अविनाश भट्टराई

कति कुरा समयसँगै छुटेर जान्छन्

छुटेर जान्छन् पहेँला पातहरू रूखबाट
छुटेर जान्छन् पूराना कपडाहरू शरीरबाट
छुट्दै छुट्दै जान्छ नदीमा बहने पानी
छुट्दै छुट्दै जान्छ हिजोको जवानी

छुटेर जान्छ कुनै इतिहासको पाटो
जसरी छुटेर गयो
जङ्गबहादुरको तिलस्मी घोडा
रणबहादुरको साँढे
महेन्द्रको रोयल बेङ्गाली टाइगर

छुटेर जान्छन् बिरामी परम्पराहरू
जसरी छुटेर गयो सती प्रथा
कमलरी प्रथा
हलिया प्रथा

अगाडि हिँडदै जाँदा
पछाडि केही त अवश्य छुट्छ
जसरी छुट्छ कोसेढुङ्गा यात्रामा
जसरी छुट्छ बेस क्याम्प शिखरको बाटोमा

अगाडि हिँडदै जाँदा
पछाडि केही त अवश्य छुट्छ
जसरी छुट्छ निरङ्कुशता लोकतन्त्रमा
जसरी छुट्छ सामन्तवाद गणतन्त्रमा

समयसँगै छुटेर जान सक्छ
टाउकोबाट कपाल
गिँजाबाट दाँत
शरीरबाट शक्ति

परिस्थितिसँगै छुटेर जान सक्छ
राजाबाट श्रीपेज
जनताहरूबाट रैती
दरबारबाट मोजमस्ती

छुटेर जान नसक्ने के पो हुने रहेछ र?
बोल्दाबोल्दै आवाज छुटेर जान सक्छ
हाँस्ताहाँस्तै हाँसो छुटेर जान सक्छ
जिउँदाजिउँदै जिन्दगी छुटेर जान सक्छ

कसैगरी रोक्न नसकिने रहेछ छुट्नेहरूलाई
कसैगरी छेक्न नसकिने रहेछ यो प्रकृतिलाई

के उठाउनु पश्चातापको बोझ छुटिजानेहरू सम्झिएर?
के मारिहिँड्नु उर्जा छुटिजानेहरूको चिन्ता गरेर?
बरू बालिदिनू एउटा बत्ती
उनीहरूको सम्झनामा
कि झिम्काईदिनू एउटा आँखा
उनीहरूको नाममा।

***

प्रतिक्रिया

सम्बन्धित खवर