– दिपेन्द्र अम्मै

गजल १,
म बाँस बनिरहूँला, झुक्दैमा कहाँ हार हुन्छ
ठाडो रुख जुनसुकै बेला हावाको सिकार हुन्छ ।

राम्रो गर्नुभो, दूई गाँस बाँकी छदै उठ्नुभो
छोडेको टपरीमा पनि सडक बालकको आहार हुन्छ।

मोक्ष खोज्दै-खोज्दै स्वयं कतिसम्म हराईरहनुहुन्छ?
आफैभित्र आफन्त खोज्नुस त्यहीं एउटा संसार हुन्छ।

दाजै भन्छन् , केही गुमाउन पनि सिक्नु पर्छ कान्छा
हिमालले हिउँ गुमाए मात्रै समुन्दको आकार हुन्छ?

गाउँमा भोक छ, शोक छ राजधानीलाई थाह छैन
मौसुफलाई भेट्नु छ अब कि वार कि त पार हुन्छ।

गजल २,
उसले केही जानेको छैन,वचन बिर्सिन जानेको छ
पानी नदिने छिमेकीलाई पनि रगत दिँन जानेको छ।

पराल पाएको छैन दूध दिन नसक्ने गाईले
मान्छेले क्या मिठो गरी बदला लिन जानेको छ ।

बालाई पिर थियो छोराले बाटो बिराउला
छोराले गाँऊ बिराएको हो शहर सम्झिन जानेको छ।

कसौंडीलाई बरु आफ्नो धर्म थाहा छ
अरूको पेट भर्न उसले रित्तिन जानेको छ।

ढुंगा हानिरहेछ मान्छेले, मान्छेकै हुलमा
हाँसको चल्लो बरु कुखुरासंग मिस्सिन जानेको छ।

***

प्रतिक्रिया

सम्बन्धित खवर