– नवराज न्याैपाने ‘माैन’

आठौं पटक श्रीमतीलाई परपुरुषसँग रङ्गेहात फेला पारेपछि आङ्तेण्डी रिसले चुर भयाे । परपुरुषहरुलाई जति चेतावनी दिए पनि, श्रीमतीलाई जति सम्झाए पनि र जति ठाउँमा काेठा सरे पनि श्रीमतीकाे बानी नसुध्रिएकाेमा ऊ चिन्तित थियाे ।

“तिम्रा उनान्सय बानी ठीक छन्, एउटा बानी ठीक कहिल्यै भएन । अब त मेरै नातेदारसँग पल्किछाै , के भन्नू र खै? जाे मन पर्छ, उसैसँग बिहे गरेर जाऊ । घर बनाइसकेकाे छु , आफूजस्तै साेझी केटी बिहे गरेर बस्छु म । म अब धेरै तनाव झेल्न चाहन्न ।” यति भनेर ऊ बन्दै गरेकाे आफ्नो घर हेर्न गयाे

कहिल्यै केही नभनेकाे लाेग्नेले यस्ताे भने पछि दावाफुटी विचलित भई र अघि आएको पुरुषलाई फाेन गरी । अनि लाेग्नेकाे झाेला खाेतली । झाेलाभरी खादा र पीँधमा दुई लाख रुपैया भेट्टाई।

फाेनमा कुरा गर्दा उक्त पुरुषले कन्ट्याक्ट् किलरलाई दुई लाख दिएर उसलाई मारिदिने कुरा बतायाे । ऊ सहमत भई र आजै पठाइदिनू भनी।

शेर्पा गाइड आङ्तेण्डी साँझमा काेठामा फर्किदा दावाफुटी सुतिसकेकी थिई । लाेग्ने आएपछि उठेर जङ्गिन थाली- ” सधैं नचाहिने कुरा गर्ने पागल! याे स्लीपिङ ब्याग लिएर घर कुर्न जाऊ । खाना पकाउन सक्दिन म। त्यत्रो सामान छ काेही छैन आज। बढी बाेल्ने हाेइन, गैहाल ।”

ऊ लुरुक्क लागेर स्लीपिङ ब्याग बाेकेर निस्कियाे । हाेटलमा चाउचाउ खाएर घरकाे भुइँतलामा प्लाइउडमाथि सुत्याे तर निदाउन सकेन ।उसलाई मार्न आएका दुईजना कन्ट्याक्ट् किलर बाहिर कुरेर बसे । रात छिप्पिए पछि ऊ निदायाे र घुर्न थाल्याे । माैका छाेपेर उनीहरुले ५० रुपैयाँको चक्कूले घाँटी रेटेर मारिदिए ।

भाेलिपल्ट कामदार आउँदा साहु मरेकाे देखेर प्रहरीमा खबर गरे । प्रहरीले लास उठाएर उसकाे काेठामा पुगे । तर दावाफुटी केही नबाेली चूपचाप हेरिरही,कुनै प्रतिकृया नै जनाइन ।शङ्का लाफेर प्रहरीले उसलाई हिरासतमा लगेर केरकार गरे । “उसकै गल्ती हाे, ऊ बाठाे भएकाे भए मैले कुनै अपराध गर्नसक्ने थिइन ।” उसले भनी।

***

प्रतिक्रिया

सम्बन्धित खवर