बाह्र वर्षदेखि पत्रकारिता गर्दै आएका नवीन अभिलाषी लेखनको शिलशिला भने त्यो भन्दा लामो छ । फुटकर साहित्य लेखनबाट पत्रकारितामा छिरेका अभिलाषीको प्रमुख पाटो साहित्य लेखन हो । र विधागत रूपमा कविता उनको प्रमुख धार हो । दाङको घोराही स्थायी घर भएका अभिलाषी विशेष त वैचारिक कविको रूपमा छवि निर्माण गरेका छन् । ‘इश्वरको अस्थिपञ्जर’ र ‘एकात्म’ उनको यसअघि नै प्रकाशित कविता संग्रह हुन् । ‘मौलामा बाँधिएको राँगो’ उनको हालै प्रकाशित कविता संग्रह हो । आज आँगनको बसाईमा सहकर्मी जनक कार्कीले सेतोमाटोका लागि उनको ‘मौलामा बाँधिएको राँगो’ कृषि र समसामयिक विषयमा गरेको पुस्तक र्वाता यस्तो छः

‘मौलामा बाँधिएको राँगो’ कविता सङ्ग्रह गएको हप्ता मात्र लोकार्पण भएको छ । कविता सङ्ग्रहको नामले धेरै कुरालाई संकेत गरेको छ । मौलामा बाँधिएको राँगोले जीवनको अन्तिम स्वास फेरिरहेको हुन्छ, नेपालीको विवशतासँग पनि यसलाई जोडेर हेर्न सकिन्छ । यस सङ्ग्रहले कस्ता कवितालाई बाँधेर हिँडेको छ ?

मैले एक दिन त्यो अन्तिम सेतो जिराफबारे पढेँ । केन्यामा पाईने सेतो जिराफ केहि समयमै संसारबाट विलुप्त हुँदैछ । यो कुराले म भित्रैबाट हल्लिएँ । यदि त्यो पोथी सेतो जिराफले सोँच्न सक्दो हो भने आफ्नो अस्तित्व बारे के मनन गर्दो हो ? मृत्यु पनि यस्तो खतरनाक मृत्यु ?

मलाई लाग्यो हामी पनि कुनै न कुनै हिसावले सेतो जिराफ भएर बाँचिरहेका छौँ ।

किताबमा धुलोको एकालाप छ । उडान अघिको वक्तब्य छ, उडान हुँदै गर्दाको अनुभूती छ । भुईभूलहरूको चेतनाले निर्माण गरेको सपनाको आकाश छ । सिमान्त भूगोलमा बाँचिरहेका तमाम कथाहरूको सङ्ग्रह हो ‘मौलामा बाँधिएको राँगो’ । जस्ले मृत्यु चेतनाको सौन्दर्य पाठ मात्र गर्दैन, नयाँ सम्भावनाका बाटोमा लालटिन बालीदिन्छ ।

हाम्रो लेखनबाट मानवीय मूल्य र चेतना क्षयीकरण हुँदै गरेको समयमा कविता लेख्नु निक्कै गाह्रो कुरा हो । अहिलेको विषम परिस्थितीमा कविता लेख्नु नै आन्दोलन हो । यीनै आन्दोलनको पुछारमा उभिएर एउटा आम मानिसले बाँचेको जिवन र त्यसका दुखहरु मैले लेखेको छु ।

तपाईंलाई बैचारिक कवि भनेर समकालीन कविहरूले सम्बोधन गरेको भेटेँ, बैचारिक कविता भनेको के हो ?

कवि भनेकै बैचारिक जात हो । विचार विनाको कविको अस्तित्व हुन्न ।

संसारमा नियोकर्टेक्स ब्रेन लिएर बाँचेको मानव मध्य पनि सचेतपूर्वक बाँच्ने कविहरू हुन् । कति मानिसहरू छन् शहरमा उनीहरू जान्दैनन्, जीवनको मूल्य के हो ? कविहरू बेहोस् मै किन नबाँचेको होस्, बेहोस्मा बाँचिरहेको छु भन्ने थाहा पाएर बाँच्नु निक्कै सुन्दर कुरा हो ।

संसारमा हरेक कुराको कारण छ । काँक्रामा किन ९५ प्रतिशत पानी हुन्छ ? त्यसको कारण छ, मेरो प्रेमीकालाई किन रातो रंग मन गर्दैन त्यसको पनि कारण छ । कुनै पनि कारण विना संसारमा केहि भएको छैन ।

विचार पनि त्यति हो । एरिस्टोटलले विचारमाथि विचार गर्नु भन्दा पहिले पनि विचारहरू थिए । यहाँ हरेक कुराहरू विचारले निर्माण गरेका हुन् । सडक एउटा विचार हो, आकाश एउटा विचार हो । आमा, बाबु र श्रीमती यी सबै विचारहरू हुन् ।

त्यहीँ विचार र त्यसको प्रयोगको एउटा कोण कविता हो ।

कविता बिचार र कलाको समिश्रण हो भन्छन्, आजभोलि कवितामा कहिँ विचार पक्ष हावी भएको देखिन्छ भने कतै कला पक्ष हावी भएको पाइएको छ, यहाँका कविताहरूमा विचार र कलाको तालमेल कस्तो छ ?

यो त धेरै नै सतही कुरा भए । बजारले सस्तो बस्तुको व्यापार बढी गर्छ जनक जी । कवितामा विचार कि कला भन्ने कुरा त के बहसको विषय भयो र ?

कविता भनेकै विचार र कला सहित आउने कुरा हो । कविता न विचार विना निर्माण हुन सक्छ न कला विना नै । हाइड्रोजन र अक्सिजन विना पानी कसरी बन्न सक्छ ? तर हाम्रो बजारले पानी निर्माण हुन हाइड्रोजन चाहिन्छ कि अक्सिजन चाहिन्छ भने जस्तो भयो ।

संसार किन यति सुन्दर छ थाहा जनक जी ? आकाश छ, त्यो निलो छ, फूलहरू छन्, त्यसका विछट्टै प्रेमील रंगहरू छन्, आमाहरू छन्, प्रेमीकाहरू छन्, छोरीहरू छन् । दरवार छन्, मुर्तीहरू न्, सडकहरू छन् । संसार सुन्दर हुन कति धेरै कुराहरू छन् । तर सौन्दर्य निर्माण गर्ने कविता विना सबै सबै अपुरो र अधुरो छन् ।

कुनै पनि बस्तुको अस्तित्व ज्ञात हुन आफूभित्र कवित्व हुनु जरुरी छ । मेरो बाउले कवितामय जीवन बाँचे तर उनले कविता लेखेनन् ।

सहज रूपमा यसरी बुझौँ, विचार भनेको ढिँडो हो र कला भनेको भाँडो हो वा खाने प्रक्रिया हो । के खानु हुन्छ, त्यो विचार हो, कसरी र केमा राखेर खानु हुन्छ त्यो कला हो ।

यहाँले कविता लेख्दा कुनै वादको फेरो समातेर लेख्नुहुन्छ कि स्वतन्त्र भएर लेख्नुहुन्छ ?

म ति तमाम वादहरू बारे जान्दिन । जीवनभन्दा अर्को वाद मलाई थाहा छैन र त्यो जीवन स्वतन्त्र हुनुपर्छ भन्ने ठान्छु । मेरा कविताहरू मेरो जीवनका प्रतिलिपी हुन् । मेरा कविताहरू मेरो जीवन भन्दा एक इन्च पर छैनन् ।

कविता बाहिर आईसकेपछि धेरैले मलाई क्रान्तिकारी भने । कम्यूनिष्ट कवि पनि भने । कतिले प्रगतीशील भनिदिए । कतिले त मलाई चरम निराशावादी कवि भनि दिए । तपाई शून्यवादी कवि हो ? भनेर सोध्नेहरू पनि छन् ।

संसारमा दिन र रात छन् भने मैले दिनको मात्र कविता लेखिन, रात पनि लेखेँ । जीवन आँसु र हाँसो हो भने मैले आँसुको कविता पनि लेखेँ । उकालोको भिडमा मैले ओरालो बारे लेखेँ । तर ओरोलो लेँख्दै जाँदा उकालो लेख्ने दिन आउदो रहेछ, रात लेख्दै जाँदा उज्यालो लेख्ने घडि आउदो रहेछ ।

कुनै न कुनै रूपमा मैले जीवन लेखेँ । त्यो जीवनमा आशा देखेँ । मैले त्यति लेखेँ ।

आजभोलि कविताको विमर्श हुँदा कवितामा मुद्दा उठाउन पर्छ भनिन्छ, मुद्दा बाहिर पनि मान्छेका आवश्यकता हुन्छन् । जस्तै जीवन–जगतका आध्यात्मिक चिन्तनको आवश्यकता, आशा र निराशाबीचमा प्रेरणाको आवश्यकता, प्रेम र करुणाका आवश्यकताहरूलाई समेट्नु कविको धर्म होइन र ?

तपाईले राजनीतिक मुद्दा भन्न खोज्नु भएको हुन सक्छ ।

संसारका प्राणीहरूमध्य मानिसलाई मात्र दुःख छ । अहिलेको अभूतपूर्व विकास, प्राकृतिक स्रोत साधनमाथिको चरम हस्तक्षेप हुँदाहुँदै पनि मानिस किन दुःखी ? यसको एक मात्र कारण हो व्यवस्था । मान्छे दुखाउने व्यवस्था हामीले किन निर्माण गयौँ ? संसारमा सबैभन्दा पछि आएर सबै भन्दा कम संख्यामा रहेर पनि यो जातिलाई किन पुगेन पृथ्वी ?

मानिसका व्यक्तिगत कुण्ठा र रूवाईको तुलनामा व्यवस्थागत विषयहरू प्राथमिकतामा परेका छन् । त्यसैले यो व्यवस्था माथि बढि भन्दा बढि सोच्न जरुरी छ । किनकी तपाईको आध्यात्मिक चिन्तन कस्तो हुने ? पुरुषलाई घरमा श्रीमतीलाई हुदा हुँदै बाहिर किन प्रेमिका चाहिने ? भन्ने कुरा व्यवस्थामा भर पर्ने कुरा रहेछ ।

नेपाली समाज झन अप्ठेरोमा छ, दलितले मान्छे हुन नपाएको बेला संसारबाट गिद्धहरू लोप हुँदैछन्, बचाउन पर्छ भन्ने चेत हामीले कहिले विकास गर्ने होला ?

त्यसैले एउटा सिङ्गो व्यवस्था निर्माणमा कुन मुद्दा प्राथमिकतामा पार्ने ? अहिलेको साँच्चिकै गम्भीर विषय हो । यो संसार त यसै पनि चलेकै छ, कविताको महत्व के छ समाजमा ?

पृथ्वीको गति बदल्न सकिदैन । तर, आफू बाँचेको र बाँच्न खोजेको समाज आफू अनुकल बनाउन सकिन्छ । जङ्गलको निलकाँडालाई घरकै आँगन छेउमा रोप्न सकिन्छ र काँटछाँट गरेर चिटिक्कको पर्खाल बनाउन सकिन्छ ।

कविता लेख्नु भनेको संसारलाई अझ सुन्दर बनाउनु हो । मानिसका लागि मात्र होइन, चराहरूका लागि पनि । यो संसार यो समाजमा धेरै कुराहरू मिलेको छैन । मान्छेले मान्छे खाने समाजमा कविताले के गर्छ ? भन्नेहरु भेटिन्छन् । कविता भनेको आन्दोलन हो, जो बन्दुकभन्दा बलियो हुन्छ ।

कविता चेतनाको उच्चतम विन्दु हो । समाज निर्माणको इन्जिनियरिङ कविताले गर्छ । जस्तो कि लैङ्गिक समानता विना संसार सधै कुरुप हुन्छ । त्यसैले संसार चलिरहेकै छ भनेर अहिलेको कविले वा सचेत वर्गले छुट्टी पाउँदैन, समाजलाई सधै उज्यालो देखाउने प्रयत्न जरुरी रहन्छ ।

आजको डिजिटल युगमा मान्छेको लागि भूल्नलाई धेरै माध्यम छ, मान्छे सस्तो मनोरञ्जन हराउने सजिला उपायहरू छन्, यस्तो जटिल समयमा कविताको उपस्थिति बनाइराख्न के कस्तो कुरामा ध्यान दिनुपर्ला ?

सृष्टिको संरचना नै त्यसरी निर्माण भएको छ, कि ९५ प्रतिशत मानिसहरू जन्मिएको र मरेको थाहा हुँदैन । यहाँको विकास के हो ? चेतना के हो ? जीवन र यसका दुःखहरू के हुन् ? उनीहरू जान्दैनन् । उनीहरू बजारका हिस्साहरू हुन्, भीडहरू हुन् । हामीहरू किन यस्ता छौँ भन्ने बारे सोँच्ने होईन, सोँच्नुपर्छ भन्ने पनि जाँन्दैनन् । यो संसारको जटिल कुरा हो ।

निश्चित कालखण्डमा मनोरञ्जनका आयामहरू निर्माण हुन्छन् । छुने छाम्ने, पिउने पिलाउने मनोरञ्जन समाजको प्रमुख विषयहरू हुन् । तर कतिले कवितालाई मनोरञ्जनको हिस्सा मान्ने गरेको म आफँै पनि पाउँछु ।

तर कविता खेलाँची होईन । यो मनोरञ्जन होईन । मानव समाजको दिशानिर्देश गर्ने कुरा कसरी मनोरञ्जन हुन सक्छ ? शासकलाई नकाटेर सत्ता खोस्नु, बन्दुक नपड्काएर युद्ध जित्नु यो खेलाँची कुरै होइन ।

हिजो राजाहरूले किन गीत लेखे ? अहिलेका शासकहरू किन कविता लेख्दैछन् ? किनकी उनीहरुले बुझेका छन् यसको ताकत । मैले बारम्बार भन्ने गरेको छु, जव शासकले कविता लेख्न सुरू गर्छ, त्यसपछि कविताको मृत्यु हुन्छ । कविता छ माटोबाट, धुलोबाट, नितान्त भुइबाट लेखिने कुरा हो ।

र यो कविता कुनै समय र कालखण्डमा सुस्ताएको जस्तो देखिए पनि हुरी चलेको बेला, आगो बलेको बेला तपाईले भने जस्तो मुद्दाहरू बोकेर आउछन् ।

कविले लेखेपछि त सुसाइड नोट पनि कविता बन्दोरहेछ, तपाईं भाग्यमानी सुसाइड सर्भाइभर जसले आफ्नै सुसाइड नोटलाई जीवित अवस्थामा पढेर सङ्ग्रहमा नै समावेश गर्ने शौभाग्य पाउनु भयो । सुसाइड नोटको कविता पढ्दा के सोच्नुहुन्छ अहिले ?

ईश्वर वल्लभको एउटा कविता छ, मेरी आमाले आत्महत्या गरेको देश । उनले त्यो कवितामा त्यो देश लेखेका छन् जहाँ आमाले आत्महत्या गरेकी छन् । यो आफैँमा बढो सम्वेदनशील कुरा भयो नै । उनै इश्वरको कविताको प्रतिउत्तरमा लेखिएको दार्जिलिङका कवि जीवन थिङको कविता छ, उनले भनेका छन्, ‘इश्वर दाई, मेरो त आमा पनि छैन, देश पनि छैन ।’

यो कस्तो व्यवस्था हो, हामीहरू सुन्दर जुत्ताहरू खोजिरहेका छौँ, तर कोही छन् यहाँ जो सँग खुट्टाहरू नै छैनन् । वर्गीय समाजमा दुखहरू पनि वर्गीय हुँदा रहेछन् । हामीले निवारण गर्न खोजिरहेका ती दुःखहरू कस्का हुन् ? राम्रा जुत्ता खोजिरहेकाहरूको ? या खुट्टा नै नभएकाहरूको ?

मैले थुप्रै कविताहरूमा निरासा मिसाएको छु, त्यो अहिलेको समाजको संरचना र व्यवस्थाको कुरुप चित्र हो । प्रकाशित किताब ‘मौलामा बाँधिएको राँगो’मा मैले चैत शिर्षकको चरम निरासाजनक कविता र आगोको मान्छे शीर्षकको उज्यालो कविता राखेको छु । यी दुवै अहिलेको समाजका विम्बहरू हुन् ।

कविता बिक्दैनन् भन्ने सुनिन्छ, आख्यानको तुलनामा कविता नबिकेको सत्य पनि हो, तर पनि कविता लेख्न छोडिएको छैन । कवितालाई के ले बचाइरहेको छ ?

कवितालाई हामीले एउटा विधाको रूपमा मात्र हेछौँ के, कविता भनेको शैली हो, अभ्यास हो । कविता विनाको आख्यान कति निरस हुन्छ ? कविताले बुनेका निबन्धहरू कति सरसपूर्ण छन् । जोखिम त यहाँ छ कि जस्लाई हामी कविता भनिरहेका छौँ, त्यहाँ कविता नै हुँदैन ।

रस नभएको उखु विक्दैन । नशा नलाग्ने मदिरा बिक्दैन । त्यो नविकेकै राम्रो होईन ? हृदयका तारहरू हल्लाएर जाने कविताहरु नविकेको कहाँ छ ? रूमीका कविताहरू दश शताब्दीपछि पनि हामीले पढेका छैनौँ र ? देवकोटाहरु नपढिएलान र अझै ?

मैले यो भनिरहनु पर्दैन होला, कि बजारले के खोज्छ ? बजारमा के विक्छ के विक्दैन, हामी सबैलाई थाहा छ, यो कविताको बजार भनेको कण्डमको बजार जस्तो होइन । यो त हृदयमा बस्ने कुरा हो, मस्तिष्कमा गड्ने कुरा हो ।

होइन भने, गौरी पढ्दा पढ्दै किन रुन्छन् आमाहरु ? रिमालको आमा पढ्दा पढ्दै किन उठ्छन् युवाहरू ? जे कविता हो त्यो विकिरहेको छ, त्यो आख्यान भित्रको कविता विकिरहेको छ, निवन्ध भित्रको कविता विकिरहेको छ । विडम्बना हामी कविता भनिरहेका छौँ, तर कविता लेखिरहेका छैनौँ । त्यो विक्दैन, विक्नु हुँदैन ।

कविता विनाको न मानिस सुन्दर हुन्छ, न समाज ।

एउटा झूर प्रश्न सोधिहालौ, कवितालाई यहाँले कसरी चिन्नुभएको छ ?

कविता नहुँदो हो त, म नहुने थिएँ । मैले जीवनका निक्कै विषम परिस्थितीमा कविताहरू लेखेको छु । कविताले सुख र उत्साहमा भन्दा दुःखका गहिरा खाडल र निरासाका भङ्गालोहरूमा दरिलो साथ दिन्छ ।

कवितालाई चिन्न जरुरी छैन, कविता लेख्ने कुरा होइन, यो त बाँच्ने कुरा हो । कविता बाँच्नु भनेको विद्रोही हुनु हो । आफैँसँग पनि विद्रोही । सम्पूर्ण मान्यताहरू भत्काएर कविता बाँच्नु यो समाजको बागी हुनु हो । त्यसैले कवि सधै बागी हुन्छ ।

जति बेला मसँग केहि थिएन, त्यो समय कविता थियो । मैले प्रचलित लोकगीत गाउँदा गाउँदै लेख्न थालेको डायरीहरूमा कविताहरू आइबसेछन् । मैले कविता केहि लेख्दैन, मैले मेरो जीवनका टुक्राहरू लेख्छु ।

एउटा कविको धेरै दुनियाँ हुन्छ, यहाँ कवि भएर बाचेको दुनियाँ कस्तो छ ?

कवि सांसारिक प्राणी होइन र आध्यात्मिक प्राणी पनि होईन । कवि सचेतपूर्वक जीवन बाँच्ने जात हो । दुःखहरु नै दुख्ने गरी दुःखहरुमा कवि जव उत्सव मनाउन थाल्छ, जब हुरीकै बीचमा हुरी भएर रमाउन थाल्छ, उस्लाई कुनै भयको प्रवाह हुँदैन । मृत्यु चिन्तन गरेर मृत्युको आनन्द लिन सक्ने चेत मात्रै कविसँग हुन्छ ।

कविको दुनियाँमा दुःखहरू छैनन् । दुखहरु भए पनि आफै दुख्छन् । देवकोटाले बाँचेको जीवन होस् या हरिभक्त कटुवालले । समयका मान्यताहरुको विरुद्धमा बाँचेको कविको जीवन एउटा सन्तको जीवन जस्तो हुन्छ ।

कविता लेख्नु भनेको तपस्या हो । चिन्तन हो । ध्यान हो । यो संसार बाहिरका धेरै कुराहरू एउटा कविता बाँचिरहेको कविलाई फगत मिथ्या लाग्न सक्छ । कविले बाँचेको दुनिया त अक्करै अक्करको बाटो भएर जानु पर्छ, त्यो आम मानिसको बसमा रहने कुरै भएन ।

यहाँ आफैं चाहिँ कसको कविता पढ्न रुचाउनुहुन्छ, तीनजना कविको नाम लिइदिनोस् न ?

मलाई कविता भन्दा पनि कवि पढ्न मन लाग्छ । मैले अघि नै निवेदन गरेँ कि कविता लेख्ने कुरा भन्दा पनि बाँच्ने कुरा हो । जो कविता जस्तो भएर बाँच्न सक्दैन त्यो कवि बन्नै सक्दैन ।

सबै ठिकठाक, व्यवस्थित र बन्दोबस्त भैरहेको छ र चलिरहेको छ भने त्यो कवि हुनै सक्दैन । त्यस्ता कविले बजार नै किनिदिन्छन् । त्यस्ता कैयौँ कविहरू छन्, जसले उज्यालो बोकेर हिडेका छन् । मैले पढ्ने कोसिस गरिरहेको छु । तर, मलाई नाम नलिन छुट दिनुहोस् ।

यहाँको मगज हल्लाउने कविताको सूचीमा परेका तीनवटा कविता कुन कुन होला ?

मलाई जीवन प्रतिको दृष्टिकोण बारे चिन्तन गरिएका कविता अझ बढि मन पर्छ । हामीले जस्लाई दुःख भनिरहेका छौँ, जसलाई देश भनिरहेका छौँ, जस्लाई सामाजिक सम्पती र अर्थको रुपमा बुझिरहेका छौँ, के त्यो ठिकठाक नै छ ? या परिवर्तन जरुरी छ ? मलाई त्यस्ता कविताहरू मन पर्छ ।

ति कविताहरू म तपाईलाई सुटुक्क भन्नेछु ।

अन्त्यमा स्वतन्त्र प्रश्न मन लागेको उत्तर दिनोस् ।

प्रश्न विनाको उत्तर त्यति मजा आउदैन जनक जी । हा हा हा । खुशी लाग्यो । मलाई व्यक्त हुने मौका दिनुभयो । तपाईको समूहलाई हार्दिक धन्यवाद ।।

 

प्रतिक्रिया

सम्बन्धित खवर