्न गर्छे, होइन के भइरहेको छ हँ मेरो मनलाई ?
ऊ आफैँलाई उत्तर दिन्छे, होइन होइन । त्यो केटा विचरा ! अठार, बिसको होला । मेरो आधी उमेरको !
उमेरले के गर्छ र ?
केले गर्छ त त्यसो भए ?
मनले । मन कहिल्यै बुढो हुँदैन ।
कसले भनेको ?
खै ! सबै त्यसै भन्छन् ।
त्यस्तो कुरा त होइन ।
होइन भने के त ?
खै त्यो त उसलाई पनि थाहा छैन ।
जब त्यो केटाले ट्याङ्कीको बिर्को खोलेर नोजल भित्र हाल्छ, उसलाई हेर्दै मुस्कुराउँछ । यस्तो बेला आकृतिलाई अलग्गै किसिमको छटपटी हुन्छ । मन बेचैन हुन्छ । एक अलग किसिमको अधर्य महसुस गर्छे ऊ । पेट्रोल नोजलबाट ट्याङ्कीमा झर्दा जब एक किसिमको छ्वाइयँ आवाज आउँछ, उसलाई भित्र कताकता मिठो काउकुती लाग्छ । आङ जिरिङ्ग हुन्छ । त्यसले उसको उत्तेजनालाई झन् बढाइदिन्छ ।
आउच …. !! थोरै खुम्चिन्छे ऊ ।
होइन, के अचम्म भइरहेछ ?
केटो, ट्याङ्कीको प्वाल, नोजल र पेट्रोलको आवाज ।
आज उसले बल्ल थाहा पाई कि ऊ त केटोको मुस्कानसँगै पेट्रोल हाल्दा आउने आवाज र नोजलसँग पनि सम्मोहित भइसकिछे । तर आफू सम्मोहित भइरहेको कुरा स्वयं उसलाई भने पटक्कै थाहा छैन ।
नोजल पेट्रोलको ट्याङ्कीमा छिराउँदा उसलाई किन काउकुती लागिरहेछ ?
एउटा मिठो आभास । मस्तिष्कमा तीव्र झन्झनाहट । कसैलाई भन्न नसकिने, देखाउन पनि नमिल्ने रोमाञ्चकता ! मनको भित्र, कता हो कता छुट्टै किसिमको बेचैनी ! छुट्टै अनौठो किसिमको छट्पटी, तर सुखद ! !
आकृति केही पल आँखा चिम्लेर यसको सौन्दर्यबोध गर्छे । यसको आनन्दलाई हृदयदेखि नै महसुस गर्छे ।
कस्तो फिल्मी सिनजस्तो ! दिलमा घन्टी बजेको जस्तो आभास भइरहेछ उसलाई ।
(के तपाईंले फ्रायड पढ्नुभएको छ ? कार्ल गुस्ताभ युङलाई चिन्नुभएको छ ? एकपटक यिनको यो छटपटी उनीहरूलाई सुनाइदिनू है ।)
आकृतिलाई विश्वास भयो– मेरो उमेर अझै छ । ममा अझै उत्तेजना बाँकी छ । ममा अझै सुन्दरता बाँकी छ । ममा अझै आकर्षण छ । अझै मेरो स्त्री–आकर्षणले काम गरिरहेको छ ।
ऊ बुढी भएर उसको लोग्नेले बाहिर समय धेरै बिताएको होइन रहेछ । समस्या त बुढामा पो रहेछ । उसको उमेर धेरै भएर स्कुटी चलाउन सिक्न गाह्रो भएको होइन रहेछ । समस्या त छिमेकीमा पो रहेछ । ऊ अरूको समस्यामा आफूलाई व्यर्थ दुःखी बनाइरहेकी रहिछे ।
एउटा आत्मविश्वासको लहर पैदा भयो मनभित्र । आत्मविश्वासको प्रतिबिम्ब अनुहारमा देखिने रहेछ । ऐना नै नहेरीकन आज उसले आफ्नो खुसीले धप्प भएको अनुहार देखिरहेकी छे ।
आज पेट्रोल पम्पबाट फर्किंदै गर्दा ऊ पनि त्यो केटालाई हेरेर मुस्कुराई मज्जैले । थाहा छैन, केटोले के बुझ्यो र के अर्थ लगायो !
जसले जे अर्थ लगाओस्, बाल मतलब ! तर उसको मनले सुन्दर आवाज दियो – आकृति तँ बबाल छेस् ।
र, सबैभन्दा सुन्दर आवाज मनको आवाज हो ।
उडान
समय परिवर्तनशील छ कि मान्छे ? समय होइन, मान्छेका अवस्थाहरू परिवर्तनशील छन्, त्यसैले मान्छेलाई समय परिवर्तनशील भएको भान हुन्छ ।
हतार नगर्नूस् । हरेक कुराको समय हुन्छ । तपाईंलाई हतार छ भनेर कुनै कुरा चाँडै हुन्छ ? बेहुला–बेहुलीलाई हतार छ भनेर विवाहको दिन चाँडै रात पर्दैन । सूर्यको आफ्नै गति हुन्छ । धैर्य गर्नूस्, हरेक कुराको आफ्नै अनुशासन छ ।
अँ, अहिले आकृतिकी छोरी सोह्र वर्ष पुगी ।
हो, त्यही वर्ष उसले एसएलसी पास गरी र कक्षा एघारमा भर्ना भई ।
नाम ः प्रकृृति पाण्डे
स्वाभाविकै, कलेजमा प्रकृतिका केटी साथीहरू पनि भए र केटा साथीहरू पनि ।
आकृतिलाई छोरीले कतै गलत बाटो त समाउँदिन भन्ने ठूलो भय थियो अन्तरहृदयमा । ऊ बेलाबेला छोरीलाई सम्झाउँथी पनि– यो बैँसको उमेर यस्तै हो । यो उमेरमा हरेकको मन छिचिमिराजस्तो हुन्छ । जहिल्यै उड्न मन लागिरहन्छ । तर यो बेलाको उडान अल्पकालीन हुन्छ । त्यसैले यो उमेरमा धेरै नै विचार गर्नुपर्छ ।
छोरीचाहिँ हरेक कुरामा भन्न थालेकी थिई– ‘‘मामु ! स्टप इट अल दिज थिङ्स । तपाईं हिजोआजका जेनेरेसनका कुराहरू नै बुझ्नुहुन्न के ।’’
आकृतिलाई भने यही कुरा पटक्कै मन पर्दैनथ्यो । के हो हिजोआजका जेनेरेसन ? बैँस कसलाई आएको थिएन र ? सोह्र, सत्र वर्षको उमेरलाई कसले पार गरेन र ? र, ऊ कुन जेनेरेसनकी हो ? के मलाई छोरीले पनि बुढी देख्न थाली ?
त्यो दिन उसले अरू दिनभन्दा बढी नै ऐनामा आफूलाई नियालिरही । किन किन हृदय व्यथित भयो । अनुहारमा उदासीको बर्को आइपुग्यो ।
खासमा छोराछोरीको नजरमा बाआमा जहिल्यै बुढाबुढी देखिन्छन्÷हुन्छन् भन्ने रहस्यलाई आकृतिले बुझेकी थिइन ।
बायोलोजीको क्लास –
सर अगाडि ह्वाइट बोर्डमा सेक्सुअल अर्गानको चित्र बनाइरहेका थिए, चुपचाप ।
‘‘कस्तो झ्याउलाग्दो, कसरी बनाउने ?’’ प्रकृतिले साह्रै सुस्तरी गुनासो पोखी ।
‘‘आफ्नै हेरेर बना न ।’’ अर्कीले फ्याट्टै उत्तर दिई र मुसुमुसु हाँसी ।
‘‘केटाको बनाउँदा चैँ कसको हेर्ने नि ? तेरो पो ब्वायफ्रेन्ड छ र ! जा तँ उसैको हेरेर बना ।’’ उसले थोरै रिसाएजस्तो अभिनय गरी ।
‘‘किन डाहाढ गर्छेस् त ? सक्छेस् भने तँ पनि ब्वायफ्रेन्ड बना अनि मोज गर् ।’’
‘‘ब्वायफ्रेन्ड भएपछि मोज हुन्छ ?’’
“बबाल मोज हुन्छ । पहिला ब्वायफ्रेन्ड बनाएर त हेर् ! तैँले कस्ता कस्ता नयाँ कुराहरू थाहा पाउँछेस् । कस्ता अनुभव गर्न पाउँछेस् । तँलाई एकछिन छुट्टिन मन लाग्दैन । सधैँ मुस्कुराइरहन मन लाग्छ ।”
“अनि तैँले के कस्तो अनुभव गरिस् त ?”
“अनुभव गरेको कुरा कसरी बताउन मिल्छ ? यसको मिठासलाई त आफैँ अनुभव गर्नुपर्छ अन्तरहृदयदेखि ।”
“होइन होला ? कस्तो उकुसमुकुस पार्ने कुरा हो यो ?”
“उकुसमुकुस त भइहाल्छ नि । यसको मजा त्यसैमा छ । मलाई नै हेर् न एक्जाम्पल !” यति भनेर साथीचाहिँले खुसुक्क आँखा झिम्काई ।
“यो क्लासमा ब्वायफ्रेन्ड बनाउने टाइपका कोही त छैनन् ।”
“अनि बाहिरतिर जाँदा चैँ तेरो आँखामा कसैले पट्टी बाँधिदिन्छन् र ? मन हुनुपर्छ के मन ।”
गफैगफमा उनीहरूले जसोतसो चित्र बनाए । हत्केलामा चिउँडो अड्याएर आफैँले बनाएको चित्र हेर्दै प्रकृति टोलाउन थाली ।
चिउँडो अड्याएको हातमा प्याट्ट हान्दै साथीचाहिँले भनी– “के हो तँ त चित्रै हेरेर मोहित भइस् । साँच्चिकै देखिस् भने त पागलै हुन्छेस् होला ।”
“चुप लाग् नखरमाउली !”
“को नखरमाउली ? चित्र हेरेरै कल्पनामा मग्न हुने तँ कि म ?”
यसको केही हप्तामा नै उनीहरूकै कलेजकी एउटी साथीको ‘काण्ड’ बाहिरियो । के हो काण्ड भनेको ? प्रकृतिले सर नभएको बेला क्लासमा नै सोधी । सबै हाँसे । एकाधले भने पनि– “प्रकृतिलाई प्राकृतिक कुरा अहिलेसम्म थाहा छैन । यसरी नि हुन्छ ? संसार कसरी चल्छ, यसरी ? उसले त थाहा पाउनै पर्छ यो कुरा ।”
र, मोबाइलमा भएको भिडियो क्लिप देखाइदिए खुसुक्क । त्यो पनि साउन्ड अफ गरेर । प्रकृति अचम्मित भई ! विस्मित भई । स्तम्भित भई । अलिपछि उसको जीउ सिरिङ्ग भयो । करेन्ट लागेको जस्तो भयो । शरीरमा काँडा उम्रे । उसलाई मनमनै लाग्यो, यी केटीहरू कति फरवार्ड भइसकेछन् । मान्छेहरू कहाँ कहाँ पुगिसकेछन् । के के भेटिसकेछन् । यस्तो उन्नत प्रविधिको युगमा भएर पनि मचाहिँ के भएकी । म मात्रै रहेछु सोझी र लाटी ! थुक्क !!
त्यसपछि उसले पाएसम्मका भिडियो क्लिपहरू हेरी । सुटुक्क, तर एयरफोन लगाएर । तर केटीमान्छेलाई भिडियो खोज्नै गाह्रो । यसको औषधी पनि साथीले नै दिई ‘पोर्न हब’ । तर नेचुरलजस्तो नहुने रहेछ ।
प्रकृतिलाई यसको खतरा ह्याङओभर भइरहेको छ । दिमागमा यी र यस्तै कुराहरू मात्र खेलिरहन्छन् अचेल । जहाँ गए पनि यस्तै सेक्सुअल साइकोलोजीले ऊ घरीघरी ‘डिस्टर्ब’ भइरहन्छे । हिजोआज मन्दिरतिर गई भने उसको ध्यान भगवान्मा हुँदैन, टुँडालतिर हुन्छ । उसलाई मनमनमा लाग्छ, पहिलेका मान्छेले मन्दिर बनाउँदा पनि हरेक उमेरका मानिसका मनोविज्ञानलाई विचार गरेरै बनाएका रहेछन् । कति दूरदर्शी रहेछन्, त्यो बेलाका मान्छेहरू !
अस्ति शनिबार प्रकृति ममीसँग सपिङ गएकी थिई न्युरोडतिर । सपिङ सकिएपछि उनीहरूले टिपटपमा गएर समोसा र पानीपुरी खाए । अन्तिममा आइसक्रिम खाने कुरा भयो । प्रकृतिले भेनिला डबल ब्ल्याक मगाई । जब क्रोन समातेर बिस्तारै चाट्न थाली, उसलाई अचम्मको काउकुती लाग्यो । कसैले आफूलाई हेरिरहेका छन् कि जस्तो लाग्यो । लजाई आफैँदेखि । फेरि ममीले थाहा पाउने हो कि भनेर सजग पनि भई । यसअघि पनि त उसले थुप्रैपल्ट आइसक्रिम खाएकी थिई । यस किसिमको विचार उसको मनमा आएकै थिएन । छि ः के भइरहेछ यो मनलाई ?
हिजो बिहान ऊ ब्रस गरिरहेकी थिई । ऐनामा आफूले ब्रस गरेको हेर्दा उसलाई खूब रमाइलो लाग्यो । ब्रस, मुख र फिँज …. । यसपछि नै हो, उसलाई ओठमा लाली लगाउँदा पनि हाँस्न मन लाग्छ, ललिपप खाँदा पनि हाँस्न मन लाग्छ, एक्लै एक्लै । कलेजमा साथीहरूसँग त्यस किसिमको गोप्य भिडियो हेरेदेखि प्रकृति हरेक घटना र प्रसङ्गलाई फरक दृष्टिकोणबाट हेर्ने भई । कसरी ?
र, यो यात्रा कहाँसम्मको हुन्छ ? उसैलाई थाहा छैन ।
अनि परिणाम ?
परिणामको विचार गरेर बाँच्ने हो भने त जीवन के बाँचिएला ? के श्वास फेर्ने मेसिन बन्नु नै जीवन हो र ?
जीवन भनेकै वर्तमान हो । भविष्य त देखा जाएगा ।
स्खलन
लोग्नेले दोस्रो विवाह गरेको थियो आकृतिसँग । पहिलो श्रीमतीको गर्भवती अवस्थामै निधन भएको थियो । केही समय उसलाई यो शोकबाट बाहिर आउन समय लाग्यो । बिस्तारै शोकलाई बैँसले जित्दै लग्यो । अनि ऊसँग बिहे भयो ।
बिहे हुँदा ऊ स्नातक पढ्दै थिई । आफन्तहरूले नै विवाहको कुरा ल्याएका थिए । भनेथे– “काठमान्डुमा घर छ, चल्तीको व्यापार छ । नपुग्दो केही छैन । सौता बन्न जाने पनि होइन । जेठी स्वास्नी मरिसकी, र ऊतिर सन्तान पनि छैन । तैँले उतै गएर पढ्छु भने नि पढ्न पाइहाल्छेस् । उमेर थोरै मिल्दैन । केटो पैँतिस, छत्तिस भयो होला । तर यसले के फरक पार्छ र ? लोग्नेमान्छे अलि बढी उमेर भएकै राम्रो नि ! केही पाउन केही गुमाउनै पर्छ, होइन र ?”
घरमा सबैले आकृतिलाई यस्तै आशयले थुमथुमाए । र, ऊ शनैः शनैः ‘मौनम् स्वीकृति लक्षणम्’ को अवस्थामा आइपुगी । जोसँग भए पनि बिहे गर्नु नै थियो । विवाह नै नगरी बस्ने त्यस्तो कुनै अडानमा ऊ छँदा पनि थिइन । उही तिनचार वर्ष अगाडि र पछाडिको कुरा न हो । यसले जीवनमा भयङ्कर के नै फरक पर्ला र ? उसले आफ्नो चञ्चल चित्त यसैगरी बुझाई ।
मन्दिरमा विवाह भयो सामान्य रूपले ।
प्रेम विवाह थियो वा पहिल्यै चिनेको थियो भने यो दृश्य अर्कै पनि हुन सक्थ्यो । तर भएन ।
पण्डितको
‘ॐ सुमंगलीरियं वधूरिमां समेत पश्यत ।
सौभाग्यमस्यै दत्त्वा याथास्तं वितरेतन’
मन्त्रसँगै उसको सिउँदोमा कसैको सिन्दूर पर्यो । यो बेला एक पललाई आँखा चिम्ली उसले । मन पूर्णतः शून्यावस्थामा पुग्यो । निमेषभर विचारविहीनताको अवस्थामा रही ऊ ।
कन्या नै नभएकाको त विवाहमा कन्यादान हुन्छ । ऊ त हालसम्मै कन्या नै थिई । भरे बेलुकीपछिको कुरा त बेग्लै हो । उसको पनि कन्यादान भयो ।
कन्याममकुले जाता पालिता लालिता सदा
तुभ्यमद्य मया दत्त पुत्र पौत्र विवद्र्धिनी
धर्मेचार्थेच कामेच सदैव सहचारिणी
गौरी कन्यांमिमा विप्र यथाशक्त्या विभूषिताम् ।
ददामी विष्णवे तुभ्यं दत्तांविप्रसमाश्रय ।
मन्त्रसँगै उसको पनि कन्यादान भयो । अब धार्मिक, लौकिक, परम्परागत हिसाबले पनि ऊ अर्कै घरकी भई । जन्मघरकी पाहुना भई ।
साँच्चै उसले आफ्नो कुमारीत्व हालसम्म किन जोगाएकी थिई ? सुहागरातका लागि कि उचित अवसर नपाएर ? खै ! यो त उसैलाई थाहा छैन ।
सारा रीति सकियो । बिहे सकियो । उसलाई अन्माइदिए । बिहेपश्चात् अरूकै घरमा जानुपर्छ भन्ने मानसिक तयारी भए पनि ऊ रोई । अन्मिँदा बेहुलीले रुनु पर्ने परम्परागत प्रक्रियालाई उसले पनि कायमै राखी । नत्र भोलि फेरि गाउँतिर हल्ला उठ्छ, फलानाकी छोरी त अन्मिँदा पनि हाँस्दै हाँस्दै गई । नकच्चरीलाई बिहे गर्न कति हतार भएको रहेछ ! आदि इत्यादि !! तर, यतिले मात्रै पनि होइन । खासमा उसले भर्खरै आफूभित्र उत्पन्न भएको मानसिक शून्यताको चापलाई सहन सकिरहेकी थिइन ।
उमेरको प्रभाव आकृतिमा पनि थियो । अरूको बिहेको बेला, फिल्म हेर्दा, कथा÷उपन्यास पढ्दा त्यहाँ आउने विवाह र सुहागरातको प्रसङ्गले उसलाई भित्रै काउकुती लगाउँथे । अन्य आम युवतीजस्तै सुहागरातसम्बन्धी उसको मनमा पनि छुट्टै कुतूहल र रोमाञ्च थियो । बेग्लै उत्सुकता थिए । सुहागरातको कल्पनाले नै आनन्द दिन्थ्यो । ऊ कहिलेकाहीँ सोच्थी पनि । मेरो पालामा यस्तो होला, उस्तो होला । उसले यस्तो गर्ला, उस्तो गर्ला । म यस्तो गरुँला, उस्तो गरुँला । अलि धेरै लजाएजस्तै गरुँला । उसले अलि धेरै फकाएजस्तो गर्ला । म लाजले उहीसँग टाँसिउँला । ऊ मलाई आफ्नो बाहुपासमा मज्जाले कसेर बाँध्ला । उसको तातोले म तुरुन्तै पग्लिउँला । ऊ मभित्र प्रविष्ट होला । हामी एकाकार होऔँला । त्यसपछि . . . . । त्यसपछि त उसको कल्पना शक्तिले कामै गर्न सकेन । ऊ यत्तिमै खुशी भई ।
अँ त ! स्वर्गीय आनन्द भनेको यस्तै त होला नि । कि अरू नै केही छ ?
(तपाईंको मनमा के थियो ? वा, के छ ? तपाईं पुराना कुरा सम्झिएर यहाँ केही क्षण नोस्टाल्जिक हुन सक्नुहुन्छ । अथवा बाथरुमतिर दौडिँदा पनि हुन्छ ।)
तर यहाँ कथाले उल्टो मोड लिइदियो ।
आकृतिको सुहागरात पूरै अपेक्षा विपरीत र कल्पना बाहिरको भइदियो । यस्तो सुहागरातको त कल्पनासम्म गरेकी थिइन उसले । लोग्नेले केही गफ गरेन । प्रेमले सुमसुम्याएन । कपाल खेलाएन । चुम्बन गरेन । सुन्दरताको प्रशंसा गरेन । बाहुपासमा बाँधेर भविष्यका कुरा गरेन । मदहोस बनाएन । आफूले कुनै सपना देखेन र उसलाई देखाएन पनि । कोही कसरी यस्तो रूढ हुन सक्छ ? मुटु छ भने त पक्कै धड्किन्छ होइन र ?
ऊसँग कुनै तातोपन रहेनछ । उसले आकृतिलाई पगाल्नै सकेन । ऊ यति जड भइदियो कि आकृतिको तातोले उसलाई छुनै सकेन ।
लोग्ने त चुपचाप नाङ्गियो र सुरु भयो । सुरु हुनासाथ ऊ सकियो । र, केही क्षणमै घुर्न थाल्यो । यस्तो पनि हुन्छ ? उसको सहमति, असहमति, इच्छा, अपेक्षा, सन्तुष्टि, असन्तुष्टितिर उसले कुनै चासो दिएन । पूरै मतलबी देखियो । आफू पोखिनको हतारोमा रहेछ, बस् ! घोप्टियो र सकियो । के उसलाई पौरष र पुरुषत्वको बारेमा केही थाहा छैन ?
कुमारित्व भञ्जन भएपछि नै हो आइमाईका दुःख सुरु हुने । कसैले उसलाई भनेथ्यो । आज उसलाई त्यो सत्य हो लाग्यो । किनभने सुहागरातको पहिलो खेपबाटै आफ्नो लोग्नेप्रति उसलाई घृणा सुरु भयो । अहिले उसलाई लाग्छ, त्यो त बलात्कार नै थियो कि ? साँच्चै सुहागरातमा कति युवतीहरू बलात्कृत हुँदा हुन् ? अहिले पो ऊ सोच्छे । त्यो बेला यस्ता विचारहरू कहाँ आउनु ?
हो, यही दिनबाट हो अरूको जीवनको परिभाषा र आकृतिको जीवनको परिभाषामा स्पष्ट फरक आएको ।
समय पञ्चमी पूजामा हिँडेका महिलाको गतिमा लस्याकलस्याक गरिरह्यो ।
आकृति र उसको लोग्नेले पनि यस बिचका कुनै वर्षलाई सम्झेनन् । लोग्नेस्वास्नीको सम्बन्धमा कृत्रिमताको स्पष्टै पर्खाल देखा प¥यो । गोमन साँपझैँ समय घस्रिँदै गयो । त्यही समयले उनीहरूको सम्बन्धलाई थप कृत्रिम बनाउँदै लग्यो । उनीहरूले कसैको जन्मदिन मनाएनन् । विवाहोत्सवलाई पनि पूरै बेवास्ता गरिरहे । दसैँ, तिहार जस्ता चाडबाड त उनीहरूले अरूलाई देखाउनकै लागि मनाइरहे ।
हिजोआज पनि उसको लोग्नेका कैयौँ बानीहरू यस्तै छन् । जुन बानीलाई पुनरावलोकन गर्न उसले कहिल्यै जरुरी ठानेन । उसले पनि लोग्नेलाई कहिल्यै केही भनिन । पहिलो रातबाटै लोग्नेप्रति मरेको मन फेरि कहिल्यै पलाएन । विद्रोहका अनेक आयामहरूमध्ये उसले ‘बेवास्ता’ लाई छनौट गरी । गरिरही ।
अहिले आकृतिलाई लाग्छ– यो मन त एउटा विशाल भकारी रहेछ, जहाँ कैयौँ विषयहरू, कैयौँ कुराहरू भण्डार भएका छन् । कसैलाई पनि अहिलेसम्म भन्न नपाएका र भन्न नसकेका कुराहरू यहीँ त छ । कुनै समय देहसँगै यो भकारीको पनि अन्त्य हुनेछ । बस् ! असन्तुष्ट मन र मस्तिष्कको पनि एक दिन अन्त्य हुनेछ । किनकि, एक दिन हरेक कुराको अन्त्य हुनेछ ।
हिजोआज अलि धेरै पिएर आएका बेला लोग्ने बेडरुममा आउँदैन । बैठक कोठाकै लो–बेडमा ढल्किन्छ वा सोफामा पल्टिन्छ । उसले अहिलेसम्म लोग्नेलाई किन पिएको वा अब नपिउनू भनेकी छैन । तपाईंको स्वास्थ्य कस्तो छ भनेर पनि सोधेकी छैन । किन बैठक कोठामा सुतेको, यतै आउनू वा आएको भए भइहाल्थ्यो पनि भनेकी छैन । सायद भोलिका दिनमा पनि भन्दिन ।
सुहागरातको दिन जुन सपना मर्यो, मन मर्यो, त्यो फेरि जीवित हुनेवाला छैन । जीवन जसरी कटिरहेको छ, बस् !
यसको एउटा फाइदा पनि छ । भोलिपर्सि कुनै दिन लोग्नेको मृत्युमा डाँको छाडेर रुनु पर्दैन । मृत्युको शोक रहँदैन । प्रियजनको मृत्युमा शोक गरिने हो । प्रियजन शरीरको मेलले होइन, हृदयको मेलले बन्ने हो । महसुस गरिने हो । यति बेला उसले एउटा सत्यबोध गरी । लोग्नेस्वास्नीको सम्बन्ध सिन्दूर–पोतेले नबाँधिने रहेछ । चुरा र टीकाले यो सम्बन्धलाई सुन्दर बनाउन नसक्दो रहेछ । सातफेराले पनि यसलाई जुगौँजुग नबनाउँदो रहेछ । एउटै खाट र ओछ्यानले पनि उनीहरूलाई जोडिरहन सम्भव नहुँदो रहेछ । कपडाले यो सम्बन्धको दरारलाई छोप्न नसक्दो रहेछ । भावना र विचार नमिल्दा सम्बन्ध कृत्रिम हुने रहेछ । हरेक विषयलाई हेर्ने आआफ्नो दृष्टिकोण न रहेछ ।
एक दिन एउटा अकल्पनीय घटना भयो । यसलाई दुर्घटना भने पनि हुन्छ । आकृति अझै अलमलमा छे । यस घटनाले ऊ अचम्मित भई । अचम्मितभन्दा पनि बढी विस्मित भई । जुन कुराको उसले कल्पनै गरेकी थिइन, त्यही कुरा उसले प्रत्यक्ष देखी । सहसा स्तम्भित भई ।
मदिराले मातेर अबेर आएको लोग्नेलाई खाना पस्किदिएर ऊ सुत्न गएकी थिई । खाना खाएर लोग्ने आयो र बत्ती बाल्यो । बत्तीले आँखा खायो । ऊ विपरीत दिशातर्फ फर्किई । गुलाबी रङको नाइटी सोहोरिएर नितम्बतिर आइपुगेछ । लोग्ने उसैको सेतो तिघ्रा र नितम्बलाई एकोहोरो हेरिरहेको रहेछ । केही पनि नदेखे जस्तै गरी सुतेरै हातले अलि तलतिर सारी नाइटीलाई । र, पुनः आँखा चिम्लिई ।
केही समयपछि पिसाब लाग्यो । ऊ बाथरुम जान भनेर मोबाइलको मधुरो उज्यालोमा निस्किएकी थिई । कतैबाट हल्का स्याँस्याँको आवाज आइरहेथ्यो । कथित लोग्ने बैठक कोठाकै लोबेडमा सुतेर हस्तमैथुन गरिरहेको रहेछ । उसलाई देख्नासाथ लोग्नेले हतार हतार ब्ल्याङ्केट माथितिर तान्यो र सुतेको अभिनय गर्यो ।
बाथरुममा पिसाब फेर्नु उसले अगाडि पिच्च थुकी ।
***
प्रतिक्रिया
-
४