
– शारदा पौडेल
फेब्रुअरी महिना भएकोले वातावरण चिसो थियो । चिसो भएपनि मानिसहरुको चहलपहल बढी नै देखिन्थ्यो । मानिसहरुको रौनकताले गर्दा कठाङग्रिने वातावरण पनि निकै गर्माएको हो कि जस्तो लाग्थ्यो । कारण थियो सबैको प्रतिक्षाको दिन अर्थात फेब्रुअरी चौध ।
बाटाभरि युवायुवतीदेखि वयोवृद्धहरु सबैले चिसो वातावरणलाई चुनौती दिँदै हिँडेका थिए । शरीरमा न्यानो खालका कपडा पनि त्यति थिएनन् । झन् युवायुवती त हाफ कपडामा सजिएर हिँडेका थिए । त्यो दृष्य देख्दा उनीहरुको जाडोपनलाई नै फूलले खाएको हो कि भन्ने कुरा महसुस गर्न सकिन्थ्यो ।
यस दिनमा हरेकलाई फूल बेच्न छुट थियो । त्यसैले प्रत्येक चोक चोकमा फूल बेच्न मानिसहरु बसेका थिए । यसरी बेच्नेहरुमा आप्रवासीहरु नै बढी देखिन्थे । खास गरि यस्तो काममा मोरोक्कियन महिलाहरुको नै बाहुल्यता हुन्थ्यो । उनीहरु बिहान सबेरैदेखि राती बाह्र एक बजेसम्म फूल बेच्न बस्दथे ।
सारालाई मायाको चिनो फूल बेच्ने ती महिलाहरु नै मायाका भोका थिए । उनीहरुले श्रीमानको ज्यादती सहनुपरेको हुन्थ्यो । फूल दिएर माया पाउने भए यिनीहरुले श्रीमानलाई फूल दिँदनथे होला र ? बाँकी थियो होला र फूल दिनको लागि । दिनभरि मागेर या फूल बेचेर कमाएको रकम पनि श्रीमान कै मनोमानी र मोजमस्तीमा उड्थ्यो ।
दिन ढल्कँदै थियो । बाटामा मानिसहरुको भीड झन् बढ्दै थियो । त्यत्रो भीडमा पनि विना गुलाबको मानिस देखिँदैनथ्यो । हरेकले आफ्नो हातमा गुलाबको फूल लिएर नै गन्तव्य स्थानतिर लम्किरहेका थिए ।
केही वर्ष अगाडि तिरको कुरा हो । एकदिन म कामबाट फर्कँदै थिएँ । एकजना परिचित बहिनी बाटोमा भेट भएकाले केही समय कुरा गर्यौँ । उनले कुरैकुराको सिलसिलामा भ्यालेन्टाइनका बारेमा पनि भनिन् । मलाई यसबारे केही थाहा थिएन । भ्यालेन्टाइन भन्ने शब्द सुनेको नै त्यो पहिलो दिन थियो । मैले त्यस भन्दा अघि नत नाम सुनेकै थिएँ । नत कतैबाट त्यसका बारेमा जानकारी नै पाएकी थिएँ ।
समय गतिशील हुनाले मानिसलाई कहाँ कहाँ पुर्याउँदो रहेछ । केही वर्ष अगाडि रोज डेको बारेमा थाहा नभएकी म अहिले रोज डे मनाउने देशमा बसेर प्रत्यक्ष रुपमा देख्ने मौका पाएँ । यसरी प्रत्यक्ष रुपमा रोज डे का गतिविधिहरु नियाली रहँदा पनि मनमा अनेक प्रश्न उब्जन भने छोडेका थिएनन् । प्रेमी प्रेमिका बीच गुलाबको फूल दिएर माया प्रगाढ हुन्छ ? यदी हुन्छ भने यिनीहरुको बिहे किन टिकाउ हुँदैन ? केही समय पछि नै यी प्रेमिल जोडी किन छुट्टिन्छन् ? यिनीहरुको जोडी त युगौँयुग भनौँ मृत्युपर्यन्त टिकिरहन पर्ने होइन र ? मेरो दिमाग भरि एकपछि अर्को यस्तै कुराहरु आइरहेका थिए भने आँखा मानिसहरु कै भीडमा हराइरहेका थिए । आँखाले नजिक भन्दा टाढा टाढा हेर्न चाहेको थियो । म आँखा कै चाहना पुर्याउनका लागि तल्लिन थिएँ ।
“यो फूल तिमीलाई ” एक परिचित आवाजले मलाई झस्कायो । नब्बे वर्षिय एक वृद्धले मेरो अगाडि हात तेर्साउँदै भने ।
गुलावको फूल मलाई ? अचम्म लाग्यो । अझै भनौँ भने त्यो फूल देख्दा मेरो सातो उड्यो । उभिएको जमिन नै भासिए झैँ भयो । फूलतिर हात बढाउने साहस भएन । केही भनौँ भने वृद्ध मान्छे । नभनौँ भने त्यो गुलाबको फूल । न लिन सकेँ न लिन्न भनेर भन्न नै । उनैलाई एकोहोरो हेरिरहेँ । नानाभाँती सोच्न थालेँ । शरीर तातेर आयो । चिटचिट पसिना छुट्यो । उनका हात मतिर लम्किरहेकै थिए । वास्तवमा उनले आफ्नै हात धान्न सकिरहेका थिएनन् । हात थर्रथराइ रहेका थिए । त्यस्तो एक वयोवृद्ध मान्छेका हातमा थियो गुलावको फूल । मलाई त्यो फूलले उनैलाई गिज्याइरहे झैँ लागेको थियो ।
तीन छोराहरुको बाबू भएपनि उनका घरमा छोराहरु बस्दैनथे । हप्तैपिच्छे पालो गरीगरी तीनैभाइ छोराहरु भेट्न आउँथे । केहीछिन भलाकुसारी गर्दथे र जान्थे । उक्त दिन यी बूढा बा निकै खुशी हुन्थे । खुशी व्यक्त गर्न उनी मैले काम गर्ने ठाउँमा आउँथे । र घण्टौँ बसेर कुरा गर्दथे ।
केही वर्ष अगाडि श्रीमतीको मृत्यु फोक्सोको क्यान्सरका कारण भयो । ऊ गएपछि यो संसार मलाई सारहिन लाग्छ । श्रीमती भनेको जीवनको साथ हो । ऊ शारीरिक भोगका लागि मात्रै होइन । जीवनका हरेक आरोह र अवरोहका निम्ति साथ दिने साथी हो । ऊ हिँड्न डुल्न सक्ने बेलासम्म त हामी घरमा कम बस्थ्यौँ । विभिन्न ठाउँहरुमा घुम्थ्यौँ ।
बुढ्यौलीको जीवन हाम्रो लागि हो । यो बेलामा हाम्रा सम्पूर्ण जिम्मेवारी पूरा भइसकेका हुन्छन् । छोराछोरी र देशको काम कर्तव्यबाट छुट्कारा लिइन्छ । यसरी छुट्कारा लिएको जीवन नै जीवनको महत्त्वपूर्ण समय हो । आफ्नो उमेर र जोश जाँगर भइन्जेल काम गर्नुपर्छ । आफ्ना विभिन्न जिम्मेवारीलाई बोध गरेर हिँड्नुपर्छ । जब सारा जिम्मेवारी सकिन्छ त्यसपछिको जीवन आनन्दको जीवन हो । त्यसैले आनन्द लिन जान्नु पर्छ । यस्तै कुरा उनका मुखबाट अनवरत रुपमा आइरहन्थे ।
उनी प्रायःजसो फुर्सदमा हुन्थे । उनलाई दिन कटाउन गाह्रो भएका बेलामा मैले काम गर्ने ठाउँमा आएर बस्थे । उनैबाट मैले यहाँको जनजीवनसम्बन्धी धेरै कुराहरु थाहा पाएकी थिएँ ।
“मैले यो फूल तिम्रो लागि किनेर ल्याएको हुँ । के तिमीले यो फूल लिन चाहन्नौ ? किन तिमीले ममाथि विश्वास गर्दिनौ ?” – प्रश्न गर्न थाले ।
“होइन लिन्छु । मलाई तिमीप्रति पूर्ण विश्वास छ । मलाई फूल दिएकोमा तिमीलाई धन्यवाद भन्दै हात बढाएँ । तर मन बढेको थिएन । के गर्नू ? कहिलेकाहीँ मनलाई रुवाएरै भएपनि हात बढाउन पर्ने परिस्थिति पर्दो रहेछ ।
जब फूल लिएँ तब एकजना दिदीका भनाइहरु सम्झेँ । “नानी यहाँ जवान पुरुष भन्दा वृद्ध पुरुष अलि छाडा प्रवृतिका हुँदा रहेछन् । यिनीहरु अपाच्य शब्दहरु बोलेर भएपनि आफ्नो आत्मलाई सन्तुष्टि दिन्छन् । तसर्थ वृद्धहरुसँग धेरै नजिक भएर बोल्न हुँदैन । शुरुमा मलाई पनि यिनीहरुसँग बोल्दा भाषाको विकास हुन्छ लाग्थ्यो । त्यसैले बुढाबुढी मान्छेसँग नजिक भएर बोल्थेँ । यिनीहरुलाई देख्दा बाबू आमाको झल्को मेटिन्छ जस्तो लाग्थ्यो । ”
प्रायःजसो बोलिरहने वृद्ध मान्छेले एकदिन अनौठो प्रस्ताब राख्यो । जुन प्रस्तावले म छाँगाबाट खसे जस्तै भएँ । त्यसप्रति रहेको मेरो सम्मान भाव एकाएक हरायो । उसलाई निच र भुस्याहा कुकुर जस्तै लाग्न थाल्यो । त्यसदिनदेखि म कुनैपनि वृद्ध मान्छेको नजिक भएर बोल्दिन । यहाँ त जवान भन्दा वृद्ध मान्छेहरु खतरनाक हुन्छन् ।
यस्ता कुरा सम्झनासाथ मलाई फूल र वृद्ध दुवैलाई थुक्न मन लाग्यो । फूल उसैका अगाडि कच्याक्क कुचुक्क पारेर भुइँभरि फालिदिउँ जस्तै भयो । तर त्यही गर्नु मात्रै पनि त समाधानको उपाय थिएन ।
त्यो फूल भारी अनि गरुँगो भयो । त्यो गरुँगो भारीलाई कतै लगेर बिसाउन मन लाग्यो । म फूल लिएर भित्र पसेँ । भित्र टेबुलमाथि प्लास्टिकको फूल राखेर सजाइएको थियो । हातमा गुलाब फूल बोकेर जाँदा प्लास्टिकका फूलका पत्र पत्रले मलाई गिज्याएको भान भयो । चिच्याउँदै हातमा लिएको गुलाब फूलका पत्र पत्र उधारेर फालम् जस्तै भयो ।
एकछिन सम्म मलाई बाहिर निस्कन मनै लागेन । मनमा अनेक तर्कना आउँथे र विलीन हुन्थे । मनभित्र हुरी चलिरहेकै थियो ।
बाटोमा क्रमिक रुपमा मानिसहरुको चाप घट्दै थियो । अघिको भीडभाड बाटो अहिले प्राय सुनसान जस्तै भएको थियो । बाटो सुनसान भएपनि मेरो मन सुनसान हुन सकिरहेको थिएन । मनभित्र हुरिकेन र सुनामी आइ नै रहेका थिए । तिनीहरुलाई मत्थर बनाउनको लागि भित्तामा झुण्डाइएको टेलिभिजन खोलेँ ।
टेलिभिजनमा रोज डे कै बारेमा कार्यक्रम देखाइरहेको थियो । एउटा भव्य समारोहमा राजारानीको उपस्थिति थियो । राजारानीले त्यहाँ उपस्थित भएका बालबालिका देखि लिएर सर्वसाधारण सबैलाई फूल दिइरहेका थिए । राजारानीले मात्रै होइन अन्य सर्वसाधारणहरुबीच पनि फूलको आदानप्रदान भइरहेको थियो । जब मैले टेलिभिजनमा त्यो दृष्य देखेँ । तब त्यो गुलाबको फूलको माया लागेर आयो ।
मेरो संकुचित सोच देखेर आफैलाई घृणा लाग्यो । सोचेँ ,कति सानो दिमागले घर गरेको रहेछ ममा । हामी पछाडि पर्नुको एउटा कारण यही सानो सोचाइ हो । सोचाइ फराकिलो बनाउन किन सकिन ? त्यसैले आफुलाई घृणा र आत्मग्लानीको राफमा डढाउँदै फूलको नजिकै गएँ ।
मैले त्यो फूललाई सम्मानपूर्वक हेरेँ । र निकै जतनसाथ फूल उठाएँ । एउटा सिसाको ठूलो बोतलभरि पानी भरेँ । र त्यो फूललाई सिसामा राखेँ । एकाएक उक्त फूलले टेबुलको मात्रै नभएर कोठाको नै सौर्न्दर्य दियो । फूलको बास्नाले कोठा नै सुगन्धित बनायो । पुन: एक पटक फूललाई हातमा लिएर राम्रोसँग हेरेँ । फूलका भित्रिभागमा फक्रन बाँकी स साना कोपिलाहरु पनि थिए।
ती कोपिलाहरु भोलि अवश्य फक्रिने छन् । यस कोठाको सौन्दर्य अझै बढाउनेछन् । यस्तै कुराले मनमा खुशी र आत्ममा सन्तोष लिएर म बाहिर निस्किएँ । त्यहाँ जाँदा ती वयोवृद्ध घरतिर लागिसकेका थिए ।
उनले मलाई कहिले यहाँको भाषा संस्कृतिका बारेमा त कहिले नियम कानुनका बारेमा सिकाउँथे । भाषा बोल्ने अभ्यास गराउने भूमिका पनि उनको थियो । यति महत्त्वपूर्ण भूमिका निभाएको आदर्श व्यक्तिलाई फूलको कारण घृणा गरेकी थिएँ ।
मान्छेको मन कति छिटो परिवर्तन हुन्छ । केही समय पहिला उनलाई बा समान सम्झन्थेँ । मान र सम्मान गर्थेँ । फूलको अर्थ र आदानप्रदान गर्नुको कारण नबुझ्नाले मनमा विभिन्न नकारात्मक भावहरु उत्पन्न भए । अहिले फूलका बारेमा थाहा पाएपछि उनीप्रति उर्लेको यो सद्भाव देखाउन समयले साथ दिएन ।
भोलिपल्ट म पुन काममा आएँ । काम गर्ने ठाउँ बाहिर केही मानिसहरु जम्मा भएका थिए । ती जम्मा भएका मानिसहरुको भीडमा त्यही वयोवृद्ध अनुहार कतै देख्छु कि झैँ लाग्यो र आँखा दौडाएँ । तर उनी देखा परेनन् ।
म काममा भए पनि आँखा बाटोभरि विछ्याइएकी थिएँ । तर उनको उत्तोपत्तो भएन । प्रायःउनी आउने समय पनि कटिसकेको थियो । मनमा नराम्रोसँग चिसो पस्यो । मैले उनीप्रति देखाएको नमिठो व्यवहारको परिणाम ठानेँ ।
केही समयपछि उनको छिमेकी म भएको ठाउँमा आए । उनको मुहार उदास थियो । उनलाई देख्ना साथ औपचारिकता निर्वाह गरेँ ।
” नानी तिमीलाई दुखद घटनाको बारेमा थाहा भयो ” – उनले सोधे । “कस्तो घटना ” – मैले प्रश्न गरेँ ।
” तिमीले बाबा भन्ने व्यक्तिले यो संसारलाई छाडेर गए । ” यति सुन्नासाथ म छाँगाबाट खसे झैँ भएँ । मभित्र ग्लानीको ज्वाला धन्कियो । म केही बोल्नै सकिन । भित्र गएँ र फूल हेरेँ । फूल ओलाएर झर्नै लागेको थियो । फक्रिन बाँकी कोपिलाहरुले जमिनतिर हेरेर मुन्टो झुकाइरहेका थिए ।
***
प्रतिक्रिया
-
४