दिपेन्द्र आचार्य

एक हल जवान गोरु
मरेको पीरमा हाँस्दैछ
गरीब किसानको खेत
मध्ये बर्खामा।।

लाम छ कृषकहरुको
खेत छाडेर
दस गजा पारी
मलमा चुनाव जित्ने मन्त्री
बहस गर्दैछ अझै सिंहदरवारभित्रै।।

लम्पी स्किनले लम्पसार छ
लइनो गाई
दुधको भाउ घटाउन लागि परेकोछ व्यापारी
सरकार घुम्दैछ चिल्लो पजेरोमा
उड्दैछ विदेशी प्लेनमा
लम्पीको खोप उसको नितीमा पर्दै पर्दैन
राष्ट्रिय पशु नै भए पनि गाई
पशु त पशु नै हो
मरे मर्छ नि
किसान!

फेरि जलाइयो
गरीब दलितको घर
दलित भएकै निहुमा
सरकार त्यही आगो ताप्दैछ
भोट बटुल्न।।

दुई घण्टा पैदल हिँडेर
विद्यालय आइपुग्छ गरीब विद्यार्थी
बेलुकाको वासी भात चियासङ्ग खाएर
घाँटीमा टाइ झुन्ड्याएको
ड्याम्म पेट अघाएको
शिक्षककको दर्शनलेभन्दा तानिरहन्छ उसलाई
दुखेको उसको पटले।

आधा कपडा लाउन बानी बसेका सीताहरु
अग्नि परीक्षामा पास त भएछन्
मेरिटमा पो आउने हुन् कि होइनन् ?
फेसनको देशनमा झोक्राएको नेपाली संस्कृति
बौरिदैछ टिकटक र रील्सभरी।।

फेरि सुन्तली दुई जीउकी भइछ।
कति खेप झुक्किने हो कुन्नी?
उसको दम्पती
आजको औषधिमा।।

नयाँ कविको
झुर कविता
झुक्किने पो हो कि पाठक पनि
सुन्तलीको दम्पती जस्तै।।

***

प्रतिक्रिया

सम्बन्धित खवर