✍️ टुकादेवी पौडेल

सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकीको पहिलो भौतिक उपस्थितिको कार्यक्रममा नदीपुर पोखरामा भेटिएकी कवि लिली अधिकारी नारीवादी कविका रूपमा चिन्दछु। उनीभित्रको नारीत्व ‘पहराको फूल’ मा फूल बनेर फुलेको छ।

नेपाली साहित्यमा बढी फस्टाएको विधाको रुपमा परिचित कविता विधाले विभिन्न अवस्थालाई आयामका सन्दर्भमा प्रस्तुत गरेको छ । नेपाली कविताको इतिहासमा विद्रोहपूर्ण चेतनालाई प्रतिस्थापित,सान्दर्भिक र सबल बनाउने स्रष्टाहरुमा पहिलो गद्यकवि गोपालप्रसाद रिमाल लगायत देवकोटा, सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद मिश्र, केवलपुरे किसानहरु नै अग्रजका रुपमा देखिन्छन् ।

साहित्यलाई वस्तुको रुपमा परिवर्तन गर्ने स्रोत सामग्री बनाउनका निम्ति असाध्यै मिहिनेतपूर्ण ढङ्गले वस्तुको विन्यास गर्नुपर्दछ भन्ने विचारवादीहरुको चिन्तनलाई साकार बनाउन र आफ्ना जीवन दर्शनसम्बन्धी आफ्ना वैचारिक भावलाई काव्य बनाई पोख्न उद्घत साधकहरुको पङ्तिमा २०७०को दशकदेखि नै कवितामा कलम चलाउने स्रष्टाका सूचीमा रहेकी छन् कवि लिली अधिकारी।

साहित्यको उर्भरभूमि पोखराकी पोखरेली कवि लिली अधिकारीले ‘पहराको फूल (२०७८) कविता सङ्ग्रह प्रकाशित गरेर आफूलाई सचेत कविका रुपमा उभ्याएकी छन् । नेपाली धर्तीमा भएका र हुने गरेका हरेक परिवर्तनलाई अत्यन्त सजग भएर विचारधारात्मक मोडबाट सफलताको श्रेणीमा पुर्याउन तल्लीन स्रष्टा लिली राजनीतिक चेत र विचारको दृढतालाई मार्मिक ढङ्गले प्रस्तुत गर्न सक्ने कवि हुन्। यो छोटो लेखमा कवि लिली अधिकारीको ‘पहराको फूल’ कविता सङ्ग्रहभित्रका गद्य कविताले ओगटेको विचारका बिम्बहरुलाई चर्चा गर्ने जमर्को गरिएको छ ।

कुल ५६ वटा कविताहरुको सङ्ग्रह ञपहराको फूलझमा फुलेका रङीन फूलहरु कलिला गुराँसहरुका गुच्छा हुन्।

शीर्ष कविता ‘पहराको फूल’बाट सुरु भएको कविता ‘अग्नि चिता’मा समापन भएको छ। ‘पहराको फूल’ कवितामा कवि आफ्ना आशावादी विचारलाई यसरी पोख्न पुग्दछिन्

म त प्रतीक्षामा छु युगौँदेखि
अतृप्तिको पछ्यौरी ओढेर

चखेवा उडेको हरेक साँझमा
(पृष्ठ नं १६)

कविताक्रमको दोस्रो क्रममा सम्पादित ‘आमाः अपूर्व उज्यालो’ कवितामा आमाप्रतिको सामीप्यता गहिरिएर पोखिएको छ।आमाभित्रको अपूर्व उज्यालोमा परिवारको सुरक्षाको अनुभूति पोखिएको यो कवितामा कविभित्रको मातृत्व पोखिएको छ। ‘अर्काको छाता’ कवितामा कविको स्वाभिमान चित्रण भएको छ। छातालाई बिम्ब बनाएर आत्मविश्वासको फूल फुलाउँदै जीवनका संघर्षमय पलहरुमा पनि आत्मविश्वास लिएर स्वाभिमानको फूल फुलाउनुपर्ने सन्देश प्रवाह गरिएको छ। ‘फूलको आँसु’कविता सशक्त बिम्ब प्रयोग गरिएको कविता हो।यस कवितामा कविले प्रशस्त उपमाहरुको प्रयोग गरेर फूलले भोगेका तीता चिमोट्याइहरुको वर्णन गरेकी छन्

युगले नचाहेको
बीभत्स यातनाहरुलाई
मनोरञ्जनको थलो बनाउँछन्
वासना पछ्याउँछन् समयका ढुङ्गाहरू
कसले बुझ्छ र फूलका पीडाहरूलाई
…(पृष्ठ नं २२)

यसरी फूलको चीत्कार पोखिएको यो कविता सशक्त कविता को रूपमा देखिन्छ । ‘कलम र सियो’ कविता अस्तित्ववादी कविता हो।यस कवितामा कविले स्व (अस्तित्व खोजी गर्न आव्हान गर्दै अरुको अस्तित्व पनि त्यति नै स्वीकार्य हुनुपर्ने भाव व्यक्त गरिएको छ।

‘पर्खाल’ कविता लघु कविताको रुपमा सम्पादित छ तथापि संरचनामा लघु देखिएपनि यसको सघनता गहन देखिन्छ । मानवीय सम्बन्धमा पर्खाल बनेर तेर्सिने वाधाहरुले जीवन धरापमा पारेको यथार्थतालाई प्रतिबिम्बित गरेको छ। ‘उखुबारी’ प्रतिकात्मक कविता हो। आलाङ्कारिक यस कवितामा उखुबारीलाई अवसर बनाएर गुलिया सपना देखाएर तन लुट्नेहरुको बिग्बिगी रहेको यो समाजमा मौलाउँदै गरेको दण्डहीनताको प्रक्षेपण गरिएको छ। यस कविताको अन्तिम अनुच्छेदको यो अंशमा भनिएको छ(

त्यसैले बा !
उखु लगाएर बारीमा
नदेख्नुस्
खुदो र चिनीको सपना
नशालु खुदो खुवाएर
लगाइदिन्छन् घाँटीमा अभिसापको पासो

बा !फाँडिदिनुस यो उखुबारी !
…(पृष्ठ नं २८)

त्यसैगरी ‘गोरेटो’ कवितामा कविले सबैका जीवनयात्रा समान नरहने सत्य उद्घाटन गरेकी छन्। जीवनको गोरेटो सहज वा असहज जे भएपनि यात्रा भने चलिरहने यथार्थलाई पोखेकी छन्। ‘छुट्न मन नहुँदा–नहुँदै’ कवितामा कवि आफूभित्रको तरलता पोख्दछिन्। तथापि समयसँगका उठबसका यादलाई लुकाएर आँशु पोखेर हल्का भएको अनुभूतिलाई पोख्दछिन्।

‘सिरेटो’ कवितामा सुन्दै अक्षाम्य लाग्ने सिरेटोमा पनि आफू सेकिन सकेको र सिरेटोले पनि आफू थप उर्जाशील बनेको भावलाई कवि जीवन जिउने सामर्थ्य सिरेटोले पैदा गरिदिएको भाव यसरी पोख्दछिन्
बिहानी पखको शीत
आँखामा सजाएर
तुफान चलेको जिन्दगी लिएर आउने
ऊ सिरेटो हो !
…(पृष्ठ नं ३२

आगन्तुक शब्द प्रयोग गरेर शीर्षक राखिएको ‘भ्युपोइन्ट’ कवितामा कविको जीवनप्रतिको निराशा चुलिएर पोखिएको देखिन्छ । जीवनलाई रङीन बनाउन चाहँदा चाहदै पनि पिरतिका भाकाहरु आँसु बनेर बगेकाले जीवनलाई सोचेजस्तो भोग्न नपाएको नमिठो अनुभूति पोखिएको छ।

‘सिस्नुको फूल’ कविता एउटा साहसी फूलको उपमा हो। अरु फूललाई जस्तै टपक्क टिप्ने आँट गर्न सक्दैनन् सिस्नुको फूल।तसर्थ कवि सिस्नुको फूल जस्तै सुरक्षित जीवनको अभिलाषा पोख्दछिन् कवितामा।

‘गुन्द्रुक’ प्रतीकात्मक कविता हो।जसरी बैसालु सागलाई पिटेर गुन्द्रुक बनाइन्छ र अर्को स्वादमा लहराउने आशा राखिन्छ ठिक त्यसरी नै कवि सरल र सहज जीवनशैलीभन्दा फरक जीवनशैलीको अनुभूतिले जीवन सार्थक बनेको तथ्य पोख्दछिन्।

‘कहाँ होली ऊ ?’ आशावादी कविता हो।यस कवितामा निरस जीवनका ६ अनुच्छेदमा रचित यस कवितामा जीवन दर्शनका भावभङ्गी पक्षको वकालत गरिएको छ।ू प्रिय सखीू मा कवि सखीलाई बिम्ब बनाएर आफूभित्रका उत्कण्ठा पोख्दछिन्।

मानिसको सबैभन्दा नजिकको आफन्त नै साथी भएको यथार्थलाई यस कवितामा पोखिएको छ। जीवनका सुखदुःखका प्रत्येक पलमा मित्रहरुको सामीप्यताको आवश्यकता महसुस गरिएको यस कविताले मानवीय सम्बन्धलाई सकारात्मक त्राणको रूपमा देखाएको छ। ‘झरना’ले अल्पकालीन समयको चित्रण गरेको छ।जीवनका खुड्किलाहरुमा यदाकदा आइपर्ने विराट पीडाहरु झरनाका स्वरुप भएको कुरालाई कवि यसरी पोख्दछिन्

झरना हेरेर जाऊन्
खुसी लुछिएकाहरू
डुबुल्की मारेर जाऊन्
आशा चुँडिएकाहरू
…(पृष्ठ नं ४७)

‘आशा’ कविता लघुकविता हो।यसमा कविले जीवनप्रतिका मसिना अनुभूतिलाई दुःखका लाप्साहरुले च्यापिरहँदा पनि झिनो आशामा बाच्ने प्रयास गरिरहेको तथ्यलाई मार्मिक ढंगले पोखेकी छन्। यसको लगत्तै आएको ‘तिम्रा लागि’ कविता पनि आशावादी विचार बोकेको कविता हो।भलै संरचनाका दृष्टिले लघुत्तर देखिने यस कवितामा कविको समर्पण भाव छताछुल्ल भएर पोखिएको छ

तिमीले फराकिलो पखेटाले उड्न पाउँछौ
र तिमीलाई आशाको चम्किलो जून मिल्छ भने
मेरो ह्रदयतलका सबै मूल्यवान् ताराहरु झारेर
तयार छु म
मनको जम्मै आकाश खाली पार्न।
…(पृष्ठ ५०)

‘हराएको मङ्सिर’ कवितामा कवि आफ्ना मनका गहिरा पीडा पोख्दछिन्। कवितामा जीवनका तरेलीहरुमा आशाका बिस्कुन सुकाउन चाहँदाचाहँदै पनि एउटा पतझर समयले छलेको दुखेसो गरिएको छ।

‘एक लहर जिन्दगी’ प्रशस्त उपमा अलङ्कार प्रयोग गरिएको कविता हो।यस कवितामा कवि उसैगरी आफ्ना मनका पीडा पोख्दछिन् जसरी जिन्दगीसँग ठक्कर खाएका मनहरु विरक्तिन्छन्।कविताको प्रारम्भमै कवि

कतै मिलेजस्तो
कतै नमिले जस्तो
केही पुगेजस्तो
केही नपुगेजस्तो
…(पृष्ठ नं ५२

जस्ता उपमाहरु प्रयोग गरी जीवनप्रतिको निराशाजनक सोचलाई व्यक्त गर्दछिन्। ‘स्पर्श’ कविता बिम्बहरुको कविता हो।यस कवितामा कवि स्वतन्त्रताको चाह व्यक्त गर्दछिन्। ‘छोरी’ कवितामा लैङ्गिक असमानताको वकालत गर्दै समानताको आशा राखिएको छ। समाजमा जकडिएको सनातनी सोचप्रति विरोधाभाष व्यक्त भएको यस कवितामा

भ्रुण हत्याको विरुद्धमा बोलिएको छ। ‘सपनाको वृक्ष’ कवितामा सपनालाई प्रतीक बनाएर सबैले सुन्दर जीवनको परिकल्पना गर्दछन् तथापि खहरेहरुले जीवनलाई कोतर्दा आयलघायल भएका मन बोकेर संघर्ष गर्नुपर्दछ भन्ने भावलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ। ‘निकटता’ कवितामा कवि अघिल्ला कविताहरुमा पोखिएका आफ्ना निराशावादी सोचलाई त्यागेर सुन्दर जीवनको परिकल्पनामा मस्त भएको देखिन्छ।

रजनीलाई जूनले गरेको चुम्बन जस्तो
हाम्रो प्रिय सम्बन्ध
क्षितिजपारी हुँदा पनि मुटुभित्र लुके जस्तो
बिहानी फूलका अधरमा तप्किरहेको शीत जस्तो
सन्तुष्ट तिम्रो मुस्कान
…(पृष्ठ नं ६०)

कविभित्रको हार्दिकता पोखिएको यस कविताले कविलाई लेखनीमा थप उर्जा भरिदिएको मीठो प्रसङ्ग उजागर भएको छ। ‘संरक्षण’कविता बलियो कविता हो। आकारमा सानो भएपनि सशक्त विचार पोखिएको यस कवितामा फूललाई प्रतीक बनाएर नारीवादी विचारलाई पोखिएको छ। ‘एउटा अघोषित युद्ध’ क्रान्तिकारी कविता हो।यस

कवितामा कविका क्रान्तिकारी विचार पोखिएका छन्। यद्यपि कवि आफ्ना मनमा चलिरहेका अदृश्य द्वन्दहरुले युद्धको विराट रूप लिएको दुखेसो व्यक्त गर्दछिन्।
‘अनलाइन कक्षा’ कवितामा कोरोना कहरका कारण बन्दाबन्दीको अवस्थामा अभ्यास गरिएको अनलाइन कक्षा संचालनप्रति पटापेक्ष गरिएको छ।

एकातिर पहुँच भएका विद्यार्थीले इन्टरनेटको दुरुपयोग गरेका र अर्कातिर हातमुख जोर्न समेत धौधौ भएकालाई अनलाइन पढाई आकाशको फल बनेको तितो यथार्थ पोखिएको छ। ‘मेरो गाउँ’ कविता ग्रामीण भू-बनौट र जैविक विविधताको चित्रण गरिएको कविता हो। ‘खुसीका फूल’मा कवि आत्मीय सम्बन्धका सूत्रहरु सुझाउँछिन्।सम्बन्धलाई निरन्तरता दिन झुक्न र सिक्न पनि सक्नुपर्ने र सिकाइले जीवन सार्थक हुने कुरा व्यक्त गर्दछिन्। ‘बेइमानी’ लघुकविता हो। यस कवितामा कवि बेइमान मनहरुप्रति यसरी कटाक्ष गर्दछिन्

तिमी त बेइमानी
बादलको सिरक रहेछौ
कठ्याङगृएकै बेला मलाई झनै रुझाएर गयौ !
…(पृष्ठ नं ७१)

‘प्रीतिको पसल’ कविता क्लिष्ट कविता हो।यो कविता

शीर्षक जस्तै सुन्दर भने छैन ।कवितामा एउटा नारीभित्रको कुण्ठालाई चर्चिएको छ। कोमल ह्रदयका नारीहरु सदा प्रीतका भोका हुने तर समयका गिज्याइहरुले जीवन प्रीतपूर्ण हुन नसकेको पीडालाई कवितामा पोखिएको छ।

‘अन्यायका चाङहररू’ मा नारीवादी स्वर उर्लिएको छ। सदियौंदेखि सनातनी बनेर जरा गाडेको पुरुषवादी सोचले महिलाहरु बन्धक भएका र अब आवाज उठाएर सडक गल्ली तताउनुपर्ने बेला आएको आवाजलाई यस कविताले बुलन्द पारेको छ।

‘तिमी आएपछि’ कवितामा कविको आशा र भरोसाका पिल्लरहरू अनायसै ढलेका र त्यही अवसानले जीवन निरस र शून्य भएको भाव व्यक्त भएको छ। आशाका वीजहरु रोप्दा पनि निराशाका फलहरू लाग्दा अपूरणीय क्षति व्यहोर्नुपरेको तितो अनुभूतिलाई काव्यात्मक रूप दिइएको छ। ‘तक्दिर’ कवितामा कविको आध्यात्मिक चिन्तन प्रस्फुटन भएको छ। र पोखिएको छ
सायद
तक्दिर भन्नु पनि
काँच जस्तै कमजोर हुँदोरहेछ
र,
उत्कण्ठा चिया जस्तै पोखिदो रहेछ।
…(पृष्ठ नं ७९)

‘पर्खाइ’ कविता आशा भरिएको कविता हो।यस कवितामा कवि समयको रापिलो बाफसँग पौंठाजोरी खेल्दै सुन्दर जीवन फुलाउने आशामा पोखिन्छिन्।’लाज नभएको आँसुू’ लघु कविता भएपनि बृहत् विचारको खानी हो। यसमा जीवनको तरलतालाई प्रतिबिम्बित गरिएको छ।

‘चाहना’मा कवि आफ्ना मनका कलिला चाहनालाई उज्यालोसँग मितेरी लगाउन चाहन्छिन्। ‘मेरो सूर्य’ कविता पनि उज्यालो खोजिएको कविता हो। अँध्यारा गल्लीहरुमा उज्यालो खोज्दै आफूलाई अनवरत रूपमा सूर्यको पर्खाइमा अभ्यस्त राखेको आशय व्यक्त गर्दछिन्।

‘याद’ कविता विस्मृत हुन नसकेका पलहरुको पुनरावृत्तिको रुपमा देखिन्छ। घडीका सुई जस्तै गरी यादका गुजुल्टा मानस्पटलमा छचल्किँदा समेत कवि मन दृढ भएको उल्लेख गरिएको छ।

‘आभास’ कविको रङ्गीन अनुभूति हो। यस कवितामा कविले प्रकृतिसँगको सामीप्यतालाई अन्तरमनका कुण्ठाहरुसँग तुलना गरेकी छन्।

यस कविताले कविभित्रको प्रकृति प्रेमलाई उजागर गरेको छ। ‘आशाको उज्यालो’ कवितामा कविभित्रको राष्ट्रियता बोलेको छ। बेरोजगारी ,अन्धविश्वास जस्ता पक्षले देश निलिरहेको अवस्थामा भूगोल र माटो सुहाउँदो परिपाटीको स्थापनामा सहकार्यको आह्वान गरिएको यस कविता सशक्त कविताको रूपमा देखिन्छ।कविभित्रको राष्ट्रियता कविताका पङ्क्ति बनेर यसरी पोखिएको छ

उदाएर आऊ रोगी विकासको औषधि बनेर
निल्न न देऊ न
अन्धकारले यी कलिला किरणहरुलाई
र नबनाइदेऊ न
जिन्दगीको प्रयासलाई सधैं
अन्धकारमा फुलेको रङ्गहीन फूल जस्तो।
..(पृष्ठ नं ९०)

‘भ्रम’मा जीवनका रङहरूको कलात्मक वर्णन गरिएको छ। जीवनको अनुपम भोगाइका रूपले जीवनका रङ्गहीन दृश्यहरु कैद गरेकाले कविभित्रको दुविधा भ्रम बनेको छ।

‘साथ’कवितामा कवि सहाराको खोजीमा आफूलाई डुलाउँछिन्। एउटा अजम्बरी साथ पाएमा जीवनको सार्थकता भेटिने कुरामा कविको मन पुलकित भएको छ।लघु कविताको रूपमा सम्पादित ‘गति’ कवितामा मन र हावाको गतिलाई सापेक्ष गरिएको छ।ू एकै रङू लघु कवितामा कविको वैचारिक पक्षको चित्रण छ। परतन्त्रता नस्वीकार्ने कविको प्रवृत्ति कविता बनेर पोखिएको छ।

‘भुइँको गोडा’ बिम्ब बनाएर कविले भूधरातलमा नाङ्गा आँखाले टेकेको आभास गर्दै दुखैदुःखका चपेटामा एउटा सिङ्गो जीवन ठिङ्ग उभिएको चर्चा गरेकी छन्। ‘धोका’लघु कवितामा मा बहुरंगी मान्छेको अनुहार उतारिएको छ भने ‘भोगाइ’मा बाहिर देखिने जीवन र भोगेको वास्तविक जीवनविचको सान्निध्यलाई व्यक्त गरिएको छ।

‘भिक्षु’ लघुकवितामा आफूसित समर्पित बटुवालाई आफ्नो रित्तोपनको खुलासा गरिएको छ। ‘अस्थिर मन’ले क्षणभङ्गुर मनको चित्र उतारेको छ।त सर्थ कवि यसरी अधैर्य बन्छिन्

थाहा छैन यो अस्थिर मन
सम्झौताको गणितमा
कहाँ ठोकिन्छ ?
कहाँ पग्लन्छ ?
कहाँ जम्छ ?
कहाँ फैलन्छ ?
र अन्ततः कहाँ सकिन्छ ?
….(पृष्ठ नं १०२)

‘तिमी कस्ती साथी ?’ कवितामा कविले असन्तुष्ट भाव पोखेकी छन्।यस कवितामा कविले साथीको साथ नै बिझाउने बनेको दुखेसो व्यक्त गरेकी छन् । लघु कविता ‘जेल’मा कवि आफूलाई बन्दीघरको कैदी भएको महसुस गर्दै आफ्नो स्वतन्त्रता हनन गर्नेप्रति गुनासो पोख्दछिन्।

‘ओइलाएका आशाहरू’कवितामा राजनेता र जनताविचको सम्बन्धलाई उठाइएको छ। देशमा व्याप्त रोग,शोक र भोकको सिकार भएका देशवासी आफ्ना आशालाई राजनेताले निराशामा परिणत गरिदिएकै कारण जनताहरु दुख्नुपरेको कारुणिक चित्रण गरिएको छ।

यसको लगत्तै आएको ‘निराशा’ लघु कविता पनि निराशावादी भाव बोकेको कविता हो। यस कविताले कवि आफू निराश हुनुको कारण खुलाएकी छन् । ‘लालीगुराँसको कथा’ कवितामा महिलाको मासिक धर्मप्रति सनातनी परम्पराले बाँधेका खराब थितिको चर्चा गरिएको छ।

महिनावारीलाई जैविक नियमका रूपमा स्विकार्न नसक्नुलाई अभिसाप ठान्दै कवि समाजको पछौटेपनको पटापेक्ष गर्दछिन्। ‘अग्निको चिता’ कवितामा कविले उपमेय र उपमानको प्रयोग गर्दै चितालाई सुरु र अन्त्यको संज्ञा दिदै अग्नि चिताप्रतिको आफ्नो विचारलाई यसरी पोख्दछिन्

एउटा अन्त्य

अर्को प्रारम्भको बिचको
डर हटाएर बसेकी अनुहार जस्तै हो
अग्नि – चिता (पृष्ठ नं ११२)

समग्रमा ‘पहराको फूल’ कविता सङ्ग्रह मनका कन्दरामा फुलेको सुन्दर फूल हो। लेख्य भाषाशैलीमा लेखिएका कविताहरु भाषिक दृष्टिकोणले सरल र सरस देखिन्छन् भने पृथक पृथक शीर्षकमा कविले समग्रपक्षलाई काव्यात्मक सन्दर्भमा जोडेर अत्यन्त बलशाली र समसामयिक तथा साहित्य परिवर्तनका कलम चलाएको देखिन्छ। साँच्चै भन्ने हो भने नेपाली समाजको यथास्थितिवादी चिन्तनबाट माथि उठाउनका लागि हरेक न्यायपूर्ण आन्दोलन गर्न सकिने रहस्योद्घाटन कवितामा गरिएको छ।

अन्ततः यस कविता सङ्ग्रहमा संगृहीत कविताहरुको तत्वगत विश्लेषण गर्दा कवितामा भावविधानको ख्याल गरिएको,गद्यलयमा लेखिएका कवितामा ध्वनिको आरोह अवरोहको ख्याल गरिएको,कविता रसयुक्त भएका र आलाङ्कारिक पक्ष समेत सबल देखिन्छ। यसका अधिकांश कविता कविका नीजि विचारको विश्लेषण गरिएको छ।

प्रत्येक कविताका आ आफ्नै उद्देश्य छन्। कविताका माध्यमबाट कवि सामाजिक सचेतनाको विकास गर्न चाहन्छन्। कविताको भाषाशैली एका दुई बाहेक सरल र सहज देखिन्छ। जोसुकै पाठक कविता पढ्न सक्दछन्।अधिकांश कविता लक्ष्यार्थक र त्यसभन्दा बढी व्यङ्ग्यार्थक छन्। जीवनजगतका विविध पक्षको कलात्मक वर्णन

कवितामा भेटिन्छ। प्रशस्त बिम्ब र प्रतीक प्रयोग गरिएका कविताको भाव सघन देखिन्छ भने कवितामा प्रयोग गरिएका शब्दगुच्छाले कविताको अलङ्कार पक्ष थप सुन्दर बनेको छ।

समग्रमा लिलीको कवित्व कतै हावा बनेर सैर गरेको भेटिन्छ त कतै पानी बनेर गहिरिएको भेटिन्छ।कतै आशाले भरिएका विश्वास देखिन्छ त कतै निराशा पोखिएको छ।जीवनप्रतिको गहिरा दर्शन र चिन्तन पोखिएका कविताहरु पठनीय देखिन्छन् ।

राष्ट्र र राष्ट्रियताप्रतिको सचेतनाले कविलाई सशक्त कविका रूपमा उभ्याएको छ। कविले आफूलाई सचेत युवाकविका रुपमा उभ्याउँदै लैङ्गिक हिंसा,दण्डहीनता र जबर्जस्ती लादिएका सनातनी मूल्य मान्यताको विरोधमा वकालत गरेकी छन्।

कवितामा शृङ्गारिक पक्ष मजबुत देखिन्छ भने भाव सुहाउँदा बिम्ब र प्रतीकको कलात्मक प्रयोगले कविता बलिया देखिन्छन्। पहरा आफैमा एउटा बिम्ब हो ।अझ त्यसमा फुलेको सुगन्धी फूलले अक्षरमाला थप सुन्दर बनेको छ।

कविको परिचय पहराको फूलमा खोजिरहँदा कतै कतै कविको घमण्डीपन पनि उत्तिकै अनुमान गर्न सकिन्छ। लगभग ७० प्रतिशत कविताको समापनमा कवि परतन्त्रताको इन्कार गर्छिन् भने बाँकी ३० प्रतिशत कवितामा मात्र उनको समर्पण भाव झल्किन्छ।

यसर्थ कति पाठकले घमण्डी कविका रुपमा चिने पनि म भने उनमा आत्मविश्वास र स्वाभिमानको बृहत् मात्रा देख्दछु। अन्ततः काव्य जगतमा स्थापित हुनसक्ने मौलिक एवम् प्रयोगवादी कवि लिलीलाई साहित्यिक यात्राको भारी शुभकामना व्यक्त गर्दछु।

जय साहित्य !

प्रतिक्रिया

सम्बन्धित खवर