✍️ दिपेन्द्र आचार्य

आज सबैलाई नाङ्गो सम्झन्छु म।

आमा नाङ्गो
बा नाङ्गो
छर–छिमेक नाङ्गो
गाउँ शहर अनि
देश नाङ्गो।
छि ! कस्तो अश्लील मान्छे म
असभ्य मान्छे म
अप्राकृतिक मान्छे म।
तर जुन दिन मान्छेले कपडा लगायो
त्यसै दिन प्रकृतिबाट विमुख भो उ
त्यसै दिन मष्तिस्कमा वेश्या जन्मायो
त्यसै दिन गाउँमा बलात्कार जन्मायो।

कपडाले नै होइन र ?
दुशासनको जन्म भएको।

प्राकृतिक र सभ्य मान्छे
लुकेर हेर्ने गर्छ निलो फिल्म।

ए साँच्चै !
पहिलो दिन
पहिलो मान्छेले
कपडा लगाँउदा कति लाज मान्यो होला नि !!

मलाई त
नाङ्गो आकाश मन पर्छ
नाङ्गो धरती मन पर्छ
नाङ्गो पशु प्राणी मन पर्छ।
किन ओढेको होला प्रकृतिले
सभ्यताको अप्राकृतिक भवनहरु
नाङ्गो हुनु नि प्रकृति
छि१ कस्तो अश्लील मान्छे म
सब नाङ्गो मन पराउने।

तर नि !
मान्छेले कपडासङ्गै लगाएछ कपट
छल
ईर्ष्या
द्वेष
अहंकार
लोभ
लालच
त्यसैले पो होला नि !
असली चेहरा छोप्नलाई मान्छे
हरपल लगाँउछ आडम्बरी सुन्दरताको
मास्क !

प्रतिक्रिया

सम्बन्धित खवर