✍️ रिपन गौतम

हस्पिटलको प्रतिक्षा कक्षमा बसेको छु म अहिले।

यो पर्खेर बस्नु पर्ने समय पनि बडो नरमाईलो हुन्छ।पट्टाइ लाग्दो। उकुसमुकुस हुन्छ। त्यस्तै भएर बसेको प्रायः एक घण्टा भयो।
शहरको यो हस्पिटल निकै नाम चलेको। सधैं भिडभाड हुन्छ।खुब सजाएर यो प्रतिक्षा कक्ष बनाइएको छ। भित्तामा टेलिभिजनको ठुलो स्क्रीन छ। त्यहाँ बिभिन्न जानकारी मुलक च्यानलहरु लो साउण्डको भोलुममा चलिरहन्छ। आफ्नो पेसेन्टलाई भेट्नु, बिबरण लिनु, डाक्टरलाई भेट्नु अनि रिसिभसनमा लेखाइएको बिमारीको नाम सुन्न यहाँ सबै चनाखो बसेका हुन्छन् ।

म आज श्रीमतीको रिपोर्ट लिएर डा.दासलाई भेट्नु आएको छु।पेट सम्बन्धी केही स्क्यान टेस्ट गरिए पछि रिपोर्ट लिएर आउने डा.दासको निर्देशले नै म आज यहाँ छु। आउने बित्तिकै रिसिभसनको कुनापट्टी बसेकी एक नर्सले मेरो श्रीमतीको नाम लेखिन अनि पर बेटिङ रूममा गएर बस्ने निवेदन गरिन्।

त्यसपछि म यहाँ बसेको एक घण्टा बित्यो।
छेउमा बसेका एक अनेपाली मान्छेसंग गफ पनि सकियो। उसलाई छोराले लिएर आएको रैछ। धेरै बिमार तर मुख चै ट्याउट्याउ रहेछन्।उ किड्नीको उपचारको निम्ति यहाँ आएका रहेछन्। डाक्टरको पर्खाईमा बस्दा उनी छ पल्ट टोइलेट गइसकेको मलाई याद छ। मेरो बारे पनि सबै सोधे ती अनेपाली मान्छेले। रिपोर्ट देखाएर गइ हाल्छु भनिदिए।
तर डा.दास च्याम्बरमा आएका छैनन् अहिलेसम्म। बिमारीको भिजिट सकेर आउँछन् रे। खासखुस सुनियो। ठिकै छ। रिपोर्ट देखाउन त बढी समय लाग्दैन।

यही सोचेर पर्खेर बसे म पनि।
अहिले मान्छेको घुइँचो अझै बढ्यो यहाँ। रात्री सत्रको नर्सहरूको सिफ्ट भएकोले होला कोही आउने कोही जानेको निकै भिड् देखियो।
टिभी स्क्रिनमा डिस्कभरी च्यानलले बाँदर माथि बनाएको बृत्तचित्र हामी सबैले खुब ध्यान लगाएर हेरिरहेका थियौँ।
अचानक मेरो श्रीमतीको नाम बोलाइयो।
एमर्जेन्सी! पनि भन्यो।

म रिपोर्टको फायल बोकेर कुदे।
पेसेनटको नाम ?- रिसिभसनमा मलाई सोधियो। मैले झट्ट श्रीमतीको नाम भनिदिए। अहिले यहाँ सबै नयाँ स्टाफहरू थिए।अघि नाम लेखाउँदा देखिएको कोही थिएनन्।

त्यसपछि एउटी नर्सले मलाई लिएर अर्को चेम्बर लगिन्।
त्यहाँ पनि नाम सोधे। मैंले श्रीमतीको नाम भने। मेरो हातमा झुण्डिएको फायल निकाल्न मलाई जरूरी लागेन किन कि त्यहाँ मैले डा.दास देखिन। मैले केही भन्न अघि एक नर्सले एउटा फाइल अघि सार्दै मलाई भनिन् – यहाँ साईन गर्नुहोस् !
हतार यति बिघ्न थियो मैले केही नसोधी नर्सले देखाएको ठाउँ भटाभट साईन गरिदिए।तर जाबो एउटा रिपोर्ट देखाउन किन यति हस्ताक्षर?
मैले बिस्तारै नर्सलाई सोधे – यो साईन किन सिस्टर ?

हेर्नु होस्! बेबीको मुभ बेसी छ! बिपि पनि डाउन छ। डाक्टरले भन्दैछन् इमिडेट अपरेसन गर्नु पर्छ। सिजर!!तपाईं बाहिर बस्दै गर्नु होस्!!
म अवाक् भए!म बाहिर निस्किए। चेम्बरबाट।
सबै आ-आफ्नो भाकामा सबै व्यस्त छन् यहाँ। भागदौड उस्तै ।तर मैले केहि बुझिरहेको छैन।यो के भईरहेछ। मेरो दिमाग घुम्दैछ।म अघि बसेको बेटिङ रूमको चियर खाली रहेछ। त्यही गएर म बसे। छेउको चियर पनि खाली रहेछ।ती अघिका अनेपाली बुढाको ट्रन आएछ क्यार! छैनन् अहिले।म बसे पछि मेरो छेउको खाली चियरमा एक मोटी महिला आएर बसिन्। उनी फोन कलमा व्यस्त थिइन्। मोबाइलमा बात गरेकोले मलाई थाहा भयो उनी नेपाली रहिछिन्। फोनमा बात गर्ने क्रममा मैले बुझें उसलाई कसैको प्रतिक्षा थियो। फोन कलमा एयरपोर्टको प्रसंग हुँदै थियो। मैले बुझें कोही आउँदै छन् उहाँको आफन्त। हेर्दा निकै हुनेखाने देखिने ती महिला निकै चिन्तित देखें मैले। वास्तवमा यो अस्पतालमा जति मान्छे आउँछन् सबै चिन्तित नै देखिन्छ।यो जग्गा नै यस्तै हो।

फोन मैं बात गर्दै उठेर बाहिरतिर गईन् ती महिला। मेरो ध्यान एकझण ती महिलाले लगिन्।उ गए पछि फेरी म मेरो सोचमा परे।यो के भईरहेछ?
भिड उस्तै थियो। चारैतिर हेर्छु आज यहाँ मेरो चिनजान कोही देख्दिन।
प्रायः पन्द्र मिनट भयो म यहाँ बसेको।बेलकुल मौन।

कुनै आबश्यकता त थिएन तर गोजीको मोबाइल निकालेर हेरे। श्रीमतीको, अफिसबाट चार पाँचवटा मिसकल देखे।तर कसैलाई कल गर्न मन लागेको छैन। मोबाइल साइलेन्टमा थियो मेरो। त्यति कै फेरि गोजीमा हाले।पर देखें अघिका ती अनेपाली बुढा आउँदै गरेको। उसले मलाई देखे। मेरो छेउ आए।डा.दास आज भित्रको चेम्बरमा बसेको र उसका पेसेन्ट सबै त्यहाँ बाहिर नै बसेको जानकारी ती बुढाले दिए मलाई। यसरी यहाँ बसे त दिन निस्किने सल्लाह दिएर ती बुढा बिस्तारै बाहिर तिर गए।
मैले केही सोच्न सकिरहेको छैन।

म यतिकैमा उठे अनि ती बुढा मान्छेले भनेको तिर फायल लिएर गए। रिसिभशन देखि दाहिने तिरको परतिरको चेम्बर अगाडी तीन-चार मानिसहरू बसेको देखें। अघि मलाई एउटा नर्सले यहाँबाट देब्रे तिर लगेको थिई अहिले म त्यो चेम्बरतिर दाहिने तर्फ गए।डा.दास आज यहाँ बसेको जानकारी मलाई आफ्नो पालो पर्खेर बसेको यी मानिसहरूबाट निश्चित भयो। चेम्बरको दैलोको छेउमा टेबलमा एक युवती बसेको देखें।ती पालो पर्खेर बसेको एक नेपाली सज्जनले त्यो बहिनीलाई गएर सोध्ने सल्लाह दिए।डा.दासलाई यो रिपोर्ट देखाउनु पर्ने मैले ती युवतीलाई निवेदन टक्राए। उसले मेरो पेसेनटको नाम सोधीन्!
बिना छेत्री!- मैले भने।

यो नामको पालो त अघि नै रहेको बताउँदै – कहाँ हुनुहुन्थ्यो ?- भन्दै ती स्टाफ बहिनीले मलाई हेरिन्।म मुसुक्क हाँसे मात्र।अब यो पेसेन्ट निस्के पछि तपाईं पस्नु! भनिन्। मैले हुन्छ भनेर दैलोको छेउ उभिए।

एकझण पछि भित्रबाट दुई मान्छे निस्कियो।ती स्टाफ बहिनीले मलाई भित्र जाने इशारा गरिन्।
म भित्र पसे।

डा.दाससंग श्रीमतीको सबै जानकारी, परामर्श लिएर मलाई बाहिर निस्किनु प्राय दश मिनट लाग्यो। रिसिभशन छेउको बाहिर जाने मेनगेट तिर म सरासर हिँड्न थाले।

त्यहाँ निकै खैलाबैला भएको सुने मैले।
पर दुई नर्सले एउटा भलाद्मी मान्छेलाई सम्झाउँदै थिए। त्यहाँ अघि मेरो छेउमा फोन कलमा बात गर्ने मोटी महिला पनि देखें मैले।
एक सज्जन व्यक्ति निकै जोडले भन्दै थिए – मेरो मिसेसको नाम बिणा छेत्री हो!यो म मान्छु तर यो साईन कसरी सम्भव हुन्छ?मेरो नाम यो हुँदै होइन!!
नर्सहरू सम्झाउँदै थिए – जे होस् राम्रै भयो त नत्र जे पनि हुन सक्थ्यो!
किप् साइलेन्स् प्लिज!! ट्राई टु अन्डरस्ट्यान्ड…..!

मैले त्यतातिर नहेरी छिटो छिटो पाईला चाले।

बाहिर आएर पार्किंगको गाडीमा म पसे। एकझण आँखा चिम्म गरेर सोचे!
…….. मेरो हस्ताक्षरले ती अपरिचित अर्कै बिणा छेत्रीको शल्यक्रिया सफल भयो।
उ आमा बनिन्।

प्रतिक्रिया

सम्बन्धित खवर