– नवराज न्याैपाने ‘माैन’

मेलापात जाँदाखेरि माया हाम्राे बस्याे
बाध्यताले विदेश आएँ तिम्राे आँसु खस्याे

गामबेसी मेलापात आज कता गयाे
गाउँ रित्ताे भएपछि शहर घना भयाे
चाैतारीमा वरपीपल थकाइ मार्ने थलाे
जमाना नै अर्कै भयाे कस्ले जाेताेस् हलाे

चउरमा सँगै खेल्थ्याै चित्र मनमा पस्याे
बाध्यताले विदेश आँएँ तिम्राे आँसु खस्याे

रूख चढी साल काट्थें तिमी भारी कस्थ्याै
स्वस्थानीकाे कथा भन्थें तिमी व्रत बस्थ्याै
दाउरा काट्दा मल बाेक्दा गीत घन्काएर
लुकीलुकी हेर्थें मैले आँखा तन्काएर

चाेरगाैंडाकाे चाैतारीले मायाजाल कस्याे
बाध्यताले विदेश आएँ तिम्रो आँसु खस्याे

पैसा के हाे पापा के हाे नाैलाे कुरा थियाे
जमानाले काेल्टे फेर्दा गरीब बनाइदियाे
ऐँचाेपैँचाे, पर्मओर्म आज छैन हेर
रुन्छ मन बाल्यकाल सधैं सम्झिएर

दुनियाँले हिसाब खाेज्याे,  जमानाले डस्याे
बाध्यताले विदेश आएँ तिम्राे आँसु खस्याे

***

प्रतिक्रिया

सम्बन्धित खवर