जिएस पौडेल नेपाली साहित्यमा ‘एक सर्को माया’ उपन्यासले परिचित बनेका श्रष्टा हुन् । उनको उपन्यास एक सर्को मायालाई नेपाली पाठकले नौलो स्वाद भनेर रुचाए । रोजगारीको सिलसिलामा परदेशमा रहनु भएका पौडेलले  अब असोज महिनादेखि आफ्नो दोस्रो उपन्यास पहेँलपुर लिएर आउँदै हुनुहुन्छ ।

पहेँलपुर उपन्यास र यसको सेरोफेरोमा रहेर उनका केही व्यक्तिगत कुरा समेत खोतल्ने प्रयास कवि जनक कार्कीले गर्नुभएको छ । प्रस्तुत छ लेखकसँगका केही सम्वाद ।

१, नेपाली आख्यानमा  जि.एस पौडेल भन्ने लेखक को हो भन्ने थाहै थिएन, अहिले जिएस पौडेलको परिचय बनिसकेको छ तर तपाईं को हो ? कहाँ हुनुहुन्छ ? के गर्नुहुन्छ ? अझै पाठक अनभिज्ञ नै छन् । किन गुमनाम बस्नुहुन्छ ?

– मलाई के लाग्छ भने एउटा आख्यानकार आख्यानबाट जन्मिन्छ र आख्यानभित्रै मर्छ। आख्यानसँगै नाम कमाउँछ, आख्यान अनुसार नै बदनाम या गुमनाम पनि हुन सक्छ । म कहाँ बस्छु, के खान्छु, के गर्छु या मेरो अरु निजी परिचय के हो । यी यावत कुराहरूले एउटा असल पाठकलाई कुनै फरक पार्दैन जस्तो लाग्छ। आख्यान भन्दा बाहिर, म त्यो मान्छे हुन सक्दिन् जसलाई पाठकले खोजिरहेको हुन्छ । आख्यान भन्दा बाहिर म गुमनाम अवश्य छैन तर म अर्कै दुनियाँमा छु जहाँ सबै पाठकहरू पुगिरहन आवश्यक हुँदैन पनि ।
२, तपाईको पहिलो उपन्यास ‘एक सर्को माया’लाई धेरै पाठकले मन पराए । अब दोस्रो उपन्यास पहेँलपुर पनि बजारमा आउँदै छ । पहेँलपुर उपन्यासको रचनागर्भ भन्न मिल्ला ?

– पहेँलपुरको रचना गर्भ आँफैमा अर्को आख्यान जस्तो छ । अहिलेलाई यो मभित्र नै रहोस् ।

३, तपाईंको पहिलो उपन्यासमा प्राय नेपाल बाहिरको परिवेश छ, दोस्रोमा यहि क्रम दोहोरिएको छ कि छैन ?

– यसमा पनि नेपाल बाहिरको परिवेश समेटिएको छ तर मुख्य कथा नेपालमै बगेको छ।

४, पहेँलपुरलाई पहेलै फुलाउन कति वर्ष लगाउनु भयो ?
– एक सर्को माया निस्किए यता जति समय भयो।

५, उपन्यासहरुको भीडमा पहेँलपुर पाठकले किन पढ्ने ?
– यो प्रश्न, पहेँलपुर निस्किसकेपछि पाठकहरुलाई नै सोध्नु होला। उहाँहरुले नै भन्नुहुनेछ।

६, पहिलो उपन्यासबाट नाम त टन्नै कमाउनु भयो, दाम कत्तिको कमाउनु भयो ?
– किताब बेचेर भागमा जति पर्यो त्यती नै कमाएँ।

७, तपाईँलाई मनपर्ने पाँच उपन्यासको नाम लिनुपर्दा ?

– अहिलेसम्म पढेका उपन्यासहरू मध्ये मलाई मन नपरेको एउटा पनि छैन ।

८, समकालिन नेपाली उपन्यास कत्तिको पढ्नुहुन्छ ?

– मिलेसम्म पढ्छु।

९, तपाईंले आशा धेरै गरेको तर  निराश बनाएका पुस्तकहरू ?

– म आशा नराखीकन पढ्छु, त्यसैले निराश भएको छैन अहिलेसम्म । पढेका सबै मन परेका छन् ।

१०, एउटा यस्तो उपन्यास जुन चलचित्रमा उत्रियोस् भन्ने चाहना राख्नुभएको छ ?

– मुग्लान, भोक र भित्ताहरु, राधा, सुम्निमा, अनुराधा, अलिखित, थुप्रै छन् तर नेपाली चलचित्र जगत अझै यसको लागि तयार भएको जस्तो लाग्दैन् ।

११, कतिले स्वान्तसुखायको लागि लेख्छु भन्छन्, कतिले समाज बदल्न, तपाईंको के को लागि लेख्नुहुन्छ ?

– म अन्तर्मुखी स्वाभावको मान्छे, आँफैसँग धेरै कुरा गर्ने बानी छ । विभिन्न बिषय या सन्दर्भका बारेमा मभित्र धेरै प्रकारका विचारहरू उत्पन्न हुन्छन र ती विवादास्पक हुँदै जान्छन्, जसले मलाई उल्झनमा बेर्छ । उकुसमुकुस बनाउँछ । खासमा म त्यही विवादलाई कुनै निष्कर्षमा पुर्याउन सक्छु कि भनेर लेख्छु । यसले एक प्रकारको सुख त दिन्छ नै । जहाँसम्म समाज बदल्ने कुरा छ, कुन बिषय या सन्दर्भमा मभित्र विवाद उत्पन्न हुन्छ, आख्यानभित्र कुन निष्कर्षमा गएर त्यो  टुङ्गिन्छ, त्यसले पाठकका माध्यमबाट समाजलाई केही दिन्छ कि दिदैन भन्ने कुराको निर्क्यौल निक्लने हो । त्यसैले म समाज बदल्नैका निम्ति लेख्छु भनेर भन्दिन् । यही समाजबाट प्रभावित भएर लेख्छु, समाजमा केही प्रभाव अवश्य पर्छ होला ।

१२, आज हामीसँग रेडियो, टिभी मात्र होइन इन्टरनेटका अनेक माध्यम छन्, जहाँ सजिलै आफुलाई भुलाउने समाग्रीहरु छन् । यो व्यस्त समयको युगमा किताब किन पढ्ने ?

– तपाईंसँग साईकल, बस, हवाईजहाज या पानी जहाजको सुविधा छ भन्दैमा के तपाईं खुट्टाले हिंड्न छोड्नु हुन्छ र?

१३, तपाईंको पाँचवटा खराब बानी ?

– मसँग खराब बानीहरूको खानी नै छ । तपाईं पाँचवटा मात्रै सोध्नु हुन्छ? हा! हा! हा!

१४, तपाईंको उपन्यासको क्रेजी फ्यानको किस्सा छ कि ?
– किस्सा नै त छैन तर धेरै पाठकहरु हुनुहुन्छ जसले मलाई निरन्तर सद्भावयुक्त मेसेजहरु पठाइरहनु हुन्छ। माया मिलेको छ धेरै पाठकहरुको ।

१५. अन्तमा जिएसको पूरा रूप के होला ?
– घनश्याम

***

प्रतिक्रिया

सम्बन्धित खवर