✍️ टुकादेवी आचार्य

वरिष्ठ लघुकथाकार दीपक लोहनी उचार्इ भएका स्रस्टा हुन्। वरिष्ठ रेडियोकर्मी दीपक लोहनीद्वारा रचित ‘दिपक र दीपकहरू’कृति आदरणीय ममता मृदुल दिदीबाट प्राप्त गरेको स्नेह हो। सोही स्नेहको पोको फुकाल्ने जमर्को गर्दैछु।

नारी स्रस्टा समाज बिराटनगरद्वारा प्रकाशित ‘दिपक र दीपकहरू’ जम्मा २४ वटा लघुकथाहरुको सङ्ग्रह हो। लघु मृत्युबाट सुरु भई अवसरमा समापन गरिएको यस लघुकथा सङ्ग्रहमा सङगृहित लघुकथाहरूको दैलो उघार्दा जे देखेँ अक्षरमालामा उन्ने प्रयास गरेकी छु।

कोरोना कहरले नराम्रोसँग दुखेको जनजीवनलाई ञलघुमृत्युझमा चित्रण गरिएको छ। सामाजिक सञ्जालमा मृतकलाई रिप लेख्न सक्ने तर कोरोना सन्क्रमितको मृत्यु हल्ला पिटाउने सन्दर्भ बनेको कुरा पोखिएको छ। ‘कोपरा’ प्रतीकात्मक कथा हो। यस कथामा कथाकारले एउटा लुब्ध प्रवृत्तिको व्यङ्यात्मक चित्रण गरेका छन्।

समाजमा नुनलाई सुन बनाउने प्रवृति बढ्दै गइरहेको प्रसङ्गलाई रोचक रुपले प्रस्तुत गरिएको छ। ‘तिम्रो बूढो र म’ प्रेममय लघुकथा हो। पवित्र प्रेम लुकाउन सकिन्न।भौतिक वस्तुलाई झैँ अन्तर हृदयको प्रेम कतै न कतै पोखिन सक्छ भन्ने कुरो म पात्रको

प्रेमिकाप्रतिको प्रेम मुहारमा छचल्किएको प्रसङ्ग उल्लेख गरिएको छ। ‘दान’ कथाले उमेरले दानधर्ममा लाग्ने भैसकेका व्यक्तिहरू पनि लम्पट प्रवृत्तिका भएका कारण समाजमा यौन हिंसा बढ्दै गएको प्रवित्तिलाई देखाइएको छ। सङ्ग्रहको शीर्ष कथा ‘दीपक र दीपकहरू’ नारीपीडित पुरुषहरुको आत्मकथा हो।

समाजमा कतिपय पुरुषहरु आफ्नै पत्नीबाट दमनमा परेपनी नारीले जस्तै आफ्ना पीडाका पोका सार्वजनिक गर्न सक्दैनन् भन्ने आशयलाई यस कथाले उठान गरेको छ।

‘जिल्लाराम’ कलात्मक कथा हो। यस कथामा साहित्य क्षेत्रमा देखिएका विकृतिलाई सुस्तरी सुम्सुमाइएको छ। अदृश्य रुपमा देखिएको किरालाई प्रतीकात्मक रुपमा प्रस्तुत गरिएको छ। केही काव्यात्मक बुनौट र व्यङ्यात्मक समापनले अझ थप कसिलो देखिएको छ। कामै नभएर फुर्सद हुँदा जनसङ्ख्या वृद्धि हुनसक्ने आशंकालाई कथाकारले महाभारतका पात्रहरू कौरव र पाण्डवसँग सापेक्ष गरेर कोरोना कहरका बिच घरमै थुनिएर बस्दा अन्य उत्पादनशील काम रोकिएर सन्तानवृद्दिदर बढ्न सक्ने आशंकालाई प्रस्तुत गरिएको छ।

‘जिज्ञासा’ भोकमरीले थ्स्लिएको जीवनको चित्र हो। भोकमरीका कारण बालमस्तिष्कमा परेको प्रभावको सफेद चित्र नै जिज्ञासा बनेको छ।चोकमा थापिएका चियापसलको प्रतिनिधि चित्र हो ‘चियापसल’ ।

राजनीति ,समाज र दर्शनका चाहिदा नचाहिदा कुराको चर्चा परिचर्चा गरिने चियापसल गफै गफको अखडा भएको यथार्थ चित्र यस लघुकथामा भेटिन्छ। कोरोना कहरका बेला भोकले दुखेका मनलाई तृप्तताको मलम लगाउन नसकेको सरकारको नालायकी पनलाई व्यङ्ग्य गरिएको छ ‘राहत’ कथामा । राहत बाढ्ने कामलाई पारदर्शी बनाउन अपनाइएको एक द्वार प्रणालीले वास्तविक पीडित पहिचान गर्न नसकेको तथ्यलाई यस कथाले दनक दिएको छ।

‘किनमेल’ लघुकथाले मान्छेको मनोवृत्तिको किनमेल गरेको छ। मानिसको अन्तर्मनमा कुण्ठा बनेको विकारलाई चोकमा राखिएका अल्पकालीन बजारसँग तुलना गर्दै कथाकारले बजारीकरणको दुरुपयोगका कारण मान्छेको मनोवृत्ती साँघुरिंदै गएको कुराको उठान गरिएको छ।

‘एक अँगालो’ एउटी कर्मशील महिलाको कथा हो।मनमा आँट र साहस भए माटोमा सुन फल्न सक्छ।जाँगर नहुनेले बारीमा फलेको समेत टिप्न भ्याउन्नन्।तथापि हिम्मत र साहसले जीवन जिउने कला सिकाउँछ भन्ने आशयलाई यस कथाले यसरी उतारेको छ –

‘मैले यी सब काम एक अँगालो लोग्ने नभएर गरेको हुँ।’ ‘भ्रमण’ लघुकथा कोरोना कहरका बेला मानिसभित्रको उकुसमुकुस र छट्पटीलाई चित्रण गरिएको कथा हो। बन्दाबन्दीमा एउटै कोठाभित्र बस्दा मानिसहरु अत्तालिएको र आफ्नो दैनिकी फेरिएको प्रसङ्गलाई कलात्नक रूपमा चर्चा गरिएको छ।

‘कैदी’कथा कलात्मक कथा हो। यस कथामा कथाकारले बगैचामा मगमगाएका सुन्दर फूललाई पात्र बनाएर प्रकृति प्रेमलाई उजागर गरेका छन्। मान्छेको मनको तरलता ‘ढुङ्गाको मन’ कथामा नापिएको छ।

कुँदेर मुर्ति बनाउँदा ढुङ्गालाई गरिने सम्मान र बाटोमा मिल्किएको ढुङ्गालाई मान्छेले गर्ने व्यवहारको सापेक्षतामा मान्छेको मन छाम्ने प्रयास यस लघुकथामा गरिएको छ।

यात्रामा सुन्दर पलको अपेक्षा प्रत्येक यात्रीको रहन्छ भन्ने सोचलाई ‘बाँसुरीको धून’मा भेटिन्छ। मानिसभुत्रको सङ्गीत आकर्षण पलपलमा पोखिन्छ।अझ बढी यात्रामा झल्किन्छ भन्ने कुरालाई चालकले बाँसुरी बजाएपछि यात्रुहरू बाटोमा खाइएको स्वादहीन नास्ता र पट्यारलाग्दो सङ्गीतबाट भएको वाकवाकीबाट मुक्त भएको प्रसङ्ग उल्लेख छ।

‘नयाँ बोत्तल र मोहरा’ व्यङ्ग्यात्मक लघुकथा हो। सामान्यतः अन्य कथा भन्दा संरचनामा लामो देखिए पनि पढ्दा उत्सुकता भरिरहने यस कथाले रक्सीकै कारण समाजमा चोरी, हल्ला, लफडा र बलात्कार जस्ता विकृति चलिरहेको परिप्रेक्ष्यमा रक्सीको सनातनी धर्म अनुरुप नै मोहराकाण्ड घटेको कुरालाई कटाक्ष गरिएको छ।

‘खुसी’ मानिसको अन्तर्लयमा गुन्जिएको खुसी हो। यस मा जन्मदिनको अवसरमा आफ्ना छोरीहरुले शुभेच्छा प्रकट गर्दा आफ्नो व्यस्त दैनिकी समेत मनोहर बनेको आशय अभिव्यक्त भएको छ।

मानिसको जीवनयात्रालाई ‘पदयात्रा’संँग तुलना गरिएको छ। मानिसमा आत्मविश्वास र उत्साह भएमा जीवन सार्थक हुनसक्ने तथ्यलाई काव्यात्मक शैलीबाट बुनिएको यस कथामा जीवन दर्शनको कुरा उठान गरिएको छ।

‘दिमाग’ कथा बिम्बयुक्त कथा हो। कथामा बिम्बको प्रयोगलाई धेरैजसोले उठान नगरेको भएतापनि यस लघुकथामा कथाकारको यो प्रयोग सुन्दर देखिन्छ। लोकतन्त्र र नेतारुपी टाउकेहरुको सापेक्षित विश्लेषण गरिएको यस कथा मान्छेभित्रको अचेतन मनको विश्लेषण पनि हो।

‘बन्दकोठा’ रोमाञ्चक कथा हो।यस कथामा दुई युगल जोडीको प्रेममय वार्ता र पहिलो भेटमा पोखिएको अत्यासलाई प्रतिबिम्बित गरिएको छ। ‘ईश्वरको मृत्यु’ कथामा कथाकार आफ्ना आध्यात्मिक चेतलाई अभिव्यक्त गर्दछन्। लेखकभित्रको प्रकृतिप्रेम र आध्यात्मिक चेत ईश्वरको मृत्युको शोकमा फूल रोप्नु र फूलको गुच्छा चढाउन मन्दिर पुग्नुमा सादृश्य देखिन्छ।

‘लैनो भैंसी’ मानिसको कलुषित व्यवहारको प्रतिबिम्ब हो। अर्काको आङमा जुम्रा लिखा देख्ने तर आफ्नो आङमा भैंसी नदेख्ने मान्छेको संकीर्ण सोचको यसरी कटाक्ष गरिएको छ –

उसले फेरि जोड्यो ‘तपाईंको कपालभित्र लिखा र जुम्राहरु छन्’ मैले टाउको बेसमारी कन्याएँ। केहीबेरपछि मैले उसलाई हेरेँ। उसको आङमा त एउटा लैनो भैंसी पो चरिरहेको रहेछ।

‘अवसर’ मा मानिसहरुको बेरोजगारी समस्या र बेरोजगारी विछ पनि पुरुषमा जिउँदो रहेको स्त्री लम्पट प्रवृतिलाई कटाक्ष गरिएको छ।

समग्रमा यस लघुकथा सङ्ग्रह पठनीय देखिन्छ। लघुकथाका आधारभूत मापदण्डलाई ख्याल गरेर रचना गरिएका कथाहरूमा उठान गरिएका विषयवस्तुमा विविधता भेटिन्छ। कथाका पात्रहरुका रूपमा प्रयोग गरिएको सर्वनाम पदले पाठकका मनमा कौतुहलता सिर्जना गरिदिन्छ भने कथामा आएका छोटा मोटा संवादले कथाको मापदण्डलाई ख्याल गरेको देखिन्छ। तथापि कतिपय कथामा भने संवाद प्रयोग नगरिएको भेटिन्छ। यसो भन्दैमा कथा गुणस्तरिय छैनन् भन्ने अवश्य होइन।

कथामा सामाजिक विसङ्गतिलाई सूक्ष्म चित्रण गरिएको छ।आयामका दृष्टिले छोटा,रसका दृष्टिले मिठा र लक्ष्यार्थका दृष्टिले व्यङ्ग्यार्थ लघुकथाहरू यस सङ्ग्रहमा पढ्न पाइन्छ। प्रत्येक कथाका छुट्टाछुट्टै सन्देश छन्। भलै म स्थापित समीक्षक त होइन तर यति लेख्ने धृष्टता गर्दैगर्दा भन्न करै लाग्यो मलाई। कहींकतै वर्णविन्यासमा भने ध्यान दिनुपर्ने देखिन्छ। तथापि कथाकार पात्रबिधान र विषय बिधानमा भने सचेत देखिन्छिन्। अन्तमा लघुकथाकारलाई सफल साहित्यिक यात्राको हार्दिक शुभकामना ।।।

प्रतिक्रिया

सम्बन्धित खवर