-निर्मल आग्रह
१.
यो फूलको कुरा हो-
फूल न सुन्दर हुन्छ न त कुरुप
फूल न कोमल हुन्छ न त ठोस ।।
फूल जङ्गली पनि हुँदैन न त घरेलु ।
फूल, फूल जस्तै हुन्छ
फूल, फूल मात्र हुन्छ ।
फूल हेर्न चाहनेहरुको लागि एउटा फूल सधै फुलिरहेको हुन्छ ।
एउटा फूल
फुल्नुसम्म मात्र सिमीत हुॅदैन
न त फूल फुल्नु भनेको केवल ऋतु क्यानभसमा सीमित मात्र हुन्छ ,
एउटा फूल फुल्नु भनेको समय फुल्नु पनि हो ।
यसैले फूल फुल्नु भनेको फूलले धेरै कुराहरु भन्नु पनि हो ।
२.
फूललाई थाह छ-
बडो निर्ममतासाथ चुडाईनु र
कुनै निर्जीव देवताको
पाश्विक चरणमा फ्याॅकिनु
र त्यसै खेरो जानु पर्दा
कस्तो हुन्छ !
या त कस्तो हुन्छ
जब बर्बरताको साथ निर्दयी हातहरुद्वारा बारम्बार टुक्रिनु ।
फूललाई थाहा छ-
कति कठोर छ संसारमा
सुन्दर हुनुको दाम तिर्नू!!
जसरी उखुलाई थाह छ-
काट्टिनू,पिस्सीनू
र रसको अन्तिम थोपा रहुञ्जेलसम्म निचोडिनु!
उखुलाई थाहा छ-
कति कठोर छ संसारमा
मिठा हुनुको दाम तिर्नू !
३.
जस्तो कि फूल हेर्दा
फूल मात्र देखिन्छ अरु केहि देखिन्न।
डाला जस्का पाखुरीले फूललाई
उचालेको हुन्छ भुईदेखि माथि,
पातहरु जस्ले छेलिदिन्छ
फुललाई लाग्ने भुईको धुलो बालीहरु देखि ।
ठिक जस्तो कि बलीरहेको दियालो र त्यस्को ज्योति ।
ठिक परबाट देखिने अग्लो पहाड़ र त्यस्को चोटी।
जस्तो कि
भ्रम र यथार्थको संयोजन जिन्दगी।।
केहि सम्भव :केहि असम्भवहरुको अनुक्रमणिका।।
कतै केहि नभए पनि फूलमाथि सहि
सम्भव असम्भवहरूको घटने निश्चितताहरु ।।
४.
दुःखका दिनहरुमा पनि मेरो
गोजीमा पैसोको साटो
फूल थिए
सायद मलाई कवि हुनु थिएछ ।
आज पनि पतझडको विरुद्ध
म बडबडाउँछु फूल ” भनि !
किनकि मलाई विश्वास छ
हतासाहरुले गाँजेको दिनहरुमा पनि
एउटा आन्दोलन नै हुन्छ
फूलहरु फुल्नु !!
दुखले जब पनि अवकाश दिएको छ
फूल जस्तै फुलेको छ जीवन !
कुनै देशको मानचित्र हो फूल
जस्का नागरिकहरु पुतली/भमरा/चरिहरु हुन !
कुनै छोरी नानीको अनुहार हो फूल !
जसरी तिम्रा हरेक प्रेमपत्र फूलहरु हून
स्मृति बनमा फुल्ने !
जब पनि एउटा फूल फुलिरहेको हेर्ने अभीप्सा
जाग्छ मनमा
म तिम्लाई पाउँछु ,
संसारको सब भन्दा सुन्दर फूल !
यसकारण पनि मैले कवि हुन स्विकार गरेको हूँ !!
●●●●●
सिलगडी, भारत ।
प्रतिक्रिया
-
४