✍️ निर्मल आग्रह
पब्लिक पोएट्री
मेरा आन्द्राहरू
एक सर्पिला आकारको सडक़
हुन
जसमाथि भोकको कालो छाँया
परिरहन्छ
र भोक मेरो देश जस्तै थुप्रै देशका
नागरिकहरूको एक मुख्य पहिचान
पत्र हो ।
संसद भवन यहाँदेखि कोसौ टाडा छन्।
जसरी
हामीलाई एक अनुशासित नागरिक हुन सिकाईएको छ,
वैधानिक पाठहरु घोकाइएको छ,
ताकी हरेक परिस्थितिहरुमा पनि हामी
घुँडाबिच यो पापी पेट लुकाईरहौँ
न कि आफ्नु असली पहिचान सबके सब सामुन्ने खोल्छौ !!
देशलाई सर्मिन्दा हुन नपरोस !
तर देशको सम्विधानले जान्दछ
कि भोकमा कुनै किरा लाग्दैन !
न भोक कहिले मर्छ !
चाहे आगो लगाउन सक्छ भोकले !!
(२)
मरुभूमिमा पानी
र जीवनमा प्रेमको अभाव थियो
शरिरभरि काँडा लिएर
बाँच्ने क्याक्ट्स अहिले मानिसको
कुनै प्रजाति÷वर्ग जस्तै लाग्छ
हामीले आफ्नु हकको पानी
र प्यार माँगेका थियौ
पायौ क्रूरता !
आज त्यहि क्रूरता काँडाहरूमा परिवर्तित भएका
छन् !
भोक–अभाव,कष्ट–पीर,हतासा–लाचारी,अन्याय
यी सबै काँडाहरु नै त हुन, होइनन र ??
काँडा सरिको जीवन बाँच्नु कति दुष्कर हुन्छ
त्यो कुनै क्याक्ट्स
र
कुनै देशका गरिब जनतालाई हेर्दा थाहा लाग्छ !
(३)
शोषितहरुका निम्ति लेखिएको
कविता
गोष्टीहरूसम्म पुग्छ
शोषितहरूसम्म पुग्दैन !
शोषितहरू सधैँ आफ्नु पक्षधरहरू खोजिरहेका हुन्छन्।
यसैले मेरा प्रतिक्षाहरू पनि
ति नै शोषितहरूका आशा जस्तै भएका छन्
जस्ले हरेक चुनाव अघि एउटै कुरा
सोचेका हुन्छ
कि यसपल्ट नयाँ सरकारले सुन्नेछ उन्का कुराहरू !!
प्रतिक्षा सधै लम्मेर गएको छ
कोहि आएको छैन उस्को आँगनमा
उस्का कुरा सुन्न !!
खेतबारीमा अन्नबाली पहेँलै पाकेको हेर्ने
इच्छा यसरी तुहेको छ
कविको पनि
देशको पनि ।
(४)
निद्रा कुन दुर्लभ चरिको नाम हो
सपना कुन क्रूर देवीको नाम हो
उनीहरुलाई सोध्नू !
जस्ले कहिले सपना देखेनन्
सारा उमेरभरि जस्ले
अरु कसैको सपना पूरा गरिरहे ।
जस्लाई सपना देखाइयो
उनीहरुसीत बित्ताभर भुइँ थिएन
कि सपना खड़ा गर्न सक्ने ।
सपनाको नाम गरेर
जेजति योजनाहरू जस्लाई हस्तान्तरण
गरियो
वास्तवमा त्यो उनीहरूलाई उक्साउनलाई
मात्र हुन्थ्यो !
उज्यालोको छाँया पनि नपरेका
आँखाहरूलाई नै सोधिन्छ
तिनीहरूका भागको घामको ठेगाना !
जुन आँखाहरूमा निद्रा कहिले परेको छैन
त्यहाँ सपनाले कसरी बास गर्छ र !
सपना सरिको एक निद्रा जस्को निम्ति
आज पनि
एकमात्र सपना हुन !!
●●
प्रतिक्रिया
-
४