✍️ यल्जी विवश

घाम डुबेको साँझ
निभेको अगेना
छेउमा उभिएको छु–

आँखाहरू उज्यालो खोज्छन्
पैतलाहरू भौतारिन्छन्
र ठोक्किरहन्छन् घरीघरी !

सँधै हिँडेको यहि पिढिँमा पनि
यहि संघारमा पनि
यहि सिकुवामा पनि
यहि बलेसीमा पनि
यहि आँगनमा पनि–

भोकले छटपटाएको
बच्चाजस्तै
शोकमा डुबेको बिधुवाजस्तै
रोगले ग्रसित बटुवाजस्तै
छटपटिएको छ मन–
कतिबेला जल्छ नि चुलो ?
कतिबेला अग्लिन्छ नि चुली ?

घरको धुरीमा बसेर
राती, त्यसै–त्यसै अपशकुन बोल्छ हुच्चिल,
दिउसो, त्यसै–त्यसै मजाक गर्छन् केहि थान कागहरू–
जिर्ण शरीर
कागले जसैगरी नि हँसाउन सक्दैन,
हुच्चिलले कसैगरी नि तर्साउन सक्दैन,

आँगनमा
कमिलाको लस्करले भर्खरै हत्या गरेर बोकेको
फट्याङ्र्ग्राजस्तो हालतमा
छटपटिरहेको छ–मेरो राष्ट्रियता,
गरुडको पञ्जाले भेटिसकेको सर्पजस्तो
आँतिएको छ–मेरो स्वभिमान
र उध्रिँदै गएको कट्टुको धागो जस्तो भएको छ–मेरो अभिमान !

मौसम बद्लिएर होला
आजकाल हिउँ पर्नै छोडेको छ–घरमाथिको अग्लो डाँडामा,
समय बद्लिएर होला–
ज्ञान र ध्यान बिर्सिगएको छ बुद्धले पनि,
देउता हराएर होला–भत्किदैछन्
मनबाट मन्दिरहरू पनि !

रुपि र कागहरुको
कल्याङ्–मल्याङ्ले बहिरिन थालेको छ कान,
कोईली र रानीचरीहरू
हराईगएका छन् आजकाल–
साँझको क्षितिजमा पनि
उज्यालो जन्मिदैन,
प्रभातको क्षितिजमा पनि घाम झुल्किदैन
कुन गोबर–कुहिरोले टालिगएको छ
हाम्रो आकाश–र
फूलहरू झैँ हामीले नि बिर्सिगएका छौँ–
पाईलापाईलामा मुस्कुराउनँ !?

सोच्दैछु–
यो सुख्खा
खडेरीको क्रमभङ्ग नहुँदा–
नदिमा पानी सुकेको दिन के होला
हिमालमा हिउँ सुकेको दिन के होला ?
जोकरको मुखबाट जोकहरू सकिएको दिन के होला ?
माटोले गर्भधारण गर्न छोडे के होला ?
पहाडले पच्छ्यौरी फेर्न छोडे के होला ?
तराईले धोती फेर्न छोडे के होला ?
देसले स्वास फेर्न छोडे के होला ?

एउटा हवाईजहाज भन्दा माथि–माथि
उडिरहेको यहि विश्वमा
एउटा रुमालजत्रो मेरो देश र म
किन दिनदिनै
झन्झन् तल–तल भासिदैँ गएका छौँ ?

गतिशील छौँ
तर कहाँ गैरहेका छौँ ?
स्तब्ध पनि छौँ
तर टाउको नियन्त्रित पनि छैन,

आँखाले करोडौँ पृथ्वीहरू भत्किरहेको देख्छ
मुटुले अस्तित्वविहिन ईश्वरहरूले
नचाइरहेको पुतलीजस्ता मान्छेहरूप्रति दया देखाउँदछ

कसरी
बाँधिएका छन् सिमानाको पिल्लरहरूले देशलाई झैँ
ठूलाको टाउकोको तुनाले
सानाका हर–पदचापहरूलाई !?

कसरी तासेर खाइरहेछन् केरा झैँ
मात्र दुई–चार जनाले
खरबौँ भोका प्राणिको आस्रय यो धरतीलाई !?

घाम डुबेको साँझ–
निभेको अगेना छेउमा
उभिएको छु ,
सोच्दैछु–यहीबाट अब जन्मिनेछ, अर्को घाम

त्यसपछि
कालो–सेतोको बिभेद अन्त हुनेछ, किनभने
त्यसपछि छायाँको रङ नै
जन्मिनेछैन !
सोच्दैछु–
घामको समान राप र तापमा
उस्तै देखिनेछौँ–हामीहरू,
र फेरिनेछ–यो धराको रङ्ग पनि !!

प्रतिक्रिया

सम्बन्धित खवर