✍️ टुकादेवी पौडेल आचार्य
कुनै पनि कृति विशेषमा आफ्ना विचार पोख्नु सजिलो कुरा होइन। एउटा स्रस्टाले यत्नले संरक्षण गरेका शब्द मालालाई समीक्षकको बिल्ला भिराइएका व्यक्तिका दुई आँखा र मनले देखेको कविताभित्रको कवित्व मात्र वास्तविक विश्लेषण हुन वा नहुन सक्छ।
कवि मनका सुन्दर विचार पद र पदावलीमा बहुत सुन्दर ढङ्गबाट पोखिएका हुन्छन् तथापि विश्लेषकका एकतर्फी चिरफारबाट मात्र पूर्ण नहुन सक्छ। यद्यपि, मलाई यो जिम्मेवारी प्रदान गर्नुभएकोमा कवि चारघरे ठिटोप्रति हार्दिक आभार प्रकट गर्दै उहाँको कवित्वप्रति सम्मान सहित जिम्मेवारीको धर्म निभाउने प्रयास गर्दछु।
यतिखेर मेरो हातमा ” अनुत्तरित प्रश्नहरू” कविता सङ्ग्रह छ। चारघरे ठिटोद्वारा रचित २७ कविताहरुको समष्टि रूप यस कविता सङ्ग्रहमा संगृहीत कविताहरू राष्ट्रप्रेमले ओतप्रोत भएका कविताहरुको सङ्ग्रह भन्न रुचाउँछु। “उडुस”देखि “आ आफ्नै नियम” सम्म फैलिएको यस कविताको श्रींखलाको पहिलो कविता `उडुस´ संरचनाको दृष्टिले ६ पृष्ठमा संरचित छ ।
यस कवितामा कवि देश चुस्ने भ्रष्टाचारीलाई उडुसको उपमा दिँदै लुकीलुकी अन्तरकुन्तरमा छिपेर बसेका परजीविले देश चुसेर रित्तो बनाएको तथ्यलाई उजागर गरेका छन्। सेतो खोल ओडेका काला टाउकेहरूको द्वेध चरित्रले देश शून्यप्राय बन्न सक्ने चिन्ता कविको कवितामा पोखिएको छ। यस कवितामा समसामयिक राजनीतिक-समाजले छोपेको उकुसमुकुसभित्र छट्पटाइरहेको यथास्थितिविरुद्धको इन्कलाब चित्र भेटिन्छ।
सानो विषयवस्तुमा फराकिला विचार–विम्ब प्रस्तुत गर्नु कविको विशेषता देखिन्छ । ‘समय असुरक्षित छ’ ‘अनुत्तरित प्रश्न’, कोदोको मूल्य‘ जस्ता कवितामा उनी मज्जाले जमेका छन् । समय, परिस्थिति र भोगाइ हरेक समकालीन कविका समान काव्यपाटा हुन् । कवि चारघरे पनि यीभन्दा परको लोकमा पुगेका छैनन् ।
यो स्वाभाविक हो, स्रष्टाले आफूले भोगेको या अनुभूत गरेको विषयमै कविताको बान्की तिखारिन्छ। कवि चारघरे पनि यस्तै भावभूमिमा डुबेका छन् । तर, उनले यिनै पृष्ठभूमिमा जन्माएका कवितामा पाइने आकाश, क्षितिज र आफूले अनुभूत गरेको धरतीको गन्धको आभास नयाँ पाइन्छ । उनका ‘उडुस’ र ‘राजनीति ’ यसलाई समर्थन गर्ने अर्का कविता हुन सक्छन् ।
अर्को कुरा उनको कवितामा विविधता हुँदाहुँदै पनि विषय दोहोरिएका छैन । प्रसङ्गहरू उस्तैउस्तै लाग्छन् तर उस्तै हुँदैनन् । सत्य शब्द उनका धेरै कवितामा धेरै पटक दोहोरिएका छन् तर दोहोरिएका हरेक सत्य फरकफरक प्रसङ्गमा आएका छन् । उनले देखेको सत्य र वास्तविक सत्यको रहस्य फरकफरक छ। सत्यको स्वभाव, रङ र उपमा फरक छन् । तर उनको‘यो युग सत्य बोल्दैन आमा’ कविता पढेपछि कविको मौलिक उद्गार र निजत्वपूर्ण सिर्जनाको अनुभव हुन्छ –
थाहा छ आमा ?
यहाँ
नारायणगोपाल गीत गाउन
आए भने,
हारेर जान्छन्
जितेर जाँदैनन् आमा
देवकोटाले
कविता महोत्सवमा भाग लिए भने
पुरस्कार लाँदैनन् आमा ! (पेज नं २०)
यसरी कवि कवितामा दिनप्रतिदिन असत्य कर्मतर्फ उन्मुख हुँदै गएको समाजको सचित्र वर्णन गर्दछन्।
कविभित्रको मौलिकता `साथी´ कवितामा पनि उसैगरी पोखिएको छ। साथी सम्बोधनमा जीवनदर्शनका आफ्ना मसिना अनुभूतिलाई कवि रुप फेरिएको सत्यसँग तुलना गर्दै सत्य र इमानदारिताको खोजी गर्दछन्।
आजको कविता फगत कल्पना होइन । यथार्थको नजिक रहेर प्रखर अभिव्यक्ति पोखिन्छन् आजको कवितामा । त्यसैले कवि चारघरेका कविता पनि यथार्थकै धरातलमा उभिएका भेटिन्छन् । तर यो यथार्थबाट चिप्लिएर कवि कतैकतै अति भावुकतातिर गएका हुन् कि भन्ने आशंका हुन्छ । विशेषत : उनको `प्रियसीलाई´ मा यस्तो गन्ध आउँछ ।यस कवितामा कविमनमा अंकुराएका संवेगात्मक भावनाहरुको चित्र यसरी पस्कन्छन्।
बिहान शीतमा टिपेका
गुलाबका फूल जत्तिकै
ताजा छन्
किन किन?
तिम्रा याद …..।।। ( पेज नं ६२)
लय विधान
अनुत्तरित प्रश्नहरू कविता सङ्ग्रहका कविताहरू मुक्त छन्दमा रचिएका छन्। कवितामा आएका विभिन्न विषयवस्तुलाई विभिन्न तर्क, उदाहरण र मिथकद्वारा पुष्टि गर्ने काम भएको छ। सरल भाषा र भावको सन्तुलन मिलाइएको छ। कविता छन्दमा नलेखिएका भएतापनि गति,यति र लयको आरोह – अवरोहको ख्याल गरिएको छ।
रस
यस सङ्ग्रहमा सङ्गृहीत अधिकांश कवितामा करुण रसको निस्पति भएको छ। कविताले समाजको विसङगति,कुरीति , भ्रष्टाचार जस्ता पक्षको भण्डाफोर गरिएको छ। “ए प्रहरी दाइ !” कवितामा कवि प्रहरीलाई महत्ताहीन नबन्न आग्रह गर्दछन्। प्रहरीजस्तो गरिमामय पेशाको मर्यादामा खलल पुग्नेखालका गतिविधि नगर्न गरिएको अनुनयले करुणा सिर्जना गरेको छ।
मेरा मान्छे छुटाउनुपर्यो भनेर
माथि माथि .. फोन थिच्नेहरु पनि छन्
हामी नागरिक त भन्छौं-
ए! प्रहरी दाइ,
आफ्नो स्वाभिमान बेच्नुभन्दा
कृपया बर्दी फुकाल्देऊ
र
चुपचाप गिटी कुटेर खाऊ।( पेज नं १४)
कवि चारघरे आफ्ना सुकिला विचारलाई करुण रसमा ” मेरी ताराकुमारीलाई” कवितामा आमाप्रतिको सम्मान भावलाई व्यक्त गर्दछन्।
आमा !
तिमीले जाँतोमा
डालोभरी मकै,कोदो लिएर
गर्र गर्र गर्र मकैका ठेलाहरुलाई
मध्यरातिसम्म पिस्न बस्दा
परिवारकै लागि
कति रात ननिदाइकनै
उम्यौ होला? ( पेज नं ५४)
अलङकारको प्रयोग
कविता सङ्ग्रहका कविताहरूमा उपमा, उत्प्रेक्षा, रूपक र अनुप्रास अलङ्कारको बेजोड संयोजन भेटिन्छ। एघार नं. सवारी साधन जस्ता उपमाद्वारा पैदल यात्रालाई “बेइमानहरुप्रति” मा इङ्गित गरिएको छ भने
‘सत्य मौन छ’मा सरकारी वकिल र लेखनदासलाई जिउँदो मान्छे मार्ने कागजी मुद्दा तयार पार्ने मुकुन्डोधारीका रूपमा चित्रण गरिएको छ। यसैगरी
“बेला आयो” कवितामा कवि यसरी उत्प्रेक्षा अलङकारको प्रयोग गर्दछन्।
तिम्रो जस्तै: सपना बोकेर
जो उदाइरहेका छन्
तिमीले तिम्रो सपना उठाउँदा
तिर्नुपरेको
चर्को मोलको कठोरतालाई
र तिमीले
भोगेको तितो यथार्थलाई
ओकल्ने
…….
बेला आयो। (पेज नं ४९)
त्यसैगरी ” स्वाङ” कवितामा विदेशी शब्दको पुनरावृत्ति
हुँदा छेकानुप्रास अलङकार उत्पन्न भएको छ। यस कवितामा सामाजिक सञ्जालका भित्तामा चित्रण गरिएका अभिलेखिकरणको आवरणमा रमाउँदै गएको मानव मन र आयातित खुसीका बिस्कुनमा लुट्पुटिएको वैचारिक पक्षको व्यङ्ग्य गरिएको छ।
समग्रमा कवि चारघरेका कवितामा अलङकारको उचित संयोजन देखिन्छ। तथापि, केही कविताहरुमा अलङकारको आवृति पुनरावृत्तिले कविताका भाव पक्षमा खलबल आएको देखिन्छ।
शैलीशिल्प
अनुत्तरित प्रश्नहरू कविता सङ्ग्रहमा संकलित जम्मा २७ कविताहरुको सम्पादनले यसको लघु आयाम प्रतीत हुन्छ। सरल, बोधगम्य, आलङ्कारिक र भावपूर्ण भाषाको प्रयोगले गर्दा कविताहरू सलल बगेको देखिन्छ। यस सङ्ग्रहमा प्रयोग गरिएका केही आगन्तुक शब्दहरू ‘फल्सेटो’ ‘मेगालोमेनिया’, डाइजापाम, फेनारगम र नर्फिन जस्ता शब्दहरू अनौठा र कम प्रयोगमा ल्याउन सकिने देखिएतापनि कविले यी शब्दहरुको अर्थ खुलाएर प्रयोग गरेका हुँदा उनको लेखनीमा सजगता देखिन्छ।
उनका कवितामा विषयवस्तुलाई तर्क, उदाहरण र भावनाका माध्यमद्वारा व्याख्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। भाषा प्रयोगका हिसाबले कविताहरू सरल र सरस प्रकृतिका देखिन्छन् । एका दुई कविता बाहेक सबैजसो कवितामा कविले तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ।
बिम्ब र प्रतीकको प्रयोग
कविले आफ्ना कवितामा समावेश गरिएको वस्तु तथा विचारको प्रतिच्छाया बिम्ब हो,जसमा शब्दचित्रमार्फत रूप, रङ, प्रकार आदिको वर्णन गरिन्छ। यस कविता सङ्ग्रहमा कविले कविताको गहनता र अर्थलाई बुझाउन केही कवितामा बिम्ब र प्रतीकको उच्चत्तम प्रयोग गरेका छन्।” छिमेकीविरुद्ध ” कवितामा कविले छिमेकीलाई बिम्ब बनाएर लागूऔषध दुर्व्यसनी र दक्षिणपन्थी परचक्रीको दुर्व्यवहारबाट दुखेको राष्ट्रियताप्रतिको गुनासो व्यक्त गरिएको छ र भनिएको छ-
हामी लुकीलुकी भएपनि
जाँड पिइरहेछौँ
साटोमा उसैलाई
रित्तो बोत्तल दिइरहेछौं!( पेज नं ३०)
सरल र सरस भावमा रचित उनका कवितामा समग्रमा भाव सुहाउँदा बिम्ब प्रतीकको प्रयोगमा सजगता देखिन्छ।
कविलाई सुझाव
यो कृति पठनीय कृतिका रूपमा रहेको देखिन्छ। कविका अन्तर्मनमा छचल्किएका राष्ट्रियका भाव सबैजसो कवितामा पोखिएको
– नेपाली भाषामा लेखिएको “मेरो देश”कवितामा अङ्ग्रेजी शब्द MCC प्रयोगलाई रोमनीकरण गर्न सकिने (पेज नं २६)
– केही भाषिक त्रुटिहरू देखिएकाले व्याकरणिक पक्षमा केही सजग हुनुपर्ने
– “यो जाडो”र “मेरी ताराकुमारीलाई ” कविताका शीर्षक फेरबदल गर्न सकिने
अन्तमा कविलाई साहित्यिक यात्राको भरपुर शुभकामना व्यक्त गर्दछु।
प्रतिक्रिया
-
४
