आँगन

✍️ निर्मल आग्रह

१.

एउटा जङ्गलको सिमाना खत्म भएको छैन
अर्को सुरु हुन्छ ।
यो संसार एउटा जङ्गलै त हो
र अर्को जङ्गल यो सहर ।

एउटा जङ्गल छ यो पारी : अर्को त्यो वारि ।

फरक यति मात्र हो यहाँ लालची, छली, निर्दयी, मक्कार र कपटी समुदायको बाहुल्य छ
त्यहाँ निर्दोष, निरीह प्राकृतिक समुदायको ।

त्यहाँ जनावर छन्। रुखहरू छन् । नदी, पहाड, प्रकृति छन्। यहाँ ठोस इमारतहरू छन्। फोहोर छ। प्रदूषण छ रोग–महामारी छ, हानाथाप–मारामारी छ। जीवन कहाँ छ ?

जङ्गल स्थायी रहन्छ
र यस्का नियम – कानून पनि ।

एकदिन यही जङ्गलबाट सुरु भएको हो कहानी
मानिस जङ्गलदेखि सहर पुगिसकेको छ
जनावर जहिँका त्यहिँ छ
अर्थात जङ्गलमै ।।

मानिसले गर्न सकेको यति मात्र हो
उस्ले जनावरहरूको लागि एउटा सिमाना कोरिदिएको छ। एउटा नियमावली थोपिदिएको छ।
र आफु चै स्वाधीन !

मौन छ भन्दैमा जङ्गल बोल्दैन नभन्नू !
जङ्गल बिस्तारो बोल्छ !
तर कमैले त्यस्को आवाज सुन्ने हुन्छ ।
यसर्थमा पनि जङ्गल एउटा आवाज पनि हो !

२.
जङ्गल के हो ?
एउटा पौराणिक कथामा
एक बूढ़ा साधु एकाएक एउटा बाघमा
परिवर्तित भएको एउटा झुटो घटना हो जङ्गल !

जङ्गल के हो ?
– एउटा नानीले दिशा गर्न गएको बेला
भेटिएको
एउटा मिठो फल हो जङ्गल !

जङ्गल के हो ?
बाँसको चोंयाले बुनिएको एउटा अद्भुत क्राफ्ट
हो जस्लाई बुन्नमा बज्यूले आफ्नु उमेर
लगाए !

–एउटा अनहोनी टाल्नको निम्ति
संसारभर फैलाईएको एउटा अफवाह पनि हो
जङ्गल ।

जङ्गल एउटा क्रूर कर्फ्यू पनि हो
राती कस्लाई निशेष गर्नु र दिउँसो
कस्लाई छूट दिनु
त्यो जङ्गलले निश्चित गर्छ ।

– बर्खाको मौसममा जङ्गल एउटा चौमासे नदी हो

–ग्रीष्मको भत्भत पोल्ने घाममा धेरै बेरदेखि
पानी खोजीरहेको एक यात्रुको तिर्खा
पनि हो जङ्गल !!

जङ्गल सबकुछ हो
तर विस्थापन कदाचित होइन

जङ्गल एउटा आवाज हो
जस्ले सधै एउटै कुरा भनिरह्न्छ
कि जङ्गलदेखि भागेको
जङ्गली कुकुरहरूको एउटा झुण्ड हो
सहर !

जङ्गल एउटा अमेट स्मृति हो !

रित्तो सडकहरुमा पस्रीएको
सुनसान रात त्यो बाघको प्रतिबिम्ब हो
जो कहिले सहर पसेको छैन
तर सहरले त्यस्लाई बेघर पारेको हो !

कुनै अचानक हिंस्रक हम्लाको
एउटा गहिरो दाग पनि हो जङ्गल
र एउटा सबक पनि
कि जङ्गलले कुनै औपचारिकता मान्दैन भनि !

एक अभद्र नामकरण पनि हो जङ्गल ।

३.
एकदिन यहि जङ्गल हामीले थाहै नपाई
हामिभित्र पस्नेछ पहिले
र भित्रबाट निक्लेर फैलिनेछ पृथ्विलाई ढाक्ने गरि
त्यस बेला एकाएक हामी सबै भुल्नेछौ
र हाम्रा खुट्टाको कुर्कुच्चाबाट फुटेर बग्नेछ
थकानको नूनले लतपत भिजेको एउटा समुद्र !

यसैले जङ्गल एउटा समुद्र पनि हो !

●●●●
जङ्गल क्यानभस : शृङ्खला कविता

प्रतिक्रिया

सम्बन्धित खवर