– रमेशचन्द्र घिमिरे

गाउँका स्थानीय नेताको देहावसान भयो । उनी कुनै अमुक पार्टीका  सक्रिय कार्यकर्ता थिए ।
सख्त बिरामी परेदेखि नै सहरिएका र बिदेसिएका छोराछोरी एवम् बुहारीहरूले बालाई स्याहारसुसार अनि रेखदेख गरेकै थिए ।
एक दुईजना आफन्तहरूलाई कुर्नुपर्ने थियो, ती पनि सबै आइसके ।
यता रुवाबासी चल्दै थियोे । उता गाउँलेहरूले तयारी पूरा गरिसकेका थिए ।
`अब दाहसंस्कारका लागि ढिलो गर्नुहुन्न, गइहाल्नुपर्छ । यहाँ राखिराख्नु भनेको सबैलाई रुवाउनु मात्रै ह‍ो ।´
गाउँलेहरू भन्दै थिए ।
घाटमा लगेपछि पनि धेरै बेर नै कुर्नुपर्ने भयो ।
`किन अल्मल्याई राखेका ह‍ोलान्, है ?´ एउटा गाउँलेको प्रश्नमा अर्को गाउँलेले उत्तर दिए,`नेतालाई कुरेका रे नि त !´
धेरै ढिला गरेर नेता आए, श्रद्धाञ्जलि दिए, झन्डा ओढाए र `हतार छ´ भनेर तुरुन्तै फर्किहाले ।
पछि दुईचार जना मात्रै दाजुभाइ र आफन्त त्यहाँ रहे । तिनीहरूसँग मृतकका परिवारको पार्टीगत भन्दा पनि आत्मीय सम्बन्ध बढी थियो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर