-यल्जी विवश

यो बर्ष
दुनियाँले नलेखेको/नदेखेको
एउटा कथा लेख्नेछु म,
-कथाको किताब निकाल्नेछु!

आफ्नो भविस्य शुन्दर
अझै शुन्दर बनाउनेछु र
पोत्नेछु खुशिको पाउडर आफन्तहरुको मुहारमा
आफूसँगै !

चालेको प्रत्येक पाईला
गतिशिल हुनेछन् ,
प्रत्येक सेकेण्डको मिस्यूज हुनेछैन-मबाट !

सबैतिर
उज्यालै उज्यालो छर्नेछु-दिपक बनेर
मुस्कान फूलाउनेछु-सयपत्री बनेर

यिनै सपनाहरुको एक्लो मालिक
मेरो यो हाँसिरहेको “सेल्फि” तस्विर,
भर्खरै फेसबूकमा अप्लोड गरेको छु ,
कति राम्रो कमेन्टहरु आएका हुन्-
सबै कमेन्टलाई लाईक/लभको इमोजी हान्नैपर्यो
धन्यवाद ग्यापन गर्नैपर्यो !

यिनै शुभेच्छुकहरु पनि त हुन्-
भोलिको मेरो “स्टारमेकर”हरु !

चञ्चल आँखामा छल्किरहेको छ-
उस्तै चन्चल सपना,
जसलाई फलाउनुछ,फूलाउनुछ र त
साँझबिहान एक गरेर
हिँंड्नुछ, बस् हिँड्नुछ-
चुम्नुछ- त्यो मेरो अन्तर्मनमा सजिएको एउटा सुन्दर गन्तव्य !
*
पोखराबाट काठमाडौ हिँडेको एउटा गाडिको खुट्टा चिप्लिएको छ-
र बगि गएको छ एउटा सपना-
त्रीशुलीको छालसँगै !
दुई दिन अघि-
सपनाहरुको नायकले फेसबूकमा हालेको आफ्नो हँसिलो तस्विर
अहिले उसैलाई ट्याग गरि बारम्बार पोस्ट भैइरहेको छ
र लेखिएको छ-
“बिस्वासै गर्नै गार्हो भैइरहेको छ…
हार्दिक श्रद्धाञ्जली…
तिम्रो आत्माले शान्ती पाओस्..!”

यो चोटी
ट्याग गरेर लेखिएको पोस्टले सँधै झै
कुनै धन्यवाद/कुनै प्रतिकृया
पाएको छैन,
-आजैदेखी एउटा फेसबुक एकाउन्ट सधैँको लागि “इन्याक्टिव” भएको छ !
*
-जिन्दगी आज हो,अहिले हो,बस् अहिले हो
एकदम थोरै भोलि हो !

***

प्रतिक्रिया

सम्बन्धित खवर