✍️ दिपेन्द्र आचार्य

हजुरबुबाको
लिखुरे अनुहारको
निधारमा रहेको चाउरीभरी
अनि
हजुरआमाको नाकमा
झुन्डिएको चेप्टे सुन
दुईओटा कानमा झुन्डिएको मारवाडी
गलामा झुन्डिएको नौगेंडीभरी
टलक्क टल्किरहेको हुने
मेरो देशको समृद्धी
खोजीरहेछु म
नाति नातिनीहरूको
क्रन्च वाला जिन्सको प्वालहरूमा।

दारीमबोटे खेतमा
असारमा हिलै हुने मेरो देश
साउनमा हरियै र
मङ्सिरमा पहेंलै हुने मेरो देश
बुवाको दौराबाट
मग मग वासना आउँथ्यो
अनि ठूलो साँझ
भान्सामा छिर्दा
अगेनो छेउछाउ
रहेकी मेरी आमाको
टुकीको धमिलो उज्यालोमा पनि
धपक्क बलेको
उज्यालो अनुहारभरी
धपक्क बलिरहेको हुने
मेरो देशको उज्यालो
खोज्दै भौँतारिरहेछु
छोरा छोरीहरू सँगै अचेल म
दुबई कतार र अस्ट्रेलियातिर।

उत्तर हिमालयको
न्यानो काखबाट
मेरो देशको माटो छिचोलेर
उत्रिएको ढुङ्गे धाराको पानी
छिमेकमा बिहे हुँदा
कान्लाभरी बसेर
वरको पात गाँसेको टपरीभरी
कसार, फन्के रोटी
भात र तरकारीमा पाइने
मेरो देशको स्वाद
खोजीरहेछु म
पानीपुरी म म चाउमिनभरी।।

प्रतिक्रिया

सम्बन्धित खवर