
✍️ टुकादेवी पौडेल
एउटा बालापनको चित्र मानस्पटलमा फिल्मी शैलीमा घुमिरहेछ । करीब करीब सात वर्षकी थिएँ होला, दुलेगौंडामा विद्युत लाइन आएको । धेरै ढोका र एउटा मात्र कोठा भएको घरमा एउटा टुकीको उज्यालोमा आमा ऊन कोर्नुहुन्थ्यो बाबा चर्खामा कोरिएको ऊन बाट्नुहुन्थ्यो । घरकी जेठी छोरी भाइबहिनीकी सबैभन्दा ठुली दिदी म बाबाको छोरी बनिदिनुपर्ने कहिले आमाको हातेसारो ।
आमाले कोरेको ऊन चाङ मिलाएर राख्ने कामको पूर्ण जिम्मा थियो मेरो । एउटा पनि गिर्खा नराखी कोरिएका ऊनका लाप्सा नखजमजाई राख्नुपर्ने मेरो भूमिका । भाइहरू चकचके भएकाले तिनीहरुको रेखदेखमा विशेष सावधानी अपनाउनुपर्ने जिम्मा पनि मेरै थियो। आमाले कोर्नुभएको ऊन चाङ मिलाउँदा मिलाउँदा मैनेखाँबोको अडेस लगाएर दलिनसम्म पुर्याउने लक्ष्य थियो ।
भाइहरू खेल्दा खेल्दा मिलाएको चाङमा सानो भाइ घुसुल्टियो । आमाले भाइलाई दुई थप्पड लगाउनुभयो । म थप्पडको सिकार त भइनँ तर मलाई नमज्जासँग दुख्यो । अब मेरो भूमिका बदलियो भाइहरूको कडा निगरानी राख्ने । आमा खजमजिएका ऊनलाई समालेर राख्न थाल्नुभयो । घरको अर्को कुनामा राखिएको ठूलो मधुसमाथि गुन्द्री ओछ्याएर एउटा दसना थपी भाइहरूलाई सुत्न लगाएँ ।
भाइहरू आँखा जबर्जस्ती बन्द गर्दै थिएँ । एउटा माउसुली फुत्त खस्यो दलिनबाट । भाइहरू जर्फराउँदै उठे । आमाले माउसुली धपाएपछि भाइहरू सिरक तानेर सुत्न थाले । केहीबेर खस्याङ्गखुसुङ्ग गरेपनि केहीबेरमै निदाए भाइहरू । रातको करीब १० बजेको हुँदो हो । आजभोलि जस्तो भित्तामा घडी टिक्टिक् गर्दो हो त सहजै समय पत्ता लाग्दो हो । आमा बाबा कत्ति कुराकानी गर्नुभएको थिएन । म पनि भाइहरुसँगै घुस्रिएँ सिरकभित्र । कतिबेला निदाएँ थाहै पाइनँ ।
पृथ्वी राजमार्ग नै भए पनि त्यसताका दुलेगौंडामा बिजुली बत्ती आएको थिएन । बिजुली भन्ने चीज त घरै उज्यालो पार्ने र मेसो नमिले घर ध्वस्त पार्ने भयानक वस्तु भन्ने बुझेकी थिएँ । भुजेल अन्कलले घरमा वाइरिङ गर्न आउनु भयो । भित्तामा सेता सेता किटक्याटे प्लग टाँस्नुभो । हामी तीन केटाकेटीलाई त्यहाँ छुन नहुने निर्देशन दिनु भयो । चिसो हातले छुँदा करेन्ट लाग्ने र करेन्ट लागेमा झनन्न पारेर हुत्याइदिने, उस्तै परे मरिने सूचना दिनुभयो ।
“अंकल हजुरले चिनेका कोही करेन्ट लागेर मरेका छन् ?” मैले जिज्ञासा राखेँ । “मरेकै त छैनन् तर लाग्न त लागेको छ है मैले नै चिने जानेकालाई ।” सहजै उत्तर पाएँ । “करेन्ट लाग्दा कस्तो हुन्छ र अंकल ?” मेरो थप जिज्ञासा थियो । झनन्न पार्छ र हुत्याउँछ नि ! चिसो वस्तु छुँदा र फलामले यो प्लगमा छुँदा करेन्ट लाग्छ नि ! होशियार हुनू है ? भाइहरूलाई पनि चल्न नदेऊ ।
स्वीकृतिको मुन्टो हल्लाएँ । अब घरमा बत्ती बल्न थालिसकेको थियो । केहीगरी आमा साँझसम्म आउन ढिला भए मैले टुकी नै बाल्नुपर्ने कडा निर्देशन थियो । आमा आउनासाथ बिजुली बल्थ्यो घरभरि । म मनमनै आफैँले किटक्याट गरी बत्ती बाल्ने कल्पनामा डुब्थेँ ।
शनिबारको दिन थियो । आमा छिट्टै जङ्गलतिर जानुभयो । मेरो मनमा बिजुली बत्ती झलमल बलेको कल्पना बहकिन थाल्यो । भाइहरू खेल्न गए, बहिनी काक्रोमा निदाइन् । वरपर सबैतिर हेरेँ चोरले चर्खम गरेजस्तै। जताततै सुनसान थियो । लाग्थ्यो समय मेरै अनुकूल थियो । के खोज्छस् कानो ,आँखो भने झैँ आभास भयो। हात राम्ररी पुछेर ओभानो पारेँ र प्लगको आडैमा ठिङ्ग उभिएँ । अब हात र मन उत्तिकै सलबलाएका थिए । मनको धैर्यता अब रोकिएन । हातका औँला काँप्दै काँप्दै प्लगमा सलबलाउन थाले । घर झलमल भयो । फेरि निभाएँ । फेरि बालेँ । यो क्रम जारी नै थियो । बाहिर भाइहरु ढोका ढक्ढकाउन आइपुगे । हतार हतार बत्ती निभाएँ र ढोका खोल्न दौडिएँ ।
भाइहरुको उपस्थितिले थप जिज्ञासा मेटाउने लालसा नमेटिए पनि एउटा सुअवसरको पर्खाइमा थिएँ । प्लगका किटक्याट चलाउन जान्ने भैसकेकी थिएँ । यो खुसी आमासँग बाँढ्न चाहन्थेँ । तर हिम्मत गर्न सक्थिनँ । बेलुका घर उज्यालो पार्न आमा नै आउनुहुन्थ्यो । म त दिउँसो मात्र लुकीचोरी घर उज्यालो पार्थेँ । जे होस्, प्लग चलाउन जानेकोमा दिन प्रतिदिन आत्मविश्वास बढ्दै गएको थियो ।
जीवनमा वैज्ञानिक त बनिएन तर सिकाइका क्रममा सायद केटाकेटी नै वैज्ञानिक बन्ने प्रयत्न गर्दछन् । म पनि त्यस्तै एउटा बालक न परेँ । घरमा बिजुली बाल्न जानेपनि झनन्न पार्ने अनुभव बटुल्न मन थियो । आज दिन जुरेको थियो।एक वर्षदेखिको सपना पूरा गर्नु थियो । आमा पसल जानुभयो । त्यसताका बाबा आमा पसल गर्नुहुन्थ्यो । भाइहरू खेल्न,बाबा त दिउँसो कहिल्यै घरमा आउनुहुन्थेन । बहिनी निदाइन् ।
शनिबार भएकाले म आफैं नुहाएँ । आजभोलि जस्तो हुर्किसकेका छोराछोरीलाई पनि बाथटबमा राखेर नुहाइदिने थिएन उबेलामा र त्यस्तै रहन सहनमा हुर्किन पाएको भए सायद म पनि आमासँग घुर्की लाग्दी हुँ । खै त्यस्तो अवसर पनि जुरेन खैर गुनासो छैन जिन्दगीसँग। जे थियो सब थियो। जे थिएन केही गुनासो थिएन । मनमा एउटै धुन थियो, बिजुलीको करेन्ट परीक्षण गर्ने ।
करीब एक महिना अगाडि देखि स्कुलको झोलामा भित्तामा ठोक्ने खालको काँटी थियो। एकपटक घरबाहिर जताततै हेरेँ । कोही थिएनन् । अनि झोलाको काँटी झिकेर प्लगमा घुसाएँ । खै केले हो बेस्सरी तान्यो भित्तातिर अनि स्याँकिदियो विपरीत दिशातिर । अर्को भित्तामा ठोकिएको राम्ररी थाहा छ । त्यसपछि लगत्तैको कति समय बेहोसीमा रहेँ पत्तो पाउन सकिनँ ।
प्रतिक्रिया
-
४
-
१०