सञ्चारकर्मी, प्राध्यापक र कवि सिर्जन अविरलको पहिलो उपन्यास ‘मोक्ष’ प्रकाशित भएको छ । यसअघि उनको ‘म आकाश हेरिरहेछु’ (कविता सङ्ग्रह) ‘आदि गायक सेतुरामदेखि दिलमाया खातीसम्म’ (जीवनीसङ्ग्रह) र ‘क्यान्टोनमेन्टम र अरू कविताहरू’ (कविता सङ्ग्रह) कृतिहरू प्रकाशित छ्न् । उनै उपन्यासकार अविरलसँग सेतोमाटो डटकमका लागि सहकर्मी जनक कार्कीले गर्नुभएको पुस्तक वार्ता यस्तो छ ः

१. उपन्यासभित्र सशस्त्र युद्धका कुरा छ्न् भन्ने सुनेँ तर नाम चाहिँ बुद्धत्वको आधारमा मोक्ष राखिएछ, किन ?

गज्जबको प्रश्न गर्नुभयो । युद्ध संसारमा कसैको रहर हुनै सक्दैन । तर, आत्मिक सुख, शान्ति र मोक्ष प्राप्तिको बाटो हरेकको रहर हुन सक्छ । तर, यो त्यति सजिलो छैन, जसरी हामी कुरा गरिरहेका छौँ । संसारमा युद्ध वा प्रेम कतैबाट पनि सन्तुष्टि प्राप्त नगरेको मान्छे कसरी आध्यात्मिक बाटो हिँड्छ भन्ने देखाइएको छ उपन्यासमा । यो कुनै कल्पना होइन । यथार्थको जगमा टेकेर लेखिएको छ, उपन्यास । तथागतको शरणमा पुगेकी एउटा अयोग्य लडाकुको कथासँग सम्बन्थित छ, यो ।

२. किताब लेख्न भन्दा छपाउन गाह्रो भन्छन्, तपाईंले यो उपन्यास छपाउन कत्तिको सकस गर्नुभयो ?

मेरो मनको प्रश्न हो यो । उपन्यास लेख्न त गाहो भयो नै । झन्डै तीन वर्ष लगाएर पूरा गरेँ, यो उपन्यास । र, पूरै एक वर्ष प्रकाशन गर्ने क्रममा थन्कियो । यो पीडा सायदै अरुले महसुस गर्लान् । एउटा लेखक जो आफ्नो पुस्तकमा सपना बोकेर बाँचेको हुन्छ त्यो कुनै प्रकाशकले बुझ्न सक्ने कुरा होइन । लेखक सधैँ पुस्तकभित्र आफूलाई खोज्छ । पाठक जीवन खोज्छन् पुस्तकभित्र र हरेक प्रकाशक बजार खोज्छन् पुस्तकभित्र । तयारी पाण्डुलिपि बुझाएको पन्ध्र महिनापछि स्पर्श गरेको हुँ ,पुस्तक । सकसको कुरा आफैँ अनुमान गर्नुहोस् ।

३. एउटा किताब जो तपाईं लाग्छ कि हरेकले पढ्नै पर्ने हुन्छ ?

महाभारत ।

४. तपाईंले लेख्दै गर्दा बिचमै छाडिदिएको सिर्जनाहरू कत्तिको छन् ?

यस्ता सिर्जनाहरू पनि निकै नै छन् । लेख्दै जाँदा सलल बग्न छाड्यो भने म लेख्नै छाड्छु । र, त्यो अपुरो रहिरहन्छ । अर्को एउटा उपन्यास एघार हजार शब्दमा पुगेर रोकिएको छ । केही कथा , कविता र निबन्ध पनि छन् , त्यस्ता ।

५. तपाईंलाई के कुराले लेख्न प्रेरित गर्छ ?

कहिलेकाहीँ अनौठो विचार आउँछ । मनको एउटा कुनाबाट कसैले अब लेख् भनेजस्तो लाग्छ । त्यतिखेर सबैभन्दा महत्वपूर्ण कुरा मेरा लागि लेख्ने नै हुन्छ । सोचाइको एउटा तह कल्पनाको बाटो भएर दौडिँदै गएपछि सायद मनले लेख् भन्ने रहेछ । तर, लेखिने विषय यही समाज, आफू र आफ्नै भोगाइ हो ।

६. उपन्यासमा कला र विचार दुईमा के धेरै हुनुपर्छ ?

यो निकै जटिल प्रश्न हो । म खासमा उपन्यासभित्र विचार पक्ष , कला पक्ष र दर्शन पक्ष बलियो भएर आउनुपर्छ भन्ने मान्यता राख्छु । पहिले त म कला पक्ष कस्तो छ त्यसमा ध्यान दिएको हुन्छु । विचार र दर्शनका कुरा कथासँगै बगेर आउने कुराहुन् । कलालाई पर पन्छाएर आएको विचारले मेरो मन स्पर्श गर्न सक्दैन ।

७. मोक्ष लेख्दा दिनमा कति घण्टा लेख्नु भयो ?

खासमा यति घन्टा भन्ने नै भएन । कहिले राति उठेर पनि लेख्थेँ म । ती पात्रहरूलाई मन र मस्तिस्कमा खेलाइरहँदा अचानक नयाँ कुरा आउँथ्यो मनमा र सबै कुरा छाडेर म लेख्न थाल्थेँ। सिङ्गो उपन्यास मोबाइलमै लेखेको हुँ । यसकारण पनि मलाई तत्काल लेख्दै जान सजिलो भयो । कहिलेकाहीँ त म कक्षाकोठामा पढाइरहँदा उपन्यासका पात्रहरू बोल्दै आफ्नो बाटो हिँड्न खोज्थे । यस्तो समयमा म आत्तिन्थेँ । न त कक्षा छाडेर लेख्न बस्नु न त मन स्थिर हुनु ! लाग्थ्यो सदाको लागि जागिर नै छोड्दिन्छु । तर यो व्यवहारिक र सम्भव थिएन । प्रतिभा भएर पनि आफू बन्धनमा परेको र समय अभावको कारण लेख्न नसकेको कुराले छट्पटाउँथेँ म ।

८. सबैभन्दा छिटो र ढिलो गरि सकिएको कुनै किताब ?

सबैभन्दा ढिलो गरेर सकेको माधवी र सबैभन्दा छिटो सकेको चपाइएका अनुहार ।

९. एउटा लेखकलाई विपरीत लिङ्गको बारेमा लेख्न कत्तिको गाह्रो हुन्छ ?

गाह्रो हुने कुरा त होइन तर लेखकको स्वभावमा पनि भर पर्ने कुरा हो, यो । हरेक कुरा रुचि र स्वभावमै गएर अल्झिएको हुन्छ । यसकारण पनि लेखकले आफ्नो लेखनमा त्यसलाई कति र कसरी प्रवेश गराउँछ भन्ने कुराले विषयलाई निर्धारण गर्छ ।

१०. तपाईं के का लागि लेख्नुहुन्छ ?

म यसका लागि र उसका लागि लेख्छु भनेर ठुल्ठुला गफ लडाउने पक्षमा छैन। म सबैभन्दा पहिले आफ्नै लागि लेख्छु । कि आफैं असन्तुष्ट भएको विषयमा लेख्छु कि त निकै मन छोएको विषयमा लेख्छु। लेखेको कुराले आफूलाई सन्तुष्टि दिएपछि बल्ल बाहिर सार्वजनिक गर्छु।त्यसपछि त्यसले ककसलाई छुन्छ र ककसलाई प्रभाव पार्छ त्यो अलग कुरा हो। म पनि यही समाजको सदस्य भएको कारण मलाई छुने कुराले समाजका धेरै वा थोरै मान्छेलाई छुनु स्वभाविक हो।

१२. तपाईँले पढेको यस्तो उपन्यास जसले तपाईँलाई फरक सोच्न सहयोग गर्‍यो ?

गोर्कीको आमा

१३. मोक्षको रचना गर्भ खुलाउन मिल्छ ?

आउने पुस्ताले हाम्रो समयलाई पढ्न पाउनुपर्छ भन्ने चाहन्थेँ म । मनले चाहेको पुस्तक कुरी बसेँ लामो समय । अयोग्य लडाकुको कथा कसैले लेखेन वा लेख्न चाहेन । मैले वर्षौँसम्म ती कथाहरू पर्खिरहेँ – जहाँ उठाइएको होस् निर्दयी युद्धको विषय र भनिएको होस् कुनै लडाकुको कथा ! यद्यपि यो विषय ओझेलमा थियो सधैँ ।

लेख्न चाहन्थेँ– विगतमा सपना बोकेर हिँडेका तमाम जनमुक्ति सेनाका लडाकुहरूको साहस१ अयोग्य घोषित भएकाहरूको मनोविज्ञान । अनि क्यान्टोनमेन्टमा सेलाएको विचार र थन्क्याएको हतियारको फरक कथा सुनाउन चाहन्थेँ म पाठकलाई ।

म उपन्यासबाट केही भन्न त चाहन्थेँ तर भन्ने तरिका अलग होस् भन्ने सोच्थेँ । कसरी भन्ने म यही कुराको सोचमा थिएँ । कथा भन्ने तरिका , उपन्यासको भाषा र विषय सबै कुराले पाठकलाई तानोस् भन्ने चाहन्थेँ म । थोरै नै किन नहोस् केही न केही त लेखिएकै छ युद्धको विषयमा । यद्यपि अयोग्य लडाकुको मनोविज्ञान छामेर लेखिएको कतै भेटिएन । र , जरामा पुगेर लेखिएन युद्धको ।

अहिले लेखकभन्दा अगाडि पुगेर सोचिरहेका छन् पाठक । विषयमा होस् या प्रस्तुतिमा आख्यानमा नयाँ स्वाद खोजिरहेका छन् पाठकले । यही कुरा सम्झेर अनौठो लाग्छ कि धेरै वर्ष बितेछ लेख्ने विषयमै सोचेर । पटक पटक गरेर नौ हजार शब्द लेखेँ र त्यसलाई मिल्काएँ । र, यसपछि सुरु भयो मोक्ष लेखनको यात्र ।

अव्यक्त र अलिखित कथा थियो , क्यान्टोनमेन्टबाट निकालिएका अयोग्य लडाकुहरूको छायाँमा । दाइ उदय अधिकारी पटकपटक भन्नुहुन्थ्यो “तँ लेख्न सक्छस् , लेख् । सिङ्गो उपन्यास बन्न सक्छ , एउटै लडाकुको बारेमा । तँ मिस गर्दै छस् समयलाई । धावकको काम जस्तो परिस्थितिमा पनि दौडनु हो न कि दौडने तरिका सोचेर बस्नु ! किन लेख्न ढिलो हुँदै छ, देखेको र भोगेको युद्धको समयलाई ?”
वर्षौँदेखि मकवानपुर क्याम्पस हेटौँडामा प्राध्यापन गर्नुहुन्थ्यो उदय दाइ । दाइसँग फोनमा हुने कुराकानी होस् या सग्लो भेटमा हुने संवाद लेखनको ऊर्जा थियो मेरा लागि ।

माइतघरपछि मैले पढेको दोस्रो उपन्यास थियो मुग्लान । मैले नौ कक्षामा पढ्ने ताका पढेका उपन्यास थिए यी दुवै । यही कारण पनि मैले युधिर थापा र प्रकाश कोविद पढेर अघि बढ्नुपरेन ।

याङ् मो (युवाहरूको गीत) होस् या त घामका पाइला दाइले छानेर दिएका पुस्तक पढ्दै गएको हुँ अध्ययनको क्रममा । एउटा पुस्तकको याद छ अझै पनि । त्यो पुस्तक थियो – “मान्छेको भाग्य र दोनका कथाहरू ु । मैले बाह्र कक्षा पढ्दै गर्दा पढेको पुस्तक थियो त्यो । त्यति नै बेला निकै तानिएको थिएँ युद्धको पुस्तकमा । मनमा कतै लागिरहन्थ्यो(ु सानो होस् या ठुलो युद्धको कथा उस्तै हुनेरहेछ संसारभरि ।”

अध्ययनको प्रारम्भिक चरणमा बसेको छाप नमेटिनेरहेछ अनन्तसम्म । सम्भवतः त्यही पुस्तक आधारभूमि थियो मोक्ष लेख्ने क्रममा ।

१४. आख्यानको भीडमा मोक्षमा के फरक पाइएला ?

हरेक पाठकले पढेपछि स्वत महसुस गर्नेछन् । यो हरेक दृष्टिले फरक उपन्यास हो । यसको भाषा कोमल र कवितात्मक छ । कथा भन्ने शैली नितान्त अलग छ । उपन्यासको विषय रोचक , अनौठो र अलग छ । युद्धदर्शन , जीवनदर्शन र बुद्धदर्शन एकैठाउँमा छ । अलग स्वाद छ, उपन्यासमा ।

१५. तपाईंले पढेको ५ वटा मन परेको उपन्यास ?

घामका पाइला , यहाँदेखि त्यहाँसम्म , अन्तरमनको यात्रा , सिरीषको फूल , हिटलर र यहुदी

१६. उपन्यास बजाएमा आइसक्यो, कस्तो प्रतिक्रिया पाउनु भएको छ ? आलोचनात्मक समीक्षालाई कसरी लिनुहुन्छ ?

अहिले मोक्षले बजार तताएको छ । म निकै खुसी छु । आएका प्रतिक्रिया निकै राम्रा छन् । हरेक पाठकले उपन्यास मन पराएको खबर पाएको छु । चितवनमा आएको पहिलो लट पुस्तक सबै सकियो त्यो पनि एक हप्ताको बिचमा ।

एउटा लेखकलाई योभन्दा खुसीको कुरा के हुन सक्छ !! र रहयो आलोचनात्मक समीक्षाको कुरा । मलाई समालोचकले कसरी समीक्षा गर्छन्, भन्ने कुराले कुनै असर गर्दैन । मलाई आफ्नो पुस्तक उत्कृष्ट छ भन्नेमा पूर्ण विश्वास छ । पाठकले मन पराउने कुरामा म ढुक्क छु ।

प्रतिक्रिया

सम्बन्धित खवर