✍️ जनक कार्की

त्रिसुली, नुवाकोटमा जन्मिएकी जया ओझा लेखकको साथसाथै शिक्षक र कानुन व्यवसायी पनि हुन् । उनको गीति एल्बम ‘कदम’ (२०६३), उपन्यास आवरण (२०७३) र उपन्यास अनुराग केही हप्ता अगाडि लोकार्पण भएको छ । प्राकृतिक सौन्दर्यपान गर्ने र एक्लै बस्न रुचाइने जया ओझासँग सहकर्मी जनक कार्कीले गरेको पुस्तक वार्ताको सार संक्षेप यस्तो छ :

१. तपाईंको पहिलो उपन्यास ‘आवरण’ यौन मनोबिज्ञानमा आधारित छ, दोस्रो उपन्यास ‘अनुराग’ जुन भर्खरै मात्र सार्वजनिक भएको छ, त्यो पनि यौन कुण्ठा र विवाहेत्तर सम्बन्धलाई प्रमुख विषय बनाएर लेखिएको छ, तपाईंको धार हेर्दा फ्रायडवादलाई पछ्याएको जस्तो देखिन्छ, के भन्नुहुन्छ?

मेरो साहित्यको रुचि क्षेत्र मानवीय अन्तर प्रवृत्तिलाई चिरफार गर्नु हो । मान्छेभित्र जुन कुरा दवित हुन्छ, त्यसलाई म खोतल्ने गर्छु । मानविय सम्बेगमा यौन मात्रै हो भनेमा न्याय नहोला। यो एउटा सत्य पनि नकार्न सकिदैन कि हाम्रो समाजमा सबैभन्दा बढी दबाइने यौनसङ सम्बन्धित कुरा हो । यदि कसैले कुरा गरेमा उसको चरित्रलाई समाज बिपरित मानिन्छ । कतिपय श्रीमान श्रीमतीको सम्बन्ध सम्भोगकै कारण टुटेका हुन्छन् तर त्यसलाई अन्यकारणले ढाकचोप गर्छन् । आवरण र अनुरागको विषय पनि यहि हो । मैले फ्रायड्लाई पछ्याएको भन्दापनि भावना विचार मिलेको भन्न रुचाउँछु ।

२. विपि तपाईंको मनपर्ने लेखक हो भन्ने थाहा पाएँ, विपिले यौन मनोबिज्ञानलाई निकै कलात्मक प्रस्तुति दिने गर्थे, तर आजकलका साहित्यमा मस्तराम शैलीका सस्ता र भद्दा शैलीबाट यौनलाई प्रस्तुत गरिन्छ, यसबारे तपाईं के भन्नुहुन्छ ?

सत्य भन्नुभयो । मलाई अजकलको साहित्य पढ्दा खड्किने कुरा नै यहि हो । सकभर म यो दोषबाट आफुलाई बचाउने कोसिस गर्छु । हुन त सिधा भनिएको कुरा साहित्य हैन । यस्ता कृतिलाई म साहित्यको रूपमा पढ्दिन ।

३. अनुराग उपन्यासको विषय र पात्र कसरी तय गर्नुभयो ?

यसका पात्र हर घरघरका हुन सक्छन् । यसको कथा तपाईंको पनि हुन सक्छ र मेरो पनि । यस्तो कथा र विषयका घटना धेरै देखेकी, पढेकी र सुनेकी छु। किन, कसरी र के भन्ने जिज्ञासाले नै अनुराग जन्मियो ।

४. लेखकले हरेक पात्र आफैं बनेर लेख्नुपर्छ, पात्रको वास्तविक चरित्र र उसको मनोबिज्ञान बुझ्न कस्तो अभ्यास गर्नुहुन्छ ?

हरेक पात्रलाई अनुभूति गर्छु । हरेक पात्र भएर सोच्छु । अनुराग लेख्दा मिस्रीको पागलपनले मलाई छोएको थियो । अति नै मिस्रीमा बाँचेछु त्यसैले मलाई डिप्रेशन पनि भएको थियो ।

५. तपाईंले दुईवटा फिल्म कवच र ब्रासलेट पनि लेख्नुभयो क्यारे, एउटा राम्रो उपन्यासकारले लेखेको चलचित्र किन उल्लेख्य बन्न सकेन ?

बामे सरिरहेको बालक एकै पल्ट जुरुक्क उठेर दौडन सज्दैन । त्यो मेरो हिडाइको सुरुवात थियो ।

६. उपन्यास लेख्ने समयमा मात्र उपन्यास लेख्नुहुन्छ कि अरू काम सँगसँगै लेख्नुहुन्छ ?

समय मिलेत उपन्यास नै लेखेर समय बिताइदिन्थे । तर मलाई उपन्यास लेख्ने समय मिलेन । सबै पात्र, विषय र घटना म विशेष गरी घरबाट अफिस, अफिसबाट कलेज र कलेजबाट घरसम्म गरिने सधैंको बसको यात्रामा या त पिरियड खाली भएको समयमा या त कलेज बिदामा जन्माउथे, हुर्काउथे र दिमागमा नै परिपक्व बनाउथे । यो कोरोनाको समयमा भने गज्जबले धोको पुर्याएर लेख्ने अवसर पाए । यहि बेलामा धेरै नै किताब लेख्न पाए ।

७. तपाईंलाई मनपर्ने पाँचवटा उपन्यास ?

लङडाको साथी, अनुराधा, पल्लो घरको झ्याल, सुम्निमा, हामी भित्रको म

८. एउटा यस्तो पुस्तक जसले तपाईंको मथिङ्गल हल्लाइदियो ?

नेपालीमा त त्यस्तो छैन ।

९. मनपर्ने मान्छेलाई पुस्तक उपहार दिनपर्यो भने कुन दिनुहुन्छ ?

मेरो तेस्रो उपन्यास रूमानी । जो एक अनकन्डिशनल लभ स्टोरीमा छ । त्यो मेरो आदर्श नायक जसले हदैभन्दा हदै प्रेमीकालाई माया गर्छ । यो समाजलाई मार्गदर्शन गर्ने पुरुष हो र मेरो स्वैर कल्पनाको थोरै छोप पनि ।

१०. तपाईंको उपन्यासको क्रेजी पाठकको किस्सा छ ?

आवरणका पाठक भनू या मेरा पुरुष साथीहरू आज पनि म सङ त अन्तरलिङ्गी हैन भने प्रमाण दे भन्छन् मलाई ।

११. अनुराग उपन्यास लेख्न कति समय लगाउनुभयो ?

मलाई लाग्छ कुनै पनि सर्जकले आफ्नो साहित्य सिर्जनाको समय मापन गर्न सक्दैन । कम्पिउटरमा चाहिँ कोरोनाको पहिलो बन्दको चैत देखि जेठसम्म पहिलो ड्राफ्ट लाग्यो। त्यसपछी रुमानी असारदेखि भदौ । अनि बाकी समय अलिअली गर्दै त्यही वर्षको फागुनसम्म ।

१२. लेखक बन्नको लागि पाँचवटा टिप्स के दिनुहुन्छ ?

लेखनप्रतिको पागलपन, साधना, धैर्यता, एक्लै बस्नसक्ने खुबी, अरूको आलोचनालाई सकरात्मक रूपमा ग्रहण गर्न सक्ने खुबी ।

१३. प्रकाशकले रोयल्टी दिदैदन भन्छन्, तपाईंको अनुभव के छ ?

यो प्रश्न त प्रकाशक र लेखक दुबैलाई एकसाथ राखेर लिन पर्ने रहेछ नि ।

१४. तपाईंलाई जङ्गली जनावर बन्ने मौका मिल्यो भने कुन जनावर बन्नुहुन्थ्यो र किन ?

यति राम्रो मान्छेको जुनी पाइरहेको छ कहाँ जनावर बन्ने कल्पना गर्नु नि ।

१५. तपाईंको उपन्यास ‘अनुराग’ किन पढ्ने ?

बिबाहपछिको अफियरबाट हुने शारिरिक र मानसिक पीडाबाट वच्न बचाउन र त्यो बाट बाहिर निस्कन ।

१६. साहित्य के हो, र आजको डिजिटल दुनियाँमा यसको महत्त्व के छ ?

साहित्य एउटा जिबित इतिहास हो । साहित्यले त्यो रस र त्यो आनन्द दिन्छ जुन आजको डिजिटल दुनियाले दिदैन ।

१७. अहिले कुन किताब पढ्दै हुनुहुन्छ ?

अहिले समय नै छैन । भखर गजल संग्रह भ्याए । रुमानीलाई पनि आज भखर रि राइट भ्याए । अब पिएचडि र सिरियल चाडैंभन्दा चाडै सक्नु छ ।

१८. यस्तो उपन्यास जसमा आधारित भएर फिल्म बनोस भन्ने लाग्छ ?

खासै त्यस्तो त लाग्दैन ।

१९. अनुराग उपन्यास कुनै यस्तो प्लट छ जसलाई लेख्न हजुरले धेरै समय लगाउनु भयो ?

सबै नै उत्तिकै छन् । सबै भावमा क्रमशः दौडिए । कतै रोकिनु परेन । समय लगाएको त थाहा भएन तर कहाँ कहाँ आँसु झरे। कहाँ कहाँ मुस्कुराए । कहाँ कहाँ पागल भए त्यो चाहिँ याद छ ।

२०. तपाईंलाई साहित्यमा समाजिक यथार्थवाद मनपर्छ कि श्वैर काल्पनिक ?

सामाजिक यथार्थवाद।

२१. चाहिने भन्दा बढी चर्चित किताब र पाउनुपर्ने भन्दा कम चर्चा गरिएको किताबको नाम लिनुपर्दा ?

हाहा…! यो जिम्मा पाठकलाई दिए । उहाँहरूलाई नै झकझकाओस ।

२२. एकथरिले महिला लेखकलाई खुलेर लेख्न सक्दैन भन्छन् अर्को थरिले खुलेर लेख्यो भने सीमा नाघ्यो पनि भन्छन्, यस्ता अतिवादीलाई के भन्नुहुन्छ ?

यो दुबै कुरा लिङ्ग भेदलाई हैन ब्यक्तीलाई लागू हुन्छ। के भन्नु मान्छेसँग जति क्षमता छ उति नै भन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर