–निर्मल आग्रह
एउटी चरी भेंटे
मलाई भेट्न आएकी जस्तै लाग्यो ।
सायद बनतिर घुम्न नगएको धेरै भो
यसैले पो आएकी थिई सायद !
एउटा सडक भेंटे जो कतै जादैन
एउटा मौसम भेंटे त्यो कतैबाट घुमफिर गरि फर्केको थियो बनमा ।
एउटा पुतली देखें फूलमाथि रमाउदै घुमीरहेको ।
मैले उदास पुतली कहि देखेको छैन
या त हुनसक्छ मलाई आउदैन पुतलीहरूको उदासी
पढन ।
एउटा पात भेटें
हाँगालाई बलियो गरि पक्रेको त्यस्को
हरियो रङ्ग मेरो तरुण उमेर थियो होला
वा पात भने आयुले मेरो सहोदर थियो
होला ।
एउटा केटा भेटें बालपन हराएर
सडकमा खोज्दै कतै गैरहेको ।
बनबाट सडक पार बजार आईपुगेपछि
एउटा ऐना भेटें
जस्ले झुट बोल्नु सिकीसकेको थियो ।
***
जब कथा समाप्त हुन्छ !
भन्नलाई न थप वाक्यहरु हुन्छ त्यसपछि
न त गर्नलाई प्रतिक्रियाहरु नै
एउटा चुपचाप बाहेक !
जब रुखहरु पूर्ववत कुनै
प्राचिन कथाहरुमा जस्तै शान्त
उभ्भि दिन्छन
र
चरिहरुले साँझको अन्तिम उडान भर्छन !
यहि बेला रुखको डालिमा बसेर एउटा मिथकीय सुग्गा बोल्छ !
निद्रादेखि जाग्छ रातको पहिलो पञ्छि !
यहि एकान्तको तलाउबाट निक्लिन्छ
एउटा बूढो जून !
र
यहि आकासको विक्षिप्ततामा चम्किन्छ
एउटा नयाँ कथाको तारा !!
प्रतिक्रिया
-
४