निर्मल आग्रह       
१.
माछाले जति पानी आफ्नु
शरीरको छाँयाबाट चोरी लैजान्छ
त्यसपछि शेष बचेको
पानीको चित्र मेरो हो !

किनारमा चुपचाप बसेको ठुटामाथि
चरि बरिको चिर्चिर गीत पछिल्तिर
लुकेर बसेको एकान्त

त्यही झिलको किनारैमा
पर्यटकहरुको आस लगाई
त्यसै त्यसै बाँधिएका थकित नावहरु !

पृथ्वी कस्को ? मेरो !
भन्न साथ घाँसका एकाध पातहरु
चौरको हरियो चोरेर भाग्न थाल्छ !

एकपल्ट सुन्दर
एकपल्ट भयावह
एउटा आँखाले बनाएको चित्रमा जबकि
एउटा पनि माछा छैन ।

त्यहाँ  केवल पानी मात्र  छ !!

२.
एक दार्शनिक हास्छन त लाग्छ संसारलाई
यो उनको ब्यङ्ग्य हो ।
नानीहरु हाँस्दा लाग्छ तिनीहरु निडर छन ।
प्रेमिका मुस्कुराउछिन त लाग्छ प्रस्ताव स्वीकृत भएछ ।
भोका जब  हाँस्छ त लाग्छ त्यो मुक्त भइसकेको छ
र अब त्यस्लाई सारा संसार हत्ताउनु छ !

जब कुनै अमिर उद्योगपति हाँस्छ त लाग्छ
कि  शासक मुसुमुसु हाँसीरहेछ
मानौ  देशको सबभन्दा कम्जोर नब्ज
त्यस्को हातमा छ
र जब  पनि मजा लिने मन हुन्छ त्यस्को
अलिकति नब्ज दबाउछ !बस !

३.
पुरुषको पेट  डम्म थियो ;आँखाहरु भोकै
स्त्रीको आँखामा पानी थियो;पेट भोकै
दुई जनाले आपस्तमा  सल्लाह  गरे

एकार्कालाई खाए !

४.
घामको एक किरन प्रकासले मैले
कोरेको छु अनेकानेक रङहरु !

उदासीलाई टाङ्गि दिएको छु हैंगरमा
अनुहारबाट पुछि दिएको छु सुर्ता-फ़िक्री
बेकारमैं  हाँस्नुको अदब सिकी सकेको छु
चिन्ताहरु  चितामा सजाएर काहिले हो जलाई
शेष पारीदिएको  मैले !
अचेल झरि बिनै पानीमा एक्लै  भिंज़्नु थालेको छु ।

मेरा दिग्गज मित्रहरु मलाई बुद्धु भनि बोलाउँ छन
म मुसुक्क हाँसी दिन्छु !

म बुद्ध बन्न सकिन
तर बुद्धु बनेँ ।

कसैले भनेका थिए कि यो संसारमा
या त बुद्ध सुखी छन
या त बुद्धु !!

***

प्रतिक्रिया

सम्बन्धित खवर