– टुकादेवी पौडेल

कुनै पनि कृति विशेषमा आफ्ना विचार पोख्नु सजिलो कुरा होइन। एउटा स्रस्टाले यत्नले संरक्षण गरेका शब्दमालालाई समीक्षकको बिल्ला भिराइएका व्यक्तिका दुई आँखा र मनले देखेको कविताभित्रको कवित्व मात्र वास्तविक विश्लेषण हुन वा नहुन सक्छ। कवि मनका सुन्दर विचार पद र पदावलीमा बहुत सुन्दर ढङ्गबाट पोखिएका हुन्छन् तथापि विश्लेषकका एकतर्फी  चिरफारबाट मात्र पूर्ण  नहुन सक्छ।यद्यपि मलाई यो जिम्मेवारी प्रदान गर्नुभएकोमा कवि राम विवसप्रति हार्दिक आभार प्रकट गर्दै उहाँको कवित्वप्रति सम्मान सहित जिम्मेवारीको धर्म निभाउने  प्रयास गर्दछु।

यतिखेर मेरो हातमा “दबिएका आवाज” कविता सङ्ग्रह छ। कवि राम बिवसद्वारा रचित ५९ कविताहरुको समष्टिरुप यस कविता सङ्ग्रहमा संगृहीत कविताहरु   नसुनिएका चित्कारहरुको आवाजहरुको सङ्ग्रह भन्न रुचाउँछु।  जम्मा ९६ पृष्ठमा संरचित यो कविता सङ्ग्रहको आवरण नेपाल प्रज्ञा प्रतिष्ठानका नाट्य तथा संस्कृत  कलका प्राज्ञ तथा  बिम्ब कवि  आदरणीय व्यक्तित्व रमेश श्रेष्ठज्युको कलाबाट सुसज्जित छ।`आमाको वेदना´देखि `कस्तो नमिलेजस्तो´ सम्म फैलिएको यस कविताको श्रींखलाको पहिलो कविता

`आमाको वेदना´मा कवि मातृत्वको प्रशंसा गर्दै आमाले भोगेका पीडा र दु:खमा मन दुखाउँदै लेख्छन् –

मलाई चोट लाग्दा पनि  आफैं रोई हिड्थ्यौ
जता गए पनि आमा मेरै चिन्ता लिन्थ्यौ
( पृष्ठ -१)

 

जैविकताले पुरुष भएपनि महिलाका पीडा र दु:खलाई आफूले अनुभूत गरे झै  कवि आफ्ना मनका अनुभूति पोख्दछन्। ` छोरीलाई ´ `आमाको वेदना´   जस्ता विषयमा कविभित्रको ममता पोखिइएको छ ।सानो विषयवस्तुमा फराकिला विचार प्रस्तुत गर्नु कविको विशेषता देखिन्छ । समय, परिस्थिति र भोगाइ हरेक समकालीन कविका समान काव्यपाटा हुन् । कवि विवस पनि यीभन्दा परको लोकमा पुगेका छैनन् । यो स्वाभाविक हो, स्रष्टाले आफूले भोगेको या अनुभूत गरेको विषयमै कविताको बान्की तिखारिन्छ।कवि विवस पनि यस्तै भावभूमिमा डुबेका छन् । अर्को कुरा उनको कवितामा विविधता हुँदाहुँदै पनि विषय दोहोरिएका छैनन्। प्रसङ्गहरू उस्तैउस्तै लाग्छन् तर उस्तै हुँदैनन् तर उनको विचार माझिएर आउँछ।‘युवा तिमी´कविता पढेपछि कविको मौलिक उद्गार र निजत्वपूर्ण सिर्जनाको अनुभव हुन्छ –

 

चट्याङ हौ तिमी अन्यायको विरुद्ध आवाज दिनुपर्छ
स्वार्थी र फटाहाहरुको राज नै भयो अब त सातो लिनुपर्छ
( पेज नं २०)

यसरी कवि कवितामा दिनप्रतिदिन असत्य कर्मतर्फ उन्मुख हुँदै गएको समाजको सचित्र वर्णन गर्दछन्।

कविभित्रको मौलिकता ` अलिकती मात्रै हो´ कवितामा पनि उसैगरी पोखिएको छ। उनी जीवनदर्शनका आफ्ना मसिना अनुभूतिलाई कवि रुप फेरिएको सत्यसँग तुलना गर्दै सत्य र इमानदारिताको खोजी गर्दछन्।

आजको कविता फगत कल्पना होइन । यथार्थको नजिक रहेर प्रखर अभिव्यक्ति पोखिन्छन् आजको कवितामा । त्यसैले कवि  विवसका कविता पनि यथार्थकै धरातलमा उभिएका भेटिन्छन् । तर यो यथार्थबाट चिप्लिएर कवि कतैकतै अति भावुकतातिर गएका हुन् कि भन्ने आशंका हुन्छ । विशेषत : उनको´आँसु ´मा यस्तो गन्ध आउँछ ।यस कवितामा कविमनमा अंकुराएका संवेगात्मक भावनाहरुको चित्र  यसरी पस्कन्छन्।

सत्य हो कि मिलनमा कि बिछोडमा अचानक 
आँखाबाट  वर्षे झरी झैँ आँसु नरोकिकन खस्दोरहेछ

( पेज ३२)

लय विधान

`दबिएको आवाज´  कविता सङ्ग्रहका कविताहरु मुक्त छन्दमा रचिएका छन्।कवितामा आएका विभिन्न विषयवस्तुलाई विभिन्न तर्क,उदाहरण  र मिथकद्वारा पुष्टि गर्ने काम भएको छ। सरल भाषा र भावको सन्तुलन मिलाइएको छ। कविता छन्दमा नलेखिएका भएतापनि  कवितामा कतै कतै मुक्तकीय भावको आभास हुन्छ।यसर्थ कविता पद्य या गद्य कुन प्रकृतिका हुन् खुट्याउन समेत दुविधा सिर्जना हुन्छ।यस मानेमा कविले कविताको संरचना पक्षमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ।

रस

यस सङ्ग्रहमा सङ्गृहीत अधिकांश कवितामा  वीर  रसको   निस्पति भएको छ। कविताले समाजको विसङगति,कुरीति , भ्रष्टाचार जस्ता पक्षको भण्डाफोर गरेका छन् `कस्तो नमिलेजस्तो´ कवितामा कवि  देशमा जनताले छानेको शासन व्यवस्था नभएकोमा गुनासो गर्दछन् भने नेतृत्वमा रहेकाले सर्वहारा जनताको भावना नबुझेकोमा चित्त दुखाउँछन्।कवि विवस आफ्ना सुकिला विचारलाई करुण रसमा `स्वभाव´ कवितामा  मानवीय स्वभावलाई व्यक्त

गर्दछन्। समग्रमा कविको कवित्व भाव  सलल बगेको छ तर थोरै शब्द शृङ्खलाको ख्याल गर्नुपर्ने देखिन्छ।

अलङकारको प्रयोग

कविता सङ्ग्रहका कविताहरुमा उपमा,उत्प्रेक्षा,रुपक र अनुप्रास अलङ्कारको  संयोजन भेटिन्छ। सरल उपमाद्वारा कविता बुनिएका उनका कवितामा अन्त्यानुप्रासलाई सबैजसो कवितामा प्रयोग गरिएको छ। ` तिमी र हामी´ कवितामा कवि यसरी अन्त्यानुप्रासको प्रयोग गर्दछन्-

झर्ने आँसुलाई बाँध लगाई वाध्यताले हास्नु परेको छ
गाँस,बास कपासको व्यवस्था नभएपनी बाच्नु परेको छ।
नजानेर पनि अरुको तालै तालमा नाच्नु परेको छ
बेसाहारा भएपनी एक मुठी सास साँच्नु परेको छ।

समग्रमा कवि राम बिवसका कवितामा अलङकारको उचित संयोजनमा अझ अभ्यासको जरुरत  देखिन्छ।

शैलीशिल्प

`दबिएको आवाज´कविता सङ्ग्रहमा संकलित जम्मा ५९ वटा कविताहरुको सम्पादनले यसको  मध्यम आयाम  प्रतीत हुन्छ। सरल,बोधगम्य  र भावपूर्ण  भाषाको प्रयोगले

गर्दा कविताहरु सलल बगेको देखिन्छ। यस सङ्ग्रहमा प्रयोग गरिएका केही आगन्तुक शब्दहरु `डिस्को, जस्ता शब्दहरु कविले यी शब्दहरु अन्य भाषिक संवादमा पनि प्रयोगमा आइरहने खालका   देखिन्छन्। उनका कवितामा विषयवस्तुलाई  तर्क ,उदाहरण र भावनाका माध्यमद्वारा व्याख्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। भाषा प्रयोगका हिसाबले कविताहरु सरल र सरस प्रकृतिका देखिन्छन् ।  एका दुई कविता बाहेक सबैजसो कवितामा  कविले तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरेको देखिन्छ।

 कवितामा राष्ट्रियताको उद्घोष

कविले आफ्ना कवितामा समावेश गरिएको वस्तु तथा विचारलाई राष्ट्रियकरण गरेका छन्। विगत लामो समयदेखी परदेशी बनेर दुखजिलो गरेका कवि राष्ट्रप्रेमलाई कवितामा सजाउन चाहन्छन्। यस कविता सङ्ग्रहमा कविले आफूभित्रको राष्ट्रप्रेमलाई `सार्वजनिक रुपमै ´ नामक कवितामा व्यक्त गरेका छन्।

पसिनाको मूल्य रगतको रङ झैँ फरक देखेपछि

पालना नगरी नियम कागजमा मात्रै लेखेपछि

हरेक चिजमा जसको शक्ति उसैको भक्ती गरेपछि

निमुखा सोझा सिधा गरिब सधैं अन्यायमा परेपछि 

अब त त्यसैले मनमा पनि यस्तो कुरा जाग्छ

सार्वजनिक रुपमै देश निकाला गरिदेऊ सरकार भन्न मन लाग्छ

( पृष्ठ नं २६)

 

कविलाई सुझाव

यो कृति  पठनीय कृतिका रूपमा रहेको देखिन्छ। कविका अन्तर्मनमा छचल्किएका राष्ट्रियका भाव सबैजसो कवितामा पोखिएको

– नेपाली भाषामा लेखिएको

– केही भाषिक त्रुटिहरु देखिएकाले व्याकरणिक पक्षमा केही सजग हुनुपर्ने

– बिर्सियो, धितो राख्छु, पछि,सार्वजनिक रुपमै ,छैन मेरो जस्ता केही कविताका शीर्षक  फेरबदल गर्न सकिने

अन्तमा कविलाई साहित्यिक यात्राको भरपुर शुभकामना व्यक्त गर्दछु।

***

 

प्रतिक्रिया

सम्बन्धित खवर