✍️ निर्मल आग्रह

१.

हजारौँ सालको तिर्खा
मेरो घाँटीमा आएर टक्क अड्केको छ

असङ्ख्य अतृप्त आत्माहरुको मुक्तिको गीत
मेरो कान छेउ बजिरहेको छ।

आँखा खोलि हेर्छु जङ्गलघारी मात्र देख्छु

बिच जङ्गलघारीमा म एक्लै ।

२.

फेरि ऐंठन पारेको छ मध्यरात्रीको
निर्मम पहरहरूले
र फेरि त्यही हजार बर्षको पुस्तैनी तिर्खाले
सुकेको छ घाँटी ।
कण्ठमा उम्रेको छ एउटा प्राचीन गीत ।

सुतेका खुट्टाहरू सँगसँगै जागिरहेछ
संसारको सबभन्दा लामा यात्राहरू

एकचोटि फेरि मन आतुरीरहेछ
त्यो आदिम गीतको ध्वनि सुन्न
जो कि
संसारको पहिलो पवित्र गीत हो
जस्ले नजिकबाट छुनसक्छ
संसारको मायालु हृदयको
नवजात धुकधुकीलाई
र उद्धार गर्नसक्छ हजारौं आँखाहरूलाई
जो यस बेला
संसारको बृहत्तम र प्राचीन म्यूजिम घरहरूभित्र
छटपटिरहेका छन्
मुक्तिको उच्छवासको लागि।

३.

खोजीले नै हो उ
अँध्यारोको चेपचाप,कुना खन्दै
आँखाको उज्यालोसम्म पुग्न सकेको ।

त्यसले नै हो आफ्नै तिर्खाले पानीलाई छयाप्प भिजाएको
गिलो कपड़ाले घामलाई बेस्मारि निचोरेको
झरिको थोपा-थोपा बटुलेर बादल बनाएको
दृश्यहरुबाट एकेक जोडेर आँखा खोपेको
सम्वेदनाहरुबाट शूल अझ्झ धारिलो पारेको
यहाँसम्म कि आगोको मुश्लोबाट माचिसको तीली बनाउने पनि त्यही हो ।

त्यो जो अनुहारहिन छ
त्यसको शरीर हावाको आँशुले बनेको छ
त्यसको हाँसो जस्तो रहस्यपूर्ण अरु केहि छैन संसारमा
त्यो जस्ले हरेक पुरानाहरुबाट नयाँ
र नयाँहरूबाट पुराना बनाउँछ
त्यो सन्तानदेखि एक्लो थियो एक्लै छ
एक्लो नै रहनेछ
तर जाग्रत ! सचेत ! सक्रिय !
मध्य रातको सघन अँध्यारोमा पनि त्यो जून भन्दा चम्किलो छ ।
त्यसले आँखा खोल्छ र सारा संसार एक नजरको दायराभित्र कुचुक्क परिदिन्छ।

केहि न लुक्न सक्छ न त कोही भाग्न सक्छ
त्यस्को धारिला नजरबाट ।
त्यो जहाँ तहाँ छ त्यो।

को होला त्यो ?
त्यो जस्तो रहस्यपूर्ण अरु केहि छैन।
महामानवको अवतार या अरु केही ??

प्रतिक्रिया

सम्बन्धित खवर