✍️ टुकादेवी पौडेल आचार्य

 

अनेकौँ कथाहरूको सङ्गालो हो जीवन, हरेक जीवनका परिघटना हुन् कथा । कथा पढ्ने, भन्ने र सुन्नेलाई कथाको घटनाक्रमको रोचकता र जिज्ञासाले तानिरहन्छ । कथा मन नपर्ने सायदै नहोलान् । ।कथाको कुरा गरिरहँदा हालको समयमा धेरै पढिने विधाका रूपमा लघुकथालाई लिइन्छ । लघुकथा छोटो आयाममा रचना गरिएको चोटिलो विधा हो ।

पछिल्लो समयको लोकप्रिय विधा पनि भएको छ । यतिबेला नेपाली साहित्य आकाशमा कहिले कविता, कहिले गजलकार त कहिले मुक्तककारका रूपमा देखिने बहुप्रतिभाशाली हस्तीका रूपमा मातृभूमि झापाले जन्माएको तनहुँका स्टार हुन् जनार्दन दाहालको लघुकथा कृति ‘भुवा’ मेरो हातमा छ । समयको व्यस्तताकाबीच पनि ‘भुवा’को न्यानो स्पर्श पहिलो पाठक बन्ने जिम्मा लगाइ दिनुभएकोमा साहित्य साधक जनार्दन दाहाल्ज्युप्रति आभार प्रकट गर्दछु ।

यो सङ्ग्रह ५१ वटा लघुकथामा संरचित छ । हल्का पहेँलो पृष्ठभुमिमा उडिरहेको सफेद भुवा रङको चित्राकृतिले एकपटक टक्क रोकाउँछ किताबका पाना पल्टाउन।भलै म चित्रकार त हैन तथापी आवरण पृष्ठले भने एकपटक सोच्न वाध्य बनाइदिन्छ भुवाले । यति सुन्दर आवरणका लागि प्राज्ञ एवम् बिम्बकवी रमेश श्रेष्ठ दाजुप्रति सम्मान व्यक्त गर्न चाहन्छु । सङ्ग्रहकै ‘भुवा’ शीर्षकको कथाबाट कृतिको नामाकरण गरिएको कृतिको मूल्य भने रू २५० रहेको छ । आफ्नै जीवन सङ्गिनी इन्दिरा पौड्यालज्युको प्रकाशन रहेको ‘भुवा’ लघुकथाकार जनार्दन दाहालको पहिलो लघुकथा कृति हो ।

यस लघुकथामा विविध विषयलाई समेटेर तयार पारिएको महको चाका जस्तो कृतिका कथाहरू मह जतिकै मिठा र पोसिला रहेका छन् । पढ्दै जाँदा प्रत्येक लघुकथाले कतै न कतै स्पर्शानुभूति गर्दै जान्छन् । पहिलो कथा ‘बिदा’ले भरियाको दुरुह सामाजिक विषयवस्तुलाई उठान गरेको गरिबको आवाज उठएको छ । सरकारी कर्मचारीदेखि व्यापारी, सबैसबैलाई धर्मअनुसार बिदा भए पनि भारी बोक्ने भरियाका लागि काम न माम हुने ‘अधुरो सपना’ कथामा अरूको भरमा पलाएको खुसी क्षणभरमै उडेर जाने हुँदा आफ्नै परिश्रममा रमाउनु पर्ने सन्देशसहितको मार्मिक विषयको उठान गरेको छ भने न्यायको बिन्ती गर्ने ‘स्वतन्त्र बन्दी’ न्याय र सालिकप्रतिको मानिसको दृष्टिकोणको सूचक ‘सालिक’ मानिसको कुकृत्यको परिणाम चमत्कार सामाजिक धरातलमा बसेर लेखिएका प्रतिनिधि लघुकथा हुन् भने जीवनवोधको एउटा घुर्माइलो छायाँ ‘क्षणिक आवेग’मा पोखिएको छ । बढ्दो शहरीकरणका दासी मानिसले आधुनिक सुविधा भोग गर्ने सम्बन्धमा बिना हराएको मृगजस्तै भौतारिरहेको यथार्थलाई ‘सुविधा असुविधा’ले राम्रोसँग व्यङ्ग्य गरेको छ । तीन दिन भयो ग्याँसको सिलिन्डर बोकेर यताउता हिडेको ।

सुन्तली निराश छे । राधे चुलाको नजिक गएर हेर्छ तर बोल्दैन राधेको बालाई ग्यास सर्टेज हुनुको कारण थाहा छैन । सुन्तली राधेका बालाई हेरिरहन्छे । सिलिन्डर भरी छ कि खाली । सुन्तलीलाई थाहा छैन । हिजोबाट मुसलधारे पानी परिरहेको छ । दाउराको जोहो छैन ।
सुन्तलीका माध्यमबाट कथाकार मानिसको सुविधाभोगी चित्तप्रति व्यङ्ग्य गर्दछन् । (पेज नं २०)

शीर्ष लघुकथा ‘भुवा’ले मन चसक्क बनाउँछ । यस कथामा लघुकथाकारको सरलता र हार्दिकता पोखिएको छ । जे कुरामा पनि सहज रूपले हेरिदिने कथापात्र ‘उस’को प्रवृत्तिले कोमल स्वभावको प्रतिबिम्बन गर्दछ । कही कतै सर्जकको व्यक्तिगत स्वभाव र कथाका मुख्य पात्रको स्वभावमा एकरूपता आएको जस्तै भान हुन्छ ।

उनका ‘बा हुनुको पीडा’, ‘फूलको थुङ्गो’, ‘टङ्केकी जोई’ जस्ता पारिवारिक कथामा परिवारका तिता मिठा पक्षको उजागर गरिएको छ भने उनी समाजका समस्याप्रति धक नमानी बोल्दछन् । महिलाको सौन्दर्यलाई अन्तर्बिम्ब बनाई लेखिएको ‘रामेश्वरहरू’ कथामा दहालले माहिलीले रामेश्वर नाम्स्क ग्राहकलाई मिलाइ मिलाइ ठगेको रोचक प्रसङ्ग छ । अर्थले गलत नलागेमा नुनलाई सुन भन्नेहरूप्रतिको व्यङ्ग्य हो रामेश्वरहरू कथा ।

लघुकथाकार दाहालका कथामा राजनीतिको चुरो समाइएको छ । साथै जीवनशैली, कालो क्रान्ती, घाटको राजनीति, समाजसेवा जस्ता कथामा राजनीतिक चेतका विषय उठाइएको छ । विकास निर्माणका भाषण गरेर जनता लोभ्याउने नेताहरू विकासका नाममा आफैँ जल्ने घाटको समेत व्यवस्थापन गर्न नसक्ने नेताहरूको चुरीफुरी राजनीति गर्न शहर पसेको नेता गाउँकै घाटमा आएर जल्नुपरेको यथार्थद्वारा टुङ्ग्याइएको छ । स्थानीय प्रतिनिधिहरूको खारानी घस्ने प्रवृतिलाई राम्रोसँग सफाइ गरिएको छ समाजसेवामा । मासिक तलब भत्ता नखाइ काम गर्ने प्रतिबद्धता गर्ने मेयरसाब भ्रस्टाचार गर्न भनेपछि नपरेको तितो यथार्थले पाठकलाई जनप्रतिनिधिले गरेको झुट व्यवहारको पर्दाफास गरिएको छ ।

कथाकारले यति गहनरूपले प्रस्तुत गर्नु कथाकारको क्षमता, दृष्टिकोण निकै शक्तिशाली देखिन्छ । कथाकार जनार्दन दाहालले तत्त्व, आयम, उद्देश्य, पात्रविधान सबै कुरामा सन्तुलन मिलाएर लेखेका छन् । उनको यो पहिलो लघुकृति हो जस्तो नलाग्ने गरी लेखेका छन् यस अर्थमा उनी भविष्यकी अब्बल कथाकार हुने कुरामा कुनै शङ्कै छैन ।

यस सङ्ग्रहमा प्रेमका सुखान्त दुखान्त पक्ष, बालमनोविज्ञान आधुनिक प्राविधिक कथा, सामाजिक यथार्थता, आदर्शता आदि विषयलाई विषयवस्तुको रूपमा उठान गरिएको छ ! ‘भुवा’मा सङ्क्षिप्तता, सूक्ष्मता, व्याङ्ग्यात्मकता र प्रतीकात्मक जस्ता विशेषताहरूलाई प्रष्टसँग देख्न सकिन्छ भने बदलिँदो आधुनिक समाज र देखिएका विकृति र विसङ्गतिप्रति तीखो व्यङ्ग्य गरिएको पढ्दा मिठो रसानुभूति हुन्छ । यस कृतिको पाठकीय धर्म निभाइरहँदा तल उल्लेखित बुँदामा निहित भएर विश्लेषण हर्न उपयुक्त देखिन्छ ।

आयाम
यस सङ्ग्रहभित्रका लघुकथा आयामका दृष्टिले उपयुक्त देखिन्छन । लघुकथाको संरचनाका हिसाबले ‘बिदा’ लघुकथा संक्षिप्त एवम् बलियो देखिन्छ भने‘पुरानो घर’ लघुकथा अलिकति वृहत देखिए तापनि नियम विपरीत भने देखिदैन । सङ्ग्रहभित्रका लगभग सबैजसो कथा उपयुक्त संरचनाका देखिन्छन् ।

विषयवस्तु

यस ‘भुवा’भित्रका लघुकथाका विषयवस्तुमा विविधता भेटिन्छन् । यसभित्र धर्म, संस्कृति, प्रेम, मनोविज्ञान, दुःख, पीडा, सामाजिक विकृति, विसङ्गतिआदिलाई विषयवस्तु बनाइएको छ । जसरी बहुरङ्गी फूलहरूको सङ्गमले बगैँचा सुन्दर देखिन्छ, त्यसरी नै विविधतायुक्त विषयवस्तुको सम्पादनले सङ्ग्रह सुन्दर बनेको देखिन्छ ।

शीर्षकीय सार्थकता

यस लघुकथा सङ्ग्रहभित्रका कथाहरूको शीर्षक र विषयवस्तुबिच तादाम्यता देखिन्छ । ‘भुइमान्छे’ जस्ता प्रतिकात्मक लघुकथा र पुरानो घर, पिर जस्ता कारूणिक लघुकथा सङ्ग्रहका गहना सावित देखिन्छन् ।

बस्नेलाई पिर परेर हुनसम्म भाछ (पेज १११)

रामधनीले छोरो रतनलाई घरजग्गा बेचेर पढाए । आइडी वाला अस्ट्रेलियन नेपालीसँग खेलाँची बिबाह गरेर अस्ट्रेलिया हानियो । रामधनी कुखुरा र सीतामाई केरा बेच्दै छन्। खेलाँचिकी बुहारी बेपत्ता र छोरो हरियो कार्ड कुरिरहेको छ । वास्तविक पिरको चित्र यहाँ कोरिएको छ । नेपाली समाजको सामाजिक संरचनामा देल्हिएको वास्तविक ऐना यहाँ छर्लङ्ग भएको छ । यद्यपि यसै सङ्ग्रहमा सङ्गृहीत ‘आहुति’ लघुकथाको भने शीर्षकमा थोरै परिवर्तन गर्न सके सुनमा सुगन्ध हुने थियो ।

उद्देश्य
यस लघुकथा सङ्ग्रहभित्र सङ्गृहीत लघुकथा सबैका आ-आफ्नै उद्देश्य देखिन्छन् । सामाजिक परिवेशमा रचना गरिएका सबैजसो लघुकथाका उद्देश्य समाज चित्रण एवम् रूपान्तरण नै हो ।

सामाजिक विषयलाई टपक्क टिपेर समाजको सुन्दर चित्र उतार्दै पाठक मनलाई स्पर्श गर्नु नै यस सङ्ग्रहभित्रका कथाहरूको उद्देश्य हो ।

पात्र विधान
यस लघुलथा सङ्ग्रहभित्रका कथाहरूमा पात्र सम्पादनलाई विशेष ख्याल गरेको देखिन्छ।विषयवस्तु सुहाउँदा सामाजिक पात्रहरूको सम्पादन गरेर कथा रच्नु नै लघुकथाकारको शिल्प देखिन्छ ।

संवादात्मता
लघुकथाको बलियो पक्ष भनेको कथाभित्र सम्पादन गरिने छोटा छोटा संवादहरू पनि हुन् । यस सन्दर्भमा लेखकको सजकता देखिन्छ । सबैजसो कथाहरूमा छोटाछोटा संवादहरू सम्पादन गरिएको छ । संवाद शैलीमा कथाकारको प्रस्तुतिकरण थप बलियो देखिन्छ ।

समग्रमा यस कृतिको भाव पक्ष निकै अब्बल रहेको छ।कृतिभित्रको कथानकलाई हेर्दा धेरै कथाहरू एक घटनामा संरचित छन् भने थोरै कथा मात्र दुई घटनामा घटित रहेका छन् ।मानवीय जीवन जगतका भोगाइ समेटेर बिम्बात्मक रूपमा कथालाई टुङ्याउनु कथाकारको खुबी र कथाप्रतिको गहन अध्ययन भएको कुरा प्रष्टिन्छ।आवश्यकताअनुसार सहरी वातावरण भए ता पनि कथाको मूल परिवेश ग्रामीण नै बढी रहेको छ ।

हाम्रै समाजमा देखिएका ग्रामीण परिवेशका पात्रहरूलाई टिपेर सरल र सहज बोलीचालीको भाषा प्रयोग गर्दै लेखिएका कथामा कहिँकतै काव्यत्मक भाषाशैली कतै बिम्बात्मक चोटिलो भाषा प्रयोग गरिएको छ ।

समाज सुधारको उद्देश्य लिएर लेखिएको यो लघुकथा सङ्ग्रहमा कृष्ण धारावासी, लघुकथाकार डा पुष्कर भट्टका शुभकामना राखिएका छन् । एक दुइटा कथाबाहेक अरू कथा निकै घतलाग्दा छन् । यस्तै कृतिहरू निस्किरहून् शुभकामना स्रष्टालाई ! उत्तरोत्तर प्रगतिको कामना !!

प्रतिक्रिया

सम्बन्धित खवर