इटहरी – ‘नेपाली भाषा साहित्यको संरक्षण, संबर्द्धन र विकासका लागि हाम्रो अभियान’ भन्ने संस्थाको मूल नाराका साथ सगरमाथा साहित्य प्रतिष्ठान एक नम्बर प्रदेशको आयोजनामा ‘सृष्टि, स्रष्टा र सिर्जना’ कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठान प्रदेश शाखाको अध्यक्ष मिश्रामाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रा. डा. गोविन्दराज भट्टराईल उपस्थिति रहनुभएको थियो।
कार्यक्रमको उद्घाटन बाह्रमासे आँपको बिरुवा रोपेर गरिएको थियो भने प्रदेश शाखा सचिव तथा कवि गजलकार किशोर कोइरालाको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रममा अतिथि वक्ता जैविक दर्शनका अध्येता तथा लेखक मोहन तिम्सिनाले पर्यावरण र साहित्यका बारेमा बोल्नुभएको थियो । तिम्सिनाले पर्यावरणीय ह्रास हुनुमा प्राविधिक त्रुटि नभई मानवीय कारण रहेकाले यसमा मानिस नै जिम्मेवार हुनुपर्ने तर्क राख्दै भन्नुभयो, “धन, पद, शरीर सुख र बढी भन्दा बढी धन सञ्चयले जन्माएको सामाजिक समस्या हो । …निर्धारणवादका कारणले पर्यावरण सङ्कट जन्माएको हो।”
सगरमाथा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष कवि विवेक दुलाल क्षेत्री (दमक) ले सगरमाथा साहित्य प्रतिष्ठानको स्थापना गर्दाका दिनहरू सम्झदै यस संस्थाले गरेको क्रियाकलाप र तत्कालीन दुख कष्टका बारेमा बताउँदै सगरमाथा साहित्य प्रतिष्ठानले अब पर्यावरणीय संरक्षण साहित्य लेखन अभियान नै चलाउन लागेको बताउनुभयो ।
अर्का परिचर्चाकार समालोचक डा. अस्मिता विष्टले नेपाली साहित्यमा पर्यावरणीय प्रभावको चर्चा गर्दै पर्यावरणीय साहित्यका बारेमा विशेष जोड दिनुभएको थियो । डा. विष्टले भन्नुभयो, “यदि साहित्यमा वन जंगल, विविध प्रजातिका रुखपात, चराचुरुङ्गी, खोला नदीनाला र झरनाको वर्णन गरिन्न भने त्यो चाहे मदन पुरस्कार प्राप्त कृति नै किन नहोस अपूर्ण कृति मानिनेछ। …. हामीले भाष्य र धारणा बदल्नुपर्छ ।
जीव जनावरको असल चरित्र मान्छे र फोहोरी राजनीतिसँग दाँजेर गल्ती भइरहेको छ”
अर्का वक्ता तथा समालोचक डा. रामजी तिम्सिनाले  प्रकृतिलाई कलासँग जोडेर वा साहित्यसँग जोडेर कार्यक्रम गर्नु पर्यावरण जोगाउनु हो र प्राकृतिक वातावरण जोगाउन यस्तो कार्यक्रम निरन्तर भइरहनुपर्ने बताउदै भन्नुभयो, “पर्यावरण प्रकृतिसम्बन्धी साहित्य अधिक चेतनाले लेखिने हो ।
जीवजन्तु, बोटबिरुवालाई मान्छेसरहको माया र संरक्षण आवश्यक छ । पशु, बोटबिरुवाको चेतना र व्यवहार पनि मान्छेसरह छ भन्ने बुझ्न सक्नुपर्छ।”
पर्यावरण जोगाउन इटहरी मेट्रिक्समा पाँच सय बढी बोटबिरुवा रोपिएको र कोही नयाँ मानिस वा अतिथि आउँदा थप नयाँ बिरुवा रोप्ने चलन बसालेकोमा तिन्सिनाले पर्यावरण र कलालाई जोड्न इटहरी म्याट्रिक्सले गरेको अथक प्रयासलाई प्रशंसा गर्नुभयो।

अर्का वक्ता किराँत मुन्धुम, पर्यावरण र साहित्यका बारेमा उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष तथा त्रियुगा जनता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा डा. कैलाशकुमार राईले आफ्नो धारणा राख्नु भएको थियो । राईले मुन्धुममा प्रकृतिवादलाई मानिने र प्रकृति पूजामा विश्वास गर्ने हुँदा साहित्यमा यसको महत्वपुर्ण प्रभाव रहेको बताउनुभयो । किराँतहरुले प्रकृति र वनस्पति नै पुज्ने र देवताकै रूपमा मान्ने गरेको हुँदा मुन्धममा पर्यावरणको महत्त्व गहन रहेको बताउनुभयो ।
प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले दोश्रो विश्वयुद्ध सन् १९४५ पश्चात् पश्चिमा देशबाट सुरु भएको र अध्यात्म, प्रकृति र पर्यावरणका बारेमा लेख्न थालिएको बताउनुभएको थियो । वहाँले भन्नुभयो, ‘साहित्य लेखनको विषय पर्यावरणलाई प्राथमिकता दिएर लेखन अघि बढाउनु महत्वपूर्ण हुन्छ । चालीसको दशकपछि नेपालमा पनि पर्यावरणीय साहित्य सिर्जनाको क्रम सुरु भएको थियो । हुन त लेखनाथ पौड्याललगायत कविले राणाकालमै पनि ऋतुवर्णन गरेका काव्य लेखेका थिए ।’
भट्टराईले मानवले आफ्नो शत्रुका रुपमा रहेको किटपतङ्गलाई मार्न प्रयोग गर्ने विषादीले मानवलाई नै असर गरिरहेकोले विषादी प्रयोग नगरिदिन आग्रह गर्नुभयो।  वातावरण स्वच्छ सफा भएमा हामी नै सुरक्षित हुने र हामी सुरक्षित भएमा समाज राष्ट्र नै सुरक्षित हुने बताउदै भन्नुभयो, “नयाँ चेतना पर्यावरणीय साहित्य प्रकृति, अध्यात्म र मानवको मात्र गीत गाएर भएन । मानवेत्तर जगतको पनि प्रशंसा गरौँ । जलवायु परिवर्तनले गर्दा के हुन्छ भविष्यमा साहित्यको दृष्टि त्यतातिर केन्द्रित हुनुपर्छ ।
हरियाली मात्र होइन यसको आत्मा जोगाउने काम हो पर्यावरणीय सिद्धान्त र साहित्य लेखन । पृथ्वी बोल्नेका लागि मात्र होइन, नबोल्नेका लागि पनि हो।”
सुविद गुरागाईंले व्यवस्थापक रहेको उक्त कार्यक्रमको ओैचित्य र धन्यवाद ज्ञापन गर्दै नेपाल शाखा संरक्षक तथा साहित्यकार, जि. पि. तिवारीले भन्नुभयो, विश्वभरी बाताबरणीय सङ्कट छाइरहेको बेला हामीले सचेततापूर्वक वातावरण संरक्षणमा लाग्नुको विकल्प नभएको भन्दै त्यो कामको शुरुवात सगरमाथा साहित्य प्रतिष्ठानले पर्यावरण संरक्षण लेखन अभियान सञ्चालन गर्ने निर्णय गरेको र त्यो निर्णयको कार्यरूप “सृष्टि स्रष्ट्रा र सृजना” कार्यक्रमबाट संस्थाको शाखा प्रदेश एकले शुरू गरिएको बताउनुभयो।
पर्यावरणीय साहित्यको परिचर्चा र रचनावाचन गरि दुई चरणमा सञ्चालित उक्त कार्यक्रमको दोस्रो चरणमा कविहरू, चन्द्र गुरुङ, कवि तथा नाटककार
भरत गुरागाई ‘वर्वरिक’ कवि टीका आत्रेय, कवि गोपाल देवान ( अविराम क्रान्ति), कवि राज आशातीत, कवि रोहिणी रसिक, कवि माधव पोख्रेल ( गोज्याङ्ग्रे ), कवि प्रिन्स प्रमोद ढकाल, कवि तथा गीतकार गायत्री लम्साल, कवि चन्द्र सम्वाहाम्फे र किशोर कोइरालाले रचनावाचन गरेका थिए ।
कार्यक्रम सगरमाथा साहित्य प्रतिष्ठान एक नम्बर प्रदेश शाखा सहसचिव अभिमन्यु अभिजितको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर