– नवराज न्याैपाने ‘माैन’

एक कक्षादेखि एमएसम्म प्रथम श्रेणीमा उत्तीर्ण  भएपछि संयम लाेकसेवाकाे परीक्षा तयारीमा जुट्याे ।
‘ देशमा यस्ताे मारामार छ , कहाँ कहाँ जानुपर्छ जागिरमा । बरु यतै मास्टरी गरेर बस् बाबू!’ बाआमाले एकै स्वरमा भने ।
उसले पल्लाे गाउँमा अस्थायी शिक्षककाे जागिर पायाे । तर चुनावछि अर्काे दलकाे सरकार आयाे र उसकाे जागिर खाेसियाे ।
त्यसपछि ऊ खाडी मुलुक उड्याे र छ वर्षपछि शहरमा घर उभ्यायाे । दाजुसँग छुट्टिएर बाआमालाई शहरमा लिएर गयाे ।
‘अब उमेर पनि पुग्याे, बिहे गरेर मात्र जा बाबू! हामी बुढाबुढी मात्र के बस्नु र!’ बाअामाले भने ।

एउटी पढेलेखेकी केटीसँग उसकाे भूमधामले बिहे भयाे ।
बिदा सकिन पन्ध्र दिन मात्र बाँकी थियाे । कम्पनीले बिदा थप्न नमानेकाेले ऊ छिट्टै फर्कने वाचा गरेर विदेश हान्नियाे ।
तीन वर्षपछि फर्कदा उसकी श्रीमतीकाे स्वभाव अर्कै भैसकेकाे थियाे । रिसाउने ,झर्कने, गाली गर्ने, कुट्पिट गर्ने, अर्काे काेठामा चुकुल लगाएर सुत्ने , हेपेर बाेल्ने गरेपछि ऊ दिक्क हुन थाल्याे । कान्छी बुहारीले नराम्रो  गरेपछि बाआमा पनि गाउँमा दाजुकाेमा गएर बसेका थिए ।

उसकाे मनमा हाँस्ने, खेल्ने, घुमफिर गर्ने , सुखदु:ख साट्ने जस्ता असंख्य रहरहरु थिए । तर उसकाे बुढीले कहिल्यै बुझ्ने काेशिस गरिन । ऊ त आफ्नै सपनाकाे संसारमा मस्त थिई ।
शहरकाे घरमा एक महिना बिताउन पनि उसलाई गाह्राे  भयाे । बाँकी बिदा गाउँमा बाआमासित बसेर ऊ खाडीकाे ताताेमा जाेतिन गयाे ।

तर ‌सधैं हस्सीमजाक गर्ने उसकाे स्वभाव बदलिन गयाे । टाेलाउने,झाेक्राउने, खाना नखाने काममा ध्यान नदिने, कहिल्यै नहाँस्ने र एकाेहाेराे स्वभाव देखिन थालेपछि कम्पनीले सबै सेवासुविधा उपलब्ध गराएर घर पठाइदियाे ।
घरमा अाएपछि श्रीमतीले पागल भन्दै छि: छि: र दुरदुर गर्न थाली । उसकाे दिलकाे घाउ झन् बल्झियाे ।
त्यसपछि ऊ बाअामालाई भेटेर फर्कन्छु भनेर गाउँके पुग्याे । शहर फर्कने क्रममा उसले भारतकाे उत्तराखण्डस्थित केदारनाथ मन्दिरकाे बाटाे राेज्याे ।

अचेल ऊ त्यहाँ भक्तजनलाई पाल्की,डाेला, र बुईमा बाेक्ने कामका साथै तर्पण,पूर्णपात्र,संकल्प, श्राद्ध आदि कार्यमा बाहुन भएर पनि काम गर्छ ।
अनि ” यदा यदा हि धर्मस्य ………. सम्भवामि युगे युगे” सुन्दा उसलाई डिप्रेशन भएजस्तो पटक्कै लाग्दैन।

***

प्रतिक्रिया

सम्बन्धित खवर